2026 August 22/ 07:18: 58am

पाँच वर्षको अवधीमा काभ्रेपलाञ्चोक जिल्लामा मानव र बन्यजन्तु द्वन्द्वका कारण १,३०२ घटना भएका छन् । १ सय ६८ वटा पशुधन, ८ मानव र १ हजार १ सय २६ जनाको बाली नष्ट भएको सरकारी तथ्यांक छ । जसमा राज्यको तर्फबाट १ करोड ३८ लाख भुत्तानी गरिएको छ । तथ्यांकमा नआएका र प्रकृयामा नगएका थुप्रै कृषकहरुको अन्नबाली बन्यजन्तुले क्षति पु¥याएका छन् । 

मोतीराम तिमल्सिना
धुलिखेल

    मानव शहर पस्ने, बन्यजन्तु बस्तिमा बस्ने । प्रायः हरेक जिल्लाका ग्रामिण भेगमा यो समस्या बल्झिन थालेको छ । मानव बसोबास घट्दै गए पछि जंगलमा रहेका बन्यजन्तुहरु शिकारको खोजीमा बस्ति बस्ति आउन थालेका छन् । गाउँमा रहेका ब्यक्तिहरुले लगाएका अन्नबालीमा क्षति पु¥याउन थालेका छन् । एउटा ब्यक्तिले खेति गरेको छ भने आसपासका बस्तिहरु पूरै जंगल बनेका छन् । त्यहि जंगलमा बन्यजन्तुहरुले बसोबास बढाउँदा भएका कृषि उब्जनीहरुमा क्षति पुग्न थालेको छ । 
    राज्यले बन्यजन्तु नियन्त्रण तथा ब्यवस्थापनका लागि पटक–पटक विभिन्न ऐन, कानून निर्माण गरिरहेको छ । क्षतिपूर्ति, राहत र उपचारका लागि पनि कानून निर्माण गरिरहेको छ । नागरिकहरुलाई त्यसबाट मुक्ति दिलाउन अर्थात् भएको क्षतिमा राहत उपलब्ध गराउँदै पनि आएको छ । तर पनि नागरिकले गरेको अपेक्षा पूरा हुन सकेको छैन । अधिकांश नागरिकहरु त्यो सुविधा पाउनबाट बञ्चित पनि छन् । कसैले राहतको दुरुपयोग पनि गरेका छन् । बन्यजन्तुबाट भएको क्षति पछि राहत वितरण गर्न सरकारले चौथो पटक निर्देशिका संशोधन गरेको छ । २०८० मा संशोधन गरेको निर्देशिकामा मानवीय राहत रकम सामान्य अवस्थामा २० हजार, गम्भीर अवस्थामा २ लाख र अस्पतालमा उपचार गर्दा लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने ब्यवस्था गरेको छ । अङ्गभङ्ग भएमा ५ लाख, मृत्यु भएमा १० लाख उपलब्ध गराउने ब्यवस्था गरेको छ । गम्भीर घाईते भई उपचारको क्रममा मृत्यु भएमा निजको उपचारका लागि २ लाखसम्म उपलब्ध गराउने र मृत्यु पछिको राहत रकम पनि उपलब्ध गराउनेछ । 
    त्यस्तै पशुधनलाई बन्यजन्तुले क्षति पु¥याएमा राँगो, भैसी, उन्नत जातको गोरु लगायत ठुला जनावरहरुको हकमा प्रति पशुधन ६० हजारसम्म उपलब्ध गराउने छ भने अन्य पशुधनका हकमा १० हजार उपलब्ध गराउनेछ । माछा, कुखुराहरुको हकमा क्षतिका आधारमा १० हजारसम्म उपलब्ध गराउनेछ । त्यस्तै घर गोठको अन्न मुल्यांकनका आधारमा बालीको हकमा २० हजार र १० हजार सम्म उपलब्ध गराउने ब्यवस्था गरेको छ । वर्षमा २ पटकसम्म उक्त बालीको क्षतिको प्रति बाली १० हजार उपलब्ध गराउने ब्यवस्था गरेको छ । जिल्लामा हरेक वर्ष यस्तो संख्या चर्किएको छ । डिभिजन कार्यालय काभ्रेका अधिकृत न्हुच्छे श्रेष्ठका अनुसार बार्षिक मानव र बन्यजन्तु बीचको द्वन्द्व चर्किदै गएको छ । वन्यजन्तुले क्षति गराउने क्रम बढेको छ । राज्यले गरेको क्षतिपूर्ति प्राप्तिका लागि आएका निवेदनका आधारमा पनि मानव बन्यजन्तु बीचको द्वन्द्वको दिगो निकास आवश्यक रहेको उनले बताए । 
    जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा मानव र वन्यजन्तु बीच द्वन्द्व भए पनि मानवीय क्षति हुन पाएन । तर बन्यजन्तुले सोहि वर्ष ५१ वटा पशु क्षति गरायो भने ४ सय ५७ ब्यक्तिको अन्नबाली नष्ट गरायो । डिभिजन वन कार्यालयमा ५० लाख ८० हजारको क्षतिपूर्ति रकम भुक्तानीका लागि मागदावी भयो । राज्यले हरेक ब्यक्तिको प्यान अनिवार्य गरेसँगै भुक्तानी प्रकृया लम्बिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा ३५ वटा पशु र ३ सय ४९ कृषकको अन्नबाली क्षति गरायो । १ जना ब्यक्तिलाई पशुले बन्यजन्तुले आक्रमण ग¥यो । उक्त वर्ष राज्यको तर्फबाट डिभिजन बन कार्यालयले ४३ लाख १७ हजार ३ सय ३२ रुपैयाँ भुक्तानी ग¥यो । आर्थिक वर्ष २०७८÷०७९ मा ३२ वटा पशु र २ सय २९ जना कृषकको अन्नबाली क्षति भयो । २ जनालाई  बन्यजन्तुले आक्रमण गरे । राज्यले २७ लाख ७० हजार १ सय ७४ रुपैयाँ भुक्तानी ग¥यो । त्यस्तै २०७७÷०७८ मा ३३ वटा पशु, ९० जना कृषकको अन्नबाली र २ जना ब्यक्तिलाई बन्यजन्तुले आक्रमण ग¥यो । राज्यको तर्फबाट १३ लाख ७५ हजार ३ सय ६७ रुपैयाँ भुक्तानी ग¥यो । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा १७ वटा पशु, ३ जना ब्यक्ति र १ जना कृषकको मात्रै अन्नबालीमा क्षति गराएको उजुरी डिभिजन बन कार्यालयमा आएको थियो । उक्त वर्ष कार्यालयको तर्फबाट २ लाख ५८ हजार २ सय रुपैयाँ भुक्तानी भएको छ । 
    पाँच वर्षको अवधीमा काभ्रेपलाञ्चोक जिल्लामा मानव र बन्यजन्तु द्वन्द्वका कारण १,३०२ घटना भएका छन् । १ सय ६८ वटा पशुधन, ८ मानव र १ हजार १ सय २६ जनाको बाली नष्ट भएको सरकारी तथ्यांक छ । जसमा राज्यको तर्फबाट १ करोड ३८ लाख १ हजार ७३ रुपैयाँ भुत्तानी गरिएको छ । तथ्यांकमा नआएका र प्रकृयामा नगएका थुप्रै कृषकहरुको अन्नबाली बन्यजन्तुले क्षति पु¥याएका छन् । राज्यले बन्यजन्तु मध्ये बँदेल मार्न पाउने कानून ल्याएको छ । बँदेल पाल्न र मार्न पाउने भए पछि कृषकहरुको अन्नबालीमा कम क्षति हुने विश्वास गरिएको छ । केहि वर्ष अघिसम्म बँदेल मारेकै अभियोगमा नागरिकहरु जेल बस्नु परेको छ । उसले बर्षभरी खाने कमाई नष्ट गर्दा राज्यले केहि नगर्ने अनि अन्नबाली जोगाउन थापिएको पासोमा परेर मरेको बँदेलको मासु खाँदा जेल जानु पर्ने अब्यहारीक विषयमा राज्यका निकायहरुले पछिल्लो पटक संशोधन गरेका छन् । तर पनि बँदेल, बाँदर, जंगली जनावरहरुको बिगबिगी बढिरहेको अवस्थामा मानव र बन्यजन्तु बीचको द्वन्द्व कम भन्दा पनि बढ्ने अनुमान गरिएको वन बैज्ञानिकहरुले बताएका छन् । 
    नेपालमा पाँच वर्षको अवधीमा बाघको आक्रमबाट ५८ जनाले ज्यान गुमाएका छन् । २०७५/०७६ मा ४, २०७६/०७७ मा ८, २०७७/०७८ मा १३, २०७८/०७९ मा २१ र २०७९/०८० मा १२ जनाले ज्यान गुमाएका छन् । विश्वका १३ वटा देशमा मात्रै बाघ पाईन्छ । यसको संरक्षणका लागि नेपालले विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । हाल नेपालमा २०२२ को तथ्यांकका आधारमा ३ सय ५५ वटा बाघ छन् ।