काभ्रेपलाञ्चोक जिल्लामा एक वर्षको अवधीमा १ सय ३७ जनाले आत्महत्या गरेका छन् । पछिल्ला चार महिनामा ४८ जनाको आत्महत्याको प्रयासमा उद्दार पछि उपचार भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ सय १२ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७९/०८० मा ९० जनाले आत्महत्या गरे । आर्थिक वर्ष २०८०/०८१ मा संख्या बढेर १ सय ३७ पुगेको छ ।
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्या न्यूनीकरण तथा ब्यवस्थापन कार्ययोजना २०८१ तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा जिल्लास्तरीय आत्महत्या न्यूनीकरण तथा ब्यवस्थापन अभियान समिति र जिल्ला स्तरीय कार्यदल गठन गरिएको छ । आत्महत्या न्यूनीकरण अभियानमा संगठित प्रयासको थालनी गरिएको छ ।
काभ्रेमा आत्महत्याको अवस्था ?
आर्थिक वर्ष २०८०/०८१ मा काभ्रेपलाञ्चोक जिल्लामा १ सय ३७ जनाले आत्महत्या गरेका छन् भने नेपालमा ६ हजार ९ सय ४८ जनाले आत्महत्या गरेका छन् । पछिल्ला ४ महिनामा आत्महत्या प्रयास गर्ने ४८ जना उपचार पछि घर फर्केका छन् । आत्महत्यामा झुण्डि आत्महत्या गर्नेको संख्या १ सय ७ छ भने विष सेवन गरेर मृत्यु हुनेको संख्या २८ रहेको छ । हाम फालेर २ जनाले आत्महत्या गरेका छन् । जसमा अधिकांश युवा अवस्थाका छन् । बालबालिका देखि जेष्ठ नागरिकसम्म आत्महत्या गर्नेहरु छन् । आत्महत्याको संख्यामा उल्लेख्य बृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ सय १२ जनाले आत्महत्या गरेकोमा पछिल्लो वर्ष आर्थिक वर्ष २०७९/०८० मा ९० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा संख्या बढेर १ सय ३७ पुगेको छ ।
आत्महत्या गर्नेहरुमा नोकरीमा हुने २५, कृषिमा हुनेहरु ७९, ब्यापारी ५, विद्यार्थी २२, अन्य ६ जनाले आत्महत्या गरेका छन् । १६ वर्ष मुनिका १९ जना, १६–२५ वर्षसम्मका २२ जना, २६–३५ वर्ष उमेर समुहका २३ जना, ३६–४५ उमेर समुहका १६ जना, ४६–६० उमेरका ३८ जना, ६० वर्ष भन्दा माथिका १९ जना छन् । त्यस्तै आईतबार २३, सोमबार १७, मंगलबार १४, बुधबार २७, विहिबार १८, शुक्रबार १८ र शनिबार २० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरु मध्ये गरिबीका कारण ४ जना, दीर्घरोगी ६ जना, प्रेममा असफल ५ जना, नैराश्यता ३५ जना, मानसिक असन्तुलन ५७ जना, घरेलु हिंसा ५ जना, अन्य २५ जना रहेका छन् ।
कुन पालिकामा कति ?
काभ्रेका १३ पालिकाहरु मध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकामा आत्महत्या गर्नेहरुको संख्या रहेको छ । बनेपामा २९ जनाले आत्महत्या गरेका छन् । बनेपा पछि पनौती नगरपालिकामा धेरै आत्महत्या भएको दोश्रो पालिकाका रुपमा तथ्यांकले देखाएको छ । पनौतीमा एक वर्षमा २० जनाले आत्महत्या गरेका छन् । भुम्लु गाउँपालिकामा १५ जनाले आत्महत्या गरेका छन् । धुलिखेल र रोशी गाउँपालिकामा १३/१३ जनाले आत्महत्या गरेका छन् । नमोबुद्धमा १२ जनाले आत्महत्या गरेका छन् । मण्डनदेउपुरमा ११ जना, पाँचखालमा ९ जना, बेथान्चोकमा ८ जना, तेमालमा ४ जनाले आत्महत्या गरेका छन् । महाभारत, खानिखोला र चौरीदेउरालीमा १÷१ जनाले आत्महत्या गरेका छन् ।
प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्तरीय आत्महत्या न्यूनीकरण तथा ब्यवस्थापन अभियान समितिको संयोजक प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का र सल्लाहकार प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, सह संयोजक जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ रहेकी छन् । १७ सदस्यीय समितिमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, शिक्षा, गैसस, विभिन्न सामाजिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहने छन् ।
जिल्ला स्थित कार्यदलको संयोजकत्वमा जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ संयोजक र जिल्ला अस्पताल मेथिन्कोटका प्रमुख डा. रामशरण श्रेष्ठ सह संयोजक रहेका छन् । समितिमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सदस्य रहेका छन् । समिति १५ सदस्यीय हुनेछ । त्यस्तै उक्त समिति स्थानीय तहमा स्वास्थ्य संस्थाका प्रमुखहरुको संयोजकत्वमा स्थानीय स्तरका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहने गरी कार्यदल गठन हुनेछ भने वडा स्तरमा वडा स्तरीय स्वास्थ्य संस्थाका प्रमुखहरु संयोजक रहेको समिति गठन हुनेछ । पालिका र वडा स्तरमा प्रहरी कार्यालयका प्रतिनिधिहरु सदस्य सचिव रहने ब्यवस्था गरिएको छ ।
के छ कार्य योजनामा ?
प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले प्रहरी प्रधान कार्यालयले देशभर संचालन गरिएको अभियान काभ्रेमा पनि प्रभावकारी रुपमा संचालन गर्ने गरी अभियान परिचालन, कार्यदल गठन शुरु गरिएको बताईन् । आत्महत्याको जोखिममा रहेका नागरिकहरुको पहिचान गरी जीवन रक्षा गर्न तथा आवश्यकता अनुसार परामर्श र उपचार सेवाका लागि सहजिकरण गरी आम नागरिकहरुलाई सुसूचित गराई सकारात्मक मनोभावनाको विकास गरी आत्महत्याको दरलाई न्यूनीकरण गर्ने कार्ययोजनाको उद्देश्य रहेको एसपी खड्काले बताईन् । मानसिक स्वास्थ्य समस्या, ब्यक्तिगत लक्षण र विकारहरु, मनोसामाजिक समस्या लगायतका क्षेत्रमा जोखिममा परेका नागरिकहरुलाई मनोपरामर्श सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्नेछ । शिक्षा, गरिबी, हिंसा, लैङ्गिक विभेद, जिद्दी तथा एकोहोरोपना, अंहकार जस्ता ब्यक्तित्व भएका ब्यक्तिहरुको मनोवैज्ञानिक विश्लेषण गर्दा आत्महत्या हुने गरेको देखिएको प्रहरीले बताएको छ ।
आत्महत्याको जोखिममा परेका ब्यक्तिहरुले देखाउने मनोवैज्ञानिक संकेत तथा प्रतिक्रियाहरु पत्ता लगाई उनिहरुलाई मनोपरामर्श सहितको उपचार सेवा प्रदान गर्ने अभियानको मुख्य उदेश्य रहेको छ । प्रहरीले लक्षित समुह पहिचान गरेको छ । सोहि समुहका सदस्यहरुलाई अभियान अन्र्तगतका समिति मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्नेछ । प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएस्पी राजकुमार श्रेष्ठले जिल्ला स्तरीय कार्यदल पछि पालिका र वडा स्तरीय कार्यदल गठन प्रकृया शुरु गरिने बताए । सूचना संकलन डेस्क, सूचना विश्लेषण तथा सम्प्रेषण डेस्क, सहायता टोली मार्फत अभियानलाई प्रभावकारी बनाउने गरी संयन्त्र परिचालन गरिने प्रहरीले बताएको छ ।
कसले के भने ?
आत्महत्या न्यूनिकरण तथा ब्यवस्थापन कार्ययोजना २०८१ गठन सम्बन्धी कार्यक्रमको अध्यक्षता प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले गरेकी थिईन् । कार्यक्रममा स्थानीय तहका प्रमुखहरु रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेल, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेल, महाभारत उपाध्यक्ष सागर मोक्तान, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकाल, जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, डिएस्पी राजकुमार श्रेष्ठ, आयुर्वेद तथा बैकल्पिक चिकित्सालय बनेपा प्रमुख डा.वशंवदा कौण्डिन्न्यायनी, मेथिन्कोट अस्पतालका प्रमुख डा. रामशरण श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रिराज तिमल्सिना, प्रहरी निरिक्षकद्धय स्वस्तिक शर्मा उपाध्याय र सरस्वती कार्की लगायतले आत्महत्या न्यूनीकरणमा सबै क्षेत्रको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका थिए । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रतिननिधिहरुको सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरी युनिटहरु मार्फत अभियान शुरु हुनु अघि पनि विद्यालय र समुदाय स्तरमा आत्महत्या न्यूनीकरण र लैङ्गिक हिंसा विरुद्धको सचेतना अभियान शुरु गरेको थियो ।









