2026 August 23/ 12:18: 06pm

    धुलिखेल/धुलिखेल नगरपालिकाले युवा लगायतका परिषद गठन गरी शशक्तिकरण, उद्यमशिलता र सिपमुलक लगायतका क्षेत्रमा १ हजार ६ सय भन्दा धेरै नागरिकहरुलाई तालिम प्रदान गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले हरेक क्षेत्रको समृद्धीका लागि परिषद् मार्फत तालिमहरु उपलब्ध गराएको बताए । 
    ‘नगरबासिहरुलाई सिप सिकाएर आर्थिक रुपले शशक्त बन्न मात्र नभई आत्मनिर्भर बन्न प्रेरित गरिरहेका छौं’–नगर प्रमुख ब्याञ्जुले भने–‘सिप सिकेर उद्यम गर्छु भन्नेहरुका लागि उद्यमशिलता सहितको सहुलियत र अनुदानमा पूँजि र प्रविधी उपलब्ध गराएका छौं । बेरोजगार नबस्न र बेरोजगारहरुलाई रोजगारको क्षेत्रमा संलग्न गराउन सके आफै नसके रोजगार क्षेत्रमा सहभागि बन्न सक्ने गरी विभिन्न आयमुलक र सिपमुलक तालिम उपलब्ध गराउने अभियान निरन्तर जारी राखेका छौ ।’ यो क्रम निरन्तर रहने नगर प्रमुख ब्याञ्जुले बताए । तत्काल तालिम दिएको उपलब्धी नदेखिए पनि भविश्यमा हरेक नागरिकले पाउने उद्यमशिलता सहितको सिपमुलक तालिम र शशक्तिकरणले नगरबासीहरु सचेत र आत्मनिर्भर बन्ने विश्वास लिएको नगर प्रमुख ब्याञ्जुले बताए । 
    युवा परिषद्द्वारा आयोजित १ सय ६० घण्टे तालिमको समापनका क्रममा नगर ब्याञ्जुले हरेक नागरिकहरुलाई क्षेत्र छनौट गरी सिप सिक्न अनुरोध गरे । युवा परिषद् मार्फत चालु आर्थिक वर्षमा बेकरी, मोवाईल मर्मत र ड्राईभिङ सम्वन्धी तालिम प्रदान गरिएको छ । उपाध्यक्ष सिवी तामाङले युवाहरुको शशक्तिकरण र सिप सिकेर आत्मनिर्भर बन्न सहयोग पु¥याउने उदेश्यले फरक फरक तालिम आयोजना गरेको बताए । ‘स्वदेशमा उद्यम गर्न चाहने तथा विदेशमा जान चाहनेहरुका लागि पनि सिप सिकेर जाँदा सहज र सरल हुने भएकाले विभिन्न तालिमको आयोजना गरी सिप प्रदान गरिएको हो’–उपाध्यक्ष तामाङले भने–‘आधारभुत तालिम पछि एड्भान्स तालिमको पनि तयारी गरिएको छ । नागरिकहरुको रुची र चाहना अनुसार नियमित युवाहरुलाई सिपमुलक तालिमहरु प्रदान गरिनेछ ।’ 
    सामाजिक विकास समिति संयोजक एवं वडा नम्वर ३ का अध्यक्ष गणेश आचार्यले हरेक नगरबासिहरुका लागि नगरपालिकाले विभिन्न क्षेत्रबाट शशक्तिकरण गरिरहेको बताउँदै स्थानीय सरकारले प्रदान गर्ने सेवा नागरिकमैत्री बनाउने प्रयत्न गरिरहेको बताए । ‘धुलिखेल शिक्षा, स्वास्थ्य, पर्यटनको हव बनिरहेको छ’–संयोजक आचार्यले भने–‘कृषि र पशुपालन क्षेत्रलाई समेत शशक्त बनाउँदै युवाहरुलाई धुलिखेलमा भएका हरेक क्षेत्रमा रोजगारका हिसावले तथा अन्य तवरबाट समेत सहभागि हुन सक्षम बनाउन तालिमहरुको आयोजना गरिएको छ ।’ नगरपालिका सामाजिक विकास शाखा अधिकृत विदुर गौतमले संचालन गरेको कार्यक्रममा तालिम प्रदायक संस्थाहरुका तर्फबाट सुपरनोभा तालिम केन्द्रका संचालक मोहन गजुरेल, सहभागिहरुको तर्फबाट बेकरी तालिममा सहभागि रोजिना श्रेष्ठ, ड्राईभिङ तालिममा सहभागि प्रकाश यगोल र मोवाईल मर्मत तालिममा सहभागि प्रयत्न सापकोटाले तालिमको उपलब्धी र आवश्यकताका बारेमा धारणा राखेका थिए । 
    कार्यक्रममा सहभागिहरुलाई नगर प्रमुख अशोक ब्याञ्जुले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा वडा नम्वर १० का अध्यक्ष गोविन्द्रप्रसाद उपाध्याय, तालिम प्रदायक संस्था लोटस नेपाल, विएमके ड्राईभिङ स्कुल र सुपरनोभा तालिम केन्द्रका संचालकहरु, प्रशिक्षार्थीहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । सोहि अवसरमा लागु औषध ओसार पसार तथा दुब्र्यसनी विरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर सचेतनामुलक कार्यक्रम पनि आयोजना गरिएको थियो ।