2026 August 22/ 09:22: 34am

धुलिखेलको पर्यटन प्रवद्र्धनका लागि विद्यालय पर्यटन सचेतना कार्यक्रम तथा टुरिजम क्लव गठन गरी पर्यटन प्रवद्र्धनलाई टेवा दिइने छ । साथै पर्यटनलाई थप व्यवस्थित गर्न नेपाल सरकारसँग पर्यटन प्रहरी माग गरिनेछ । 

गोमा थापा

विकास तिमल्सिना
धुलिखेल

    आगामी आर्थिक वर्ष २०८१/०८२ सालको बार्षिक बजेट, नीति तथा कार्यक्रम तथा विधेयकहरु जिल्लामा रहेका १३ वटा पालिकाहरु मध्ये धुलिखेल नगरपालिकाले हिजो असार ५ गते बुधबार पास गरेको छ । अन्य पालिकाहरुले नीति तथा कार्यक्रम र बजेट तयारी गरिरहेका बेला धुलिखेलले बजेट र नीति तथा कार्यक्रम सहित चालु वर्षको समिक्षा गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रस्तुत गरिएको बजेटमा १० करोड कमको बजेट प्रस्तुत गरिएको छ । 
    नगर प्रमुख अशोक ब्याञ्जुले आर्थिक वर्ष २०८१÷०८२ को बािर्षक नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख निराजन जंगमले आर्थिक वर्ष २०८०/०८१ को यथार्थ स्थिति समिक्षा सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उपप्रमुख जंगमले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक विधेयक, विनियोजन विधेयक समेत प्रस्तुत गरेका थिए । धुलिखेल नगरपालिकाको तथ्यांक तथा अभिलेख ब्यवस्थापन गर्ने सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष रोमीप्रसाद श्रेष्ठले प्रस्तुत गरे भने स्थानीय भाषा कला संरक्षण विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष गणेश आचार्यले प्रस्तुत गरे । त्यस्तै विज्ञापन कर (ब्यवस्थापन तथा नियमन) विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष नारायणप्रसाद बडालले प्रस्तुत गरे । मध्यकालिन खर्च संरचना २०८१/२०८२–२०८३/०८४ सभा सदस्य तथा वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गरे । प्रस्तुत गरिएका सबै विधेयकहरु, बजेट, नीति तथा कार्यक्रमहरु सर्वसम्वत पास भएका छन् । सभाका सदस्यहरुले सार्वजनिक सरोकारका विषयहरुमा धारणा राखेका थिए । उठेका विषयहरुलाई सम्बोधन गर्दै निर्णयार्थ प्रस्तुत गरिएका सबै विषय सर्वसम्वतबाट पास भए । प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले नगर सभामा स्वागत गर्दै नगर सभा संचालनका विषय बस्तुका बारेमा जानकारी गराएका थिए । 
    नगर प्रमुख अशोक ब्याञ्जुले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटको बाँडफाँट र स्रोत व्यवस्थापनको अनुमान सभा समक्ष पेश गरेका थिए । आगामी वर्षको क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १ अर्व ५ करोड ९५ लाख २५ हजार विनियोजन गरेका थिए । कुल विनियोजन मध्ये चालु खर्च तर्फ ६७ करोड ४८ लाख ५३ हजार अर्थात ६३.६९ प्रतिशत, पूँजिगत खर्च तर्फ ३७ करोड ७६ लाख ७२ हजार अर्थात ३५.६५ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ७० लाख अर्थात ०.६६ प्रतिशत रहेको जानकारी गराएका थिए । आगामी आर्थिक बर्षका लागि अनुमान गरिएका खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व (मौज्दात समेत) बाट १४ करोड ५५ लाख ८ हजार अर्थात १३.७३ प्रतिशत, राजश्व बाँडफाँटबाट २२ करोड ५८ लाख अर्थात २१.३१ प्रतिशत, संघ सरकार अन्तरसरकारी हस्तान्तरणबाट ४५ करोड ८७ लाख ९६ हजार अर्थात ४३.३० प्रतिशत, प्रदेश सरकार अन्तरसरकारी हस्तान्तरणबाट ६ करोड ९१ लाख २१ हजार अर्थात ६.५२ प्रतिशत, अन्य कार्यक्रम तथा परियोजनाबाट १५ करोड ३ लाख अर्थात १४.१९ प्रतिशत र जनसहभागिताबाट १ करोड अर्थात् ०.९४ प्रतिशत प्राप्त हुने अनुमान गरिएको छ । नगरको समग्र बजेट र कार्यक्रम नागरिकहरुलाई स्वावलम्बन र आत्मनिर्भर बन्ने तर्फ केन्द्रित गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । 
    आर्थिक बर्ष २०७९/२०८० को यथार्थ आय तर्फ ८५ करोड ६१ लाख २३ हजार ५ सय ५ रुपयाँ आम्दानी भएकोमा चालू खर्च ४६ करोड ७६ लाख ८२ हजार ३ सय ८१ रुपैयाँ,  पूँजिगत खर्च ३५ करोड ३५ लाख २७ हजार ४ सय रुपयाँ  र बित्तीय ब्यवस्थापन खर्च ९७ लाख ३६ हजार समेत गरी जम्मा ८३ करोड ९ लाख ४५ हजार ७ सय ८१ रुपयाँ खर्च भई ९६.१४ प्रतिशत प्रगति भएको बताईएको छ । चालू आर्थिक वर्ष २०८०÷२०८१ मा विनियोजित १ अर्व १५ करोड १५ लाख अनुमान गरिएकोमा २०८० माघ मसान्तसम्म ५३ करोड ६१ लाख २२ हजार ६ सय १० रुपैयाँ खुद आम्दानी भएकोमा सोही अवधिमा चालू खर्च २८ करोड ६९ लाख १ सय ४९ रुपैयाँ र पूँजीगत खर्च ४ करोड ८९ लाख ४५ हजार ५ सय र वित्तीय व्यवस्थापन खर्च २० लाख गरी ३३ करोड ७८ लाख ४५ हजार ६ सय ४९ रुपैयाँ अर्थात ६३.०१ प्रतिशत प्रगति भएको जानकारी गराईएको छ । 
    नेपालको संविधानको प्रस्तावना, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु, संघीय सरकारको आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताहरु, संघीय सरकारले अवलम्वन गरेका आर्थिक तथा वित्तीय नीतिहरु, प्रदेश सरकारले लिएका आर्थिक एवं वित्तीय नीतिहरु, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको नीतिगत व्यवस्था, स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन, २०७४ ले निर्दिष्ट गरेको वार्षिक योजना तथा बजेट तर्जुमाका आधारहरु, स्थानीय आर्थिक कार्य प्रणाली एवम एकल तथा साझा अधिकार सूचि, स्थानीय तहको आवधिक योजनाले तय गरेका प्राथमिकताहरु, नेपालले अन्तर्राष्ट्रिय जगतमा जनाएका विभिन्न प्रतिबद्धताहरु नीति तथा कार्यक्रमका आधारहरु भएको नगर प्रमुख ब्याञ्जुले बताए । त्यसैगरी नगरको आवधिक योजना तथा मध्यमकालिन खर्च संरचना तर्जुमा दिग्दर्शन २०७८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य ऐन, नियमावलीका प्रावधानहरु, स्थानीय तहका क्षेत्रगत नीति, सोह्रौँ पञ्चवर्षीय योजना, नगरपालिको एकीकृत नगर विकास योजना, रणनीतिहरु, योजना तथा अध्ययन प्रतिवेदनहरु,  विकासका समसामायिक मुद्धाहरु, दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन र विपद व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैङ्गिक सशक्तीकरण तथा समावेशी विकास, बालमैत्री स्थानीय शासन, वातावरण मैत्री स्थानीय शासन, उर्जा सङ्कटको व्यवस्थापन लगायतका दस्तावेजहरुलाई मध्यनजर  गरिएको प्रमुख ब्याञ्जुले बताए । यसका अतिरिक्त निर्वाचनको क्रममा हामीले जारी गरेका निर्वाचन घोषणापत्र तथा प्रतिवद्धताहरू, विगतका नीति, कार्यक्रम तथा योजनाहरु, विभिन्न राजनीतिक दलहरु, संघ संस्था प्रतिनिधिहरु, सम्पूर्ण नगरवासीहरु, एवम सञ्चार माध्यम, वौद्धिक वर्ग लगायतका निजी क्षेत्रको सुझाव तथा समय समयमा गरिएका सार्वजनिक प्रतिवद्घताहरुलाई नीति निर्माणको आधारको रुपमा लिएको नगर प्रमुख ब्याञ्जुले बताए । 
    बजेटमा कम्तीमा एक वडा एक डिजिटल विद्यालय विकास गरिने, परियोजना र प्रयोगात्मक मुल्यांकनका लागि एक विद्यालय एक सार्वजनिक स्थल संरक्षण कार्यक्रम सन्चालन गरिने उल्लेख गरिएको छ । यस्तै चालु आर्थिक बर्षमा धुलिखेल नगरपालिकामा ७ हजार ३ सय ४२ घरधुरीमा ब्यवस्थित खानेपानी सुविधा पुगेको नगर प्रमुख ब्याञ्जुले बताए । सुचिकृत बेरोजगारहरुलाई रोजगारी प्रदान गरिएको, लम्पी राहत कार्यक्रम अन्तर्गत मृत्यु भएका ३९१ पशु मध्ये विमा गरेका पशु बाहेक २ सय ४३ वटालाइ १० हजारका दरले २४ लाख ३९ हजार रुपैयाँ किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । धुलिखेलमा वडा स्तरीय योजना प्रगतिमा वडा नम्बर २ मा सबैभन्दा बढी ९४.९४ प्रतिशत र सबैभन्दा कम वडा नम्बर ६ मा ४३.२४ प्रतिशत मात्रै प्रगती भएको उप प्रमुख निराजन जंगमले बताए । 
    धुलिखेल नगरपालिकाको गौरवको नमुना कार्यक्रम ‘स्वास्थ्य शहर धुलिखेल नगर अभियान’ कार्यक्रमलाई साकार तुल्याउन यस अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिन संघ तथा प्रदेश सरकारसँग सहकार्य प्रवद्र्धन गर्ने, ल्याउ, टिकाउ र सिकाउको नीति अनुरुप विद्यालय उमेर समूहका सबै बालबालिका अनिवार्य रुपमा विद्यालयमा भर्ना गराइ आधारभूत तहका सबै बालबालिकालाई विद्यालयमा ल्याइने, टिकाउने र सिकाइने प्रतिवद्धता ब्यक्त गरेको छ । महिला उद्यमशिलता विकासको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरी व्यवसायीकरणको माध्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै ‘एक घर एक धारा’ नीति अनुरुप खानेपानीको पहुँच पुग्न नसकेका बाँकी घरधुरीहरुमा आर्थिक वर्ष २०८१/०८२ भित्र खानेपानीको विस्तार गरिने उल्लेख छ । जडान गरिएका धाराहरुलाई पक्की धाराको रुपमा विकसित गरिनेछ । 
    धुलिखेल नगरपालिकाको सम्पूर्ण सडकहरुलाई रेखाङ्कन गर्ने गरी नगर सडक गुरुयोजना अद्यावधिक गरी कार्यान्वयन गरिने उल्लेख गरिएको छ । साविक स्थानीय निकाय हुँदा बनेका निजी भवन संरचनाहरुलाई अनिवार्य अभिलेखीकरण गर्ने व्यवस्था मिलाइने, धुलिखेल, श्रीखण्डपुर र इँटे क्षेत्रका पुरातात्विक निजी आवासहरु रहेको क्षेत्रमा साविक मौलिक ढाँचामा नै भवन निर्माण गर्दा नगरपालिकाबाट विगतमा उपलब्ध गराइएको सहुलियतलाई निरन्तरता दिइने, नगर क्षेत्रको सम्पूर्ण जग्गाको वर्गीकरण कार्य सम्पन्न गर्ने, आवास क्षेत्र भनी वर्गीकृत गरिएको जग्गामा मात्र भवन निर्माणको इजाजत प्रदान गर्ने, शहरी योजना, बस्ती विकास तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड एक वर्ष भित्र परिमार्जन गरी लागू गरिने उल्लेख गरिएको छ । धुलिखेलको पर्यटन प्रवद्र्धनका लागि विद्यालय पर्यटन सचेतना कार्यक्रम तथा टुरिजम क्लव गठन गरी पर्यटन प्रवद्र्धनलाई टेवा दिइने उल्लेख गरिएको छ । साथै पर्यटनलाई थप व्यवस्थित गर्न नेपाल सरकारसँग पर्यटन प्रहरी माग गर्ने उल्लेख गरिएको छ । कृषकहरुलाई कृषि कार्यमा अभिप्रेरित गर्न साथै कृषि पेशालाई आधुनिक, सहज तथा प्रविधि मैत्री बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, स्प्रेयर, धान काट्ने मेसिन, आलुको ड्याङ उठाउने, कुटानी पिसानी मेसिन बितरण गरिने उल्लेख गरिएको छ । प्रविधीमा अनुदानका सामाग्री उपलब्ध गराउँदै नगरपालिकालाई अण्डा र मासुमा आत्मनिर्भर बनाइने, दुधमा आत्मनिर्भरतालाई निरन्तरता दिनका लागि २,३, ९र ११ वडाहरुमा गाई, वडा नम्वर १ र ८ मा भैसी पकेट क्षेत्रको रुपमा विस्तार गरिनेछ । सहकारीहरुको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गरिनेछ । राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्ने, निष्क्रिय रहेका सहकारीलाई खारेजी वा अन्य सहकारीमा समाहितीकरणको नीति अवलम्वन गरिनेछ । नागरिक स्तरमा स्वरोजगार सृजना गर्न र गरिवी न्यूनीकरण गर्न सरकार तथा नीजि क्षेत्रसँग साझेदारीमा सिप तथा उद्यमशिलता तालिम अभियान सञ्चालन गरिनेछ । धुलिखेल नगर क्षेत्र भित्र एक लाख बिरुवा वृक्षारोपण गर्ने अभियान अन्तर्गत करिब ३५ हजार बिरुवा रोपिएको छ । वडा नम्वर २ मा रहेको अल्छेचौर सामुदायिक बनमा इन्जिनियर्स विथ आउट बोर्डरको सहकार्यमा नमुना बन कार्यक्रमको सञ्चालन  गरिएको छ साथै नगर क्षेत्रमा वृक्षारोपण अभियानलाई निरन्तरता दिइने छ ।