2026 August 23/ 08:21: 06pm

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाका १३ पालिकामा संघीय सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि समानीकरण, सशर्त, विशेष र समपुरकमा चालु र पुँजीगत प्रकृतिका लागि कुल ५ अर्ब ३४ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाहरुका लागि २ अर्ब ९२ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ भने गाउँपालिकाहरुका लागि २ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ विनियोजन गरेको छ । 
    समानीकरण तर्फ न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान उपलब्ध गराईएको छ । सशर्त अनुदानमा चालु र पुँजीगत प्रकृति, विशेष अनुदानमा चालु र पुँजीगत, समपुरकमा पुँजीगत अनुदान उपलब्ध गराईएको छ । काभ्रेपलाञ्चोक जिल्लाका पालिकाहरुमा समाजीकरण तर्फ १ अर्ब ३५ करोड ४१ लाख रकम विनियोजन गरिएको छ । नगरपालिकाहरु तर्फ ७६ करोड ४ लाख र गाउँपालिका तर्फ ५९ करोड ३७ लाख रकम विनियोजन भएको छ । समानीकरणमा कार्यसम्पादन बापत सबैभन्दा धेरै नगरपालिका तर्फ धुलिखेल र बनेपाले ५७÷५७ लाख प्राप्त गरेका छन् भने सबै भन्दा कम मण्डनदेउपुरले ३९ लाख प्राप्त गरेको छ । गाउँपालिका तर्फ रोशी गाउँपालिकाले सबै भन्दा धेरै ६२ लाख अनुदान प्राप्त गरेको छ । सबैभन्दा कम भुम्लुले ३७ लाख प्राप्त गरेको छ । महाभारतले ५० लाख, बेथान्चोकले ५१ लाख, चौरीदेउरालीले ५४ लाख प्राप्त गरेको छ । 
    सशर्त अनुदान तर्फ जिल्लामा ३ अर्ब ७३ करोड ४८ रकम भित्रिएको छ । जसमा नगरपालिका तर्फ २ अर्ब २ करोड ६४ लाख र गाउँपालिका तर्फ १ अर्ब ७० करोड ६४ लाख रकम भित्रिएको छ । विशेष अनुदान तर्फ काभ्रेमा १२ करोड १० लाख रकम प्राप्त भएको छ । जसमा नगरपालिका तर्फ ७ करोड ६५ लाख र गाउँपालिका तर्फ ४ करोड ६५ लाख रकम विनियोजन भएको छ । समपुरक अनुदानमा जिल्लामा १३ करोड ५ लाख रकम विनियोजन भएको छ । जसमध्ये नगरपािलकामा ५ करोड ८५ लाख र गाउँपालिकामा ७ करोड २० लाख रकम विनियोजन भएको छ ।