2026 August 23/ 08:21: 05pm

    सिपाघाट/नेपाली सेना श्री कालीजंग गण धुलिखेल काभ्रेपलाञ्चोकको संयोजनमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा जिल्ला सुरक्षा निकायहरुद्वारा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्वर ६ स्थित सिपाघाट ईलाकामा अभ्यास मनसुन ४ (संयुक्त अभ्यास तथा प्रर्दशनी) गरिएको छ । 
    प्रर्दशनीसँगै आँखा लगायत विभिन्न रोगहरुका बारेमा जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट निःशुल्क स्वास्थ्य परामर्श सहितको सेवा प्रदान गरिएको थियो । २६ नम्वर बाहिनीका बाहिनीपति सहायक रथी अशोक गुरुङले अभ्यास मनसुन ४ सम्वन्धी जानकारी गराएका थिए । अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, उपत्यका पृतनाका पृतनापति उपरथी विष्णु राउतले अभ्यासले विपदका अवस्थामा हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुग्ने बताए । नेपाली सेनाले निरन्तर गरिरहेका यस्ता अभ्यासले अधिक स्थानमा भएका विपद्हरु न्युनिकरणमा सहयोग पुगेको सहभागीहरुले बताए । 
    अभ्यास कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, अध्यक्ष तथा उपाध्यक्षहरु, वडा अध्यक्ष तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधीहरु, विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाईटी लगायतका गैह्रसरकारी संस्थाका प्रतिनिधीहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यार्थीहरु, नेपाली सेनाको तालिम प्राप्त एनसीसी विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो । 
    आर्थिक वर्ष २०७९÷०८० र चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्कमा जिल्लाका विभिन्न पालिकामा २६ स्थानमा सवारी दुर्घटना भएको देखाएको छ । जसमा १९ जनाले ज्यान गुमाएका छन् । ति मध्ये ६ जनाको डुबेर निधन भएको थियो । १२ जना घाईते भएका थिए । काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७९÷०८० र चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ७ स्थानमा गएको पहिरोमा ४० जनाको मृत्यु भएको थियो भने ८ जना घाईते भएका थिए । कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले नेपाली सेनाले जिल्लाका विभिन्न पालिकामा ५ सय भन्दा धेरैलाई राष्ट्रिय सेवा दल क्याडेटहरुले विपद प्रतिकार्य सम्वन्धी पहिलो चरणको तालिम प्राप्त गरिसकेको बताए । अभ्यासका दौरानमा यस अघि तीनवटा अभ्यास सफलतापूर्वक सम्पन्न भईसकेका थिए । ‘अभ्यासले स्थानीयहरुलाई स्थानीय सामाग्री र स्थानीय तालिम प्राप्त ब्यक्तिहरुले तत्कालै उद्धार गर्न सक्ने गराएको छ भने उपकरण सहितको उद्धार आवश्यक पर्ने अवस्थामा नेपाली सेना र सुरक्षा निकायको टिम तथा स्वास्थ्यकर्मीहरुको समुहले नागरिकहरुलाई उद्धार गर्न सक्ने गराएको छ’–कालीजंग गणका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने ।  
यसरी गरियो मनसुन प्रतिकार्य अभ्यास ४
    मण्डनदेउपुर नगरपालिका वडा नम्वर ६ स्थित सिपाघाटबाट सिन्धुपाल्चोक जाने पुलमा सडक छेउमा रोकिराखेको सवारी साधनलाई भारी वर्षातका कारण सडकमा जमेको पानी, अँध्यारो, गाडीहरुको हेडलाईटमा कुहिरोले चारैतिर धमिलो बनाएको अवस्थामा ट्रकले ठक्कर दिँदा उक्त सवारी साधनल पुलबाट नदीमा खस्न पुग्छ । गाडी ठोक्किएको आवाज सुने लगत्तै स्थानीयहरुले प्रहरीलाई खबर गर्छन । प्रहरीले नेपाली सेना कालीजंग गणमा खवर गरी उद्धार टोली पठाउन अनुरोध गर्छ । नेपाली सेनाले घटना स्थलका बारेमा तत्काल ड्रोनको सहयोगबाट उद्धार गर्न आवश्यक पर्ने सामाग्री र अवस्थाका बारेमा जानकारी लिन्छ । विपद उद्धार टोली तत्काल परिचालन गर्न नेपाली सेना कालीजंग गणका सहायक सेनानी खगेन्द्र चन्दको कमाण्डमा घटनास्थल पुग्छ । सुरक्षा निकायका अन्य टोलीहरु परिचालन भईसकेका हुन्छन् । नेपाली सेनाको विपद् उद्धार टोलीले तत्काल उद्धारका लागि आधार तयार गरी सवारी साधन भित्र रहेका श्याम हुमागाईलाई उपकरण मार्फत उद्धार गर्छ । नेपाल रेडक्रस, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल लगायतको टोलीले एम्बुलेन्स मार्फत उनको उपचारका लागि लैजाने ब्यवस्था गर्छ । नेपाली सेनाले अभ्यासका क्रममा नदीमा पौडी खेलिरहेका सितारामका साथीलाई बगाएको अवस्थामा दुर्घटनाग्रस्त ठाउँमा प्राकृतिक वा कृत्रिम बेश निर्माण गरी रोप फिगर ८, क्याराविना, हार्नेश, जुमर, पुल्लीको सहायताले सुरक्षित स्थानमा ल्याएको थियो । प्युठ ठाकुरप्रसाद चापागाईले सुरक्षा उपकरण मार्फत उद्धार गरेका थिए । 
    त्यस्तै नेपाली सेनाले स्थानीयहरुद्वारा इम्प्रोभाईव ¥याफट प्रयोग गरी उद्दार गर्ने तरीका प्रर्दशनी गरेको थियो । स्थानीय स्तरमा पाईने खाली पानीको बोतल, म्याटेस केराको थम्बा, गाडीको टिउव, सुकेको बास लगायतको प्रयोग गरी उद्धार गर्न सकिने गरी नेपाली सेनाले अभ्यास गरेको थियो । बाढीमा फेसकालाई सेनाको टोलीले सोहि सामाग्रीहरु प्रयोग गरी उद्धार गरेको थियो । नेपाली सेनाको टोलीले नदी छेउमा घर बनाई बसेका परिवारका सदस्यहरुलाई नदीले बगाएको अवस्थामा सफल उद्धारको अभ्यास गरेको थियो । अघिल्लो आर्थिक वर्ष र चालु वर्षको बैशाख मसान्तसम्ममा २९ वटा घटनामा ६ जनाले ज्यान गुमाएका छन् ।