धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि कारगार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाएका अधिकृत झपेन्द्रराज खरेल, नागरिकता सनाखत गरेर विदेशीलाई समेत नागरिकता विक्री गर्ने गिरोह मिलाउने सुब्बा हालका अधिकृत रामचन्द्र अर्याल र अधिकृत भुपेन्द्र पाण्डेयले जारी गरेका ११ थान नागरिकता रद्द गरेको छ ।
रद्द गरिएका सबै नागरिकता एउटै वर्ष जारी भएका थिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा त्यस अघिका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले नक्कली नागरिकता वितरणको सूचना पाए लगत्तै अनुसन्धान गरी कडाई गरेका थिए । जारी भएका सबै नागरिकताको कागजात छैन । नागरिकता रद्द हुनेहरुमा चिरञ्जीवी दुलाल, श्याम भण्डारी, लिलापन्थ भण्डारी, श्रीराम न्यौपाने, निमा तामाङ, पासाङ तामाङ, गोविन्द भट्टराई, रञ्जिता थापा, राजु गुरुङ, सिता पापाने र तेन्जिङ सोनाम तामाङ छन् । ति मध्ये राजु गुरुङ पक्राउ गरी धरौटीमा रिहा भएका छन् । उनले कर्मचारीहरुलाई ५ लाख रुपैयाँ बुझाएर नागरिकता र राहदानी लिएको बयान दिएका थिए । त्यहि बयानका आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई लेखी पठाएको थियो । उनिहरुले प्राप्त गरेको नागरिकतामा अधिकृत भुपेन्द्र पाण्डेय र झपेन्द्रराज खरेलको हस्ताक्षर रहेको छ । २०८० जेठ देखि २०८० फागुन १८ गतेसम्म १० महिनाको अवधीमा प्रशासनले उनिहरुले लिएका नक्कली नागरिकता फेला पारी रद्द गरेको हो । अध्ययनले सोहि अवधीमा तिनै अधिकृतहरुले ३ सय ५० वटा नागरिकता बिक्री गरेको फेला पारेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नक्कली नागरिकताको विगविगी भएको सूचना पाए पछि कडाई गरेको छ । प्रशासनले गरेको कडाईले सर्वसाधारण भने हैरानीमा परेका छन् । कर्मचारीहरुले गिरोह मिलाएर विक्री गरेका नागरिकता नक्कली हुँदा वास्तविक सेवाग्राहिहरुले नागरिकता पाउन नसकेका हुन् । नागरिकता प्राप्तिका लागि आवेदन दिएका एक सय ५० भन्दा धेरै नागरिकहरु ८ महिना अघि देखि नागरिकता सम्बन्धी निर्णय हुन नसक्दा अन्योलमा परेका छन् । नागरिकताको आश गर्दा गर्दै केहि नागरिकले ज्यान समेत गुमाएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले काभ्रेपलाञ्चोक जिल्लामा नागरिकता सम्बन्धि धेरै समस्या रहेको बताईन् ।
‘नागरिकता सम्बन्धि धेरै समस्या छन् । नागरिकता नै बन्न नसकेका एकाथरी समस्या छन् भने बनिसकेका नागरिकताको प्रतिलिपीमा अर्काे समस्या छ’–प्रमुख जिल्ला अधिकारी शर्माले भनिन–‘नागरिकलाई ढिलाई गरेर नागरिकता नदिने उद्देश्य छैन । प्रकृया पुगेकाहरुलाई नागरिकता उपलब्ध गराईएको छ । प्रमाण बुझ्नु पर्ने, कानूनी समस्या भएका केहि नागरिकताहरुको निर्णय हुन सकेको छैन ।’ २०७३÷०७४ सालमा वितरण गरिएका नागरिकतामा आएको समस्याका कारण काभ्रेपलाञ्चोक जिल्लामा नागरिकता प्राप्त गर्नु पर्ने वास्तविक जिल्लाबासीहरुले नागरिकता पाउन सकस भएको छ । त्यतिबेला केहि कर्मचारीहरुको समुहले गिरोह मार्फत ३ सय ५० जनालाई प्रतिब्यक्ति ३ देखि ७ लाखसम्म र विदेशीको हकमा २५ लाखसम्म लिएर नागरिकता विक्री गरेको पक्राउ परेकाहरुले बयान दिएका छन् । विदेशी र स्वदेशकै गैह् जिल्लावासीहरुले नक्कली कागजातका आधारमा सक्कली नागरिकता लिएको विषयमा कडाई गरिए पनि वास्तविक नागरिकहरुका बारेमा समयमै निर्णय हुन नसक्दा उत्पन्न समस्याले नागरिकहरुले थप हैरानी ब्यहोर्नु परेको गुनासो ब्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीको सरुवासँगै रोकिएका नागरिकताहरु सहज रुपमा पाउने अपेक्षा नागरिकहरुले गरेका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको थियो । शर्माको स्थानमा मकवानपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत सुर्यप्रसाद सेढाई काभ्रे आउनेछन् ।









