2026 August 23/ 08:21: 05pm

    बनेपा/नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिबेशनका लागि शुक्रबार १३ वटा पालिकामा प्रतिनिधि छनौट भएका छन् । अधिकांश वडामा शुक्रबार प्रतिनिधी छानिए । केहि जनवर्गीय संगठनले पनि प्रतिनिधी छनौट शुक्रबार नै गरे ।
     १ सय ३५ वटा वडा र २१ वटा जनवर्गीय संगठनबाट प्रतिनिधी छनौट गरिएको छ । बहालवाला जिल्ला कमिटीका सबै सदस्य तथा पदाधिकारीहरु पनि भुगोलबाट नै प्रतिनिधी चयन भएर आउनु पर्ने ब्यवस्था गरेको छ । पुनः जिल्ला कमिटीमा आउन नचाहनेहरु प्रतिनिधी भएनन् । केहि प्रतिनिधि मनोनीत हुनेछन् । ७ सय भन्दा धेरै प्रतिनिधी अधिवेशनको बन्द सत्रमा सहभागी हुनेछन् । प्रतिनिधिहरुले नेतृत्वको छलफल शुरु गरेका छन् । ८७ सदस्यीय कमिटीका लागि भुगोल र विभिन्न क्षेत्रबाट निर्वाचित हुने ब्यवस्था छ । प्रतिनिधीहरुले जिल्ला कमिटी सदस्य तथा पदाधिकारीहरुका लागि आकांक्षा देखाएका छन् । प्रतिनिधि छनौटका लागि कतैकतै निर्वाचन समेत भएको थियो । 
    २०८१ जेठ २८ देखि ३० गते सम्म धुलिखेलमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । जिल्ला अधिवेशन पार्टी जीवनको नियमित कार्यको अलावा पार्टीले अघि सारेको नमुना काभ्रे, सम्बृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने महत्वपूर्ण अवसर भएको एमाले काभ्रेले जानकारी दिएको छ । जिल्ला अधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ति र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटीले अपिल गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभे्रपलाञ्चोक जिल्ला कमिटीको १० औं पूर्ण बैठकले अधिबेशनको निर्णय गरेको थियो । अधिवेशन तयारीका लागि पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधि ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको छ । अधिवेशनको लागी मञ्च र खाना ब्यवस्थापनको संयोजन पार्टी धुलिखेल नगर कमिटीले गर्नेछ ।