– तेमालका दुई नेता एकै साथ पक्राउ
बनेपा/कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं २०७४ सालको निर्वाचनमा प्रदेश सभाका उम्मेदवार हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी नेपाली काँग्रेस काभ्रेका महासमिति सदस्य समेत छन् ।
उनी अहिले पशुपति सेभिङ एण्ड क्रेडिटका अध्यक्ष समेत हुन । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ । कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साँढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकोमध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयर पूँजी करिब ४९ करोड छ । सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । यो ऋणको ठूलो हिस्सा सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको हो ।
सुन तस्करीमा थर्कमान पक्राउ
नेपाली काँग्रेस काभ्रे जिल्ला कार्य समितिका सदस्य कान्छा भनिने थर्कमान लामालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ । उनी ६० किलो सुन प्रकरणमा संलग्न भएको अभियोगमा सिआईबीले पक्राउ गरेको जानकारी दिएको छ । १० वर्ष अघि कान्छा सहितका केहि ब्यक्तिहरु लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परी केहि दिनको हिरासत पछि छुटेको प्रहरी रेकर्डमा उल्लेख छ । थर्कमानले सुन तस्करीमा संलग्न भई विक्री वितरणमा सहयोग पु¥याएको अभियोग छ । तस्करीको करिब ६० केजी सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पु¥याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको थियो । तर सुन तस्करी सम्बन्धी छानविन आयोगले दिएको सिफारिसमा प्रहरीले गरेको अनुसन्धान बायस देखिएको भन्दै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो ।
दावालाई नागरिकता प्रकरणमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपास पछि बरामद भएको सुनलाई बजार मूल्य अनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व र भन्सार छली र नेपाल राष्ट्र बैंक ऐन विरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियोे । सन् २०२१ देखि २०२३ जुलाईसम्म गिरोहले करिब १ अर्ब रुपैयाँ क्रिप्टो मार्फत कारोबार गरेको पनि खुलेको छ । सुन तस्करी, भन्सार छली, हुण्डी र अरू अपराधबाट आर्जित सम्पत्ति गिरोहले क्रिप्टो भुक्तानी ‘यूएसडीटी’ मार्फत गर्ने गरेको सीआईबी स्रोतको भनाइ छ । यसरी भएको अवैध क्रिप्टो भुक्तानीलाई राष्ट्र बैंक ऐनको दफा ५ अनुसार सजाय हुने गरी सुन तस्करीमा संगठित अपराध र राजस्वरभन्सार छलीको कसुरमा मुद्दा चलाउनुपर्ने राय पनि प्रतिवेदनमा छ । सुन तस्करी आरोपमा तिब्बती मूलका भारतीय नागरिक छिरिङ थुप्तिन, चिनियाँहरू नेङकाई ली, सेग फा दिङ, एलेक्स भनिने याओ फुचेङ, अली भनिने वेन सुङ ली, जिक्वाङ लिन, तियान मी र वेन योङ बेल्जियन नागरिक दावा छिरिङको संलग्नता देखिएको छ । अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका एजेन्टहरू राजेन्द्रकुमार राई, यादव पराजुली, रुक्मिना सुब्बा र सुदर्शन गौतम, विमानस्थल भन्सारका तीन अधिकृत सन्तोष चन्द, पुष्पा जोशी र गणेश पौडेल, तीन जना नासु कमल परियार, वीरेन्द्र नेपाली र सरोज श्रेष्ठ तथा खरिदार कुमार ढकाल पनि पक्राउ परेका थिए ।
तस्करीको सुन बोक्ने भरिया र ट्याक्सी ड्राइभर अशोक लामा, ब्रेक सुमा सुन ल्याउने कम्पनी रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, सुन तस्करका सहयोगीहरू हर्कराज राई र नरेश तामाङ, हङकङबाट सुन सहितका सामान ल्याउने कार्गाे कम्पनी ट्रान्स ग्लोबलका सञ्चालकद्वय कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्ट, एलिस ट्रान्स ग्रुपका सञ्चालक राजनकुमार श्रेष्ठ, दावा छिरिङका साझेदार किशोर बस्नेत, तस्करीको सुन व्यापारी र भारतसम्म पु¥याउने सुमन खरेल तथा सुनचाँदी व्यवसायी शिव सर्राफ लगायत छन् । तस्करीको सुन संकलन गर्ने हङकङका ३ वटा डिलर र त्यसका मालिक तथा नेपालबाट भागेर भारत पुगेका तस्करले सेल्टर लिने स्थानको पहिचान भए पनि अभियुक्त पक्राउ परि सकेका थिएनन् । तस्करीको सुन बरामदपछि भारततर्फ भागेका सुमन खरेल नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ परेका थिए । खरेलपछि बारा स्थायी घर भएका सुनचाँदी व्यवसायी शिव सर्राफ पनि पक्राउ परेका थिए । सीआईबीले भन्सारका कर्मचारीलाई सुन तस्करीमा सहयोग पुग्ने गरी भूमिका खेलेको र तस्करका सहयोगीसँग साँठगाँठ गरेको कसुर किटान गरेको छ । भन्सार एजेन्टहरूले तस्करीको सुन छुटाउन संगठित रूपमा भूमिका निभाएको र केहीको तस्करसँग सम्पर्क र सम्बन्ध देखिएको उल्लेख छ । एलेक्स हङकङ, दुबई र चीनबाट हुने सुन तस्करीमा हालसम्म पक्राउ परेका मध्येका मुख्य कारोबारी हुन । भारतमा सुन पठाउन मुख्य योजना पनि उनैबाट हुने गरेको अनुसन्धानबाट खुलेको छ । भारत र नेपालका व्यापारीलाई सुन बेचे बापत आउने रकम एलेक्समार्फत नै बुझ्ने गरेको भेटिएको छ । उनलाई नेपालमा दावा छिरिङले राजनीतिक, प्रशासनिक र अरू सञ्जालसँग जोडेको अनुसन्धान स्रोतको भनाइ छ ।
दावा छिरिङले रोल्पाकी अमला रोकालाई विवाह गरेर माओवादी र अरू दलका केही नेतासँग सम्बन्ध र सम्पर्क बनाएर तस्करीको सञ्जाल खडा गरेका थिए । अमलाका अर्का श्रीमान् अहिले पनि रोल्पामा छन् । मतदाता नामावलीमा अमलाले अर्कै श्रीमान्को नाम राखेकी छिन् । दावाको समूहले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व सभामुख कृष्णबहादुर महरा र पूर्व अर्थमन्त्री वर्षमान पुनको परिवारसँग सम्बन्ध बनाएर अपराध फैलाएका थिए । दावा मार्फत नै पछिल्लो सुन तस्करीमा काठमाडौंका विभिन्न ८ स्थानमा सुन पगाल्ने कारखाना र सेल्टर बनाएका थिए । यी सबै सेल्टर दावा र उनको सम्पर्कमा रहेका भरिया र सहयोगीबाट व्यवस्थापन गरिएको खुलेको छ । तिब्बती मूलका भारतीय नागरिक छिरिङ थुप्तिन चिनियाँ तस्करका सहयोगी बनेर काम गरेको भेटिएको छ । विदेशबाट सुन ल्याउन ली नेङकाई र दिङ सेङ्फा, अली भनिने ली वेन सुङ र लिन जिक्वाङको भूमिका देखिएको छ । यी चिनियाँलाई फुचेङको योजनामा काम गर्ने गरेको देखिएको छ । नेपालमा सुन बोकेर आएकालाई लुकाउने र प्रहरीले निसानामा पार्दा भगाउने सम्मका काममा दुई चिनियाँ नागरिक मी तियान र योङ वेनले भूमिका खेलेको देखिन्छ । यो दम्पतीले ठमेलमा रेस्टुराँ सञ्चालन गर्दै आएका छन ।
नेपाली काँग्रेस काभ्रेका नेता कार्यकर्ताहरु पछिल्लो समय विभिन्न अभियोगमा पक्राउ पर्न थालेका छन् । २०८० चैत्र १९ गते भक्तपुरको चाँगुरानारायण स्थित त्रिशुल डाँडाबाट प्रतिनिधी सभा क्षेत्र नम्वर २ का नेविसंघ सभापति राजु लामा जुवा खालबाट पक्राउ गरेका थिए भने धुलिखेल नगर सभापति समेत जुवा खालबाट पक्राउ परेका थिए । महाभारत गाउँपालिका घर भएका काँग्रेस क्षेत्रिय समितिका सदस्य समेत रहेका समानुपातिक तर्फ उम्मेदवार सिफारिसमा परेका विकास लामा मलद्वारमा एक केजी सुन लुकाई तस्करी गरेको अभियोगमा फरार छन् । अन्य केहि पक्राउ परी धरौटीमा छुटेका छन् भने केहि धरौटी बुझाउन नसकी हिरासतमा छन् ।









