धुलिखेल/जिल्लाका १३ वटा पालिकाले चैत्र मसान्तसम्म २८ करोड ३७ लाख ९२ हजार ४ सय २६ रुपैयाँ प्राप्त गरेका छन् भने बागती प्रदेश सरकारले १९ करोड ७५ लाख ९८ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरेको छ । सोहि शिर्षकमा मालपोत कार्यालयले ४८ करोड १३ लाख ९१ हजार २ सय ३ रुपैयाँ राजश्व संकलन गरेको छ । कारोवार कम हुँदा तीन तहकै सरकार श्रोत अभावको चेपुवामा परेका छन् ।
पालिकाहरुले सोचे अनुरुप मालपोतबाट प्राप्त हुने राजश्व संकलन नभए पछि विनियोजन गरेका योजनाहरुको रकम कटौती गर्न बाध्य हुने भएका छन् । संघ सरकारले विनियोजन गरेको समानिकरण अनुदान, मालपोत कर, भ्याट र केहि केहि पालिकाले तयार गरेको ऋणात्मक बजेटका कारण चालु वर्षमा अधिकांश पालिकाहरु बजेट अभावका कारण तनावमा छन् । सबैभन्दा धेरै जिल्लाका १३ पालिकामध्ये बनेपा नगरपालिकाले प्राप्त गरेको छ । बनेपाले ९ महिनामा ९ करोड ५४ लाख १९ हजार ३ सय ५० रुपैयाँ प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो धेरै कम हो । चालु वर्षको अन्त्यसम्मा बनेपाले करिव १५ करोड राजश्व प्राप्त गर्ने अनुमान गरिएको छ । घरजग्गामा आएको मन्दिसँगै खुम्चिएको राजश्व संकलनले संघ र प्रदेश सरकारको बजेट निर्माणमा पनि असर पारेको छ । बनेपा पछि पाँचखालले ६ करोड ५२ लाख ९२ हजार राजश्व प्राप्त गरेको छ । धुलिखेलले ५ करोड ६२ लाख ११ हजार प्राप्त गर्दा मण्डनदेउपुर नगरपालिकाले १ करोड ८५ लाख, नमोबुद्धले १ करोड ८७ लाख र पनौतीले १ करोड ८६ लाख राजश्व प्राप्त गरेका छन् ।
खानीखोला र महाभारतले उस्तै उस्तै राजश्व प्राप्त गरेका छन् । खानीखोलामा ५ लाख ५३ हजार राजश्व प्राप्त हुँदा महाभारतले ५ लाख ९६ हजार प्राप्त गरेको छ । तेमालले १० लाख, रोशीमा ३७ लाख, भुम्लुले १२ लाख, चौरीदेउरालीले ११ लाख, बेथान्चोकले २५ लाख राजश्व प्राप्त गरेका छन् ।









