धुलिखेल/विभागीय टोली आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन । सिमा खड्का र कमला चन्दले एक एक गोल गरिन । उता गण्डकीका लागि सीता माया बलले एक गोल फर्काइन । आर्मीका लागि खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै टिमलाई अग्रता दिलाइन । गण्डकीका लागि खेलको १६ औं मिनेटमा सीताले गोल गर्दै टिमलाई बराबरीमा ल्याइन । खेलको १८ औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई २–१ गोलको अग्रता दिलाइन ।
खेलको २४ औं मिनेटमा कमलाले गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाइन । खेलको ५७ औं मिनेटमा सिमाले गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भइन । फाइनल खेलको प्लेअर अफ द म्याच कमला चन्द चुनिइन । उपाधिसँगै आर्मीले एक लाख रुपैयाँ प्रप्त गरेको छ । दोस्रो हुने गण्डकीले ७५ हजार प्राप्त गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १–० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल ग¥यो । मधेस प्रदेशका लागि खेलको २७ औं मिनेटमा बबिता उराउले गोल गर्दै टिमलाई जित दिलाउन सफल भइन ।
त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मी तर्फकि सरस्वती बेस्ट स्कोरर हुन सफल भइन । प्रतियोगिताका इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकी नमिता एसके चुनिइन । बेस्ट गोलकिपरमा गण्डकीकी गोमा परियार, बेस्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै निलिमा पान्डे प्लेअर अफ द टुर्नामेन्ट चुनिन । प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता टिमलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु लगायतले पुरस्कार वितरण गरेका थिए ।









