विकास तिमल्सिना
साँगा
भक्तपुर सुर्यविनायक–धुलिखेल सडक खण्ड विस्तार पछि सडक फराकिलो त हुन्छन नै यातायातका साधनहरुलाई सहज हुने अपेक्षा गरिएको छ । प्रमुख दुई मार्ग अरनिको र विपी हुँदै गुड्ने सवारी साधनको चाप धान्ने गरी निर्माण गरिएको सडक विस्तारका क्रममा क्षतविक्षत् हुने ढल ब्यवस्थापन भने अलपत्र हुने भएको छ ।
‘अरनिको राजमार्ग निर्माणको क्रममा भएका सबै संरचनाको पुनर्निर्माण गर्ने गरी आयोजनाले गरेको डिपिआरमा उल्लेख छ । सडक क्षेत्र पर्ने ढल, खानेपानी लगायतका संरचनाहरु पुर्ननिर्माण गर्ने भए पनि नयाँ ब्यवस्थापनमा आयोजनाले केहि गर्ने छैन’–आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले भने–‘सडक निर्माणका क्रममा सोहि क्षेत्रमा भएका ढलहरुको विस्तार र ब्यवस्थापन भए पनि नयाँ ढल राख्ने वा थप्ने योजनामा आयोजना छैन । त्यो काम अन्य निकायको कार्यक्षेत्र पर्छ ।’ पहिले भएका ढलहरु भने आयोजनाका तर्फबाट परिवर्तन हुनेछन् । अहिले धुलिखेल वडा नम्वर ३ मा ढल परिवर्तनका कार्य भईरहेको छ । त्यस्तै बनेपाको बजारमा भएको साविकको ढल परिवर्तन गर्ने भए पनि नयाँ ढलमा आयोजना संलग्न हुने छैन ।
काभ्रेपलाञ्चोक जिल्लाको प्रवेशद्धार अर्थात उपत्यकाँसँग जोडिएको साँगामा खुल्ला ढल छाडिएको छ । खुल्ला ढल नयाँ बन्ने सडकको किनार हुँदै विकटेश्वर खोलामा मिसिने छ । विकटेश्वर महादेव मन्दिर आफैमा ऐतिहासिक छ । त्यहाँको खोला र त्यहाँ रहेको घाट लगायतका अन्य संरचनामा समेत असर पुग्ने गरी खुल्ला बगाईएका ढलहरुले आगामी दिनमा सभ्य र सुसंस्कृत शहर निर्माण गर्ने अभियानमा समेत धक्का दिनेछ । स्थानीयहरुले अहिले खुल्ला नाली मार्फत ढल बगाई रहेका छन् । आयोजनाले नयाँ ढल ब्यवस्थापन गर्ने छैन । सोहि नालीबाट नै ढल खोलामा पुग्नेछ । स्थानीयहरुले आयोजना मार्फत नयाँ र ब्यवस्थित ढल निर्माण गर्न अनुरोध गरेका छन् । ‘पटक पटक वडा कार्यालय मार्फत आयोजनालाई ब्यवस्थित ढलका लागि अनुरोध ग¥यौं’–स्थानीय सुकदेव जोशीले भने–‘स्थानीयहरुले ढल र फुटपाथको ब्यवस्थापनका लागि माग गरे पनि आयोजना र निर्माण ब्यवसायीले टार्दै आएका छन् । त्यसको सहि सूचना समेत स्थानीयलाई दिएका छैनन ।’
स्थानीय राजेन्द्र जोशीले आयोजनाले निर्माण गरेको कार्य अलपत्र छाड्दा सर्वसाधारणलाई थप सास्ति भएको बताए । साँगाको पुरानो बजारमा ढल ब्यवस्थापन, पुराना मन्दिर, पोखरी, धारा तथा अन्य संरचनाको ब्यवस्थापन चुनौतीपूर्ण भए पनि आयोजना सहज होस् भन्ने हेतुले स्थानीयले गरेको सहयोगलाई आयोजनाका तर्फबाट थप बेवास्ता गरिएको स्थानीय राजेन्द्र जोशीले भने । ‘खुल्ला ढल ब्यवस्थापन गरौ भन्ने हाम्रो अनुरोध हो । आयोजना विस्तार हुँदा अलपत्र काम छाडिएको छ । ब्यक्तिहरुका घर जाने बाटोमा अवरोध पु¥याईएको छ । काम गर्दा गर्दै छाडिएको छ । ब्यक्तिगत सम्पतिलाई समेत क्षति पुग्ने गरी संरचना निर्माण गरिएको छ । केहि संरचना अधुरो छाडिएको छ’–उनले भने–‘आयोजना सफल होस भन्ने उदेश्यले मात्रै स्थानीयहरुले धैर्य गरेका हुन् । ब्यवसायी र आयोजनाले स्थानीयहरुको भावनामा खेलवाड गरेर बेवास्ता गरिरहे भने आन्दोलन सहितको अवज्ञा गर्ने चेतावनी दिएका छन् ।’ स्थानीयहरुलाई आयोजना निर्माण हुँदा कहाँ के के संरचना बन्छन ? आयोजनाले पु¥याउने क्षति र असर के के हो ? स्थानीयहरुले गर्नु पर्ने सहयोग के हो ? केहि जानकारी नगराएको भन्दै स्थानीयहरुले तत्काल अधुरो कार्य पुरा गर्न, ढल तथा खानेपानीका संरचनाहरु ब्यवस्थित गर्न, पुरातात्विक संरचनामा क्षति नपु¥याई कार्य गर्न माग गरेका छन् । आयोजनाले भने ७५ फुट बाहिर ८२ फुट भित्रको जमिनबाट ढल तथा खानेपानीका संरचना निर्माण गर्न सुझाव दिएका छन् । नगरपालिकाले भने स्थानीयहरुको मागलाई वेवास्ता गरेको स्थानीयले बताए । ‘नगरपालिकालाई साँगाको पुरानो बजारमा भएका समस्या समाधानका लागि कुनै चासो र चिन्ता छैन’– स्थानीय राजेन्द्र जोशीले भने–‘तत्काल खुल्ला ढल, खानेपानी, पुरातात्विक संरचनाको ब्यवस्थापन गर्न नगरपालिकाले चासो दिओस ।’









