2026 August 22/ 08:08: 30pm

बनेपा/श्री माई चण्डेश्वरी जेष्ठ नागरिक आश्रमको भवन निर्माण कार्य प्रारम्भ गरिएको छ । बुधबार एक कार्यक्रमका बीच संघीय सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्यालले आश्रम निर्माणको शुभारम्भ गरेका हुन् ।
    आश्रम निर्माणका लागि आवश्यक पर्ने जग्गा ब्यवस्थापनसँगै भवन निर्माण कार्य प्रारम्भ गरिएको हो । चण्डेश्वरी गुठीका नाममा रहेको केहि रोपनी जमिनका मोहिहरुलाई रकम भुक्तानी गर्दै गुठीको जग्गालाई बार्षिक भाडा तिर्ने गरी थप केहि रोपनी जमिन खरीद गरी १५ रोपनी जमिनमा आश्रम निर्माण गर्न लागिएको हो । २०७० सालमा स्थापना गरिएको उक्त संस्थाले झण्डै एक दशक जग्गा ब्यवस्थापन लगायतका कार्यमा समय ब्यतित गरेको छ । आश्रम निर्माणका लागि जग्गा कम्पाउण्ड वाल, मुख्य प्रवेशद्धार गेट, गणेश मन्दिर निर्माण, सिंगल ब्लक भवन ४ वटा, डबल ब्लक भवन ४ वटा, कमन ब्लक भवन, मल्टिपरपोज भवन, आध्यामिक भवन जसमा योग सहितका अभ्यास गर्ने सकिन्छ, स्वास्थ्य क्लिनिक, भान्सा घर लगायतका संरचनाहरु निर्माण हुनेछन् । 
    दाताहरुको सहयोगमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको उक्त आश्रमका केहि संरचनामा समितिले सरकारका निकायको अपेक्षा गरेको छ । ‘केहि संरचना निर्माणमा सरकारका तीन तहकै सरकारको सहभागिता खोजेका छौं’–समितिका अध्यक्ष उद्धव तिमल्सिनाले भने–‘बाँकी संरचना निर्माण, जग्गा ब्यवस्थापन तथा त्यसको कार्य संचालनमा समितिले योजना तय गरेको छ । डिपिआर भित्र रहेर आवश्यक संरचना सहितका पुर्वाधार निर्माण गरिनेछ । निर्माण सम्पन्न भए पछि संचालनमा ल्याईने छ ।’ सिंगल ब्लक निर्माणका लागि ३५ लाख रुपैया खर्च हुनेछ । जसमा एट्याच बाथरुम सहितको दुईवटा कोठा हुनेछन् । दाताहरुले एउटा ब्लक बनाएको अवस्थामा दुई मध्ये एउटा कोठा उहाँहरुकै सिफारिसमा प्रयोगमा आउने छ भने अर्काे समितिले ब्यवस्थापन गर्नेछ । उक्त कमन ब्लक बाहेकका सिंगल र डबल ब्लकका भवनहरुमा पैसा तिरेर जेष्ठ नागरिकलाई राखिनेछ । कमन ब्लकमा भने २५÷२५ जना महिला र पुरुष निःशुल्क राखिने छ । डबल ब्लक भवन निर्माणका लागि ७० लाख रुपैया खर्च हुनेछ । जसमा ४ वटा कोठा हुनेछन । आश्रमको कुल क्षमता ७४ जनाको हुनेछ । सबै जेष्ठ नागरिकहरुका लागि सहज हुने गरी निर्माण गरिएका संरचनाको हेरचाह, ब्यवस्थापन, मर्मत सम्भार र नियमित संचालन समितिले गर्ने सह सचिव मोहनकृष्ण श्रेष्ठले बताए । समितिले जग्गा खरिद तथा ब्यवस्थापनका लागि करिव ३ करोड रुपैया खर्च गरिसकेको छ । ब्लक जसले निर्माण गरिदिएको छ उसकै नामाकरण गरिनेछ । 
    समितिमा अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, उपाध्यक्षद्धयमा सुरकृष्ण बैद्य र पुष्पकाजी श्रेष्ठ, सचिव उद्धव आचार्य, सह सचिव मोहनकृष्ण श्रेष्ठ, कोषाध्यक्ष ग्रुवेन तौजले रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रताप बैद्य, अन्जना शाह, धर्मभक्त प्रधान, ध्रुर्वराज कर्माचार्य, रामराजा धौभडेल, रामगोपाल कायश्थ, मिनु रञ्जित, दिनेशराज कायश्थ, अरुणचन्द्र बादे, पुर्णदेवी कायश्थ, कमला श्रेष्ठ, रसेल पलाञ्चोके, नवराज शाक्य, बलराम अधिकारी, रविन कर्माचार्य, हर्षनारायण कर्माचार्य लगायत छन् । जेष्ठ नागरिक आश्रम निर्माणका लागि ग्रुवेन तौजले, कृष्णमान कायश्थ, स्व.बद्रि नापितको स्मृतिमा उनका परिवारका सदस्य, अमरनाथ बादे, श्यामचन्द्र बादे, विक्रम भैल, प्रकाशकुमार श्रेष्ठ, पुष्पकाजी श्रेष्ठ, दशनारायण पोटे, बालकृष्ण मानन्धर, सुनिल बैद्य, रवि श्रेष्ठ, उद्धवप्रसाद तिमल्सिना, किरण मानन्धर, पूणदेवी कायश्थ, दिलिप श्रेष्ठ, दिपक सरकार, लक्ष्मीलाल राजभण्डारी, रामप्यारी बज्राचार्य, डा.भुषण श्रेष्ठ लगायतले सहयोग गर्ने बचनबद्धता गर्नुभएको छ ।  
    आश्रम भवन निर्माण कार्य शुभारम्भको अवसरमा मुख्यसचिव डा.बैकुण्ठ अर्यालले जेष्ठ नागरिकहरुको सम्मानका लागि निर्माण हुन लागेको आश्रमलाई सरकारको तर्फबाट समन्वय र सहकार्य रहने बताए । जेष्ठ नागरिक भगवान जस्तै भएकाले उहाँहरुको रेखदेख, स्याहार सुसार र सम्मान आवश्यक रहेको बताउँदै अर्यालले बनेपामा निर्माण हुन लागेको उक्त आश्रमले सन्तान भएर पनि सँगै रहन नपाएका अभिभावकहरुका लागि सन्तान सरहको सुविधा प्रदान गराउन सुझाव दिए । कार्यक्रममा प्रदेश सांसद कञ्चनचन्द्र बादे, नगर प्रमुख शान्तिरत्न शाक्य, समितिका उपाध्यक्ष सुरकृष्ण बैद्य लगायतले जेष्ठ नागरिक आश्रम निर्माणले जेष्ठ नागरिक प्रति सम्मान हुने बताए । अध्यक्ष उद्धव तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सह सचिव मोहनकृष्ण श्रेष्ठले गरेका थिए ।