दोलालघाट/प्राकृतिक, साँस्कृतिक, कृषि र ब्यापार–दोलालघाट पर्यटन प्रर्बद्धन विकासको आधार’ भन्ने मुल नारा सहित चौथो दोलालघाट महोत्सव सकिएको छ । महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले गरेका थिए । बैशाख ३ गते औपचारिक कार्यक्रम आयोजना गरी महोत्सव सकिएको हो । नयाँ वर्षको दिन महोत्सवमा उल्लेख्य सहभागिता रहेको थियो ।
तामाङले दोलालघाट पर्यटन क्षेत्रको विकासका लागि सरकारले समन्वय र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । दोलालघाटलाई दोलालघाट नै रहन दिन स्थानीय सरकार स्थानीयहरुले विशेष भूमिका खेल्नु पर्ने बताउँदै मन्त्री तामाङले सांस्कृतिक, धार्मिक, ऐतिहासिक बस्तुहरुको संरक्षण महत्वपूर्ण रहेको बताए । पुर्व मन्त्री एवं प्रतिनिधी सभा सदस्य गोकुल बास्कोटाले समृद्ध दोलालघाटका लागि सुनकोशी परियोजना प्रारम्भमा ढिलाई गर्न नहुने बताए । सुनकोशी परियोजनाले दोलालघाटको मात्रै होईन समग्र नेपालको विकास हुने बास्कोटाले बताए । नेकपा एमाले नेतृत्वको सरकारले नेपालका थुप्रै क्षेत्रहरुमा दीर्घकालिन परियोजनाहरु संचालनका लागि आवश्यक कार्य गरेको पुर्व मन्त्री बास्कोटाले बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिना लामा, बागमती प्रदेश सभा सदस्य रुकु चौलागाई, समन्वय समितिका प्रमुख दिपक गौतम, गाउँपालिका अध्यक्ष प्रेमकुमार भुजेल लगायतले दोलालघाटको विकास र समृद्धीका लागि भूमिका खेल्नु पर्ने बताएका थिए ।
भुम्लु गाउँपालिकामा पर्ने दोलालघाट क्षेत्रको विकासमा थप टेवा पु¥याउन स्थानीय, प्रदेश र संघ सरकारको ध्यानाकर्षण समेत गराउने उदेश्यले महोत्सव आयोजना गरिएको मुल समारोह समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठले बताए । दोलालघाटमा कृयाशिल रहेका संघ संस्थाहरु दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लव, दोलालघाट उद्योग बाणिज्य संघ, समृद्ध दोलालघाट टोल विकास समिति, दोलालघाट वनदेउ विकास तथा सुधार समितिले आयोजना गरेको दोलालघाट महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, सूनकोशी तथा इन्द्रावतीका लोकल माछाका परिकारहरु उपलब्ध थिए । त्यस्तै ढुङ्गे सेकुवाका परिकारहरु, काठे डुंगा संचालन, बाल उद्यान रमाईलो मेला (रोटेपिङ्ग, कोलम्बस, हात्तीघोडा, ड्रागन रेल, मिकिमाउस, फिरफिरे रेफ, जम्पिङ), स्थानीय परिकार सहितका चमेना गृह, ¥याफटिङ्ग (बोटिङ्ग), स्वास्थ्य शिविर, धार्मिक स्थलहरुको प्रचार प्रसार, कृषि प्रर्दशनीका स्टलहरु रहेका थिए ।
नयाँ वर्ष विशेष कार्यक्रम, निर्माणाधिन बुद्धपार्क तथा भ्यू टावरको अवलोकन, भुम्लु गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, टिकटक जोन र विच भलिबल लगायतका कार्यक्रमहरु आयोजना गरिएका थिए । कार्यक्रममा सह संयोजक सुरेश कक्षपतिले वातारण संरक्षणका लागि सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने बताए ।









