2026 August 22/ 08:08: 30pm

– ३५ करोड ४० लाख क्षतिपूर्ति दावी, ३८ दिनअघि नै लेखिएको थियो ‘गेम ईज ओभर’
चिनियाँ नागरिक याङ कैलिङ सहित लुटपाटमा ८ जना संलग्न रहेको किटानी जाहेरी दर्ता । डाँका, विस्फोट पदार्थ र संगठित अपराध विरुद्धको कसुर सजायँको माग । जाहेरवाला समीप त्रिपाठीले ५ करोड ४० लाख र रुख धनी निरबहादुरले ३० वर्षसम्म आम्दानी हुने रुखको बार्षिक १ करोडका दरले ३० करोड क्षतिपुर्ति माग गरेका छन् । 
    धुलिखेल/‘अति भए पछि खति हुन्छ’ भन्ने नेपाली उखान रोशीमा रहेको बुद्धचित्तको बोटमा देखिएको छ । सशस्त्र द्वन्द्व सकिएको केहि महिना पछि मुलुकमा शान्ति प्रकृयाले गति लिदै थियो । रक्तचन्दन तस्करी हुँदै बुद्धचित्तको माला तस्करी हुन थाल्यो । हरेक वर्ष बुद्धचित्तका दाना फल्न थाले पछि प्रहरी, प्रशासन सँगै स्थानीय सरकारको टाउको दुखाईको विषय बन्न थालेको थियो । साथै बन, अदालत, नापी, मालपोत कार्यालयमा समेत विवाद आउँदा स्थानीयहरुले असुरक्षाको महसुस गरिरहेका थिए । दुई चार समुहका युवाहरु हतियार सहित निर्वाध गाउँ पस्ने, सँगै प्रहरी पनि हतियार सहित गाउँ जाने र नागरिकको भन्दा रुखको सुरक्षामा ध्यान दिने क्रम बढिरहेको थियो । कतिसम्म भने गाउँपालिकामा धरौटी राखिएको रकम समेत मुद्दाको अन्तिम किनारा नलाग्दै भुक्तानी गरिएको थियो । 
    बुद्धचित्तका दानाले उब्जाएको संकट बल्झिँदै जाँदा रुख नै काटिने अवस्थामा पुग्यो । चार वर्ष अघि पनि सोहि समुहले रुखका दाना लुटेर लगेको थियो । प्रहरीले लुटेरा समुहलाई पक्राउ गर्न नसक्दा त्यहि समुहले चार वर्ष पछि रुख नै काट्न सफल भयो । छिमेकी देश चीन लैजाने गरी ब्यापारीले अग्रिम रुखमा दाना नलाग्दै खरिद विक्रीको सम्झौता गरी त्यसको सुरक्षा समेत आफै गर्ने गरेका थिए । यो वर्ष पनि त्यहि क्रम शुरु भएको थियो । सकेट बम राखेर रुख काट्ने अभियोगमा दुई वटा किटानी जाहेरी दर्ता भएका छन् । तेमाल गाउँपालिका वडा नम्वर ६ घर भई बनेपा ६ बस्ने ३० बर्षीय समीप त्रिपाठी र रोशी गाउँपालिका वडा नम्वर ५ बस्ने ४६ बर्षिय निरबहादुर तामाङले डाँका सम्बन्धी कसुरमा जाहेरी दिएका हुन् । निरबहादुरले दिएको जाहेरीमा विस्फोटक पदार्थ विरुद्धको कसुर गरेको र संगठित अपराध गरेको अभियोगमा कारवाहीको माग गरिएको छ । 
    किटानी जाहेरीमा तेमाल गाउँपालिका ६ घर भएका ४१ बर्षीय सिजन भन्ने मानबहादुर तामाङ, सोहि ठेगानाका २८ बर्षीय कबिन्द्र तामाङ, सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नम्बर १० घर भई हाल काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका १० बस्ने ४७ बर्षीय सत्यम लिम्बु, रोशी गाउँपालिका ५ बस्ने वर्ष ४१ का सागर मैनाली भन्ने रामकृष्ण मैनाली, रोशी गाउँपालिका ५ बस्ने २७ बर्षीय विजय हुमागाई, मानबहादुर र कविन्द्र तामाङसँगै बस्ने चाईनिज नागरिक बर्ष ३८ का याङ कैलिङ्ग, तेमाल गाउँपालिका ३ बस्ने ४० बर्षीय प्रभात भन्ने दुर्गालाल तामाङ र रोशी गाउँपालिका ५ बस्ने ३६ बर्षीय श्यामकृष्ण मैनाली छन् । प्रहरीले चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुमा जनमुक्ति सेनाका पूर्व कमाण्डर प्रभात भनिने दुर्गालाल तामाङ, जनमुक्ति सेनाका कार्यकर्ता धीरज भनिने श्यामकृष्ण मैनाली, सिजन भनिने मानबहादुर तामाङ रहेका छन् । पाँचजना अझै फरार छन् । प्रभातलाई काठमाडौं स्थित बनस्थलीबाट बर्गर हाउसमा नयाँ बर्ष मनाईरहेका बेला पक्राउ गरिएको हो भने मानबहादुरलाई सकेट बम राखेकै दिन पक्राउ गरिएको थियो । मैनालीलाई  बनेपाबाट पक्राउ गरिएको हो । श्यामकृष्ण रामकृष्ण मैनालीका दाई हुन् । 
के थियो घटना ? 
    समीप त्रिपाठीले जाहेरीमा भनेका छन्– ‘जाहेरीमा किटानी गरिएका सबै ब्यक्ति मेरा चिनजानका ब्यक्ति हुन् । उनिहरुसँग मेरो पहिला पनि कारोबार भएको थियो । साविक सिसाखानी गाविस ९ हालको रोशी गाउँपालिका ५ मा रहेको कित्ता नम्वर ९७९ को क्षेत्रफल ०–६–०–० जग्गामा रहेको ठुलो बुद्धचित्तको रुखमा फल्ने बुद्धचित्तका दानाहरु अघिल्ला वर्षहरुमा सम्झौता गरी कारोवार समेत भएको थियो । पछिल्लो समय जाहेरी दिएका मध्ये मानबहादुर तामाङ समेतले बुद्धचित्तका दानाहरु उधारो माग्ने, सम्झौता बमोजिमको रकम नदिने गरेपछि जग्गाधनी ठकुरानी तामाङले समीप त्रिपाठीको समुहसँग २०८१ को सिजनमा फल्ने बुद्धचित्तका दानाहरुको सम्झौता गरी ९० लाख रुपैयाँमा किनेबेचको सम्झौता २०८० साउन १९ गते भएको थियो । सोहि सम्झौता अनुसार त्रिपाठी समुहले ठकुरानीलाई बैना बापतको ५० लाख रुपैया भुक्तानी भएको थियो । उक्त बुद्धचित्तका दानाहरु फल्ने रुख नै ५ वर्षको लागि मौखिक सम्झौता गरी लिखत समेत गरिएको थियो । प्रत्येक वर्ष स्थानीय तहलाई बुझाउने कर बाहेक माला धनीलाई ९० लाख रुपैयाँ दिने गरी कारोवार गर्ने सहमति भएको थियो । २०८० चैत्र २९ गते राति साँढे ११ बजेको समयमा हातहतियार सहित घरको ४ ठाउँमा बम राखी घरमा सुतेका परिवारलाई र छिमेकीलाई समेत बाहिर निस्कन नदिई गोली ठोक्ने धम्की दिदै विद्युतीय आरो प्रयोग गरी बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने बहुमुल्य माला फल्ने रुख काटिदिई घर जग्गा धितो राखी गरेको लगानी समेत डुबेको छ । उक्त सम्झौताबाट ५ करोड ४० लाख रुपैयाँ क्षति भएकाले असुल उपर गरी डाँका, विस्फोटक पदार्थ र संगठित अपराधमा कारवाही गरि पाउँ ।’ 
    जग्गाधनी निरबहादुर तामाङले दिएको जाहेरीमा लेखेका छन्–‘हाम्रो जग्गामा रहेको कित्ता नम्वर ९७९ को क्षेत्रफल ६ आना जग्गामा रहेको बुद्धचित्तको रुखमा फल्ने दाना अघिल्लो वर्षहरुमा २०८० सालसम्मको मानबहादुर तामाङको समुहलाई विक्री गरेको थिएँ । मानबहादुरले समयमा पैसा नदिने, उधारो माग्ने, सम्झौता अनुसारको रकम पनि नदिने, उल्टै धम्की दिने गरेका थिए । त्यहि कारण २०८१ सालको बुद्धचित्तका दाना समिप त्रिपाठीलाई विक्री गर्ने सम्झौता गरेका थियौं । समीप त्रिपाठीलाई दाना विक्री गर्ने सम्झौता गरे पछि मानबहादुर तामाङले निरबहादुरका सगोलका भाई शेरबहादुर तामाङलाई फोन मार्फत धम्की दिएका थिए । २०८० फागुन २२ गते सिजन भन्ने मानबहादुर तामाङले ‘गेम ईज ओभर’ भनी म्यासेज गरेका थिए । उक्त रुखबाट ३० वर्षको आम्दानी बापतको ३० करोड रुपैयाँ भराई दिन र किटानी दिएकाहरुलाई कारवाहीको माग गर्दर्छु ।’ 
     रोशी गाउँपालिका ५ नागबेलीमा निरबहादुर र ठकुरानी तामाङको घरका ढोका र आँगनमा राखिएका चारवटा सकेट बम नेपाली सेनाको कालीजंग गण धुलिखेलले निष्क्रिय पारेको थियो । बिस्फोटक पदार्थ सहित गएका १५÷२० जनाको समूहले रोशी गाउँपालिका ५ नागबेली निवासी ठकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बुद्धचित्तको रुख काटेको थियो । फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ । उक्त रुखमा फलेको फल चार वर्ष अघि पनि लुटिएको थियो । उक्त प्रकरणमा मुद्दा दायर भएका सोहि स्थानका सागर भनिने रामकृष्ण मैनाली लगायत कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । 

पहिले पीडित,  अहिले अभियुक्त

    २०७७ सालमा तेमाल गाउँपालिका ६ घर भएका ४१ बर्षिय सिजन भन्ने मानबहादुर तामाङले रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दानाहरु विर्खबहादुर तामाङ समेत ९ जनाको समुले लुटेको अभियोगमा डाँका सम्वन्धी मुद्दा दर्ता गरेका थिए । मानबहादुर तामाङले खरिद गरेर किन्न नपाएका दाना सम्वन्धी मुद्दा जिल्ला अदालतमा विचाराधिन थियो । २०७७ असोज २६ गते दर्ता गरिएको डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्वन्धी मुद्दामा जिल्ला न्यायाधीश राजेन्द नेपालले सजायँ निर्धारणका लागि पेश गर्ने आदेश दिएका छन् । ३ वर्ष र ३० हजार भन्दा धेरै कैद तथा जरिवना भएका मुद्दामा अभियोग प्रमाणीत भए पछि सजाँय निर्धारणका लागि आदेश हुन्छ । सोहि प्रकरणमा केहि पक्राउ परेका छन् भने केहि अझै फरार थिए । २०७७ सालमा निवेदन दिएर पीडित भएका मानबहादुर लगायत अहिले लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् । चोरको खुट्टा काट भन्दा उचाले जस्तै मानबहादुर आफैले डाँका मुद्दा दर्ता गरेका थिए । सोहि अभियोगमा चार वर्ष पछि उनै मानबहादुर डाँका मुद्दामा पक्राउ परेका छन् ।