धुलिखेल/अमेरिकाको टाउन अफ हरन्डनन नगरसँग धुलिखेल नगरपालिकाको भगिनी सम्वन्धका लागि प्रस्ताव गरेको छ । सोहि नगरका नगर परिषद् सदस्य रहेका नेपाली प्रदिप ढकालले धुलिखेल नगरपालिका र उक्त नगर बीच धेरै समानता रहेकाले भगिनी सम्वन्धको प्रस्ताव प्रकृयामा रहेको बताएका छन् ।
बुधबार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर लगायतको टोलीसँग भेट गर्दै नगर परिषद् सदस्य एवं आगामी नोभेम्वरमा हुने निर्वाचनमा सोहि नगरबाट नगर प्रमुख पदका उम्मेदवार समेत रहेका ढकालले नेपालको संघीयताको अभ्यास, तीन तहका सरकारले शुरु गरेका विभिन्न कार्यहरु, कानून निर्माण र सरकार संचालनका अभ्यासहरुका बारेमा छलफल गरेका थिए । ‘अमेरिकाका अमेरिकाको टाउन अफ हरन्डनन नगरसँग धुलिखेल नगरपालिकाका धेरै क्षेत्रहरुमा समानता छन्’–प्रदिप ढकालले भने–‘दुई देशका दुई नगरको भगिनी सम्वन्ध स्थापित हुँदा तत्काल र दीर्घकालिन रुपमा फरक फरक फाईदा हुनेछन् ।’ धुलिखेलको पर्यटन प्रर्वद्धन तथा प्रविधी र पछिल्ला विकास क्रममा अमेरिकाबाट नेपालीहरुले सिकेका ज्ञान र सीपलाई समेत प्रयोगमा ल्याउन सकिने उनले बताए । नगर प्रमुख अशोक ब्याञ्जुले अमेरिकामा सिकेका ज्ञान, सीप र प्रविधीलाई धुलिखेलको विकासमा लगाउन आवश्यक वातावरण बनाउने बताउँदै धुलिखेलको पर्यटन, प्रविधी तथा स्मार्ट सिटीको अवधारणा, दिगो विकास लक्ष्यका उदेश्यहरु प्राप्तिमा सहयोग गर्न अनुरोध गरे ।
अमेरिकामा धेरै नेपालीहरु विभिन्न क्षेत्रका विज्ञका रुपमा कार्यरत ब्यक्तिहरुलाई नेपालका विभिन्न क्षेत्रमा विज्ञताको सहयोग लिँदै समृद्ध नेपाल निर्माणमा सहयोग गर्न ढकालले अनुरोध गरे । ‘अमेरिकामा नै बसेर नेपालका विभिन्न क्षेत्रमा सहयोग र समन्वय गर्न सकिन्छ’–उनले भने–‘तर नेपाल सरकारले त्यसका लागि वातावरण तयार गरेको छैन ।’ ढकालको स्थायी घर झापा बुधबारे हो । २०१० मा मास्र्टस अध्ययनका लागि अमेरिका पुगेका ढकाल ६ वर्ष देखि उक्त नगरको परिषद् सदस्य छन् । अमेरिकामा हरेक दुई वर्षमा नगर निर्वाचन हुने गरेको छ । ढकाल नगर परिषद् सदस्यको अलावा समता, विविधता, समावेशी सरकार बनाउन आवश्यक कमिटी गठनका अध्यक्ष, अर्थ सम्वन्धी समितिका सल्लाहकार लगायत थुप्रै संघ संस्था तथा क्षेत्रमा आवद्ध छन् ।









