– विक्रीमा कर्मचारीको ‘गिरोह’, धमाधम फेला परे खरिदकर्ता, अर्का अधिकृत शंकाको घेरामा, कर्मचारीहरुलाई धमाधम बयान लिंदै प्रहरी
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा नागरिकता विक्री शुरु गराउने तत्कालीन अधिकृत हालका उप–सचिव भुपेन्द्र पाण्डेयले जारी गरेका दर्जन भन्दा धेरै नागरिकताहरु पैसा लिएर विक्री गरेको खुलासा भएको छ । यसअघि अधिकृत झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल सोहि अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । अर्याल त्यतिबेला सुब्बा थिए ।
संगठित अपराधको मुद्दामा अब तत्कालीन अधिकृत हालका उप–सचिव भुपेन्द्र पाण्डेय तानिने भएका छन् । जसमा प्रहरीले विदेशी नागरिकहरुले नेपालका विभिन्न जिल्लाबाट नागरिकता लिई अपराध गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ । काभ्रेबाट नागरिकता लिएका निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा, सोनाम लामा, उमेश योञ्जन लगायतलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सिआईबीले अनुसन्धान गरिरहेका अभियुक्तहरुलाई नागरिकता सहितको मुद्दामा अनुसन्धान गरिरहेको बताएको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता खरिद विक्री हुने गरेको खुलासा भएसँगै उक्त फाँटमा कार्यरत कर्मचारीहरु मध्ये केहिको काभ्रे सरुवा भएको थियो । त्यहाँबाट सरुवा हुने कर्मचारीहरु मध्ये अधिकृत भुपेन्द्र पाण्डेय एक हुन् । उनि सँगै सुब्बा रामचन्द्र अर्याल पनि काभ्रे आए । २०७३ कार्तिक २२ गते हाजिर भएका पाण्डेय काभ्रेमा हाजिर भएका थिए । उनि २०७४ जेठ मसान्तसम्म कार्यरत रहे । सुब्बा अर्याल २०७३ कार्तिक २२ गतेबाट २०७५ असार मसान्तसम्म कार्यरत थिए । उनिसँगै अर्का अधिकृत झपेन्द्रराज खरेल २०७४ भदौबाट ईलाका प्रशासन कार्यालय महाभारत घर्तिछापको दरवन्दीमा हाजिर भए । महाभारतमा ईलाका कार्यालय स्थापना नभएकाले कार्यालय काभ्रेमै राखेर उनि कार्यरत थिए । उनी २०७७ जेठ २ गतेसम्म इलाका प्रहरी कार्यालय महाभारतमा कार्यरत थिए । निमाको नागरिकतामा उनै खरेल अधिकृतले २०७४ पुष २० गते हस्ताक्षर गरेका थिए । सोहि दिन जिल्ला प्रशासन कार्यालय काभ्रेको रेकर्डमा ५१ वटा नागरिकता वितरण गरिएको थियो । ११८३० बाट ११८७१ नम्वरसम्मको नागरिकता मध्ये ११८६० बाट मात्रै खरेलको हस्ताक्षर छ । त्यसअघिको ४० वटा नागरिकतामा अधिकृत सिताराम थापाको हस्ताक्षर रहेको छ । अहिले पक्राउ परेका राजु गुरुङको नागरिकतामा पनि अधिकृत खरेलको नै हस्ताक्षर भएको छ । ‘त्रुटी केहि भयो होला नियत खराब गरेर नागरिकतामा हस्ताक्षर गरेको छैन’–अधिकृत खरेलले बयानमा भनेका छन् –‘तल्ला निकायबाट आएका कागजातका आधारमा नागरिकतामा हस्ताक्षर गरेको हुँ ।’
पाण्डेय सरुवा भएर आए लगत्तै जिल्ला प्रशासन कार्यालयमा नागरिकता खरिद विक्री हुन्छ भन्ने सूचना प्राप्त भयो । उक्त टिमले सोहि अवधीमा ३ सय ५० वटा नागरिकताको अनुसूची गायब पारेको अनुसन्धानमा खुलेको छ । नागरिकताका लागि प्रति नागरिकता र राहदानीका ३ देखि ५ लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त अवधीमा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा भए पनि आफुलाई उक्त विषयमा जानकारी नभएको बयान दिएका छन् । सिंखडा पछि कृष्ण राउत प्रमुख जिल्ला अधिकारीको कार्यकालमा भएको छानविनको प्रतिवेदन कार्यान्वयन हुन सकेन । कारवाही नभएकै कारण सुब्बा रामचन्द्र अर्याल सरुवा भए पछि रमाना दिने समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट पछि खोजी भएका बखत अनुसूची उपलब्ध गराउने शर्तमा कागज गराएर रमाना दिईएको थियो । उक्त रमना लगायतका कागजात पनि प्रशासन कार्यालयबाट गायब बनाईएको छ । उक्त अनुसुची त्यस पछिका प्रमुख जिल्ला अधिकारीहरु कसैले पनि खोजविन गर्ने चासो दिएनन् । हुमकला पाण्डे प्रमुख जिल्ला अधिकारीको कार्यकालमा अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय लगायतका कार्यालयले निमाको विवरण सोधखोज गरे पछि अनुसन्धान शुरु भएको थियो । अध्यागमन विभागले २०७८ फागुन २७ गते, प्रहरी प्रधान कार्यालयले २०७८ फागुन १८ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई दावा छिरिङ्ग र निमा तामाङ भन्ने ब्यक्ति एकै हुन् कि हैनन् ? अनुसुचीको पूर्ण विवरण र बसाईसराईको कागजात माग गरेको थियो । जिल्ला प्रशासन कार्यालयले दावा क्षिरिङ्गको विवरण फेला नपरेको तर निमा तामाङको अभिलेख भए पनि अनुसूची नभएको, वडामा १०÷१२ वर्ष देखि नभएको विवरण २०७८ चैत्र २० गते पठाएको थियो । उक्त अनुसन्धान पछि पुनः जिल्ला प्रशासन कार्यालय काभ्रेले २०७९ असार २९ गते नमोबुद्ध नगरपालिकामा निमाका विषयमा जानकारी माग गरेको थियो । नमोबुद्ध नगरपालिकाले वडा कार्यालयलाई लेखेको पत्रका आधारमा वडा अध्यक्ष कृष्ण लामाले निमा तामाङ भन्ने ब्यक्तिका लागि नागरिकताको सिफारिस पनि नगरिएको र तीन पुस्ते विवरण पनि नभएको जानकारी गराएका थिए ।
निमा तामाङ लगायतका विदेशी नागरिक तथा नेपालकै पनि अन्य जिल्लाका नागरिकले दोहोरो नागरिकता लिएको सन्दर्भमा हस्ताक्षरकर्ता अधिकृत झपेन्द्रराज खरेलले बताउँदै आएका थिए । तर पक्राउ परेकाहरुले नागरकिता र राहदानी खरिद गरेको बयान दिए पछि संलग्न कर्मचारीहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । हराएका अनुसुचीहरु फेला पार्ने र तत्कालिन फाँटमा कार्यरत कर्मचारीहरुलाई अनुसन्धान गर्ने विषयमा गृहले अझै चासो दिएको छैन । सुब्बा अर्यालले गलत नागरिकता वितरण गरेकै दिन अभिलेख राखेर अनसुची खल्तिमा राखेर लैजाने गरेको अनुसन्धानबाट खुलेको थियो । सुब्बा अर्यालका दाजु म्यानपावर ब्यवसायी हुन् । तत्कालीन समयमा प्रतिवेदनमा कैफियत देखिएका मध्ये पाण्डेयको सरुवा भएको थियो भने खरेल ईलाका प्रशासन कार्यालय महाभारत गएका थिए । अर्याललाई नागरिकता फाँटबाट हटाएर ७ दिनको अल्टिमेटम सहित स्पस्टिकरण सोधिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावा जिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा रहेका थिए । सिआईबीको अनुसन्धानबाट काभ्रे प्रशासनले विदेशी नागरिकलाई नागरिकता दिलाउन नयाँ नागरिकता जारी र राहदानीसम्बन्धी फाँटमा झपेन्द्रराज खरेलसँगै अर्याललाई पनि पठाएको खुलेको थियो । दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो ।
त्यतिबेला नै अर्घाखाँचीका दुईजना श्रीमान् श्रीमतीलाई बनेपा १३ को ठेगाना राखेर नक्कली कागजात बनाई नागरिकता दिलाएको खुलेको भए पनि कारवाही भएको थिएन । उनका दाजुले त्यसरी नागरिकता लिएका ब्यक्तिहरुलाई विभिन्न मुलुक पठाउने गरेका थिए । उक्त विषयमा छानविन शुरु भएको छ । उनीहरुको ठेगाना बनेपा १३ साँगा राखिएको थियो । वडा कार्यालयले सिफारिस नगरेको जानकारी गराए पछि उनिहरुको नागरिकता रद्द गरिएको थियो । अहिलेका राजु गुरुङलाई पनि कुनै खालको सिफारिस नगरिएको र वडामा गुरुङ थरका कोहि पनि नागरिक नभएको तत्कालिन वडा अध्यक्ष गौरी राउतले बताए । एक क्विन्टल सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेश गरेर लिएको नागरिकताका सन्दर्भमा छानविन गर्न गृह मन्त्रालयले नागरिकता महाशाखाका प्रमुख उप–सचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले अनुसन्धान सकेर कारवाहीका लागि सिफारिस गरिएका मध्ये एक कर्मचारी पक्राउ परेका छन् । तर अन्यका अनसुचीका हकमा भने अझै छानविन हुन सकेको छैन ।
सुन तस्करीमा पक्राउ परेका निमा तामाङले काभ्रेपलाञ्चोक जिल्लाबाट प्राप्त गरेको नागरिकताका आधारमा शुरु भएको प्रारम्भिक अनुसन्धानले कर्मचारीकै योजनामा नागरिकता विक्री हुने गरेको देखाएको थियो । निमा जिल्लाबासी हैनन् । तर उनका नाममा बनाईएको अनुसुची र नागरिकताको अभिलेख विवरणले कर्मचारीको गिरोहको संलग्नताले जिल्लामा थुप्रै नागरिकता विक्री हुने गरेको तथ्य पुष्टि भएको हो । पुर्पक्षका लागि कारागार गएका राजु गुरुङका हकमा पनि त्यहि कुरा मिलेको छ । करिब एक क्विन्टल सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले लिएको नागरिकता झुटो विवरण पेश गरेर लिएको पाँच वर्ष अघि नै गृह मन्त्रालयलाई जानकारी गराएको खुलासा भएको थियो । निमा जस्तै काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न अवधीमा नागरिकता लिएका मध्ये ३ सय ५० जनाको अनुसूची नभएको विवरण गृहलाई बुझाईएको थियो । जसमा निमा तामाङको नाम पनि समावेश थियो ।
‘२०७३ देखि २०७५ सम्म वितरण गरिएका नागरिकताका सन्दर्भमा शंका लागेर प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले अधिकृत रामप्रसाद भट्टराईको संयोजकत्वमा अनुसुची ब्यवस्थापन गर्ने आदेश सहितको समिति गठन गर्नु भएको थियो’–जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने–‘भट्टराई नेतृत्वको समितिले दिएको प्रतिवेदनमा ३ सय ५० जना नागरिकले प्राप्त गरेको नागरिकताको अभिलेख भए पनि अनुसूची नभएको फेला परेको थियो ।’ अनुसुची नभएकाहरुको सूची तयार गरी प्रतिवेदन तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण राउतलाई बुझाईएको थियो । सोहि प्रतिवेदन प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले गृह मन्त्रालयमा बुझाएका थिए । गृहले उक्त प्रतिवेदनका बारेमा कुनै चासो नदिए पछि अनुसुची विना नागरिकता उपलब्ध गराउने कर्मचारीहरुलाई कुनै कारवाही भएन । प्रतिवेदनको सूचीमा भएका र केहि नभएका गरी प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले एकजनालाई मुद्दा चलाएर नागरिकता रद्द गरेका थिए भने २०७८ फागुन पछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १६ वटा नागरिकता खारेज गर्दै मुद्दा चलाएकी थिईन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले २०७९ फागुन पछि १७ वटा मुद्दा दर्ता गर्दै नागरिकता खारेज गरेका थिए । हाल कार्यरत रुद्रादेवी शर्माले पनि दर्जन भन्दा धेरै नागरिकता खारेजीका मुद्दा चलाएकी छिन् ।
प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि पठाएका दोहोरो नागरिकता र राहदानी लिएका ब्यक्तिहरु । अधिकांशले ३÷४ लाख रुपैया बुझाएर नागरिकता र राहदानी लिएको बताएका छन् ।
– बागलुङ जिल्ला ताराखोला गाविस ३ घर भएकी रञ्जिता थापाले बनेपा १३ ठेगाना राखेर २०७४ असोज २३ गते काभ्रेपलाञ्चोक जिल्लाबाट नागरिकता खरिद गरिन् । उनलाई अधिकृत झपेन्द्रराज खरेलले हस्ताक्षर गरेर नागरिकता उपलब्ध गराएका थिए ।
– ललितपुर जिल्ला भट्टेडाँडा ३ घर भएका चिरञ्जीवि दुलालले रोशी ७ स्थायी ठेगाना राखेर २०७४ जेठ ३१ गते नागरिकता लिए । उनलाई अधिकृत भुपेन्द्र पाण्डेयले हस्ताक्षर गरेर नागरिकता दिएका थिए ।
– गुल्मी जिल्ला रुपाकोट ४ घर भएका कुलानन्द भण्डारीले श्याम भण्डारीका नाममा नासिका साँगा–४ ठेगाना राखेर २०७३ पुष २८ गते नागरिकता लिए । उनै अधिकृत भुपेन्द्रराज पाण्डेयले उनको नागरिकता जारी गरेका थिए ।
– कुलानन्दकै श्रीमती गुल्मी जिल्ला रुपाकोट ४ की लिला पन्तले बनेपा १४ साविक नासिका साँगा–४ ठेगाना राखेर २०७४ भदौ ७ गते नागरिकता लिईन् । उनको नागरिकता पनि उनै अधिकृत भुपेन्द्र पाण्डेयले जारी गरेका थिए ।
–गुल्मी जिल्ला अख्रेनी गाविस ४ घर भएका श्रीराम न्यौपानेले बनेपा २ साविकको टुकुचा नाला ४ ठेगाना राखेर २०७३ मसिंर २७ गते नागरिकता लिए । उनको नागरिकता पनि अधिकृत भुपेन्द्र पाण्डेयले नै जारी गरेका छन् ।
– पर्वत जिल्ला बर्राचौर गाविस ४ घर भएका गोविन्द भट्टराईले रोशी गाउँपालिका ७ ठेगाना राखेर २०७४ बैशाख २० गते नागरिकता लिए । उनको नागरिकतामा पनि अधिकृत भुपेन्द्र पाण्डेयले जारी गरेका छन् ।
– गोर्खा जिल्ला पालुङटार गाविस ९ घर भएकी सिता पपनीले पाँचखाल १२ ठेगाना राखेर २०७४ असोज १ गते नागरिकता लिईन् । उनको नागरिकता अधिकृत झपेन्द्रराज खरेलले जारी गरेका थिए ।
– चितवन घर भई काठमाडौ बस्दै आएका राजु गुरुङले काभ्रेबाट नागरिकता लिए । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । २०७४ मसिंर १३ गते गुरुङले नागरिकता लिएका थिए । अधिकृत झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल सोहि अभियोगमा पुर्पक्षमा छन् ।









