2026 August 22/ 08:08: 18pm

धुलिखेल/स्वदेशी तथा विदेशी नागरिकहरुलाई नागरिकता विक्री गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेका दुई अधिकृत सहित थप एक जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा पठाउने आदेश गरेको छ । अर्का एक जनालाई पक्राउ आदेश गरेको छ । उनिहरु दुबैले दिएको बयानमा एक अर्काको बयान बाझिएको थियो । 
    गत शुक्रबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश शिवकुमार पोखरेलको ईजलासले नागरिकता विक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल सहित नागरिकता खरिद गर्ने काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर ४ का ४० बर्षिय राजु गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो । राजु गुरुङका बाबु बाबु हरिभक्त गुरुङलाई पक्राउ पुर्जीको आदेश भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले बताईन् । अर्याल तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा सुब्बा थिए भने खरेल अधिकृत । पक्राउ परेका राजु गुरुङले ३÷४ लाख रुपैयाँमा नागरिकता र राहदानी बाबु हरिभक्त गुरुङले खरिद गरेर लगि दिएको बयान दिएका थिए । उनिहरु दुबै जना हङकङ बस्दै आएका थिए । गुरुङले युएस जाने प्रयोजनका लागि काठमाडौबाट लिएको सक्कली नागरिकताका अलावा काभ्रेपलाञ्चोक जिल्लाबाट नागरिकता र राहदानी खरिद गरेका थिए । 
    ‘काभ्रेमा नागरिकता र राहादनी किन्न पाईने सूचनाका आधारमा बाबु हरिभक्त गुरुङले २०७४ सालमा बनेपा १४ ठेगाना राखी २०७४ मंसिर १३ गते लिएको थिएँ । मैले लिएको नागरिकतामा अधिकृत झपेन्द्रराज खरेलले हस्ताक्षर गरेका छन्’–अभियुक्त राजु गुरुङले बयानमा भनेका छन् । तत्कालिन समयमा प्रमुख जिल्ला अधिकारी शिव सिंखडा थिए । नागरिकता फाँटमा अनुुसुचि मिलाउने र भर्ने सुब्बा रामचन्द्र अर्याल थिए । सुन तस्करी प्रकरणमा पक्राउ परेका विदेशी नागरिकलाई नागरिकता दिएको अभियोगमा समेत अधिकृतद्धय खरेल र अर्याल अनुसन्धानमा छन् । गृह मन्त्रालयद्वारा गठित छानविन समितिले दिएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेले विदेशीलाई नागरिकता दिएको अभियोगमा अनुसन्धान गरिरहँदा गुरुङलाई समेत नागरिकता विक्री गरेको फेला परे पछि दुई अधिकृत पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । बागमती प्रदेश सभा सचिवालयबाट रामचन्द्र अर्यालयलाई प्रहरीले पक्राउ गरेको थियो भने मेलम्ची नगरपालिकाबाट अर्का अधिकृत झपेन्द्रराज खरेललाई पक्राउ गरेको थियो । प्रहरीले विदेशी नागरिकहरु दावा सहित ९ जनालाई नागरिकता विक्री गरेको अभियोगमा अनुसन्धान जारी राखेको बताएको छ । सूचना अधिकृत डिएस्पी राजकुमार श्रेष्ठका अनुसार दुबै अधिकृत माथी स्वदेशी र विदेशीलाई नागरिकता विक्री गरेको अभियोग छ । 
    बयानका क्रममा अधिकृत झपेन्द्रराज खरेल, तत्कालिन सुब्बा हालका अधिकृत रामचन्द्र अर्याल र दोहोरो नागरिकता लिने राजु गुरुङ्गको बयान बाझिएको थियो । राजु गुरुङले आफु कार्यालयमा उपस्थित नै नभई बाबुले नागरिकता र राहदानी लगिदिएको बयान दिए भने अर्यालले अधिकृतहरुले तोक आदेश गरेर पठाएका फाईलहरुमा स्वंयम ब्यक्ति उपस्थित भए पछि सनाखत गरिदिएको बताए । अधिकृत खरेलले ब्यक्ति स्वंयम आए पछि सबै कागजातहरु तल्लो तहबाट तयार भएर आए पछि तोक आदेश मात्रै गरिदिएको बताए । उनिहरु दुबैको मिलेमत्तोमा तत्कालिन कम्प्युटर अपरेट तथा अन्य कर्मचारीको समेत संलग्नताको आशंका गरिएको छ । प्रहरीले विदेशी नागरिकहरुको अनुसन्धानका क्रममा अन्य कर्मचारीका बारेमा समेत खोजी गर्ने बताएको छ ।