2026 October 29/ 04:08: 21am

    सामान्यतया,  ब्याचलर (स्नातक) सकिए पछि विद्यार्थी जीवन आफ्नो अन्तकाल तिर आईपुग्छ र व्यवसायिक जीवन आफ्नो उषाकाल तिर । तर यो दुई बिचको अन्तर बर्षाै लामो भई जान्छ, जसमा व्यक्ति आफुलाई खोज्दा खोज्दै, आफ्नालाई खोज्दा खोज्दै चरम निराशासँग जुध्न बाध्य हुन्छ । म आज पनि सम्झिन्छु हरेक पटक भात खाने बेला बुवाका आँखा लोकसेवा लडिनस् भने तेरो जिन्दगी चल्दैन केटो भनेर झस्काईरहन्थे । मलाई भने सरकारी अड्डामा हाकिमलाई दुई हात जोड्दै, जनताको सत्तोसराप खाँदै जिन्दगी कटाउनु थिएन । तर अब के गर्ने ? भन्ने प्रश्नका उत्तरहरु निकै सिमित थिए । कोहि साथी पासपोर्ट बनाउने लाईनमा थिए, कोहि लोकसेवा तयारी कक्षामा घोक्दै थिए, कोहि गाउँ फर्केर स्कुलमा घोक्रो सुक्ने गरि पढाउन थालिसकेका थिए । मैले भने पढाईलाई नै निरन्तरता दिने निर्णय गरि वातावरण विज्ञानमा मास्टर्स जोईन गरें ।
    यो एक विद्यार्थी, एक थान बेरोजगारी र एक पोका उदासीको संस्मरण होईन । यो एक बन्द खामको कथा हो । संसारमा यस्ता कति चिठ्ठीहरु होलान्, जो प्रापक सम्म कहिल्यै पुगेनन् । कति चिठ्ठी होलान् जो कहिल्यै हुलाक गएनन । कति चिठ्ठी होलान जो कहिल्यै लेख्दै लेखिएनन । नयाँ कलेजको पहिलो दिन, पहिलो कक्षा केमेस्ट्रि । मसँग प्लस टु पढ्दादेखि नै दुश्मनी साँधी रहेको बिषय हो (केमेष्ट्रि) । रसायनको मिलन बिच्छन्दन, मेरो मगज बाहिरको कुरो हो । पहिलो दिनको पहिलो कक्षामै ध्यान लगाउन सकिन । शिक्षकको कुरोमा ध्यान नजाँदा सब थोकमा ध्यान जाँदो रैछ । कक्षाको भित्ताको रङ हरियो र सेतो थियो । झ्यालमा पर्दाको रङ फुलबुट्टे निलो थियो । बेन्च डेस्कहरु राता थिए । डस्टबिनको रङ पनि रातै थियो । सुरु बेन्च देखि विद्यार्थी गनें । एकचोटी गन्दा २४ जना भए, अर्काे चोटी गन्दा २५ भए । धन्नै म नि त उपस्थित छु भन्ने बिर्सिएछु । आँखा डुलाउँदै गर्दा अर्काे साईडको अन्तिमबाट तेस्रो बेन्चमा आँखा आएर रोकियो । कालो खुल्ला कपाल, निलो स्विटर, कालो जिन्स, घाँटीमा बेरिएको रङ्गी बिरङ्गी सल । मंसिरको चिसो, राता गाला, कानमा कालो टप, हातका नङमा हरियो नङ पालिस । माईकल ऐन्जेलोको पेन्टिङ, रबिन्द्राथ टैगोरको कविता, गुरु दत्तको फिल्म जस्तै सुन्दर । कोहि व्यक्ति सुन्दर भएर मन पर्छन् या मन परेर सुन्दर लाग्छन् म भन्न सक्दिनँ । उनी डेस्क मुनि राखेर मोबाइल चलाउँदै थिईन् । शायद केमिस्ट्री उनको पनि जानी दुश्मन हुनुपर्छ ।
    घरमा बस्नुको फ्रस्ट्रेसनबाट भाग्न पनि कलेज नियमित जानुपर्ने थियो । अब अर्काे बहाना थपियो । कक्षामा बस्ने गालामा हात राख्ने अन्तिमबाट तेस्रो बेन्चमा हेर्ने । ग्लालिलियोले टेलिस्कोपबाट ग्रह हेरे झै म पनि आफ्नो तारामण्डल हेर्न कलेज जान थाले । म जगजित सिहंको गजल सुन्न कलेज जान थाले । तर त्यो तारामण्डल केवल म मात्र देख्थे । त्यो गजल केवल मेरो कानमा मात्र गुन्जिन्थ्यो । सोचे एकदिन उनी र म कुनै आमुक शहरको एक क्याफेको कुनाको टेबलमा आम्ने साम्ने बस्नेछौ । हाम्रा अगाडि दुई चियाका कपहरु हुनेछन । चिया सकिएर पिँध सम्म पुग्दा पनि गफहरु सकिने छैनन् । उनी रातो स्कुटरमा आउँथिन । म आरएनएसीको माईक्रोबसमा खाँदिएर घर जाँदा आफुलाई उनको रातो स्कुटर पछाडि कल्पना गर्थे । म पच्चिस बर्ष कटे पछि सोह्र बर्षको जस्तो भएको थिए । भर्खर किशोर भएको थिए । कलेजबाट छुट्टिदा उनी उत्तर लाग्थिन । म दक्षिण लाग्थे । दिशा विपरीतार्थी थियो । उनी चीन थिइन, म भारत जस्तै । हाम्रो मिलनको सम्भावनाको हिसाब किताब भने मैले कहिल्यै गरिनँ । समाजिक सन्जालमा उनलाई देखेको पहिलो दिन नै खोजिसकेको थिए तर रिक्वेष्ट पठाउने आँट जुटाउन हप्तौ लाग्यो । 
    हामी फुल्चोकी फिल्ड भिजिट गयौ । अरुलाई घुम्नु थियो, अध्ययन गर्नु थियो होला, मलाई मोनालिसा हेर्नु थियो । रौनकता आधारहरु फरक थिए । म बस चढ्नु पूर्व नै उनी सिटमा बसिसकेकी थिईन् । उनको छेउमा गएर बस्ने आँट म नाथेसँग हुने कुरै भएन । म उनको त्यत्ति नजिक पनि कहिल्यै गइनँ । न उनलाई आफूबाट टाढा राख्न सकेँ । फुल्चोकिको उकालो चढ्दा सबै थाकेका थियौ । उकालो चढ्ने एक ठाउँमा मैले उनको अप्ठ्यारो महशुस गरि हात मागे र उँभो तानि दिए । उनको शरीर हलुका थियो । मेरो हात चिसो थियो । उनको हात तातो थियो । यो नै हाम्रो पहिलो स्पर्श थियो । पहिलो स्पर्शलाई व्याख्या गर्न त लक्ष्मी प्रसाद देवकोटा नै चाहिन्छ होला । उनी कलेज नआउँदा शुन्य लाग्थ्यो । कक्षा अनकन्टार लाग्थ्यो । उनी आएको दिन उज्यालो लाग्थ्यो । बानीमा दृढ थिईन उनी । अन्यायलाई कत्ती पनि सहदिन थिइन् । मन नपरेको कुरा बोलि हाल्थिन् । अर्काेतिर म थिए, मन परेको कुरा नि बोल्न सक्दिनथे । हुन त केटाको जातै यस्तै हुन्छ भन्छन् । मुटुमा अगुल्टा झोसिईरहे पनि ऐया भन्न सक्दैनन् । आँखाभरी फुल फुलिरहे पनि आहा भन्न सक्दैनन् । डरपोक प्राणीहरु । दुई बर्ष कलेज पढ्दा मलेखु, पोखरा र सिन्धुपाल्चोक फिल्ड भिजिट गईयो । पोखरामा सबले माछापुच्छ्रे हेरे । म सँग आफ्नै मनास्लु थियो । पोखरा भ्रमणमा उनको अनुहार निन्याउरो थियो । उनी बिरामी भएकी थिईन् । उनको मुस्कान हल्का खुम्चिएको थियो । भन्न त चाहन्थे अगाडि उभिएर मोनालिसा, तिमी नमुस्कुराउँदा शताब्दियौ देखिको ईतिहास पनि उदासीन भै जान्छ तर अगाडि उभिएर सन्चै त छौ ? भनेर सोध्न मन आँट भएन । प्रत्यक्ष आँट नआए नि ईस्टाग्रामको मेसेजमा सोधि छाडे । मेरो पहिलो मेसेज थियो सन्चै त छौ ? उनको पहिलो रिप्लाई थियो । अहिले अलिक सन्चो भा छु । पोखरा यस्तै भयो, मलेखु नि यस्तै भयो । सिन्धुपाल्चोकमा साथीहरुसँग हल्का जाँड खाईयो । नशामा हुँदा नि सिन्धुपाल्चोकमा बोल्यो । यसपाली नि यस्तै भयो । दुई बर्षहरु यस्तै बिते । थापाथली र माईतीघरमै बिते । माईक्रोबसमै बिते । उनका टिकटक हेर्दा हेर्दै बिते । उनलाई हेर्दा हेर्दै बिते ।
    उनी प्रतिको मेरो आकर्षणको कुण्ठाको घैटो कहिल्यै फुटेन । उनको साथीलाई मेरो बैराग्य ब्यथा थोरै थाहा थियो । त्यो उनको कानसम्म पुग्यो पुगेन कहिल्यै थहा भएन । कलेजको आखिरी दिन आयो । यो जटिल संघार हो । कलेजको अन्तिम दिन सबै अंगालो मारिरहेका थिए । फोटोहरु खिचिरहेका थिए । मलाई उनलाई धीत मरुन्जेल हेर्नु थियो । म केवल हेरि मात्र रहे । अन्तिम दिन बोल्न खुबै आँट बटुलेको पनि हुँ, तर खामको मुख खुल्दै खुलेन । मेरो चिठ्ठी हुलाक भएन । भावनाहरु हृदयमै दफन रहिरहे । मनको डरले बाजी मा¥यो । आज धुलिखेलको एक क्याफेमा बसेर म यो सब लेख्दैछु । क्याफेको कुनाको टेबलमा म छु, मेरो अगाडी एक डायरी र हातमा एक कलम छ । टेबलमा दुई कप चिया छ । एक कप चिया त मेरो लागि हो, अर्काे कसको लागि हो भनेर वेटरले सोध्दा म मुस्कुराउन बाहेक थप केही बोल्न सकिन र मुस्कुराए मात्र । कपको चिया पिँध सम्म पुगिसक्यो, उनका सम्झनाहरु बेलुन झै मनको आकाशमा उडिरहेकै छन । ब्याक ग्राउण्डमा शम्भु राईको गित बजिरहेछ । ......चिठ्ठी तिम्लाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो .....। 


हेमन्त जोशी
धुलिखेल, काभ्रे