2026 October 28/ 10:33: 47pm

– एक घर दुईबोट केरा 
विकास तिमल्सिना
पनौती

    पनौती गरपालिका वडा नम्बर–४ का महेश थापाले जमिन बाँझो नराख्न आह्वान गर्दैै समुदायलाई उत्पादनसँग जोड्न कृषि अभियान सुरु गर्नुभएको छ । २ महिना अघिबाट सुरु भएको अभियान जिल्लाव्यापी बन्दै गएको छ । अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा जिनाइन जातको १५ हजार केराका विरुवा वितरण गरिएको कृषि अभियान्ता थापाले जानकारी दिनुभयो । 
    अभियान अन्र्तगत यो अवधीमा हालसम्म पनौती नगरपालिका वडा नम्बर ४, ५, ६, ७, ११ र १२, धुलिखेल नगरपालिका वडा नम्बर ८, बनेपा नगरपालिका, पाँचखाल नगरपालिकामा केराको विरुवा वितरण गरिएको छ । जिल्लाका अन्य स्थानमा पनि केरा लगायत फलफुलको विरुवा वितरण गरि बाँझो जमिनलाई उत्पादनसँग जोड्दै हराभरा बनाउने उहाँको योजना छ । उहाँले एउटा केराको विरुवा ८५ रुपैयाँमा विक्रि गरिरहनु भएको छ । ढुवानी खर्च सहित अन्य प्राविधिक खर्च भने आफैंले निःशुल्क उपलब्ध गराउने गरेको थापाले जानकारी दिनुभयो । आवश्यक प्राविधिक परामर्श र जानकारी फलफुल विज्ञ शंकर वाग्लेले दिनुहुनेछ । केरा फल्ने बेलासम्म करिव १ सय ४० रुपैयाँ लागत पर्न जाने उहाँले बताउनुभयो । एक घरी केरा १ हजार देखि १२ सय रुपैयाँसम्म विक्रि गर्न सकिने थापाको भनाई छ । त्यतिमात्रै हैन एउटा केराको बोटबाट १०÷१२ वटा विरुवा समेत उत्पादन हुन्छ । केरा रोपेको जमिनमा मुला, साग लागायतका अन्य नगदेबाली लगाएर थप आम्दानी लिन सकिने थापाको अनुभव छ । कृषि अभियान्ता थापा भन्नुहुन्छ, जग्गा बाँझो राख्नु पाप हो । 
    भाषण गरेर मात्रै देश बदलिँदैन भन्ने निष्कर्षका साथ आफु समाजलाई उत्पादनसँग जोड्ने अभियानमा लागेको थापाको भनाई छ । विदाको दिन, आफ्नो जन्मदिनमा करेसाबारीमा फलफुल रोप्न थापाले अनुरोध गर्नु भएको छ । यसले आयातित फलफुललाई निरुत्साहित गर्दै आफ्नै बगैंचाको फलफुल सेवन गर्न सकिने थापा बताउनुहुन्छ । थापाले पहिलो चरणमा हावापानी र भु–वनोट अनुसार अधिकांश ठाउँमा उपयुक्त देखिएको केरा खेती गर्न प्रोत्साहन स्वरुप सन्देशमुलक अभियान थालनी गर्नुभएको हो । हरेक घरमा कम्तीमा दुइबोट केरा लगाउन प्रेरित गर्ने उहाँको उदेश्य छ । यसका लागि अभियान्ता थापाले स्थानीय तहसँग सहकार्य गरिरहनु भएको छ । सरकारी कार्यालय र धार्मिक संपदा क्षेत्रका लागि भने थापाले निःशुल्क केराको विरुवा उपलब्ध गराइरहनुभएको छ । 
    केरा खेती आय आर्जन, वातावरणीय, स्वास्थ्य र धार्मिक हिसावले समेत उपयोगी मानिन्छ । 
केरा आयातकै लागि वार्षिक अबोैं रकम बाहिरिने गरेको भन्दै थापाले वाँझो जमिनलाई उपयोग गर्न सकेमा देशकको अर्थतन्त्र सुधार गर्न महत्वपुर्ण योगदान पुग्ने बताउनुभयो । आयात गरिएको केराले मानव स्वास्थ्यमा गम्भिर हानी गरिरहेको कृषि अभियान्ता थापा बताउनुहुन्छ । केरा छिटो पकाउनको लागि प्रयोग गरिने हानिकारक विषादीले विभिन्न रोगको संक्रमण देखिन थालेको उहाँले बताउनुभयो । देशमा सम्भावना नदेखेर विदेशिने तयारीमा रहेका युवालाई नेपालमै रहेका बाँझो जमिनमा फलफुल खेती गर्दै परिवर्तनको सुरुवात गर्न उहाँको आह्वान छ । व्याजको लोभमा बैंकमा पैसा राख्नुको सट्टा बाँझो जमिनलाई हराभरा बनाउँदै आफ्लाई समेत स्वस्थ राख्न कृषि अभियान्ता थापाको अनुरोध छ । जन्मदिन, वैवाहिक वर्षगाँठ लागयतका अवसरमा महंगो होटल रेष्टुरेन्टमा खर्च गर्नुको सट्टा वाँझो जमिनमा फलफुलको विरुवा रोपेर असल समयको सदुपयोग गर्नुपर्ने उहाँको भनाई छ । राजनीतिक दलका कार्यक्रम सुविधा सम्पन्न हलमा नभई वाँझो जमिनमा हुनुपर्ने अभियान्ता थापाको धारणा छ । नेताहरु आयआर्जनमा जोडिएमा भ्रष्टाचार नियन्त्रणमा समेत सघाउने उहाँले स्पष्ट पार्नुभयो । भुगोल अनुसार बाँझो जमिनमा अम्बा, मुला, उखु, बदाम लगायतका नगदेबाली लगाउन सकिने उहाँको भनाई छ ।