काभ्रेका बजारमा अखाद्य, दूषित तथा स्वास्थ्य प्रतिकूल हुने बस्तुहरु खुलेआम विक्री वितरण भईरहेका छन् । फितलो बजार अनुगमन, अपर्याप्त जनशक्ति, सरकारी निकायहरु बीच समन्वयको अभाव जस्ता कयौ कारण उपभोक्ताहरु माथी भएको खेलवाड नियन्त्रण गर्ने तर्फ सरोकारवाला निकाय चुपचाप छन् । अघिल्ला केहि वर्षहरुमा बजार अनुगमन भएको भए पनि पछिल्ला केहि महिना स्थानीय सरकार पनि चुपचाप छन् । जिल्लामा भएका विभिन्न अनुगमनबाट नमुना संकलन गरिएका केहि वस्तहुरु अखाद्य भएको पुष्टि भए सँगै कानूनी उपचारका लागि अदालतमा मुद्दा दायर भएको छ । केहि मुद्दाहरु फैसला पनि भईसकेका छन् । काभ्रेको बनेपा ८ मा स्थित शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालिले उत्पादन गरेको दुग्धजन्य सामाग्री, बटरफ्लाई फ्रुट क्यानिङ्ग कम्पनी, बत्तिसपुलती, काठमाडौबाट उत्पादित ‘मिक्स पिकल’, तुलसीपुर दाङमा रहेको स्वर्गद्धारी वि कन्र्सन प्रालीद्वारा उत्पादित मह, ललितपुर ठेचेमा रहेको सगुन ओइल एण्ड घी प्याकिङ्ग इन्ड्रस्ट्रिज प्रालीले उत्पादन गरेको तोरीको तेल, मनोहरा १४, काठमाडौमा रहेको बद्रिनाथ घि प्याकिङ उद्योगबाट उत्पादित बेकरी सर्टेनिङ्ग, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालि वीरगञ्जबाट उत्पादित बनस्पती घ्यू, पतञ्जली आयुर्वेद प्रालि बाराले उत्पादन गरेको मह पनि अखाद्य भएको पुष्टि भएको छ ।
न्यून गुणस्तरका दुग्ध सामाग्री उत्पादन गरी विक्री वितरण गरेको प्रमाण सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा शुभारम्भ डेरी बनेपा विरुद्ध मुद्दा दायर गरेको हो । अन्य उद्योगहरुका बारेमा सम्वन्धित कार्यालयमा मुद्दा दर्ताका लागि फाईल पठाईएको छ । विभिन्न स्थानमा उत्पादन भएर आउने सामाग्रीहरुको खान योग्य अवधी भए नभएको, गुणस्तरमा ध्यान दिए नदिएको जस्ता विषयमा अनुगमनमा हेरिए पनि नियमित अनुगमन हुन नसक्दा उपभोक्ताहरु माथी खेलवाड भईरहेको छ । आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला अदालतमा शुभारम्भ डेरी विरुद्ध मुद्दा दर्ता गरिएको छ । उपभोक्तालाई न्यून स्तरको दुग्ध सम्बन्धी खाद्य पदार्थ विक्री वितरण गरेको अभियोगमा कारवाहीका लागि २०७९ साउन ४ गते मुद्दा दर्ता गरिएको थियो । मुद्दाको टुङ्गो अझै लागेको छैन । सोहि अािर्थक वर्षको अन्त्यसम्ममा ५४ किसिमका खाद्य बस्तु जफत गरी नष्ट गरिएको छ । १३ वटा उद्योगहरु अनुज्ञापत्रको दायरा भित्र आएका थिए भने अनुज्ञापत्र नलिईकन संचालन भएका केहि उद्योगहरुलाई कारवाही गरिएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा अनुज्ञापत्र नलिई उद्योग संचालन गरेको अभियोगमा बनेपा ६ मा रहेको तिमल्सिना प्याकेजिङ्ग एण्ड फुड प्रोडक्स प्रालिलाई कारवाही गरेको थियो । चिया विक्री वितरणका लागि अनुज्ञापत्र नलिएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यस्तै अदालतमा बनेपा ८ मा रहेको चण्डेश्वरी स्पेशल ताजा गुदपाक भण्डारलाई पनि अनुज्ञापत्र नलिएकोमा मुद्दा दायर गरिएको थियो । गाई भैंसीको मास दानामा प्रयोग गरिने सामाग्री र उत्पादित दाना दुषित भएको उल्लेख गर्दै जेएम दाना उद्योग बनेपा ८ लाई पनि मुद्दा दर्ता गरिएको थियो । विना लेवल खाद्य पदार्थ विक्री गरेको अभियोगमा बनेपा ८ मा रहेको इभर फ्रेस बेकरी विरुद्ध पनि मुद्दा दायर गरिएको थियो । प्रशोधित सुर्यमुखी तेल, दही, चिया, मिक्स मसला र पुष्टकारीको प्रतिकुल नमुनाको विवरण संकलन गरेको थियो । काभ्रेपलाञ्चोक जिल्लाको बजारमा यस्ता थुप्रै सामाग्रीहरुको खुलेआम विक्री भईरहेको छ । अझ ग्रामिण भेगमा शहरमा विक्री नभएका सामाग्रीहरु म्याद नाघेको अवस्थामा पनि लेभल र मिति परिवर्तन गरी पठाउने गरेको गुनासो आउने गरेको भए पनि यथेष्ठ अनुगमन नभएका कारण त्यस्ता कृयाकलाप रोकिएका छैनन् । उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्ने उद्योग तथा ब्यक्तिलाई कारवाही गर्न ढिलाई किन ?





