– ७ उद्योग, डेढ सय भन्दा धेरै रोजगार
– ८५ क्षमता, संख्या २७८
– अभाव नै अभाव तर प्रविधिमैत्री र गुणात्मक सेवा
मोतीराम तिमल्सिना
धुलिखेल
जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोक भित्र डेढ सय भन्दा धेरै कैदी बन्दी रोजगारमा संलग्न छन् । जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकले गलैचा, मुढा, पर्स, पोते बुन्ने र थान्का लेखनको कार्यमा कैदीबन्दी संलग्न छन् । आफ्ना लागि कपडा सिलाउने, कपाल तथा दारी काट्ने लगायतका काममा थुनुवा कैदीहरु रोजगारमा छन् ।
‘जेल भित्र बसिरहँदा ब्यक्तिको दिमागमा गलत सोच नआओस् भन्ने उद्देश्यले कारागार भित्र रहेको खाली स्थानको सदुपयोग गर्दै विभिन्न सिपमूलक उद्योग संचालन भएका छन्’–जिल्ला कारागार कार्यालय काभ्रेका प्रमुख परशुराम थापाले भन्नुभयो–‘भक्तपुरका नवराज केसीले अघिल्लो आर्थिक वर्षमा १० वटा र चालु आर्थिक वर्षमा ९ वटा गरी १९ वटा थान गलैंचा बुन्ने मेशिन जडान गर्नु भएको छ । सोहि उद्योगमा ३८ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् ।’ गलैंचा उद्योगमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको विक्री समेत केसीले नै गर्ने भए पछि उत्पादन भएका सामाग्रीको बजार अभाव हुँदैन । नमोबुद्ध ११ का रणबहादुर तामाङले गलंैचा बुन्ने उद्योगको रेखदेख गरिरहनु भएको छ । चार वर्ष देखि ज्यान मुद्दा अभियोगमा कैद जीवन भुक्तान गरिरहेका रणबहादुरले जेल भित्रै मासिक १० हजार भन्दा धेरै आम्दानी गरिरहनु भएको छ । दैनिक उद्योगमा कार्यरतहरुको हाजिरी गर्ने र सोहि अनुसार भुक्तानी गर्ने गरिएको उहाँले बताउनु भयो । जेल भित्र बुनेको गलैचा १.७१ स्क्वायर मिटरको हुनेछ । प्रति स्क्वायर मिटर २२ हजार रुपैयाँमा कारोवार गरिरहेका कारागार प्रमुख परशुराम थापाले बताउनु भयो । ‘उत्पादित गलैंचालाई अझै फिनिसिङ्ग पछि चाईना निर्यात हुनेछ’– कारागार कार्यालय काभ्रेका प्रमुख परशुराम थापाले भन्नुभयो–‘तयारी सामान विक्री नहोला र रोजगार गुम्ला भन्ने चिन्ता गलैचा उद्योगमा छैन । नवराज केसीले नेपालका विभिन्न कारागारमा गलैचा उद्योग संचालन गर्नु भएको छ । डिल्लीबजार, चितवन, केन्द्रिय कारागार, भिमफेदी र पोखरा लगायतका स्थानमा उद्योग संचालन भईरहेको छ ।’
गलंैचा पछि धेरैले रोजगार प्राप्त गरेको उद्योग हो मुढा बुन्ने । पछिल्ला केहि दिन कच्चा पदार्थ डोरीको अभावका कारण नियमित हुन सकेको छैन । तर दैनिक ४५ भन्दा धेरैले मुढा बुनिरहेका छन् । यसबाट पनि मासिक ८÷१० हजार आम्दानी हुने गरेको छ । पोते बुन्ने उद्योगमा ३५ भन्दा धेरै सहभागी छन् । विहान बेलुकाको दैनिकी पछि उनिहरु उद्योगमा रमाउन थालेका छन् । उद्योगमा सहभागी भई ब्यस्त हुँदा जेल बाहिर नै भए जस्तो महसुस हुने गरेको कैदीबन्दीले बताएका छन् । कारागार भित्र थान्का लेखन पनि शुरु भएको छ । थान्का लेखनमा दुई जना सहभागी छन् । कारागार भित्र शुरुमा तालिम दिने र रोजगार दिने गरिएको छ । इच्छुकहरुले तालिमका लागि नाम टिपाए पछि तालिम उपलब्ध गराउँदै रोजगार दिने गरिएको हो । पर्स बुन्ने कैदीबन्दीको सख्यामा भने कमि आएको छ । यसको बजार राम्रो छैन । बजारमा विक्री हुन छाडेपछि कैदीबन्दीहरुले यसतर्फ रुची देखाएका छै्रनन् । ‘खाली दिमागमा गलत सोच नआओस् र जेल भित्र बस्दा पनि आयआर्जन होस् भन्ने उद्देश्यले उद्यमका कार्यक्रम संचालन गरिएका हुन्’–कारागार प्रमुख परशुराम थापाले भन्नुभयो–‘स्थान अभावका कारण अरु धेरै उद्योग संचालन गर्न सकिएको छैन । उद्योगसँगै पुस्तकालय, कम्प्युटर सिक्ने लगायतका कार्यहरुका लागि ब्यस्थापन गरिरहेका छौं ।’ रोटरी क्लव काभ्रे भ्यालीले कारागार भित्र कैदीबन्दीहरुका लागि केहि थान कम्प्युटर उपलब्ध गराउने भएको छ । कम्प्युटर सम्वन्धी शिक्षा प्राप्तीका लागि कैदीबन्दीले जेलभित्रै अवसरप्राप्त गर्ने थापाले बताउनु भयो । दैनिक कपाल काट्ने प्रयोजनमा पनि रोजगार उपलब्ध भएको छ । कपाल काटेको २० रुपैयाँ र दाह्री काटेको १५ रुपैया पर्दछ । कपडा सिलाउनेहरुका लागि पनि अलग्गै रोजगार छ । केहिले बाहिरबाटै मगाएका कपडा लगाउने गरेका छन् भने केहिले त्यहि भित्र सिलाउने गरेका छन् ।
८५ क्षमता, २७८ कैदीबन्दी
जिल्ला कारागार कार्यालय काभ्रेको क्षमता ८५ जनाको हो । आईतबारको तथ्याङ्क अनुसार २ सय ७८ जना कैदीबन्दी छन् । दैनिक थपघट हुने भए पनि २ सय ६० भन्दा धेरै नियमित छन् । सबैभन्दा धेरै जर्बजस्ति करणीमा सजायँ भोगिरहेका १ सय २ जना छन् भने जर्बजस्ति करणी उद्योगका ५ जना छन् । कर्तब्य ज्यानमा ३६ जना छन् । मानसिक रोगी ५ जना छन् । १ सय ७१ जना थुनुवा र १ सय ३ जना कैदी छन् । विदेशी २ र थुनुवा २ गरी ४ जना छन् । ६५ वर्ष कटेका स्वदेशी २ कैदी र विदेशी १ कैदी छन् ।
अभाव नै अभाव
क्षमता भन्दा धेरै कैदीबन्दी भएसँगै कारागार कार्यालयमा अभाव नै अभाव छ । स्थानीय सरकारको समन्वयमा केहि पूर्वाधारका कार्य पनि भएका छन् । संघ र प्रदेश सरकारले पनि सहयोग गरिरहेको भए पनि पर्याप्त स्थान नहुँदा र बजेट उपलब्ध हुन नसक्दा सेवा सुविधामा गुणस्तर प्रविधिमैत्री बनाउन सकिएको छैन । ‘बत्ति जाँदा टर्च बालेर कारागार कार्यालयको सुरक्षा गर्नु पर्ने अवस्था छ’– कारागार कार्यालय काभ्रेका प्रमुख परशुराम थापाले भन्नुभयो–‘कारागार कार्यालय झलमल्ल हुने गरी सोलार प्यानलको जडान शुरु गरेका छौं । नमोबुद्ध नगरपालिकाले २१ सय वाट क्षमताको सोलार प्यानलका लागि रकम उपलब्ध गराएको छ भने रोशी गाउँपालिकाले ब्याट्रीका लागि रकम उपलब्ध गराएको छ ।’ त्यस्तै प्रदेश सरकारले १५ लाख र कारागार ब्यवस्था विभागले ३ लाख रुपैयाँ कारागारको संरचना सुधारका लागि बजेट विनियोजन गरेका छन् । २४ घण्टा सिसिटीभी क्यामेराको निगरानीमा राख्ने गरी ९ वटा सिसिटीभि जडान गरिएको छ । नाईट भिजन सिसिटिभी जडान गरी केन्द्रिय कारागार तथा विभागबाट समेत प्रत्यक्ष रेखदेख गर्न सकिने ब्यवस्थाका लागि प्रकृया शुरु भएको छ ।
कारागार भित्र खाना पकाउन र अन्य प्रयोजनमा खर्च हुने विजुलीको विल बार्षिक १५ लाख भन्दा धेरै छ । विभागको बजेट ६ लाख रुपैयाँ मात्रै छ । ‘खाना पकाउन इन्डक्सन चुल्हो प्रयोग गरिएको छ त्यसकारण विजुलीको धेरै बिल उठ्छ’–प्रमुख थापाले भन्नुभयो–‘विजुली बापतको बार्षिक बजेट ६ लाख छ । सरकार बिजुली भन्दा ग्याँस प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । ग्याँस प्रयोग सम्भव छैन ।’ माथिल्ला निकायबाट पटक–पटक अनुगमन गरी ग्याँस भन्दा विजुली प्रयोगलाई प्रोत्साहन दिन बजेट ब्यवस्थापन गर्ने भनिए पनि त्यसो हुन सकेको छैन । कारागार भित्र रहेका कैदीबन्दीहरुका लागि औषधोउपचार बापत बार्षिक ५ लाख बजेट विनियोजन गरिएको छ । कैदीबन्दीको उपचारका लागि यो रकम पर्याप्त हैन । एकै जनालाई कहिलेकाँहि ५० हजार भन्दा धेरै उपचारमा खर्च हुने गरेको छ । केन्द्रिय कारागारमा विरामी लैजाने ब्यवस्था भए पनि लैजाने र ल्याउने अथार्त कैदीबन्दी सार्ने प्रयोजनमा प्राप्त हुने बजेट न्यून छ । स्थानीय सरकार, स्वास्थ्य कार्यालय तथा विभिन्न दातृ संस्थाहरुको समन्वयमा पटक–पटक स्वास्थ्य शिविर आयोजना गरिएको छ । मानसिक रोगीहरुको उपचारका लागि मासिक डाक्टर नै कारागारमा आएर परिक्षण गराईएको छ ।
औषधोउपचारमा कम रकम उपलब्ध भए पनि ५ जना कैदीबन्दीलाई एक परिवार मानेर स्वास्थ्य विमा गर्ने प्रस्ताव विमा बोर्डले कार्यान्वयन गरिरहेको छैन । ‘हामीले पटक–पटक अनुरोध ग¥यौं’–थापाले भन्नुभयो–‘वीमा बोर्डले कैदीबन्दीहरुका लागि अलग्गै ब्यवस्था गर्न सकेन । कारागार भित्र अनेक जिल्लाका ब्यक्तिहरु रहने भएकाले परिवारको विमा गर्दा उनिहरुको बीमाका लागि कामवायी हुँदैन ।’ कारागार कार्यालय भित्र रहेका १५ वटा शौचालयका लागि मर्मत तथा सरसफाईका लागि बार्षिक ४५ हजार रकम उपलब्ध छ । इन्धन, प्रशासनिक खर्च तथा विभिन्न सेवाका लागि पर्याप्त बजेट नहुँदा गुणात्मक सुविधा उपलब्ध गराउन नसकिएको थापाले बताउनु भयो । खानेपानीको अभाव भएकाले कारागार कार्यालय परिसरमा पानी ट्याङ्की निर्माणका लागि पहल शुरु गरिएको थापाले बताउनु भयो । कारागार प्रमुख थापाले जिल्ला कारागार कार्यालयमा बजेट अभाव नै अभावका बीच पनि भएको संरचनालाई मर्मत सम्भार तथा ब्यवस्थित गर्दै प्रविविधिमैत्री बनाउने कार्य प्रारम्भ भएको बताउनु भयो ।





