पार्वती मावीका विद्यार्थीलाई ट्यावलेट
बेथान्चोक/कपेर आधारभुत विद्यालय बेथान्चोक ५ कामीडाँडाको नव निर्मित भवन हस्तान्तरण गरिएको छ । २०७२ बैशाख १२ गतेको भुकम्पले विद्यालयको भवन क्षतिग्रस्त भए पनि पुर्ननिर्माण भएको थिएन । उक्त क्षेत्र माओवादीले संचालन गरेको शशस्त्र द्वन्द्वका समयमा चर्चित थियो ।
१ करोड २७ लाख ८० हजार खर्च भएको उक्त भवन गाउँपालिका, वडा कार्यालय र ग्रामिण विकास संस्थाको संयोजनमा निर्माण गरिएको हो । निर्माण गरिएको भवन मंगलबार एक कार्यक्रमका साथ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर तामाङलाई हस्तान्तरण गरिएको थियो । ग्रामिण विकास संस्था काभ्रेपलाञ्चोकको संयोजनमा विद्यालय भवन निर्माणका लागि एईआएन लक्जम्वर्गको सहयोग प्राप्त भएको हो । विद्यालय भवन निर्माण कार्यका लागि गाउँपालिकाले जमिन सम्याउन ४ लाख ८० हजार, भवन निर्माण तथा फर्निचर ब्यवस्थापन कार्यका लागि ५ लाख, वडा कार्यालयले रङ्गरोगनका लागि २ लाख र लक्जम्वर्गको तर्फबाट १ करोड १५ लाख रुपैया सहयोग प्राप्त भएको छ । दुई तल्लाको ६ कोठे पक्कि भवन निर्माण भएसँगै बालबालिकाहरुले सहज रुपमा शिक्षा प्राप्त गर्ने भएका छन् ।
‘बेथान्चोक गाउँपालिकाको शैक्षिक गुणस्तर अभिबृद्धी गर्न बालबालिकाहरुले सहज शिक्षा प्राप्त गर्ने प्रमुख माध्यम पूर्वाधार निर्माणमा दातृ निकायको सहयोग महत्वपूर्ण छ’–गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भन्नुभयो–‘भवन राम्रो भयो अब गुणस्तर सुधारमा केन्द्रित हुनु पर्छ ।’ गाउँपालिकाले घुम्ति शिक्षक मार्फत बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने नयाँ अवधारणा ल्याएकाले हरेक विद्यालयको शैक्षिक सुधार हुने अध्यक्ष अधिकारीले बताउनु भयो । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले १४ महिना अघि शिल्यान्यास गरिएको भवन निर्माण कार्य सम्पन्न भएकोमा स्थानीय सरकार र स्थानीय अभिभावकलाई धन्यवाद ब्यक्त गर्नु भयो । ‘भवन बन्दैमा शिक्षा गुणस्तर हुन्छ भन्ने होईन’–कार्यकारी निर्देशक तिमल्सिनाले भन्नुभयो–‘नमूना विद्यालय निर्माणका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनु पर्छ ।’ बेथान्चोक गाउँपालिकामा ग्रामिण विकास संस्थाले सामाजिक परिचालन मार्फत महिला शशक्तिकरण, सहकारीबाट उत्पादित तरकारी ढुवानीका लागि बजारीकरणमा सहज होस भन्ने उदेश्यले सवारी साधनको उपलब्धता, बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि विद्यालयमा ट्यावलेट वितरण, जलवायु अनुकुलन विभिन्न कार्यक्रम संचालन तथा गोठ सुधार, पानी पोखरी लगायतका निर्माण कार्य गरिएको बताउनु भयो ।
कार्यक्रममा लक्जम्वर्गका तर्फबाट फ्रान्कोले विद्यालयको भवन निर्माणसँगै गुणस्तरीय शिक्षाका लागि सहयोग गर्ने बताउनु भयो । लक्जम्वर्ग महिला शशक्तिकरण र शिक्षित भएको देश भएकाले शिक्षाकै माध्यमबाट मुलुकको समृद्धी हुने भएकाले हरेक नागरिकहरुलाई शिक्षा मात्रै नभई प्रविधि सहितको गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । फोएर ग्रुपकी अमिराले विद्यालय भवनको उदेश्य अनुसारको गुणस्तरीय शिक्षामा अभिभावकहरु समेत सहभागि हुनु पर्ने बताउनु भयो । कार्यक्रममा लक्जम्वर्गका लागि नेपाल प्रतिनिधि रमेश त्वयना, तारा, समन, मिका, नह्यायुको सहभागिता रहेको थियो । ग्रामिण विकास संस्थाका संस्थापक मुरली शर्मा, अध्यक्ष गिता शर्मा, बेथान्चोक गाउँपालिका निर्वतमानअ अध्यक्ष प्रेमबहादुर तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष राजकुमार वाईवाले वडामा रहेका आत्माविकास मावी र भिमसेनश्वर मावी, कपेर आधारभुत र मिलन प्रावीमा रहेका सबै विद्यालयहरुमा शिक्षक दरवन्दी अभावका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न कठिनाई भएको बताउनु भयो । गाउँपालिका मार्फत शिक्षक दरवन्दी मिलान तथा आवश्यक शिक्षकहरुको दरवन्दीका लागि पहल भए पनि पर्याप्त शिक्षकहरु उपलब्ध नभएका कारण विद्यालयहरुमा अंग्रेजी माध्यमबाट समेत अध्ययन शुरु गर्न नसकिएको अध्यक्ष वाईवाले बताउनु भयो । कपेर आधारभुत विद्यालयको भवन निर्माणका लागि जग्गा ब्यवस्थापन तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई धन्यवाद ब्यक्त गर्दै अध्यक्ष वाईवाले गुणस्तरीय शिक्षाका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भयो । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भिमबहादुर वाईवाले शिक्षकहरु तत्काल ब्यवस्थापन गर्न, विद्यालय भवनमा घेराबार गर्न र बालबालिकाहरुको गुणस्तर अभिबृद्धी गर्न वडा र गाउँपालिकाले पर्याप्त सहयोग उपलब्ध गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति सदस्य गुञ्जमान तामाङ, विद्यार्थी इन्द्र तामाङ, शिक्षक शुक्र तामाङ र विद्यालय प्रधानाध्यापक चमेली तामाङले विद्यालयका समस्याहरुका बारेमा अवगत गराउनु भयो ।
पार्वती मावीका विद्यार्थीलाई ट्यावलेट
पार्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने प्राथमिक तहका ६ देखि १० वर्ष उमेर समुहका बालबालिकाहरुका लागि अध्ययन गर्न सहज होस् भन्ने उदेश्यले ट्यावलेट उपलब्ध गराईएको हो । लक्जम्वर्गका प्रतिनिधिहरुले पार्वती माध्यमिक विद्यालय बेथान्चोका अध्ययन गर्ने बालबालिकाहरुका लागि ८ थान ट्यावलेट उपलब्ध गराएका हुन् ।
विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मालाई ट्यावलेट हस्तान्तरण गर्दै लक्जम्वर्गका प्रतिनिधि फ्रान्कोले ट्यावलेटको प्रयोगले बालबालिकाहरुलाई अध्ययनमा सहज हुने बताउनु भयो । ‘हाम्रो देशमा यो ट्यावलेटमा भएको एप प्रयोग गरेर धेरै बालबालिकाहरुको सिकाई सहज बन्यो’–प्रतिनिधि फ्रान्कोले भन्नुभयो–‘नेपालमा पनि बालबालिकाहरुको सिकाई सहज होस् भन्ने उदेश्यले ६ वर्ष देखि १० वर्ष उमेर समुहका बालबाकिलाहरुको प्रयोगका लागि ट्यावलेटका माध्यमबाट उक्त एप प्रयोग उपलब्ध गराईएको हो ।’ बालबालिकाहरुलाई कक्षा कोठामा अध्ययनको समयमा ट्यावलेट प्रयोग गरेर एपको माध्यमबाट गणित शिक्षालाई प्रविधि मैत्री रुपमा शिक्षण गर्न सहज हुने प्रधानाध्यापक गोविन्द शर्माले बताउनु भयो ।
१ सय ३० जना बालबालिकाहरुले ट्यावलेट प्रयोग गर्ने छन् । लक्जम्वर्गमा शिक्षा र शशक्तिकरणलाई प्राथमिकता दिँदा देश समृद्ध बनेकाले नेपालमा शिक्षा र प्रविधिलाई सँगै अघि बढाउन र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण हुने बताउनु भयो । फोएर ग्रुपकी अमिराले बताउनु भयो । सोहि अवसरमा गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना सहित संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ट्यालेटमा भएको एपको प्रयोग गर्न तथा त्यसका सिकाईका बारेमा शिक्षकहरुलाई अनुशिक्षण गरिएको छ ।





