भुम्लुमा दुई महिनामा १ सय २२ जना एमाले प्रवेश
भुम्लु/नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री गोकर्ण विष्टले पुतली जस्तो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छिट्टै ढल्ने संकेत गर्नु भएको छ । प्रचण्डले सरकार संचालन गर्न नचानेको तर्फ इङ्गित गर्दै सचिव विष्टले म्यादी सरकारले जनताको अपेक्षा पुरा गर्न नसक्ने बताउनु भयो ।
कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एमाले भुम्लु गाउँ कमिटीले आयोजना गरेको मिसन ग्रासरुट समापन तथा जनवर्गिया संगठनहरुको भेलामा सम्बोधन गर्दै सचिव विष्टले नेकपा एमालेलाई कमजोर बनाउन देश भित्र र बाहिर भएको मोर्चाबन्दी सफल नभएको टिप्पणी गर्नु भयो । ‘एमाले सिध्याउन तथा कमजोर बनाउन निर्वाचनमा र निर्वाचन पछि पनि मोर्चाबन्दी भएको छ’–सचिव विष्टले भन्नुभयो–‘एमाले कसैले सिध्याउन खोजेर, कमजोर बनाउन खोजेर हुने पार्टी होईन । एक्लै निर्वाचनमा होमिँदा पनि मतका हिसावले पहिलो पार्टी बन्न सक्यो ।’ सचिव विष्टले माओवादी र नेपाली काँग्रेस एक्ला एक्लै निर्वाचनमा होमिएका भए कति सिट आउँथ्यो ? उनिहरु आफैले पनि कल्पना गर्न नसकेको बताए । एमाले विरुद्ध गरेको गठबन्धनका बाबजुत पनि एमालेले ल्याएको मत परिणाम र सिटका आधारमा पनि माओवादी र काँग्रेस एक्लै निर्वाचनमा जान सक्दैनन् भन्ने पुष्टि भएको उहाँले बताउनु भयो ।
मुलुकको अवस्था आर्थिक र राजनीतिक रुपले संकटतर्फ उन्मुख भएको संकेत गर्दै सचिव विष्टले नेपालका बैक र वित्तिय संस्थाबाट लगानी भएको कुल ऋणको करिब ३२ खर्ब रकम २० वटा परिवारमा केन्द्रित भएको बताउनु भयो । राष्ट्रिय पुँजीको विकास जब आफ्नै देशमा हुन सक्दैन, सामन्तबाद, दलाल, नोकरशाही, पुँजीपति वर्गलाई कमजोर बनाउन सकिदैन तबसम्म नेपालको विकास सम्भव नहुने उहाँले बताउनु भयो । ‘उत्पादन छैन, श्रम र पुँजी विदेशिएको छ, अनि समाजवाद कसरी सम्भव छ ?’–सचिव विष्टले भन्नुभयो–‘नेकपा एमाले समाजबाद उन्मुख मुलुक निर्माणको पक्षमा छ । जनता र नेता बीचको खाडल कम गराउँदै गएको छ । मुलुक निर्माणका लागि नागरिक र जनतामा आधारित पार्टी निर्माणमा केन्द्रित भएको छ ।’ नेता विष्टले कार्यकर्ताहरुलाई जनतासँग जोडिएर काम गर्न, सरकार बाहिर रहँदा पनि शिर ठाडो बनाएर जनताकै पक्षमा काम गर्न कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक निर्देशन दिनु भयो । मिसन ग्रासरुट अभियान आगामी ५ वर्ष पछि नेकपा एमाले सबै तहका निर्वाचनमा एकल बहुमत ल्याउने अवस्था सिर्जना गर्न शुरु गरिएकाले निरन्तर जनता र कार्यकर्ताको बीचमा रहन अनुरोध गर्नु भयो ।
एमाले केन्द्रिय सदस्य नारायण सिलवालले मुलुक निर्माणका लागि एमाले बाहेकका अन्य दलको क्षमता र विश्वास नागरिकमा नभएको बताउनु भयो । एमाले बाहेक अन्य दलले मुलुकको विकास गर्न असम्भव भएकाले एमालेको पक्षमा जनलहर ल्याउन गाउँ गाउँबाट अभियान शुरु गरिएको बताउनु भयो । एमाले प्रदेश कमिटी सदस्यद्धय कुमार खकुरेल र सुमित्रा भोक्षिभोया, एमाले जिल्ला कमिटी उप सचिव रिता ढकाल लगायतले पार्टी कमिटीका निर्देशन र जनतासँग पार्टी र जनप्रतिनिधिहरुले खेल्नु भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।
एमाले सचिवालय सदस्य तथा भुम्लु गाउँ कमिटी इन्चार्ज प्रेम लामाले एमालेका अभियानहरुले भुम्लुको समृद्धीलाई सार्थक बनाउने बताउनु भयो । फागुन १९ गते शुरु भएको अभियानमा सदस्यता नविकरण, वडा अधिबेशन तथा जनबर्गिय संगठनहरुको भेला, बैठक र अन्र्तक्रिया, टोल कमिटीका बैठक तथा भेला सम्पन्न भएको लामाले बताउनु भयो । भुम्लु गाउँपालिकाको २७ हजार ५ सय ५८ घुर धुरी सर्भेक्षणको तथ्यांक भए पनि १५ हजार मात्रै जनगणनामा भएकाले बाँकी १२ हजार नागरिक अन्यत्र बसोबास गरेकाले भुम्लु फर्क अभियान संचालन गर्न आर्थिक समृद्धिका लागि योजना कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । ‘एमालेसँग मात्रै भुम्लु समृद्धिको स्पष्ट दृष्टिकोण छ, त्यहि दृष्टिकोणलाई कार्यान्वयन गर्न एमालेको नीति र नेतृत्व आवश्यक छ’– इन्चार्ज लामाले भन्नुभयो–‘गाउँपालिका विकास भन्दा विनासतर्फ उन्मुख भएकाले त्यसलाई तत्काल रोक्न र सच्याउन अनुरोध गर्दछु ।’ इन्चार्ज लामाले भुम्लु गाउँपालिकाको नेतृत्वले अनुदानको दुरुपयोग गरेको्, युवाहरुलाई विदेशिन बाध्य बनाएको, किर्ते काम गरेर रकम हिनामिना गरेको, समृद्ध भुम्लुका लागि कार्य गर्ने सुझाव दिँदा धम्की दिएको बताउँदै एमाले नागरिकहरुका अधिकार स्थापित गर्ने अभियानमा कोहि कसैबाट कुठाराघात भए चुप लागेर नबस्ने चेतावनी दिनुभयो । जनप्रतिनिधिलाई स्वेच्छाचारी हुन छुट नभएको बताउँदै उहाँले स्थानीय सरकारले सबै नागरिकको भावना बुझेर अघि बढ्न सुझाव दिनु भयो ।
कार्यक्रममा सामाजिक अभियानमा सक्रिय युवा अष्ट श्रेष्ठ एमाले प्रवेश गर्नु भएको थियो । उहाँले २२ वर्ष देखि दुलालेश्वर वातावरणीय युवा क्लव मार्फत निरन्तर सेवा गरिरहेको भए पनि थप विकासका लागि पार्टी नै आवश्यक भएकाले एमालेले मात्रै भुम्लु र मुलुकको विकास गर्ने भएकाले एमालेमा प्रवेश गरेको बताउनु भयो । उहाँले केन्द्रिय सचिव गोकर्ण विष्ट लगायतका नेताहरुले स्वागत गर्नु भएको थियो । पार्टीको मिसन ग्रासरुट अभियान अन्र्तगत भुम्लुमा मात्रै विभिन्न पार्टी परित्याग गरी एमालेमा १ सय २२ जना प्रवेश गरेका छन् । भुम्लु गाउँपालिका वडा नम्वर ४ स्थित दुहुगाउँ निवासी अशोक लामा २०७९ जेष्ठ १० गते सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेकोमा सम्मान गरिएको थियो भने भुम्लु काठमाडौ. सम्पर्क मञ्चको आयोजनामा प्रकाशन गरिएको क्यालेन्डर कमिटीहरुलाई उपलब्ध गराईएको थियो । पार्टीका विभिन्न गतिविधिमा सहयोग पु¥याउने कार्यकर्ताहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
गाउँ कमिटी अध्यक्ष लोकबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा गाउँ कमिटी सह ईन्चार्ज नकुल पराजुली, जिल्ला कमिटी सदस्य रमेश लामा, नेपाल जनजाति महासंघका कान्छाराम तामाङ, दुलालेश्वर वातावरणीय युवा क्लवका अध्यक्ष अष्ट श्रेष्ठ, भुम्लु काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष अशोकदेव पराजुली, मुक्ति समाजका जिल्ला इन्चार्ज खड्क पुर्काेटी, जिल्ला अध्यक्ष तेज नेपाली, अनेरास्ववियुका अध्यक्ष सुजन बस्नेत, युवासघका जिल्ला कमिटी सदस्य राजेन्द्र लामा, अनेमसंघकी अध्यक्ष नविना आरन, उर्मिला बराईली लगायतले एमाले भुम्लुमा खेल्नुपर्ने भूमिका बारेमा धारणा राखेका थिए ।





