धुलिखेल/जनगणना २०७८ को तथ्याङ्कले खुल्ला दिसामुक्त भएको काभ्रेपलाञ्चोक जिल्लाका १ हजार ८ सय ९५ घर धुरीमा चर्पी नभएको देखाएको छ । १३ वटा पालिकाले हरेक वडाका हरेक घर धुरीमा चर्पी भएको उल्लेख गरेका भए पनि जनगणनाको अवधीमा १८९५ घर धुरीले आफ्नो चर्पी नभएको बताएका छन् ।
‘जनगणनाको तथ्याङ्कमा जिल्लामा चर्पी नभएको घर परिवारको संख्या १८९५ रहेको छ’–तथ्यांक कार्यालय काभ्रेका प्रमुख दिपक कोईरालाले भन्नुभयो–‘पालिकागत रुपमा कति चर्पी नभएको हो ? वडागत विवरण तयार गरिरहेका छौं ।’ ९१ हजार ३ सय ३० घर धुरीमा सार्वजनिक ढलमा जोडिने चर्पी १२ हजार ८ सय ७५ वटा रहेका छन् । सेफ्टी ट्याङ्की मात्रै भएका चर्पीहरुको संख्या ६० हजार ४ सय ७४ वटा रहेका छन् भने साधारण खाल्टो मात्रै रहेका चर्पीहरुको संख्या १५ हजार ७ सय ४९ वटा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा ३ सय ७७ वटा सार्वजनिक चर्पी रहेको विवरणमा उल्लेख छ । जिल्लामा २०६८ सालमा ३ लाख ८१ हजार ९ सय ३७ जनसंख्या रहेकोमा २०७८ मा ३ लाख ६४ हजार ३९ रहेको छ । जसमा १ लाख ७८ हजार ९ सय ९ अर्थात ४९.१५ प्रतिशत पुरुष र १ लाख ८५ हजार १ सय ३० महिला अथार्त ५०.८५ प्रतिशत रहेका छन् । ८० हजार ६१ घर धुरीमा ९१ हजार ३ सय ३० घर परिवार रहेका छन् । जिल्लाबाट १९ हजार ८ सय ५८ जना ब्यक्ति विदेशिएका छन् । १४ हजार ८ सय १२ जना पुरुष र ५ हजार ४६ महिला छन् । विदेशमा स्थायी बसोबास गर्नेहरुको तथ्याकंमा गणना गरिएको छैन ।





