बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मातातीर्थ औशीको अवसरमा संस्थामा आबद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ महिला सदस्यहरुलाई सम्मान गरेको छ ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले सबैभन्दा जेष्ठ सदस्य ९० वर्षिय गणेशमाया पोटेलाई सम्मान गरी उद्घाटन गर्नु भएको थियो । शाक्यले हामीले जेष्ठ सदस्य अर्थात आमा बुबालाई कस्तो सम्मान गर्छौ हाम्रा छोराछोरीहरुले पनि त्यस्तै ब्यबहार गर्ने बताउनु भयो । आमा बुबा भनेको जिउँदो देउता भएकाले सोहि अनुसारको ब्यबहार गर्नु पर्ने शाक्यले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक रोशना राजवंशीले राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार विकास वादे, सल्लाहकार ईन्द्र नारायण भैल, बालभक्त प्रधान, हेमन्तराज प्रधान लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष नवीनभक्त बादेले संस्थाको वार्षिक कार्य योजना अनुसार उक्त कार्यक्रम गरिएको बताउनु भयो । गत चैत्र २५ गते ७५ वर्ष मुनिका जेष्ठ सदस्यहरुलाई तिर्थटान गराईएको र मातातीर्थ औशीको अवसरमा ७५ वर्ष भन्दा माथीका ६० जना जेष्ठ सदस्यलाई ब्लाङकेट, प्रमाणपत्र, खाद्यान्नद्वारा सम्मान गरिएको अध्यक्ष बादेले बताउनु भयो । संस्थाले गत बुधबार मात्र सिपमूलक तालिम प्रदान गरेको, आँखा शिबिर, रक्तदान, स्वास्थ्य शिविर, सामाजिक उत्तरदायित्व निभाउदै सदस्यहरुको आर्थिक स्तर उकास्न लागिरहेको बताउनु भयो ।
संस्थाले विभिन्न प्रकारका सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएकाले सदस्यहरुलाई सहभागी हुन आग्रह गर्नु भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भोलेन्द्र दाहालले सदस्यहरुलाई स्मार्ट बैकिङ्ग सेवा, एटिएम, मृत्यु राहत कोष, सुत्केरी भेटघाट, बाल सदस्य अन्र्तगत खुत्रुके बचत, जेष्ठ नागरिक बचत, चाडपर्व बचत लगायत धेरै सुविधा रहेको दाहालले बताउनु भयो । संस्थाको कुल शेयर पुजी ११ करोड २ लाख ८४ हजार, कुल बचत ८९ करोड ५४ लाख ९१ हजार, जगेडा कोष ११ करोड ३९ लाख ७६ हजार रहेको प्रमुख कार्यकारी दाहालले जानकारी दिनु भयो ।





