– महासंघमा केशव काफ्लेको नेतृत्व
धुलिखेल/एमाले निकट पेशागत महासंघ नेपालको चौथो जिल्ला अधिबेशनबाट सर्वमंगला बहुमुखी क्याम्पसका प्रमुख केशवप्रसाद काफ्ले अध्यक्षमा निर्विरोध चयन हुनु भएको छ । अधिबेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री बास्कोटाले पेशामा इमान्दर रहन, सभ्य र भद्रता कायम राख्न पेशाकर्मीहरुलाई अनुरोध गर्नु भयो । ‘पेशामा आईपरेका समस्या र चुनौतीका बारेमा एकता सहितको ध्यानाकर्षण गराउन तथा पेशा अनुसारको गतिविधि गरी क्षमता प्रर्दशन गरी नागरिकलाई सेवा प्रवाह गर्न कन्जुस्याई नहोस’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘दोहोरो चरित्र प्रर्दशन गरी जुन थालमा खायो त्यहि थालमा फोहोर गर्ने कार्य कसैले गर्नु हुँदैन ।’ राष्ट्रिय राजनीतिका बारेमा चर्चा गर्दै पूर्व मन्त्री बास्कोटाले राप्रपालाई वर्तमान राष्ट्रपति रहुञ्जेल कुनै पनि दलको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन नैतिक संकट रहने बताउनु भयो । ‘राष्ट्रपति निर्वाचनमा सहभागी नहुने अनि त्यहि राष्ट्रपतिबाट हुने सपथ लिएर मन्त्री बन्न नैतिकताले दिन्छ ?’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘काँग्रेस र राप्रपा उस्तै उस्तै भईसकेका छन् । दुबैको पुँजीवादी चरित्र एउटै छ ।’ पछिल्लो पुस्तालाई इतिहासका बारेमा जानकारी दिनुपर्ने बताउँदै बास्कोटाले रानीतिक अस्थिरता भईरहेकाले आर्थिक समृद्धि हुन नसकेको तर्फ ध्यान दिन पेशाकर्मीहरुलाई अनुरोध गर्नु भयो ।
नागरिकहरुले सहज सेवा र सुविधा पाउने गरी पेशामा ईमान्दार बन्न आग्रह गर्दै पूर्व मन्त्री बास्कोटाले विचार विनाका प्रशंशकले संगठन बलियो हुन नसक्ने बताउनु भयो । अधिबेशनको उद्घाटन सत्रमा पेशागत महासंघका केन्द्रिय संयोजक एवं नेकपा एमालेका केन्द्रिय सदस्य बाबुराम थापाले एमाले निकट २६ वटा घटकहरुको महासंघको केन्द्रिय, प्रदेश र जिल्ला अधिबेशनले समग्र पेशाकर्मीहरुका समस्या पहिचान गरी समाधानका लागि सरकारको ध्यानाकर्षण गरिने बताउनु भयो । पेशामा कृयाशील भईरहँदा आएका तमाम समस्याप्रति महासंघले संस्थागत रुपमा आवाज उठाउने बताउँदै केन्द्रिय संयोजक थापाले कुनै पनि पेशामा कार्यरत कर्मचारी माथी गरिएको विभेदको अन्त्यका लागि महासंघले संर्षष गर्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय समिति सचिवका डा. ऋषिकेश पन्थी, एमाले काभ्रे अध्यक्ष अशोक ब्याञ्जु, महासंघका केन्द्रिय सदस्य श्याम प्रसाद पाण्डेय, निजामती कर्मचारी संगठनका उपमहासचिव विजया सुवेदी, केन्द्रिय सदस्य भवानी हुमागाई, जिल्ला अध्यक्ष गायत्रीरमण घिमिरे, शिक्षक संगठन अध्यक्ष रामचन्द्र थापा लगायतले पेशागत हक हितका लागि महासंघ कृयाशिल हुनुपर्ने बताउनु भयो । पार्टी एकिकरण र त्यस पछि अलग अलग भएका कारण महासंघका गतिविधि निष्क्रिय थिए ।
महासंघको अधिबेशनको बन्द सत्रले काफ्लेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति, प्रदेश र केन्द्रिय महाधिबेशन प्रतिनिधि सर्वसम्वतले चयन गरेको आयोजक समितिका संयोजक हरेराम हुमागाईले जानकारी दिनुभयो । समितिमा उपाध्यक्ष हरेराम हुमागाई, सचिव देवबहादुर बस्नेत, कोषाध्यक्ष रेणुका घोले, सह सचिव विनिता श्रेष्ठ रहनु भएको छ भने सदस्यहरुमा चित्रप्रसाद गौतम, मिना श्रेष्ठ, भरतबहादुर केसी, रविना घिमिरे, सोमप्रसाद पोखरेल, दिनेश तिमल्सिना, विजय मगर, विष्णुप्रसाद आचार्य र मंगला भुर्तेल रहनु भएको छ । प्रदेश महाधिबेशन प्रतिनिधिमा भिमसेन हुमागाई, रुपेन्द्र अधिकारी, राजबहादुर तामाङ, शारदा नेपाल र मंगला भुर्तेल रहनु भएको छ । केन्द्रिय प्रतिनिधिमा अध्यक्ष काफ्ले सहित सरोज थापा र सरिता सापकोटा रहनु भएको छ । अधिबेशनमा हरेराम हुमागाई, रुपेन्द्र अधिकारी र भिमसेन हुमागाईले पेशागत महासंघले विगतमा गरेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।





