2026 October 26/ 08:33: 54pm

    पनौतीका राजु रायमाझीले ब्यवसाय संचालनका लागि बनेपा १० पुलवजारमा रहेको स्वर्णिम सहकारीमा ५ लाख ऋण लिए । केहि समय पछि सोहि ऋण तिरेर रायमाझीले ६ लाख ऋण लिए । क्रमश रायमाझीको ऋण थपिदै गयो । ५५ लाख ऋण लिएका रायमाझीले १० लाख तिरिसकेका छन् । स्वर्णीम सहकारीका प्रवन्धक दिनेश राउतले रायमाझीसँग पाँचवटा खाली चेक लिए ।     तिनै खाली चेकलाई क्रमशः ४०, २०, २०,२० लाखको चेक बाउन्स गराउँदै चेक अनादारमा मुद्दा दर्ता गरेका छन् ।
    राजु रायमाझीका ब्यवसायीक साझेदार राजकुमार प्रजापतिलाई समेत दिनेश राउतले खाली चेक लिएर मनलाग्दी रकम भरेर चेक अनादारमा मुद्दा दर्ता गराएका छन् । किलोमिटर ब्याज असुल्दै दोहोरो कागज बनाउँदै सहकारीबाट ऋण लगानी गर्नेमा स्वर्णीमका राउत मात्रै होईनन बनेपा क्षेत्रका केहि सहकारीहरु यसरी नै संचालन भईरहेका छन् । (हामी आगामी दिनमा यस्ता तथ्यहरु सार्वजनिक गर्दै जाने छौं ।) यसरी संचालित सहकारी केहि भाग्न थालेका छन् । केहि संकटमा छन् । केहिका संचालक र कर्मचारीहरु अनियमिततामा मुछिएका छन् । केहिले रकम तिर्न नसक्ने भएर विष सेवन गरेका छन् । केहि संचालकहरु विरुद्ध ठगिमा मुद्दा परेको छ । सहकारी विभागले जारी गरेको ३५ बुँदे निर्देशन केहि बाहेक अधिकांश कार्यान्वयन गर्न सक्ने अवस्थामा छैनन । जिल्लाका केहि सहकारीले २ लाख ऋण लगानी गरेर खाली चेक धितो राख्दै ऋण फिर्ता दिन नसके पछि चेक बाउन्स गराउँदै कालो सूचीमा राखेर २ करोड रुपैयाको चेक अनादारमा मुद्दा दर्ता गरेका छन् ।
    स्वर्णीम सहकारीका प्रवन्धक दिनेश राउतले राजु रायमाझीलाई ५५ लाख तिर्नु पर्नेमा १० लाख तिरेर ४५ लाखमा जग्गा, पसलको सामान र नगद समेत गरी ९५ लाख फिर्ता गरिसकेका छन् ।  ५५ लाख लिएर ९५ लाख रुपैया फिर्ता गरिसक्दा समेत १ करोड २० लाख रुपैयाको चेक अनादारमा मुद्दा दर्ता गरेका छन् । सहकारीको कागज बनाएर ब्यक्तिगत ऋण किलोमिटर ब्याजमा लगाएका राउतले भाई उमेश राउत, श्रीमती मनिषा मधिकर्मीका नाममा समेत कागज बनाएका छन् । उनले राजु रायमाझीका नाममा रहेको चितवनको जग्गा ४२ लाख रुपैयाको कागज बनाएर रोक्का राखेका छन् । मण्डनदेउपुर ९ मा रहेको ४ रोपनी जग्गा समेत आफ्नो नाममा बनाएका छन् । लुम्बिनी विकास बैकले ४० लाख रुपैया ऋणमा रोक्का राखेको मण्डनदेउपुर ७ साविक बनदेउमा रहेको ८ रोपनी ११ आना जग्गा समेत दिनेश राउतले रोक्का राखे पछि रायमाझीले नगद फिर्ता गरेको २० लाख र जिल्ला अदालतमा २० लाख धरौटी राखेर उक्त जग्गा विक्री गरी प्राप्त रकम बैकमा भुक्तानी गरी बाँकी रकम राउतले लिएका छन् । दिनेश राउतले भाई उमेश राउतका नाममा समेत कागज बनाएर रायमाझीलाई ऋणी बनाएका छन् । सहकारीमा बनाएको कागज ऋण रकमका बारेमा रायमाझीलाई समेत जानकारी छैन तर कागजमा सहि भने गराएका छन् । त्यसको जानकारी रायमाझीलाई दिएको छैन । ्दिनेशले भाई उमेश राउतलाई आफु अध्यक्ष रहेको सहकारी एसिएन स्टारको प्रवन्धक बनाएका छन् भने आफु प्रवन्धक रहेको स्वर्णिम सहकारीमा बाबु रामबहादुर राउतलाई अध्यक्ष बनाएका छन् । सहकारीको कागज बनाएर किलोमिटर ब्याजमा रकम लगाउने मध्येको दिनेश एक हुन् । सहकारीलाई ठेक्कामा चलाउने, पारिवारीक बनाउने, नक्कली लेखापरिक्षण गराउने, ब्याज चर्काे लिने तर कर छल्ने, नक्कली संचालक समिति बनाउने र सहकारी भनेका सबै यस्तै हुन् भनेर देखाउने मध्येका एक हुन् दिनेश । बिनायक र अखण्ड यसैगरी चलाउने गरेका रामसुन्दर कार्की अहिले भुमिगत छन् । बचतकर्ताको रकम जोखिममा पारेर उनि फरार छन् । स्वर्णीम र एशियन स्टार अर्काे खतराको सूचीमा छन् । दिनेश केहि वर्ष अघिसम्म बनेपाकै सहकारीमा बजार प्रतिनिधिका रुपमा कार्यरत थिए । किलोमिटर ब्याज र सहकारीको दुरुपयोग गरी उनि अहिले करोडौका मालिक भएका छन् । दिनेश राउतले भने आफुले सहकारीलाई ब्यवस्थित गर्न र परिवारलाई हटाउन साधारण सभा आयोजना गर्ने बताए । किलोमिटर ब्याजका सन्र्दभमा उनि पन्छिए । प्रहरीले किलोमिटर ब्याज लिनेहरुको सूची बनाएर पक्राउ गर्ने तयारी गरेको छ । अनुसन्धान गरी कारवाही गर्न आईजिपीले निर्देशन दिए लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रे र सिआईबीको टोली सक्रिय भएको छ । किलोमिटर ब्याजको धन्दा गर्नेहरु अहिले प्रमाण मेटाउन सक्रिय भएका छन् । अघिल्लो साता चेष्टामा प्रकाशित समाचारका आधारमा किलोमिटर ब्याजीहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । किलोमिटर ब्याज तिर्नेहरु भने आत्महत्या गर्नु पर्ने अवस्थामा पुगेका छन् ।