2026 October 26/ 08:33: 52pm

    धुलिखेल/नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड, माधव, झलनाथ कम्युनिष्ट आन्दोलनका गद्दार भएको बताउनु भएको छ । ‘केशरजंग रायमाझी पथमा जानेहरु कम्युनिष्ट आन्दोलनका गद्दार हुन्’–महासचिव पोखरेलले भन्नुभयो–‘जो सँग संर्घष गर्नु छ उसैसँग गठजोड गरेर जानेहरु गद्दार हुन् ।’
    नेकपा एमाले काभ्रेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, शुभकामना तथा प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिदै महासचिव पोखरेलले दरबारमा लगेर प्रजातन्त्र बुझाउने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई क्रान्तिकारीहरुले गुरु थापेका छन्, घाँटी जोडेका छन्, कम्युनिष्ट आन्दोलनबाट विचलित भएको बताउनु भयो । ‘ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन सक्छ ?’–महासचिव पोखरेलले भन्नुभयो–‘यो निर्दलीय सरकार हो । अदालतले बनाएको सरकार हो । दलको समर्थनमा होईन सांसद्हरुको समर्थनमा बनेको सरकार हो । लोकतन्त्रमा यस्तो हुन्छ ?’
    महासचिव पोखरेलले गठबन्धनले देश नबन्ने बताउनु भयो । ‘अहिलेको आवश्यकता राजनीतिक धु्रविकरण हो, गठवन्धन होईन’–महासचिव पोखरेलले भन्नुभयो–‘राजनीतिक परिवर्तनका लागि दलहरुको गठबन्धन आवश्यक छ तर मुलुक निर्माण र समृद्धिका लागि गठबन्धन उपयुक्त होईन आवश्यक छैन । यो केवल सत्ताको लुछाचुँडी र अवसरवादको झुण्ड हो ।’ गठबन्धनले देश बनाउन नसक्ने भन्दै महासचिव पोखरेलले राष्ट्रभक्त, देशभक्तहरु एकै ठाउँमा हुनु जरुरी भएकाले राजनीतिक धु्रविकरण आवश्यक रहेको बताउनु भयो । एमाले र माओवादी मिलेर नेकपा बनेको होईन ? प्रचण्डले पार्टी बन्न दिए ? मोर्चा बनाएर कम्युनिष्ट आन्दोलनको विर्सजन गराएको महासचिव पोखरेलले बताउनु भयो । ‘एकिकृत समाजबादी र माओवादी कम्युनिष्ट र बाम्पन्थि दुबै होईनन’–महासचिव पोखरेलले भन्नुभयो–‘मुलुक निर्माण र समृद्धीको निर्माण एमालेले मात्रै गर्न सक्छ’–उहाँले भन्नुभयो–‘काँग्रेसको पछि लागेर समृद्धी सम्भव छैन । देश बनाउने हो भने नेकपा एमालेको नेतृत्व आवश्यक छ । एमालेले मात्रै नागरिकको जीवनको सुरक्षा गर्न सक्छ ।’
    प्रशिक्षणमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं जिल्ला ईन्चार्ज गोकुल बास्कोटाले जनप्रतिनिधिहरुले जनताको दुख सुखमा एकाकार भएर काम गर्नु पर्ने बताउनु भयो । पार्टीले टिकट दिएर निर्वाचित भए पनि सबै जनताको पक्षमा काम गर्नु बाँस्कोटाले निर्देशन दिनु भयो । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जनप्रतिनिधिहरुले पार्टी संगठ नागरिकहरु प्रति प्रतिवद्ध हुनु पर्ने बताउनु भयो । एमाले काभ्रेले १३ वटा पालिकाको ७ सय १ पद मध्ये २ सय ४१ पदमा विजयी हासिल गरेको छ । कार्यक्रममा एमाले काभ्रेबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रुकमणी राना, बागमति प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, जिल्ला कमिटी पदाधिकारीहरु उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिव राजकुमार सापकोटा र रिता ढकाल, जिल्ला कमिटी सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।