‘साँवा फिर्ता गर्छाैं, ब्याजका लागि मर्नुको बिकल्प छैन’–पीडित
मोतीराम तिमल्सिना
बनेपा
बनेपा नगरपालिका वडा नम्वर ९ नयाँ बस्ती घर भएका जग्गा ब्यवसायी दिपक थापाको घरमा लगाएको ताला २०७९ असार १६ गते विहिबार चेष्टामा समाचार प्रकाशन गरे लगत्तै खुलेको छ । किलोमिटर ब्याजका कारण उनको घरमा बनेपाका सुधिर बैद्य लगायतको समूहले लगाएको ताला १५ दिन पछि खुलाएको हो ।
विना शर्त खुलाएको ताला उक्त समुहले तत्काल पैसा फिर्ता गराउन दबाब दिएको छ । दिपकले विभिन्न ब्यक्तिसँग लिएको २५ करोड रकम किलोमिटर ब्याज सहित फिर्ता गर्न बाँकी छ । दिपक लगायत उनको समूह अहिले पैसा व्यवस्थापनमा जुटेको भए पनि मुलुकमा देखिएको आर्थिक संकट, जग्गा कारोबारमा सरकारले ल्याएको नयाँ ब्यवस्था लगायतका विविध कारण संकट गहिरिदै गएको छ । दिपक उदाहरण मात्रै हुन् ।
बनेपामा लामो समय देखि हार्डवेयर ब्यवसाय गरिरहेका बनेपा ९ का राजकुमार प्रजापति अहिले मर्नु न गर्नुको अवस्थामा पुगेका छन् । उनले लिएको किलोमिटर ब्याज र सहकारीहरुले खाली चेक धितो लिएका कारण संकटमा छन् । राजकुमारलाई किलोमिटर ब्याजमा ल्याउने पहिलो ब्यक्ति हुन् बनेपा चण्डेश्वरी घर भएका सरोज दुवाल । हार्डवेयर ब्यवसायका लागि रकम आवश्यक पर्दै गए पछि राजकुमारले सरोजलाई भेट गरेका थिए । सरोजले राजकुमारलाई किलोमिटर ब्याजमा प्रवेश गराएसँगै बनेपाका सुधिर बैद्य र बुद्धशरण मानन्धरसँग ऋण लिए । झण्डै करोड जति रकम बुझाएका राजकुमारले उनिहरु दुवैजनालाई किलोमिटर ब्याज बुझाएका हुन् । अहिले उनीहरुसँग राजकुमारको कारोवार त छैन तर बनेपामा किलोमिटर ब्याजको संस्थागत विकास गर्ने मध्ये सुधिर र बुद्धशरण पर्छन् । सहकारीका संचालक समेत रहेका बैद्य र मानन्धरले कम ब्याजमा ऋण लिएर किलोमिटरमा लगाउने गरेका छन् । रकम समयमै फर्काउन नसकेकै कारण दिपक थापाको घरमा ताला लागेको थियो ।
राजकुमारले पाँचखालका आसमान तामाङ, बनेपाका बालाकाजी मानन्धर, चण्डेश्वरीका सरोज दुवाल, नालाका हिराचन श्रेष्ठ, बनेपाका बुद्धकाजी मानन्धर, श्रीखण्डपुरका बलराम सुवाल, खहरेपाँगुका रक्तिम तामाङ, स्वर्णिम र एशियन स्टार सहकारीका माध्यमबाट किलोमिटर ब्याजमा लगानी गर्ने दिनेश राउत र उमेश राउत लगायतसँग कारोवार गरेका छन् । असार २२ गते बुधबारसम्म राजकुमारले ९० लाख किलोमिटर ब्याजको रकम तिर्नु छ भने सहकारीको ५० लाख तिर्न बाँकी छ । स्वर्णिम र एशियन स्टारले राजकुमारलाई मिटर ब्याजमा ऋण लगानी गरेका छन् । झिगु लुनिभा, अजिमा, सक्षम, ओमन पावर, मुकुल लगायत डेढ दर्जन सहकारीले सामान्य ब्याजदरमा ऋण लगानी गरेका छन् ।
यसरी उठाउछन् किलोमिटर ब्याज ?
राजकुमार प्रजापतिलाई किलोमिटर ब्याजमा रोशी खहरेपाँगुका रक्तिम तामाङले १० लाख रुपैयाँ दिएका थिए । १३ लाख रुपैयाँ ब्याज तिरिसक्दा पनि रकम नपुगेका कारण मार्छु, काट्छु भन्ने धम्की दिदै आएका छन् । शान्ति सुरक्षा गरि पाउँ भन्दै केहि वर्ष अघि नै पीडित राजकुमार प्रजापतिले प्रहरीमा निवेदन दिएका थिए । रक्तिमले २०७७ फागुन १९ गते १० लाख र २०७८ असार १६ गते २ लाख दिएका थिए । राजकुमारले २०७८ असोज १९ सम्म १२ लाख २९ हजार रुपैयाँ बुझाई सकेका थिए । अझै १२ लाख साँवा फिर्ता गर्न बाँकी छ । उनले टेलिफोनमा र पसलमै आएर दिएको धम्की सुन्न सकिने छैन । उनले प्रति एक लाखको १० हजार ब्याज लिएका थिए । (हेर्नुस् रक्तिमको लेजर)
पाँचखालका आसमान तामाङ पूर्व सुरक्षाकर्मी हुन् । उनले २०७८ बैशाख ५ गते राजकुमारलाई ५ लाख, असार ५ गते ५ लाख र साउन १८ गते ३ लाख लिएका थिए । अग्रीम ब्याज बुझाउनु पर्ने गरी किलोमिटर ब्याजमा लगायतका आसमानलाई राजकुमारले एक वर्षको अवधीमा १३ लाख ९५ हजार बुझाए । जेठ र असार महिनाको ब्याज नबुझाएको भन्दै आसमानले राजकुमार, उनको श्रीमती र परिवारलाई पटक–पटक पसलमा आएर मार्ने धम्की दिएका छन् । फोनमा पनि आसमानले राजकुमारलाई तथानाम भनेका छन् । आसमानले १३÷१३ लाखका २ वटा चेक र १५ लाख रुपैयाँको चेक लिएका छन् । त्यहि चेक देखाएर पटक पटक मुद्दाको धम्कि दिने गरेका छन् । उनले पैसा लिए पनि चेक फिर्ता दिदैनन । उनले खाली चेक लिएर आफै भरेका थिए । (हेर्नुस आसमानकोे लेजर)
त्यस्तै बलराम सुवालसँग ४ लाख लिएका थिए राजकुमारले । एक लाख नगद फिर्ता गरिसके पछि १ रोपनी जग्गा पास गरेर दिएका छन् । उक्त जग्गा उनले पैसा फिर्ता गर्छु भन्दा पनि फिर्ता गर्दैनन् । किलोमिटर ब्याजका कारण राजकुमार प्रजापति र राजु रायमाझीले संचालन गरेको हार्डवेयर पसल बन्द भएको छ । राजु रायमाझी सुकुम्बासी भएका छन् । १ करोड लगानी गरेको पसल एक वर्ष देखि बन्द भएको छ । अहिले संचालन भईरहेको पसल आर्यन हार्डवेयरमा पनि आसमानले एक महिना अघि ताला लगाई दिएका थिए । अरनिको राजमार्गमा रहेको उक्त पसल बन्द हुने अवस्थामा पुगेको छ ।
केहि सहकारीले राजकुमारलाई २ लाख रुपैयाँ ऋण दिने अनि खालि चेक धितो राखेर २० लाख लेखेर चेक बाउन्स गराएर मुद्दा दर्ता गर्ने गरेका छन् । चेक धितोमा लिने अधिकांश सहकारीहरु छन् । पीडितहरु न्यायका लागि कानूनी बाटो जाने तयारी गरेका छन् । सरकारले किलोमिटर ब्याज लिनेहरुलाई कारवाही गर्ने बताएको छ । ‘लिएको ऋण कमाएर तिर्छु भन्दा पनि सुख पाईनँ, रकम तिर्न सकिन भने मर्नुको विकल्प छैन’–ब्यवसायी राजकुमार प्रजापतिले भने । (आगामी अंकहरुमा थप पीडितहरुको विवरण प्रकाशित गर्नेछौं ।)





