संकटमा कृषक
धुलिखेल/वनजंगलबाट ब्यक्तिको स्वास्थ्यमा प्रत्यक्ष सहयोग पु¥याउन, वन संरक्षण सँगै वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न, वन्यजन्तुबाट मानिसमा सर्ने रोगहरुको नियन्त्रण गर्न, वन्यजन्तुको अवैध चोरी निकासी रोक्न तथा बन्य जन्तुबाट बाली तथा अन्य क्षेत्रमा हुने क्षति रोक्न सरोकारवालाहरुको भूमिका महत्वपुर्ण हुने बताईएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा १६ वटा वन्यजन्तु क्षति भएका छन् भने ४ जनालाई मानविय क्षति भएको छ । २ सय ४५ वटा घटना भएका छन् । चालु वर्षको ८ महिनामा वन्यजन्तुका कारण २७ लाख ७० हजार १ सय ७४ रुपैयाँ बराबरको सम्पती क्षति पुगेको डिभिजन वन कार्यालय काभ्रेका प्रमुख देविचन्द्र पोखरेलले जानकारी दिनु भयो । अघिल्लो वर्ष ९० वटा घटना भएका थिए । जसमा ३३ वटा बन्यजन्तु र २ जनामा क्षति भएको थियो । १ सय २५ वटा घटनामा १३ लाख ७५ हजार ३ सय ७१ रुपैयाँ बराबरको क्षति भएको छ । पछिल्लो दशकमा विशेषगरी गत ५ वर्षमा जिल्लामा मानव र वन्यजन्तु बीच द्वन्द्व बढेको, मुख्य प्रजाती चितुवा, बंदेल, बाँदरको आतंक रहेको छ । वन्यजन्तुका कारण बाली नोक्सान, बाख्रा पाठा मार्ने, मानवीय क्षती घाइते र मृत्युसम्मको मुखमा पु¥याउने गरेको छ । उत्पादित सामाग्रीको संरक्षण पनि हुन नसक्ने । राहत पनि नपाउने र क्षति पनि रोक्न नसक्दा कृषकहरु संकटमा परेका छन् । बाँदर र बँदेलले पु¥याएको क्षति तथ्याङ्कमा भएको भन्दा तेब्बर धेरै छ ।
मानिसले आफ्ना आवश्यकता पूरा गर्नका लागि वन जङ्गल, माटो, पानी जस्ता साधनहरूको अत्यधिक मात्रामा प्रयोग गर्दा वातावरणको विनाश भई अत्यावश्यक वस्तु र सेवाको अभाव सृजना भई मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको प्रमुख पोखरेलले बताउनु भयो । मानिसले प्रकृतिको विवेकपूर्ण प्रयोग, संरक्षण र संवद्र्धन गरेमा त्यसबाट मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न गई स्वास्थ्य स्तरमा वृद्धि हुने उहाँले बताउनु भयो । मावन–वन्यजन्तु द्वन्द्व बढ्दो, राहत मागमा अत्याधिक चाप, दीर्घकालीन समाधानको माग, वन्यजन्तु मर्नेमार्ने क्रम बढेको, सामुदायिक वनको उत्पादनशील र दिगो व्यवस्थापन, वन डढेँलो व्यवस्थापन÷नियन्त्रण, विभिन्न वहानामा वन अतिक्रमण गर्न खोज्ने प्रवृत्ती बढ्दो, वातावरण परिक्षण प्रतिवेदन कार्यान्वयनमा नैराश्यता, वनक्षेत्रको जग्गा अन्य प्रयोजनमा जानेक्रम बढ्दो, मापदण्ड विपरीत ढुंगा खानी र क्रसर उद्योेगहरु सञ्चालन, कानूनी प्रक्रिया पुरा नगरी वन क्षेत्रमा भौतिक पूर्वाधारका योजनाहरु संचालन गर्ने प्रवृत्तिका कारण मानव र वन्यजन्तु बीचको द्वन्द्व बढेको प्रमुख पोखरेलले बताउनु भयो ।
मानिसको सोखका कारण विश्वभर वन्यजन्तुको बैद्य–अवैद्य व्यापार फस्टाउँदो छ । एकातिर मानिसहरु सोखका कारण आफूले कम बुझेका जंगली जनावरको समीपमा पुगेका छन् भने, अर्कातिर वनविनाश र अतिक्रमणका कारण जंगली जनावरहरु मानवबस्तीमा पसेका छन् । द्वन्द्व बढेको छ । मानव इतिहासमै यसअघि कहिल्यै नदेखिएको मानव र वन्यजन्तुको यस्तो सामीप्य जीवजन्तुबाट मान्छेमा रोग सर्ने सेतु बनेको छ । कोभिड–१९ मा ‘लक डाउन’ गरेर नियन्त्रणको प्रयास गरे पनि भूमण्डलीकृत विश्वमा यसलाई कसैले रोक्न सकेन । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने यस्ता महाव्याधी नियन्त्रण गर्न विश्वले निकै चर्को मूल्य खर्च व्यहोर्नु प¥यो । यस्ता घटनाले हामीलाई बारम्बार सम्झाउनेछ— मानवजाति पनि प्रकृतिकै एक अंग भएकाले मान्छे स्वस्थ रहन पृथ्वीको स्वास्थ्य ठीक हुन जरुरी छ ।
वनविनाश लगायतका वन्यजन्तुको वासस्थानमा आएको ह्रासका साथै जलवायु परिवर्तनका कारण वन्यजन्तुबाट मानिसमा रोग सर्ने वातावरण बनिरहेको छ ।





