2026 October 27/ 04:51: 19pm

२५ करोड बाँकी, सप्लार्यसले रोक्यो औषधी, विरामी भर्ना गर्न शैया अभाव, भुक्तानी नहुँदा औषधी सकियो
        धुलिखेल/राष्ट्रिय बीमा बोर्डले नागरिकहरुको बीमा गराएको रकम भुक्तानी समयमै नगरेका कारण धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ । अस्पतालको फार्मेसी विभागमा आधारभुत औषधीहरु सकिएको छ । सर्वसाधारण दुई घण्टा लाईन बसेर औषधी नभएको खबर पछि असन्तुष्टि पोख्दै फर्कने गरेका छन् । 
    ‘स्वास्थ्य बीमा बोर्डले अस्पतालले दिएको सेवा अनुसारको भुक्तानी समयमै नहुँदा अस्पतालको सेवा प्रभावित बन्न थालेको छ’–अस्पतालका लेखा तथा प्रशासन प्रमुख प्रधुम्न श्रेष्ठले भन्नुभयो–‘चैत्र मसान्तसम्म अस्पतालको रेकर्डमा २५ करोड भन्दा धेरै रकम भुक्तानी लिन बाँकी छ । २५ करोड भन्दा धेरै तिर्न बाँकी छ ।’ अस्पतालले भुक्तानी दिन नसक्दा औषधी सप्लायर्सले सुगर, प्रेसर, दम तथा अन्य रोगका औषधीहरु सप्लाई गर्न छाडेको छ । एक महिना देखि सुगरको औषधी प्राप्त नभएको विरामी शोभाकुमारी थापाले बताउनु भयो । ‘दुई घण्टा देखि लाईन बसें, पालो आयो तर औषधी आएन’–कुँवरले भन्नुभयो–‘कार्ड लिन, दिन, औषधी, जचाउँन लाईनको विकल्प छैन, बीमा भन्छ पैसा तिर्नु पर्छ ।’ 
    धुलिखेल अस्पतालले बीमा बापत २५ करोड, कोभिडको दोश्रो भेरियन्टमा उपचार गराए बापत ४ करोड ५३ लाख, तेश्रो चरणको २५ लाख रकम सरकारसँग लिन बाँकी रहेको लेखा प्रमुख प्रधुम्न श्रेष्ठले बताउनु भयो । दैनिक एक हजार भन्दा धेरैलाई सेवा दिँदा अस्पतालले ब्यवस्थापन गर्न सकेको छैन । एक्सरे, एमआरआई जस्ता अत्यावश्यक सेवामा पनि महिनौ पालो आउँदैन । चार महिना देखि बीमा बोर्डले रकम भुक्तानी नगरेका कारण सेवा प्रभावमा अहसजता हुन थालेको ब्यवस्थापनले जानकारी दिएको छ । बीमामा १ हजार ३ सय ३३ प्रकारका औषधी समावेश गरिएको छ । समावेश गरिएको औषधी बजार मुल्य भन्दा धेरै कम छ । धेरै मुल्यमा खरिद गरेर कम मुल्यमा औषधी विक्री गरिरहँदा अस्पताल थप आर्थिक संकटमा पर्न थालेको छ । 
    विरामीको चाप बढेकाले अस्पतालको इमरजेन्सी विभागमा १५ दिन देखि शैया उपलब्ध छैन । शुक्रबार अक्सिजन कम भई अस्पताल पुग्नु भएकी ५८ बर्षिया चित्रकुमारी दाहाललाई अस्पतालले मेचमा राखेर केहि क्षण उपचार गराएर शैया अभावकै कारण अन्यत्र रिफरका लागि सुझाव दियो । इमरजेन्सी विभागमा मात्रै नभई अन्य विभागमा पनि अस्पतालले विरामी भर्ना गर्ने शैया उपलब्ध नभएको विरामीहरुले बताएका छन् । क्षमता भन्दा धेरै विरामी आउन थाले पछि अस्पतालले जनशक्ति ब्यवस्थापन गर्न सकेको छैन । ‘ब्यवस्थापन गरिएका जनशक्तिलाई समेत समयमै पारिश्रमिक दिन सकिएको छैन’–लेखा प्रमुख श्रेष्ठले भन्नुभयो–‘लिन पर्ने रकम नआउँदा समयमै तिर्नु पर्ने स्थानमा दिन सकिएको छैन ।’ त्यसको अलावा अस्पतालले दिनु पर्ने सेवामा कमि नगरेको अस्पतालले जानकारी दिएको छ । 
जिल्लामा १ लाख १५ हजार ९ सय ६३ विमित
    काभ्रेपलाञ्चोक जिल्लामा १ लाख १५ हजार ९ सय ६३ जना विमित भएका छन् । धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक, भक्तपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका जिल्लाबाट समेत नागरिकहरु बीमाको सेवा लिन आउने गरेका छन् । अन्य जिल्लाबाट समेत विरामीहरु सेवाका लागि आएका कारण अस्पतालमा भिड बढेको हो । जिल्लामा २२ हजार ७ सय ९१ परिवारले पैसा तिरेर बीमा गरेका छन् भने सरकारले जेष्ठ नागरिक, एचआईभी एड्स, कुण्ठरोगी, पूर्ण अपाङ्गलाई निःशुल्क बीमा गरिदिएको छ । स्वयंसेवी महिलाहरुको ५० प्रतिशत अनुदानमा बीमा गरिदिएको छ भने विकट पालिकाका नागरिकहरु बीमा कार्यक्रममा सहभागी भएका छैनन् । भएको बीमामा समेत झन्झट देखिन थाले पछि नवीकरण गर्नेहरुको संख्या न्युन भएको छ । ३० हजार ४५ परिवार मध्ये पैसा तिरेर नविकरण गर्ने परिवारको संख्या १३ हजार ५ सय ७४ रहेको छ । ‘बीमा ग-यो, औषधी छैन, सेवा पाईदैन’–सेवाग्राहि मनिता कुँवरले भन्नुभयो–‘घन्टौ बसेर पनि सेवा नपाए पछि बीमाको के अर्थ भयो र ?’ 

कुन पालिकामा कति बीमा 
धुलिखेल– २३८६३
पनौती– २०५६४
बनेपा– २४७६१
पाँचखाल– १३६९७
नमोबुद्ध– ७२०३
मण्डनदेउपुर– १११२७
बेथान्चोक– २२६४
भुम्लु– ४७९२
चौरीदेउराली– १७२८
खानीखोला– ६८७
महाभारत– ११३५
रोशी– २६१५
तेमाल– १५३५ 
जम्मा– ११५९६३ जना