2026 October 26/ 02:18: 43pm
  • एमालेमा सर्वसम्मत ‘उम्मेदवार’ को प्रयास
  • अलमलमा गठबन्धन

धुलिखेल/वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सर्वसम्मत उम्मेदवार घोषणा गर्ने दलहरुको प्रयास असफल भएको छ । यद्यपि बैशाख ११ गते उम्मेदवारी दर्ता गर्ने अवधिसम्म दलहरुले सर्वसम्मतको प्रयास भने जारी रहने बताएका छन् । गठबन्धन दलहरु भित्र सहमति हुन नसक्दा उम्मेदवार छनौट प्रकृया नै अवरुद्ध बनेको छ । 
    नेकपा एमालेले चौरी देउराली गाउँपालिकामा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष भई सकेका सामाजिक ब्यक्तित्व जिताराम लामालाई अध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार छनौट गरेको छ भने उपाध्यक्षमा सामाजिक ब्यक्तित्व बबिता खरेललाई सर्वस्म्वत छनौट गरेको छ । बुधबार साँझसम्म एमाले ५० भन्दा धेरै वडामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ भने केहि पालिकाहरुमा सर्वसम्मतको प्रयास जारी राखेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतका केही दलहरुले गठबन्धनका कारण उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । टुङ्गो लगाईसकेका उम्मेदवारहरुले समेत खुलेर प्रचार गर्न पाएका छैनन् । सामाजिक सञ्जाल मार्फत प्रचार गरिएका उम्मेदवारहरु त्यतिमै सिमित हुने डरले बागी उम्मेदवार बन्ने तयारी गरेका छन् । 
    नेकपा एमालेले खानीखोला, महाभारत, रोशी, तेमाल, बेथान्चोक गाउँपालिकामा सर्वसम्मत उम्मेदवारको प्रयास गरेको छ भने पनौती, बनेपा, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर, भुम्लुमा पनि सर्वसम्मतको प्रयास भएको छ । अधिकांश वडामा पुरानै जनप्रतिनिधि दोहोरिएको अवस्था छ । गठबन्धनका तर्फबाट भागबन्डा अझै मिलेको छैन । बनेपामा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुख बाहेक वडा अध्यक्ष र सदस्यमा मात्रै गठबन्धन गर्ने घोषणा गरेको छ । ‘नेकपा एस र नेकपा माओवादीको भोटका आधारमा उपप्रमुख दिन सकिदैन, मिल्छन् भने केहि वडामा अध्यक्ष र सदस्य मात्रै हो, नत्र हामी एक्लै चुनावमा होमिन तयार छौं’–नगर सभापति महेश कर्माचार्यले भन्नुभयो–‘गठबन्धनमा रहेका साना दलहरुले एमालेलाई हराउने शर्तमा एउटा÷एउटा वडाको अध्यक्ष मात्रै लिएर भए पनि गठबन्धन गर्ने कुरामा सहमति जनाएका छन् । बनेपा ६ नम्वर वडामा समाजवादीले उम्मेदवारी घोषणा गरेको छ । अन्य वडामा पर्ख र हेरको अवस्थामा छ । काँग्रेसले उक्त वडामा समाजवादीलाई दिन नहुने अडान राखेको छ ।     उपप्रमुख समेत बन्ने हैसियत नराख्ने दलहरुले बनेपामा एमालेलाई हराउने योजनामा सहमति जुटाउने बताएका छन् । 
    बनेपामा राजानन्द मान्डब्य र कञ्चनराज गिरीले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् भने पनौती र धुलिखेलमा पनि केहिले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । दुई दिन उम्मेदवारी दर्ताको समय भएकाले उम्मेदवारहरुको तयारी र दलहरुले गर्ने नेताहरुको ब्यवस्थापन सहज हुने अपेक्षा मतदाताहरुले गरेका छन् । 
निर्वाचन कार्यक्रम धमाधम
    राजनीतिक दलहरु आक्रामक ढंगबाट चुनावी अभियानमा छन् । निर्वाचन आयोगले आचार संहिता जारी गरेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले नियुक्ति लिएर कार्यक्षेत्रमा खटिएका छन् । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले १२ वटा पालिकामा खटिएका निर्वाचन अधिकृतहरुलाई निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक छलफल गरेका छन् । 
    उम्मेदवारी दर्ता, दावी विरोध, अन्तिम नामावली प्रकाशन, निर्वाचन चिन्ह प्रदान लगायतका कार्यहरुको तालिका सार्वजनिक भएको छ । निर्वाचनका लागि कर्मचारीहरुको छनौट, तालिम र आवश्यक तयारी भईरहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो ।