2026 October 26/ 02:18: 41pm

३३ सय कर्मचारी खटिंदै, ३० मतदान केन्द्र थपिए

यस्तो निर्वाचन कार्यक्रम
२०७९ बैशाख ३० गते मतदान
२०६९ बैशाख ११ र १२ उम्मेदवारी मनोनयन
२०७९ बैशाख ८ गते निर्वाचन कार्यालय स्थापना
२०७८ चैत्र ३० गते निर्वाचन अधिकृतहरुलाई तालिम

    
    धुलिखेल/निर्वाचन कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । जिल्लामा ३ लाख ३ हजार ५ सय ६० मतदाताले मतदानमा भाग लिन पाउनेछन् । जस मध्ये सबैभन्दा धेरै पुरुष १ लाख ५४ हजार १ सय ८३, महिला १ लाख ४९ हजार ३ सय ७५ र अन्य २ रहेका छन् । यस अघिको निर्वाचनमा खानीखोलामा एक जना अन्य समुहबाट मतदान भएको थियो भने यो पटक भुम्लु गाउँपालिकामा एक जना थप भएका छन् ।
    मतदानका लागि १ सय ८९ वटा मतदान स्थल कायम भएका छन् । जसमा ३ सय ८१ वटा मतदान केन्द्र कायम भएका छन् । आयोगले पालिका अन्र्तगतका सबै वडा र वडा अन्र्तगत रहेका निर्वाचन स्थल र केन्द्रमा सहभागि हुने मतदाताहरुको सूची सार्वजनिक गरिसकेको छ । यस अघि मतदान केन्द्र ३ सय ५० वटा कायम थिए । मतदाता संख्या थपिए सँगै मतदान केन्द्र थपिएका हुन् । निर्वाचन आयोगले १३ वटै पालिकाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिसकेको छ । धुलिखेल तथा काभ्रेपलाञ्चोक जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश मोहनराज भट्टराई रहेका छन् । जिल्लाको बनेपा नगरपालिकामा शारदा भण्डारी, पनौती नगरपालिकामा गोविन्द घिमिरे, महाभारतमा खुविराम अधिकारी, मण्डनदेउपुरमा शान्ता नेपाल मरासिनी, भुम्लुमा रुद्र कोईराला, बेथान्चोकमा लक्ष्मीप्रसाद रेग्मी, पाँचखालमा जीवनप्रसाद दुलाल, नमोबुद्धमा विष्णुप्रसाद ज्ञवाली, तेमालमा विमला रेग्मी, चौरीदेउरालीमा शम्भुकुमार बस्नेत, खानीखोलामा चिरञ्जीवी गौतम रहेका छन् । उनिहरुले थप ८ जना कर्मचारी नियुक्ति गरी निर्वाचन सम्पन्न गर्नेछन् भने मतगणनाका लागि अन्य कर्मचारीहरु पनि नियुक्ति हुनेछन् । त्यस्तै ३ सय ८१ जना मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी सहित प्रति केन्द्र ८ जनाका दरले निर्वाचनमा कर्मचारी खटिनेछन् । कुल कर्मचारीको संख्या ३ हजार ४८ हुनेछ । स्थानीय पालिकामा आवश्यकता अनुसार स्वयंसेवक खटिन सक्नेछन् । यो पटक पालिकामा कार्यरत कर्मचारीहरुलाई प्राथमिकतामा राख्ने गरी आयोगले नामावली मागेको छ । खर्चको मितब्ययिताका हिसावले सबैभन्दा सहज र सरल उपाय आयोगले रोजेको छ । कर्मचारीलाई दिने भत्तामा मात्रै करोडौ रुपैयाँ बचत हुने देखिएको छ ।
    जिल्लामा सबैभन्दा धेरै पनौती नगरपालिकामा ३८ हजार १ सय ४५ मतदाता रहेका छन् । बनेपा नगरपालिकामा ३७ हजार ५ सय ८१ मतदाता रहेका छन् भने सबै भन्दा कम खानीखोलामा १० हजार ३ सय ९ मतदाता रहेका छन् । चौरीदेउरालीमा २० हजार १ सय ९१, तेमालमा २१ हजार १ सय ८, धुलिखेलमा २५ हजार ५ सय ८, नमोबुद्धमा २५ हजार ९ सय ५२, पाँचखाल २९ हजार ६ सय ९७ रहेका छन् । बेथान्चोकमा १४ हजार ५ सय ५१, भुम्लुमा १७ हजार २४, महाभारतमा १२ हजार ४ सय २०, रोशीमा २२ हजार ५ सय ४३ र मण्डनदेउपुरमा २८ हजार ५ सय ३१ मतदाता रहेका छन् ।

एमालेका उम्मेदवार चैत्र २५ भित्र
    नेकपा एमाले काभ्रेले चैत्र २५ भित्रै पालिका स्तरमा उम्मेदवार छनौट गरिसक्न निर्देशन दिएको छ । चैत्र १४ गते सोमबार बसेको जिल्ला कमिटी बैठकले उक्त निर्णय गरेको सचिव राजन भुर्तेलले जानकारी दिनु भयो ।
    पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री जिल्ला ईन्चार्ज गोकुल बास्कोटाको आतिथ्यता, केन्द्रीय सदस्यहरुको सहभागिता तथा प्रदेश कमिटीका पदाधिकारीहरुको उपस्थितीमा जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न बैठकले वडा कमिटीले चैत्र २० गतेसम्म उम्मेदवार छनौट गरिसक्ने छ । वडा कमिटीले छनौट गरेका उम्मेदवारहरुको सूची पालिका कमिटीमा आए लगत्तै पालिका स्तरमा उठ्ने उम्मेदवारहरुको नामावली चैत्र २५ गते टुङ्गो लगाउने छ । जिल्ला कमिटीले चैत्र महिना भित्रै प्राप्त उम्मेदवारहरुको नामावली प्रदेश कमिटीमा पठाउने निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । उम्मेदवार छनौट गर्ने मापदण्ड र पद्दतिमा रहेर सर्वसम्मत उम्मेदवार छनौट गरी पठाउन कमिटीहरुलाई निर्देशन दिएको एमालेले जानकारी दिएको छ ।
    अन्य पार्टीहरुमा पनि उम्मेदवार छनौटको प्रकृया शुरु भएको छ । बैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय भित्रै दलहरुले उम्मेदवार छनौट गरी सक्ने अभियान शुरु गरेका छन् । यतिखेर दलहरु  घर दैलो अभियानमा पुगेका छन् ।