निर्वाचन केन्द्रित एकिकृत सुरक्षा योजना तयार–प्रजिअ
धुलिखेल/जिल्ला निर्वाचन आयोग काभ्रेपलाञ्चोकले फागुन २० सम्म मतदाता परिचयपत्र हराएका नागरिकहरुलाई निवेदन दिन अनुरोध गरेको छ । मतदानमा फोटो सहितको मतदाता परिचयपत्र अनिवार्य भएकाले यस अघि मतदानमा भाग लिई मतदाता परिचय पत्र हराएका वा विभिन्न कारण नस्ट भएका ब्यक्तिहरुले वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन अनुरोध गरेको हो ।
‘निर्वाचन आयोगको परिपत्र अनुसार अहिले नामावली संकलन र बसाई सराई भएका ब्यक्तिहरुको ठाउँसारी गर्ने कार्य स्थगित भएको छ’–जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले भन्नुभयो–‘अहिले मतदाता परिचयपत्र हराएका वा कुनै कारण मतदाता परिचयपत्र फेला नपरेका ब्यक्तिहरुले आयोगको कार्यालयमा निवेदन दिन सक्ने ब्यवस्था गरेको छ ।’ जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने कार्य भईरहेको बताउँदै निर्वाचन प्रमुख राईले यस अघि कायम गरिएका १८९ वटा मतदान स्थलका ३५० वटा मतदान केन्द्र हालसम्म कायम रहेको बताउनु भयो । ‘मतदाता नामावली अन्तिम भए पछि मतदान स्थल र केन्द्रका बारेमा पुनः राजनीति दल र सरोकारवाला निकाय बसेर टुङ्गो लगाईनेछ’–प्रमुख राईले भन्नुभयो–‘एउटा मतदान स्थलमा क, ख, ग मतदान केन्द्र रहँदा एउटा केन्द्रमा १ हजार मतदातासम्मले मतदान गर्न सक्ने कानुनी ब्यवस्था छ ।’ छैटौ निर्वाचन दिवसको अवसर पारी जिल्ला निर्वाचन कार्यालयले सबै, सधै र सँगै भन्ने नाराका साथ निर्वाचन संचालन तथा ब्यवस्थापन गर्न सरोकारवालासँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो ।
प्रमुुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तहको आगामी २०७९ बैशाख ३० गते हुने निर्वाचनको तयारी शुरु गरिएको बताउनु भयो । ‘निर्वाचन केन्द्रीत एकिकृत सुरक्षा योजना तयार गरिसकेका छौं’–प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो–‘सबै नागरिकहरुलाई भय रहित वातावरणमा सुरक्षित रुपमा निश्पक्ष तरिकाले मतदानमा भाग लिन पाउने वातावरण तयार गर्न कृयाशिल भएका छौं ।’ निर्वाचनकै लागि कर्मचारीहरुको विवरण संकलन गरिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मतदान स्थल र केन्द्रको अनुगमन गरिरहेको बताउनु भयो । निर्वाचन सम्वन्धि अन्य तयारीका काम शुरु भएको बताउँदै पाण्डेले सहकार्य, समन्वय र समझारीका साथ स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
काभ्रेपलाञ्चोक जिल्लामा २०७४ सालको निर्वाचनमा २ लाख ७७ हजार २ सय ९२ जना मतदाता रहेका थिए भने २०७८ माघ २५ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख मतदाता पुगेका छन् । मतदाताहरुको नामावली अद्यावधीक हुने कार्य भईरहेकाले उत्त संख्या थपघट हुन सक्ने बताईएको छ । नेपालमा २०१५ साल फागुन ७ गते पहिलो निर्वाचन भएकाले त्यहि दिनलाई आधार मान्दै विगत ६ वर्ष देखि निर्वाचन दिवस मनाउन शुरु गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला समन्वय अधिकारी भिमप्रसाद भट्टराई, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





