2026 October 26/ 10:37: 22am

– १५ हजार ५८ ले घट्यो
– २०७८ मा ०.३९ र २०६८ मा ०.१ ले ऋणात्मक
– जिल्लामा धेरै बनेपामा, थोरै खानीखोला
– बनेपा, धुलिखेल र पनौतीमा बढ्यो
– पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर, बेथान्चोक, भुम्लु, चौरीदेउराली, रोशी, तेमाल, खानीखोला र महाभारतमा घट्यो

मोतीराम तिमल्सिना
धुलिखेल

    जनगणना २०७८ को प्रारम्भिक नतिजामा काभ्रेपलाञ्चोक जिल्लाको तथ्याङ्क ०.३९ प्रतिशतले घटेको छ । जिल्लाको कुल जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ । जसमा १ लाख ८० हजार ९ सय ६७ पुरुष र १ लाख ८५ हजार ९ सय १२ महिला रहेका छन् । लैङ्गिक अनुपातका आधारमा ९७.३४ प्रतिशत रहेको छ । २०६८ सालमा भन्दा १५ हजार ५८ जना कम भएका छन् ।
    जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिकामा अपेक्षा भन्दा धेरै जनसंख्या बृद्धि भएको छ भने बाँकी १० वटा पालिकामा जनसंख्या घटेको छ । बनेपामा सबैभन्दा धेरै १२ हजार १ जना थप भएका छन् भने पनौतीमा ५ हजार ४ सय ८३ थप भएका छन् । धुलिखेलमा ४ हजार २१ जना थप भएका छन् । जनसंख्या थप नहुँदै बनेपा धेरै जनसंख्या भएको पालिकाका रुपमा चिनिएका थियो । घरधुरी र परिवार र जनसंख्याका हिसाबले बनेपा पुनः ठुलो नगरपालिकाका रुपमा चिनिएको छ । बनेपा पछि पनौती र धुलिखेलमा क्रमशः जनसंख्या बृद्धि भएको छ । खानीखोला जिल्लाकै कम जनसंख्या भएको पालिकाका रुपमा चिनिएको छ । भौगोलिक रुपले विकट मानिएको खानीखोलामा ७ वटा वडा छन् । पछिल्लो तथ्याङ्क अनुसार १२ हजार ३ सय ७५ रहेको छ । १४ हजार ३ सय ९८ बाट घटेर त्यति भएको हो । बसाई सर्ने क्रम बढिरहेका छ । २ हजार २३ जना १० वर्षमा कम भएका छन् ।
    २०६८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ थियो । २०५८ सालमा जिल्लाको जनसंख्या ३ लख ८५ हजार ६ सय ७२ थियो । त्यतिबेला ०.१ प्रतिशतले घटेको थियो । जनगणना २०७८ मा जिल्लामा ८३ हजार ९ सय ३२ घर संख्या कायम भएका छन् । जबकी भुकम्पको राहत लिनेहरुको संख्या ९० हजार भन्दा धेरै घर धुरी रहेको छ । परिवार संख्या भने ९३ हजार १ सय ८९ रहेको तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । परिवारको औसत आकार ३.९४ रहेको छ । जनघनत्व २६३ रहेको छ । जनगणना २०७८ मा १९ हजार ५ सय ७६ जनसख्ंया अनुपस्थित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमा १४ हजार ४ सय ६६ पुरुष र ५ हजार १ सय १० महिला रहेका छन् । प्रतिशतका आधारमा ०.९० रहेको छ ।
    तथ्याङ्क विभागले सार्वजनिक गरेको जिल्लाका १३ वटा स्थानीय तहहरुको तथ्याङ्क अनुसार सबै भन्दा धेरै बनेपा नगरपालिकाको जनसंंख्या ६७ हजार ६ सय २९ रहेको छ । जसमा पुरुष ३३ हजार १ सय ८० पुरुष र ३४ हजार ४ सय ४९ महिला रहेका छन् । १२ हजार ५ सय ४५ घरसंख्यामा १६ हजार ९ सय ७३ परिवार संख्या रहेको छ । २०६८ सालमा बनेपा नगरपालिकामा ५५ हजार ६ सय २८ जनसंख्या रहेको थियो । १२ हजार १ जना नगरपालिकाको संख्या थप भएको छ ।
    त्यस्तै पनौतीको जनसंख्या ५२ हजार ७८ पुगेको छ । पनौती दोश्रो भएको छ । जसमा २५ हजार ४ सय ५७ पुरुष र २६ हजार ६ सय २१ महिला रहेका छन् । ११ हजार ५ सय ५५ घर संख्यामा १२ हजार ९ सय ८६ परिवार रहेका छन् । २०६८ सालमा ४६ हजार ५ सय ९५ जनसंख्या रहेको थियो । पनौतीमा ५ हजार ४ सय ८३ थप भएको छ ।
    धुलिखेल नगरपालिका तेश्रो भएको छ । धुलिखेलमा ३६ हजार १ सय ८३ जनसंख्या रहेको छ । जसमा १८ हजार ५ सय पुरुष र १७ हजार ६ सय ८२ महिला रहेका छन् । ७३ सय ९ घर संख्यामा ८ हजार ८ सय ८ घर परिवार रहेका छन् । २०६८ सालमा ३२ हजार १ सय ६२ जनसंख्या रहेको थियो । ४ हजार २१ जना धुलिखेलमा थप भएका छन् ।
  पाँचखाल नगरपालिकामा ३५ हजार ९ सय ९२ जनसंख्या रहेको छ । जसमा पुरुष १७ हजार ४ सय ७१ रहेका छन् भने महिला १८ हजार ५ सय २१ रहेका छन् । ८ हजार ७ सय ८३ घर संंख्यामा ९ हजार २ सय ९५ घर परिवार रहेका छन् । २०६८ सालमा ३७ हजार ९ सय ९७ रहेको थियो । पाँचखालमा २ हजार ५ जना घटेका छन् ।
    मण्डनदेउपुर नगरपालिकामा ३१ हजार २ सय ६१ रहेको छ । १५ हजार ३ सय ३५ पुरुष र १५ हजार ९ सय २६ महिला रहेका छन् । ७ हजार ८ सय ६१ घर संख्यामा ८ हजार २ सय २० परिवार संख्या रहेको छ । २०६८ सालमा ३२ हजार ६ सय ५९ जनसंख्या रहेको थियो । १ हजार ३ सय ९८ घटेको छ ।
    नमोबुद्ध नगरपालिकामा २६ हजार २ सय ८० जनसंख्या रहेको छ । १२ हजार ५ सय ७९ पुरुष र १३ हजार ७ सय १ महिला रहेका छन् । ६ हजार ९ सय ८८ घर परिवार संख्यामा ७ हजार ४ सय ६ रहेको छ । नमोबुद्धमा २०६८ सालमा २९ हजार ५ सय १९ रहेको थियो । झण्डै ४ हजार जनसंख्या घटेको छ ।
    बेथान्चोक गाउँपालिकामा १४ हजार ९ सय ९६ पुगेको छ । जसमा ७ हजार २ सय २९ पुरुष र ७ हजार ७ सय ६७ महिला छन् । भुम्लु गाउँपालिकामा १५ हजार ८ सय ५८ जनसंख्या रहेको छ । जसमा ७ हजार ६ सय ७ पुरुष र ८ हजार २ सय ५१ महिला रहेका छन् । चौरीदेउराली गाउँपालिकामा १४ हजार १ सय ६ जनसंख्या रहेको छ । जसमा ६ हजार ६ सय ६८ पुरुष र ७ हजार ४ सय ३८ महिला रहेका छन् । खानीखोलामा १२ हजार ३ सय ७५ जनसंख्या रहेको छ । जसमा ६ हजार १ सय ३१ पुरुष र ६ हजार २ सय ४४ महिला रहेका छन् । महाभारत गाउँपालिकामा १६ हजार १ सय ४८ रहेको छ । जसमा ७ हजार ९ सय ३३ पुरुष र ८ हजार २ सय १५ महिला रहेका छन् । रोशी गाउँपालिकामा २३ हजार ५ सय ११ जनसंख्या रहेको छ । जसमा पुरुष ११ हजार ४ सय ५८ र महिला १२ हजार ९३ जना रहेका छन् । तेमाल गाउँपालिकामा १६ हजार ९ सय ५९ जनसंख्या रहेको छ । जसमा पुरुष ८ हजार १ सय ९७ रहेको छ भने महिला ८ हजार ७ सय ६२ रहेको छ ।