2026 August 21/ 10:15: 15pm

    बनेपा/राजधानीसँग जोडिएको, दुईवटा छिमेकी देश चीन र भारत जोडिने अलग अलग राजमार्ग, स्मार्ट शहरका रुपमा विकास हुँदै गरेको काभ्रेपलाञ्चोक जिल्लामा एउटा शव वाहन समेत छैन । कोभिडका कारण मात्रै दैनिक तीन जनाको निधन हुन थालिसकेको छ शवको ब्यवस्थापनका लागि नेपाली सेनाले भेटिरिनरी अस्पताललाई प्राप्त गाई भैसी बोक्ने एम्बुलेस शव वाहनका रुपमा प्रयोग गर्दै आएको छ । 
    हरेक जिल्लामा एउटा शब वाहन, २ सय भन्दा धेरै शैया भएको अस्पतालमा शव वाहन  अनिवार्य हुनु पर्ने भए पनि काभ्रेपलाञ्चोक जिल्लामा चारवटा अस्पताल भए पनि शव बाहन छैन । ‘अघिल्लो वर्षको कोभिडका क्रममा निधन भएका ब्यक्तिहरुको शव पशुपति आर्यघाटमा लैजान कठिन भए पछि भेटेरिनरी अस्पतालमा भएको गाई भैसी बोक्ने एम्बुलेन्स प्रयोग गरेका हौं’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो–‘प्रदेश र संघ सरकारलाई पटक पटक शव बाहनको अभावका बारेमा जानकारी गरायौं तर सुनुवाई भएको छैन । दिनको तीनवटा शवको ब्यवस्थापन गर्न उक्त एम्बुलेन्समा पनि कठिन हुन थालेको छ ।’ नेपाली सेनाको कालीजंग गण धुलिखेलले शवहरु राजधानी पु¥याउँदै आएको छ । 
    प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले शव बाहन नभएकाले दैनिक शब ब्यवस्थापनमा कठिन भएको बताउनु भयो । ‘प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा लिखित निर्णय गरी शव वाहन नभएर भएको समस्याका बारेमा जानकारी गराएका छौं’–प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो–‘ब्यवस्थापनको पहल गर्ने आश्वासन पाएका छौं ।’ प्रमुख जिल्ला अधिकारी पोखरेलले दैनिक शव राजधानी पु¥याउन कठिन भएकाले जिल्लामै ब्यवस्थापनको तयारी गरिएको बताउनु भयो । सेनाले शव जिल्लामै ब्यवस्थापन गर्ने गरी स्थानको रेकि गरिरहेको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्र मार्फत उक्त स्थानको तय गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । 
    सेनाको टोलीले बैशाख १६ गते तीनवटा शव राजधानी पु¥याएको थियो । कर्णेल गणपति मिलन थापाका अनुसार बैशाख १६ गते धुलिखेलका ८२ बर्षिय जेष्ठ नागरिक, सिन्धुपाल्चोकका ३७ बर्षिय युवा र काभ्रेकै चौरी देउराली गाउँपालिकाका ७० बर्षिय जेष्ठ नागरिकको शव सेनानी राजेश कार्कीको कमाण्डमा ब्यवस्थापन गरिएको छ । त्यस्तै बैशाख १९ गते ललितपुर धापाखेलका ६१ बर्षिय पुरुष, महोत्तरी जिल्ला जलेश्वर नगरपालिकाकी ५० बर्षिय महिला र ललितपुरकै इमाडोलका ५० बर्षिय पुरुषको शव कालीजंग गण धुलिखेलका सह सेनानी ढलक मुक्तानको कमाण्डमा ब्यवस्थापन गरिएको कर्णेल मिलन थापाले जानकारी दिनु भयो । 
    त्यस्तै बैशाख २० गते काठमाडौ जडिबुटी घर भएकी ७६ बर्षिया महिलाको सह सेनानी प्रविन थापाको कमाण्डमा शव ब्यवस्थापन गरिएको छ । बैशाख २१ गते जिल्लामा निधन भएका भक्तपुर घर भएकी ६२ बर्षिय महिला, भक्तपुर ९ घर भएका ६७ बर्षिय पुरुष, मण्डनदेउपुर १ बालुवापटी घर भएका ७८ बर्षिय पुरुष, बनेपा नगरपालका १ घर भएकी ६२ बर्षिय महिला सह सेनानी विजयराम गिरीको कमाण्डमा शव ब्यवस्थापन गरिएको छ । शव ब्यवस्थापनका लागि शव बाहन तथा त्यसको निरन्तर प्रयोगका लागि संकट सिर्जना हुँदै गएको छ । 
    बैशाख २१ गते बनेपाका युवा ब्यवसायी, बनेपामै रहेको आगन्तुक होटलका संचालक र पनौतीकी ८० बर्षिया महिलाको पनि निधन भएको छ ।