2026 August 22/ 03:50: 52pm

दुई वर्ष भित्र जनशक्ति सहित संचालनमा 
    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा तीनवटा अस्पतालको शिलान्यास गरिएको छ । धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र भुम्लु गाउँपालिकाले अस्पताल शिलन्यास गरेका छन् भने डाँडापारीका दुई पालिका खानीखोला र महाभारतले अस्पताल शिल्यान्यास गर्न सकेनन् । महाभारतमा अस्पताल बन्ने केन्द्र बनखु र घर्तिछाप दुई स्थानको पत्र आएकाले एकीन हुन नसक्दा शिल्यान्यास भएन भने खानीखोलामा केहि दिन अघि जग्गा ब्यवस्थापन हुन नसक्दा शिल्यान्यास हुन सकेन । जग्गा ब्यवस्थापन भईसकेकाले केहि दिनमै खानीखोला गाउँपालिकाले अस्पतालको शिल्यान्यास गर्नेछ । 
    शिल्यान्याससँगै धुलिखेल नगरपालिकामा १५ शैया, भुम्लु गाउँपालिका र रोशी गाउँपालिकामा १०÷१० शैयाको अस्पताल बन्ने भएका छन् । धुलिखेल नगरपालिकाको काभ्रे भञ्ज्याङ्गमा काभ्रे अस्पतालका रुपमा १५ शैया अस्पतालको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच शिल्यान्यास गर्नु भएको छ । ‘धुलिखेललाई स्वस्थ शहरसँगै नागरिकहरुलाई आधारभुत आवश्यकता पूरा गर्ने गरी स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायतका पूर्वाधारहरु निर्माण गरिरहेका छौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘स्वच्छ खानेपानीसँगै स्वस्थ शहरका लागि नागरिकहरुको ब्यक्तिगत स्वास्थ्य प्रोफाईल तयार गरी हरेक रोगको उपचारका लागि सहजिकरण गर्नेर्छाै ।’ नागरिकहरुको स्वास्थ्य वीमा, सरुवा रोग नियन्त्रण अस्पताल निर्माणको तयारी, ट्रमा सेन्टर, कोभिड १९ को परिक्षणका लागि प्रादेशिक ल्याब, धुलिखेल सामुदायिक अस्पतालको सेवा विस्तार र गुणस्तर, नगरपालिका अन्र्तगतका १४ वटा स्वास्थ्य संस्था, आयुर्वेद केन्द्र समेतबाट नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पु¥याईएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । नेपालकै नमुना नगरका रुपमा विकास गर्ने गरी नगरपालिकाले नागरिकहरुका आधारभुत आवश्यकताहरुलाई पुरा गर्ने अभियान सम्पन्न गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । उपप्रमुख विमला शर्माले हरेक नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुनुनपर्ने गरी नगरपालिकाले कार्य गरिरहेको बताउनु भयो । 
    नगरपालिकाले निर्माण गर्न लागेको अस्पतालको कार्य क्षेत्रले वडा नम्वर ८, ९, १०, ११ र १२ नम्वर वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् भने विपी राजमार्ग नजिकै भएकाले सडक दुर्घटना तथा अन्य कारणबाट अस्पताल आउनेहरुले सेवा प्राप्त गर्नेछन् । सहभागीहरुले उक्त अस्पताललाई ट्रमा सेन्टरका रुपमा विस्तार गर्नुपर्ने सुझाव दिए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले धेरै नागरिकहरुले स्वास्थ्य सेवा प्राप्त गर्ने गरी अस्पतालले सेवा दिनुपर्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, स्वास्थ कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, वडा अध्यक्षहरु बसन्त रानाभाट, पुस्प राउत, विष्णु काभ्रेली, हर्कबहादुर तामाङ, निराजन जंगम, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा लगायतले काभ्रे अस्पतालले नागरिकहरुको स्वास्थ्य सम्बन्धी आधारभुत आवश्यकता पूरा गर्ने बताउनु भयो । दु्ई वर्ष भित्र निर्माण सम्पन्न हुने उक्त अस्पतालका लागि १८ करोड ६ लाख रुपैयाँ खर्च हुनेछ । सरकारले ८५ लाख पहिलो किस्तामा पठाई सकेको छ । 
    त्यस्तै रोशी गाउँपालिकाको खहरेपाँगुमा बन्ने अस्पतालको गाउँपालिका अध्यक्ष डीबी लामा र अस्पतालका अध्यक्ष गणेश लामाले शिलान्यास गर्नुभएको छ । खहरेपाँगुमा गाउँपालिकाले केहि दिन अघि कोभिडको अस्थायी अस्पताल उद्घाटन गरिसकेको थियो । गाउँपालिका अध्यक्ष डिबी लामाले खहरेपागँु, शिखरआम्बोटे, नमोबुद्ध नगरपालिका र बेथान्चोक गाउँपालिकाका केहि वडाका नागरिकहरुलाई उक्त अस्पतालले सेवा दिने बताउनु भयो । उक्त क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष लामाले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृउत डम्बरु दाहाल, स्थानीय राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
    त्यस्तै भुम्लु गाउँपालिकाको भुम्लु स्वास्थ्य चौकीमा बन्ने अस्पतालको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले शिलान्यास गर्नुभएको छ । भुम्लुमा बन्ने उक्त अस्पतालले गाउँपालिकाका नागरिकहरुका साथै छिमेकी पालिकाका नागरिकहरु लाभान्वित हुने अध्यक्ष कुँवरले बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका पाँच पालिकालाई अस्पताल निर्माणका लागि पहिलो चरणका लागि ८५ लाख रुपियाँ बजेट पालिकामा पठाएको छ । मन्त्रालयले १५ शैयाको लागि १८ करोड र १० शैया अस्पतालका लागि १०÷१० करोड विनियोजन गरेको छ । दुई बर्षमा अस्पताल सञ्चालनमा आउने छन् ।