2026 June 06/ 04:00: 30am

ईश्वर जंगम
वडा अध्यक्ष 
वडा नम्वर १२
पनौती नगरपालिका 

–  निर्वाचित भएको ४ वर्षको अन्तरालमा स्थानीय सरकारको परिकल्पना अनुसार अगाडि बढ्न सकिरहनु भएको छ कि छैन ? 
    नेपालमा राजनीतिक परिवर्तन सँगै हामीले स्थानीय तहमा निर्वाचित भएर काम गर्ने अवसर पायौं । विगतको १५÷२० वर्ष अगाडि जुन रिक्तता थियो त्यो पहिलो निर्वाचन पछि हामीले पूरा ग¥यौं । अहिले हामी पाँचौ वर्षमा प्रवेश गरेका छौं । हामीले धेरै नै फड्को मारेको जस्तो मैले अनुभूति गरेको छु । किनभने विगतमा गाउँ विकास समिति, नगरपालिका, स्थानीय निकायमा जुन किसिमको बजेटहरु आउँथे विकास निर्माणका कामहरु हुन्थे । तथापि हामी निर्वाचित भैसकेपछि देशले नै फड्को मारेको मैले अनुभूति गरेको छु । आकांक्षा धेरै हुन्छन् गर्नुपर्ने कामहरु धेरै हुन्छन् तरपनि हामी पाँचौ वर्षमा लागिरहेका छौं । यो समयमा गरेका कामहरु प्रति म सन्तुष्ट छु । काम अझै धेरै गर्न बाँकी छ ।  

– भएका कामहरु चाहिँ के के हुन् त ?
    पनौती नगरपालिका वडा नं. १२ भुगोलको हिसाबले पनि ठूलो वडा हो ।  साविक गाउँ विकास समिति एउटा वडामा परिणत भएको छ । त्यसले पनि हामीलाई समस्या त छँदैछ । त्यसको बाबजूद पनि हाम्रो वडा पहाडै पहाडले घेरेको छ । बस्तीहरु पनि धेरै छन् । एउटा सिङ्गो गाउँ विकास समिति एउटा वडामा सीमित भए पछि हामीले जति विकास निर्माणका कामहरु गर्नुपथ्र्याे त्यो अलि समस्याको विषयवस्तु भएको छ । किनभने धरै वस्ती धेरै जनसंख्या भएको कारण विकासका योजनाहरु बाँडफाँड गर्दाखेरी सबै वडालाई समेटेर जानुपर्ने अवस्था हुन्छ । त्यसो हुँदा अलिअलि समस्या त समाधान भएको छ । तरपनि हामीले गर्नुपर्ने जिम्मेवारी दायित्व चाहिँ पूरा भएको जस्तो लागेको छ । 

– पनौतीको १२ नं. वडा अरु वडा भन्दा अलि धेरै विकास हुनुपर्ने जनअपेक्षालाई कत्तिको पुरा गर्नुभयो ?
    हामीले विगतदेखि नै हाम्रो १२ नं. वडा साविक गाउँ विकास समिति हुँदाखेरी नै खानी र पानीका कुराहरु आइरहेका हुन् । यसले सदैव समस्या सिर्जना पनि गरिरहेको छ । खानी र पानीको विषयमा हामीले तीनवटा नगरपालिकालाई खुवाउने, खानीबाट आउने आयश्रोतहरु धेरै छ र वातावरणीय हिसाबले स्वास्थ्यको कुरादेखि लिएर बाटो हिँड्न आवतजावत देखि लिएर ठूला समस्या आएका कारण सदैव हामीलाई घच्घचाउने काम विगतमा पनि गरेको हो । तथापि हामीले गर्न सक्ने कुरालाई अगाडि बढाएर सम्बन्धित निकायमा हिजो पनि राखेका थियौं र अहिले पनि राखेका छौं । त्यसकारण पनि अलिकति समस्या १२ नंं वडामा देखिन्छ । यो समस्यालाई हामीले विगतमा राज्यले ढुंगा खानी, क्रसरलाई स्वीकृत दिएर संचालन गर्ने जुन अधिकार दियो त्यो अधिकार आफ्नो ठाउँमा छँदैछ, हामीले त्यसलाई नकार्न पनि सक्दैनौं । केहि गर्न सक्ने सम्भावना पनि देखिँदैन । त्यसकारण हाम्रो खानी र पानीको जुन स्रोत र आयस्तरका कुराहरु पनि हामीसँग छ तर पनि के छ भने सिंगो गाउँ विकास समिति वडा नगरपालिकामा गाभिएपछि हामीले बजेट हाम्रै हो भन्ने अवस्था पनि रहदो रहेनछ । तथापि पनि हामीले आफ्नो ठाउँबाट आफ्नो तहबाट गर्नुपर्ने कुराहरु नगरमा प्रस्तावहरु राखेर पनि सम्भावना रहेका विकास निर्माणका कामहरुलाई अगाडि बढाएका छौं ।

– वडामा देखिएको समस्या के हो र यहाँहरु निर्वाचित भएपछि व्यवस्थापनका लागि के पहल भए ?
    हाम्रो भुगोलको हिसाबले पनि हामीलाई समस्या परेको छ । हामी निर्वाचित भैसकेपछि १२ नं. वडाले गर्नुपर्ने जिम्मेवारी राम्रो ढंगले पूरा ग¥यौै कि भन्ने लाग्छ । विगतमा हामी निर्वाचित हुनु अगाडि हाम्रो वडा कार्यालय साविकको गाउँ विकास समितिको भवनबाट विगतका ९ वटा वडामा एउटा दुईवटा वाहेक त्यो वडा कार्यालयसँग कुनै बाटो जोडिएको थिएन । आवतजावत गर्न धेरै समस्या थियो । हामी निर्वाचित भैसकेपछि सडक निर्माणको कुरामा फड्को नै मारेको अनुभूति भएको छ । त्यो कुरा आम नागरिकले पनि महसुस गर्नुभएको छ । हाम्रो वडामा भुगोलको हिसाबले बाटो निर्माण गर्न पनि धेरै समस्या थियो । यसको बाबजूद पनि नागरिकसँग समन्वय गरेर बाटो निर्माण सम्पन्न गरेका छौं । अन्य वडाहरुभन्दा हाम्रो वडामा बाटो निर्माण लगायतमामा फड्को मारेका छौं । 
– अब १२ नं. वडामा सडकका अन्य ट्रयाक खोल्नु पर्दैन ? भएकालाई व्यवस्थापन गर्र्दै जाने हो ?
    पक्कै पनि नयाँ ट्रयाक खोल्नुपर्दैन । हामीले सडक क्षेत्रमा जति पनि ट्रयाक खोल्नुपर्ने हो ९० प्रतिशत ट्रयाक खोलिसक्यौं । हामीले विगतमा पनि एउटै गाउँ विकास समितिमा रहँदा पनि दुईवटा क्षेत्र थियो कलाँती र रोशी भन्ने । कलाँतीमा  अलि बढी जनाधार छ । त्यस ठाउँबाट एउटा मोटरसाइकल लिएर वडा कार्यालय आउनु पर्दा पनौती नगरपालिकाको ८ नं. वडा घुमेर मात्रै वडा कार्यालय आउन सक्ने थियो त्यतिबेला । त्यस्तै वडा कार्यालय बाट नजिकैको कुशादेवी साधन लिएर जान सक्ने अवस्था थिएन । अहिले हामीले त्यो समस्याको अन्त्य गरेका छौं । यो हाम्रो लागि ऐतिहासिक काम थियो जुन हामीले निर्वाचित भए पछि गरेका थियौं । त्यसैगरी रोशी वडा कार्यालयबाट गागल मुलखोला हुँदै बेथानचोक एरियाको बाटो पनि निर्माण गर्न सफल भएका छौं । 
    त्यसैगरी आगामी दिनमा हामीले बेथानचोकसँग जोड्ने बाटो निर्माणमा प्रयासरत छौं । हामीले रोशी कलाँती मगरगाउँ अमिलचौरसम्मको ५ किलोमिटरको बाटो ट्रयाक खोलिसकेको छौं । त्यस्तै रोशी, गोठखोला, कुशादेवीको बाटोलाई नयाँ ट्रयाकको रुपमा विकास गर्न सकिन्छ कि भनेर बजेट विनियोजन गरिसकेका छौं । त्यस्तै अर्काे ठूलो बाटो चक्रपथको रुपमा वडा कार्यालय–खारखोला–गुरुङ गाउँ–डाँडागाउँ–दुम्सीडाँडा–कलाँती हुँदै पुनः पनौती नगरपालिका वडा नं. ८ मा रहेको पुल सम्म जोड्ने बाटो जुन ७ किलोमिटर रहेको छ त्यसको विकास गरेका छौं हामीले । 

– अहिले भएका सडकहरु वर्षातको समयमा हिँड्न मिल्छ ?
    बाटो खन्ने क्रममा हामीलाई अनुभव पनि प्राप्त भएको छ । हामीले पहिलो वर्ष नयाँ ट्रयाक बाटो खनियो । दोश्रो वर्ष बाटो खन्यौ दशै समयमा असार साउनमा आएको पहिरोले समस्या बनायो । जब वर्षा सकिन्छ त्यसलाई हामीले पुर्ननिर्माण गर्ने काम पनि ग¥यौं । मैले के अनुभव गरे भने पहिलो वर्ष खनेको बाटो दोश्रो वर्ष सरसफाई गरेनौं भने त्यो बाटो जनताहरुले प्रयोग नगर्ने अवस्था देख्यौं । हामीले अहिले अनुभूति गरेको चाहिँ पहिलो वर्ष खनेको ट्रयाक दोश्रो वर्ष आउँदा समस्या नै आउँदो रहेछ त्यसकारण हामीले बाटो सरसफाई, ड्रेन राख्ने र पानी कटाउने गरियो भने त्यो खालको समस्या नआउने रहेछ । अहिले हामीले खनेका बाटोहरु छन् धेरैजसो बाटोहरु समस्यामा छैनन् प्रयोग गर्ने अवस्थामा रहेका छन् । 

– चार वर्षको अन्तरालमा सडकको सिलसिलामा तपाईको वडामा कालोपत्रे सडक भए कि भएनन् ?
    हामीले पहिलो वर्षदेखि बाटोहरु बनाउने क्रममा बाटोहरुलाई पनि प्राथमिकीकरणमा राख्यौं । जस्तै रोशी कलाँती बाटो थियो त्यसलाई व्यवस्थित गर्नुपर्छ भनेर सुरुमा हामीले ट्रयाक खन्यौ, ड्रेन सम्पन्न ग¥यौं, त्यसपछि गतवर्ष हामीले गौरवको योजना भनेर १ करोड बजेट त्यहि बाटोलाई नै राख्यौं । त्यो योजना अन्तर्गत बाँकी रहेको ड्रेन र पीच गर्ने भन्ने अभियान थियो त्यहि अनुसार टेण्डर भनि भयो पछि काम गर्दै जाने सिलसिलामा पीच भन्दा ढलान राम्रो हुन्छ भनेर ढलानको योजनालाई अगाडि बढायौं । यो वर्ष पनि हामीले जुन जुन बाटोलाई सम्भावना छ पीच नगरी ढलान गर्ने भनेर ४ वटा योजनामा ढलान कार्य अगाडि बढाउँदै छौं । हामीले जति सकिन्छ आगामी नेतृत्वलाई पनि निरन्तरता हुने गरी हामी लागि परेका छौं । 

– पूर्वाधारमा सडक मात्र हो कि अरु विकासका कामहरु पनि भए ?
    जनताका आवश्यकताहरु धेरै हुन्छन् । तीमध्ये सडक पनि प्रमुख हो । सडक स्वास्थ्य सुविधादेखि लिएर दैनिक जीवनयापनका लागि पनि अपरिहार्य छ । यसका बाबजूद पनि अरु समस्याहरु जीवितै छन् । हामीले सडकका साथसाथै यस क्षेत्रका विद्यालयहरुको पनि स्तरोन्नति गरेका छौं । बाल प्रकाश माविको स्तरोन्नति गर्ने काम भएको छ । यसका अलावा पनौती १२ नं. वडामा खानेपानीको सवालमा एउटा अभियान संचालन भएको छ । एक घर एक धारा अभियानमा हामी लागेका छौं । रोशी एरियामा लगभग ४ सय १६ घरधुरीको इष्टिमेट भएको छ । यसमा हामीले ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौं । यो दशैसम्म सबैको घरघरमा पानी ल्याउने अभियानमा हामी लागी परेका छौं । 
    त्यसैगरी खानेपानी अन्तर्गत नै सबै वडामा खानेपानी उपलब्ध गराउन योजनाहरु भइरहेका छन् । आगामी दिनमा ती योजनाहरु पनि सम्पन्न हुने कुरामा म ढुक्क छु । यसकारण पनि हामीले सडकका अलावा अन्य विकासका कामहरु पनि अगाडि बढाउँदै लगेका छौं । गतवर्ष हामीले जति काम गर्नुपर्ने हो कोभिडका कारणले हामीले गर्न सकेनौं । यसका अलावा १२ नं. वडामा स्वास्थ्य भवन कमजोर अवस्थामा थियो त्यसको लागि हामीले भवन निर्माण गरिसकेका छौं । सम्भवतः असोज पछाडि सर्ने तयारीमा पनि छौं । त्यसैगरी साँस्कृतिक सम्पदाहरुलाई पनि जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले भालेश्वर मन्दिर परिसरको लागि छुट्टै बजेट विनियोजन गरेका छौं । त्यसैगरी भालेश्वरसँगै जोडिएको त्रिवेणीघाटको पनि पुनर्निर्माण गरिएको छ । त्यसैगरी १२ नं. वडामा भएका साँस्कृतिक सम्पदाहरुको संरक्षणको निमित्त बजेट हरु छुटट्टयाउँदै आइरहेका छौं । 

– काभ्रे जिल्लाकै पहिलो बालमैत्री वडाको रुपमा पनौती १२ लाई चिनिन्छ, यसको फलोअप कत्तिको भैरहेको छ ?
    हामी विगतमा पनि बालमैत्री अभियानमा लागि प¥यौं । मैले गरेको काम मध्ये गर्व गर्न लायक काम भनेको बालमैत्री वडा घोषणा हो । त्यहि अन्तर्गत प्रदेश नं. ३ को दोश्रो बालमैत्री वडा, काभ्रेपलाञ्चोक जिल्लाको पहिलो वडाको रुपमा र पनौती नगरपालिकाको पनि पहिलो वडाको रुपमा हामीले बालमैत्री वडाको घोषणा ग¥यौं । पछि गएर हामीले सिङ्गो नगरलाई बालमैत्री नगरको रुपमा घोषणा गर्न पनि सफल भयौं । मलाई लाग्छ हामी भौतिक कामका साथसाथै सामाजिक विकासको क्षेत्रमा नलाग्ने हो भने हामीले विकासका क्षेत्रमा फड्को मा¥यौ भन्ने अनुभूति दिलाउन सकिन्न । 
    हाम्रो समाजलाई हामीले सिस्टममा चलाउन सकेनौं भने भौतिक विकासका पूर्वाधारहरु मात्र गरिरहँदा खेरी पछि जनमानसले स्वीकार गर्ने अवस्था नहुने रहेछ । त्यसकारण अहिले हाम्रो १२ नं. वडामा रहेका बालबालिकाहरु आफै योजना बनाउनुहुन्छ । छलफल गर्नुहुन्छ । वडाको बैठकमा आफ्ना योजना पेश गर्नुहुन्छ । मलाई लाग्छ बालमैत्री अभियानमा अझ धेरै कामहरु गर्न बाँकी छ । यसमा राज्यले पनि धेरै सहयोग गर्नुपर्ने देखिन्छ । किनभने हामीले जति पनि बालबालिकाको क्षेत्रमा बजेट छुट्याएका हुन्छौ त्यो अपुग नै देखिएको छ । हामीले सक्ने सम्भावनाहरु चाहिँ देखेका छौं । हामीले बालमैत्री अभियान अन्तर्गत बालउद्यान बनाउने अभियानमा छौं । जुन आधा जति पूरा भैसकेको अवस्था पनि छ । यसर्थ बालमैत्री अभियानमा म अत्यन्त खुशी छु । यसलाई अझ अगाडि बढाउन सम्बन्धित निकायले ध्यान दिनु पर्छ भन्ने मेरो माग पनि छ । 

– बालमैत्री वडा घोषणा हुनु र नहुनुमा के फरक पाउनु भयो ?
    बालमैत्री घोषणा नहुँदाको अवस्थामा कति बालबालिकाहरु विद्यालय जान्थे, कति बालबालिकाहरु चौरमा खेलेर बिताउँथे, के कारणले बालबालिकाहरु विद्यालय जानबाट बन्चित हुन्थे, स्वास्थ्य शिक्षामा बालबालिकाहरुको पहुँच कस्तो छ भन्ने बारे महसुस ग¥यौं । अहिले हरेक घरमा कति बालबालिका छन्, को कति विद्यालय जान्छन्, कति जाँदैनन्, जादैनन् भने किन जाँदैनन्, नजाने बालबालिकाहरुको घरमा बालमैत्री अभियान अन्तर्गत त्यो घरमा गएर उहाँहरुको समस्या बुझेर विद्यालय जाने वातावरण सिर्जना गर्छाैं । त्यस्तै स्वास्थ्य, अनुशासन  लगायतका क्षेत्रमा बालमैत्री अभियानले धेरै फड्को मारेको छ । 

– निर्वाचित हुनु अगाडि जनतासामु गरेका बाचाहरु आजसम्म आईपुग्दा के कति पुरा भए ?
    जनताका इच्छा आकांक्षा चाहनाहरु धेरै हुनसक्छन् । तरपनि हाम्रा घोषणापत्रमा जे लेखेका थियौ त्यो कुराहरु सिंगो नगरको हिसाबले भन्नुपर्दा ९० प्रतिशत भन्दा माथि पूरा भैसकेका छन् । बाँकी रहेका केहि प्रतिशतलाई यो बाँकी अवधिमा एजेण्डा बनाएर पूरा गर्ने लक्ष्य लिएका छौं । १२ नं. वडाको कुरा गर्दा खेरी पनि हामीले हिजो बाचा गरेका कुराहरु ९० प्रतिशत भन्दा बढी पूरा भएका छन् । बाँकी कामहरु पनि समयमै पूरा गर्नेछौं । अहिले हामीले जुन बजेट विनियोजन गरेका छौं त्यो बजेट कार्यान्वयन हुन सकेमा हामीले लिएका लक्ष्यहरु पूरा हुनेछन् । 
– यो वर्ष कस्ता कस्ता योजनाहरु छन् ?
    हामीले भौतिक विकास निर्माणमै प्राथमिकता दिएका छौं । यो वर्ष अन्तिम वर्ष पनि भएकोले विगतमा हामीले जे जे काम गरेका छौं त्यसलाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेका छौं । पहिलो काम बाटोलाई नै प्राथमिकता दिएका छौं । हामीले दुईवटा बाटो भालेश्वरबाट रोशी सिमलबगरबाट कलाँती जाने बाटो ढलानको काम सुरु गर्नेछौं र सबै बाटोलाई राम्रो र व्यवस्थित गर्ने ढंगले बनाउन लागिपरेका छौं । 
– खानी र पानीका कारण बस्ती जोखिममा परेको छ कि छैन ? यसमा नगरपालिका र वडाले केहि योजना बनाएको छ ?
    यो खानीका कारण जनताहरुको आवाज धेरै आइरहेको छ । हाम्रो भुगोल, खोला र त्यहाँको अवस्थाले गर्दा भोलिका दिनमा केहि नहोला भन्न सकिँदैन । खानीका आफ्नै खालको समस्या छन् । तरपनि हिजो राज्यले दिएको जुन सीमा छ त्यो अनुसार गर्नुपथ्र्याे त्यसमा धेरै कुराहरु चुकेको जस्तो लाग्छ । यसले सदैव समस्या निम्त्याइरहेको छ । भोलिका दिनमा यसलाई व्यवस्थित गरेर नलाने हो भने यसले जटिल परिस्थिति सिर्जना गर्छ नै । यो समस्यालाई समाधान गर्न सबै पक्षहरु बसेर, स्थानीय निकायहरु, सम्बन्धित माथिल्लो निकाय जसले हिजोका दिनमा प्रमाणपत्र दिएका थिए ति निकाय र खानी व्यवसायीहरु बसेर यसलाई व्यवस्थित ढंगले संचालन गर्न हामी नलाग्ने हो भने भोलि ठूलो समस्या आउने पक्का छ । 
अन्त्यमा,
अन्तमा मलाई जसरी जनताहरुले विश्वास गर्नुभयो त्यो विश्वासको आधारमा मैले अत्यन्तै इमानदारीताका साथ आफ्नो विवेक प्रयोग गरेर काम गरेको छु । मलाई लाग्दा जनताहरु भावनामा कुनै चोट पु-याउने काम मैले गरेको छैन । विगतमा मेरो जुन कामहरु गर्छु भन्ने सहमति थियो त्यो अनुसार लागिरहेको छु । भोलिका दिनमा पनि जनताको बीचमा रहिरहनेछु । म जनताको विश्वास कहिलेपनि टुट्न दिनेछैन । यहि विश्वासका साथ काम गर्ने प्रतिबद्धता पनि गर्दछु ।