माधवेन्द्र यादव
प्रमुख
नेपाल विद्युत प्राधिकरण, काभ्रे
– कोभिड महामारी दिनदिनै बढ्दो क्रममा छ, यो विषम परिस्थितिमा अत्यावश्यक सेवा विद्युतलई कसरी प्रवाह गरिरहनु भएको छ ?
कर्मचारीको टिम सबैजना मिलेर कसरी हुन्छ विद्युतलाई २४ सैं घण्टा निरन्तर दिने भन्ने योजनाका साथ हामी सेवामा लागि परेका छौं । ग्राहकको घरमा कुनै पनि बेला बत्ती नजाओस् भनि लागि परेका छौं । यसको लागि मेन्टिनेन्स चुस्त दुरुस्त राखेका छौं । त्यस बीचमा काम गर्दा गर्दै कहिलेकाहिँ अत्याधिक वर्षाका कारण लाईन ट्रिप हुने भइरहेको छ । रिमोट एरियामा अत्याधिक वर्षा र फिडरहरु टाढा टाढा भएका कारण ट्रिप भइरहेको छ । ट्रिप भएका कारण सटडाउन लिनुपर्छ, अनलाईनमा काम गर्न सकिँदैन । त्यसले गर्दा कहिले काहिँ कामको सिलसिलामा बत्ती जाँदा खेरी अलि नराम्रो सन्देश गएको हो कि ? तर हामीले लाईन सुचारु होस् भन्ने हेतुले काम गरिराखेका छौं ।
– सूचना प्रवाह सहि दिन नसकेर हो कि ?
सुरुमा सूचना हामीले अफिसियल फेसबुकमार्फत मात्र राखेका थियौं । यसले गर्दा सबैतिर सूचना नपुगेको हो कि भन्ने मलाई लागेको छ । यो सीमित वर्गमा मात्र सूचना गएको हामीले पायौं । तर अहिले आएर हामीले स्थानीय सञ्चारकर्मी, पत्रपत्रिकामार्फत पनि दिने गरेका छौं । पछिल्लो समय हामीले लाईन कट्टाहरु राखेका छौं । कहाँनिर काम भइरहेको छ भने पत्रपत्रिकामा दिने गरेका छौं ।
– गुणस्तरीय सेवा प्रवाहका लागि के कस्ता योजनाहरु रहेका छन् ?
दुर्गम गाउँतिर फिडरहरु लामो भएका कारण भोल्टेजका समस्याहरु आइरहेका छन् । गत वर्ष हामीले २० वटा जति लोड सेन्टर थपेका थियौं । यो वर्षमा पनि हामीले भोल्टेजको समस्या नआओस् भनेर ३० वटा जति लोड सेन्टर र ट्रान्सफर्मर थपेर काम गर्दैछौं । ग्राहकहरुको निवेदनको आधारमा हामीले गुणस्तरीय सेवा प्रदान गर्नको लागि कामहरु अगाडि बढाउँदै लगेका छौं । यतिमात्र नभै कन्डक्टर अपग्रेडिङको कार्य भकुण्डे र पनौती फिडरमा गरिरहेका छौं । त्यस्तै जंगल र दुर्गम क्षेत्रमा कभर कन्डक्टर हालिसकेका छौं । जुन ठाउँमा राख्न बाँकी छ त्यो पनि यस वर्ष राख्ने योजना रहेको छ ।
– काभ्रेमा भोल्टेजको समस्या कहाँ कहाँ रहेको छ ?
२८ किलो, ढुंखर्क, खोपासी र भकुण्डेबाट माथि गएका फिडरहरुमा भोल्टेजको समस्या अलि बढी रहेको छ । २८ किलोमा भोल्टेज कमी भएको कारण त्यहाँ पनि ट्रान्सफर्मर राख्ने योजना रहेको छ ।
– के कारणले भोल्टेजको समस्या हुन्छ ?
११ केबिको लाईन भनेको बढीमा २० किलोमिटर हो । तर हाम्रो चाहिँ ५५–६० किलोमिटर भएको कारण भोल्टेजमा समस्या आएको हो । हामीले दुई ठाउँमा महाभारत गाउँपालिकाको धापमा र रोशी गाउँपालिकाको कटुन्जेवेशीमा सब स्टेशन बनाउने काम अगाडि बढिरहेको छ । बनेपा सब स्टेशनबाट त्यहाँसम्म लाईन पु¥याउन भोल्टेज एकदम कम हुन जान्छ । त्यसको लागि हामीले ३३÷११ को दुईवटा सबस्टेशन बनाउँदैछौं । सम्भवतः यो आ.व.मा यो काम सकेर भोल्टेज सुधारको काम अगाडि बढाउने छौं । यो योजना पूरा भएपछि विद्युत क्षेत्रमा धेरै उतार चढाव आउने छ । यसको परिणाम सकारात्मक आउनेछ ।
– थप योजनाहरु के के छन् ?
मैले कार्यकाल लिए देखि मैले देखेको समस्या भनेको जिर्ण काठको पोल हो । ग्राहकबाट दैनिक ५–८ वटा सम्म काठको पोल फेरिपाउँ भनेर निवेदन आइरहेको अवस्था छ । जिल्लाभरको तथ्यांक हेर्ने हो भने ५ हजार काठको पोल रहेको छ । जुन परिवर्तन गर्नुपर्ने अवस्थामा रहेको छ । यसलाई एकैचोटी फेर्नलाई बजेट अभाव रहेको छ । यसको लागि लागत इस्टिमेट गरी माथिल्लो निकायमा पठाएका छौं । हामी आशावादी पनि छौं यो पोल फेरिनेमा । त्यति मात्र होइन यहाँ अर्काे समस्या पनि रहेको छ । ११ हजार केबि लाईनमा अहिले पनि १ सय ५० जति काठकै पोल रहेको अवस्था छ । गत वर्ष २ सय जति हामीले फे¥यौं । जति पनि बाँकी छ त्यसलाई पनि छिट्टै सुधार गर्ने क्रममा छौं । यसो भएमा ट्रिप पनि कम हुने र पानी परेमा पनि समस्या आउँदैन ।
– ग्रामीण भेगमा जिर्ण पोलका कारण दुर्घटना बढिरहेको छ नि ?
हाम्रा अधिकांश लाईनहरु पुराना छन् । हामीले लाईन विस्तार गर्न छिटो छरितो रुपमा काठका पोलहरु राख्यौं । काठका पोलहरुको आयू भनेको ५–७ वर्ष मात्र हो । काठको पोलहरु पूर्ण रुपमा विस्थापित गर्ने हो भने ट्रिपिङ पनि घट्छ । मैले देखे अनुसार हाम्रो वितरण केन्द्रको एरियाहरुमा धेरैजसो समस्या काठको पोल नै हो । जसले गर्दा तारहरु झोलिएको छ । समयमा सूचना दिन नसकेर मर्मतसम्भारको काम पनि हुन सकेन होला । तर अहिले आएको जे जति गुनासोहरुलाई बुझेर साईट निरीक्षण गरेर त्यो ठाउँमा कसरी हुन्छ सुधार गरेर कामहरु गरिरहेका छौं । अधिकांश ठाउँहरुमा भैसकेको पनि छ ।
– प्राधिकरणको आगामी थप योजनाहरु के के छन् ?
मुख्यतया लाईन सुधार गर्नको लागि लोड सेन्टर थप्ने, काठको पोलहरु विस्थापित गरेर कन्डक्टर अपग्रेड गर्ने, कभर कन्डक्टर राख्ने, ब्रान्चहरु राख्ने, लाईन सुचारु गर्न कार्यहरु गर्न लागिरहेका छौं ।
– अघोषित लोडसेडिङ जस्तो दिउँसो र साँझमा बढी बत्ती जानुको कारण ?
हामीले अहिले मेजर प्रोजेक्ट सकाउन सफल भएका छौं । जसअनुसार बनेपा पनौती सडक खण्डको पोलहरु साईडमा सिफ्ट गर्ने । त्यो अनुसार काम गर्दा विहान र बेलुका आधि घण्टा लाईन बन्द गर्नुपर्ने थियो । त्यसबेलामा मसँग धेरै गुनासोहरु पनि आएका थिए । त्यो काम हामीले ग्राहकहरुलाई अप्ठेरो नहोस् भनेर लकडाउनको समयमा समेत गर्ने प्रयास गरेका थियौं । तर लकडाउनको समयमा अक्सिजन अभावका कारण हामीले सटडाउन गर्न सकिरहेका थिएनौं । अहिले आएर हामीले त्यो काम सकाइसकेका छौं । त्यसकारण अहिले सटडाउन निकै कम भएको अवस्था छ । यो अघोषित लोडसेडिङ होइन । हामीले २४ सैं घण्टा सेवा दिन सकेको खण्डमा प्राधिकरणलाई नै फाईदा पुग्ने हो । ग्राहकहरुको घरमा निरन्तर बत्ती बलोस् भन्ने हाम्रो चाहना हो ।
– चौकोटमा वर्षाैदेखि बत्तीको समस्या छ, लाईन पनि आधा मात्र आएको भन्ने गुनासो छ नि ?
चौकोटका ग्राहकहरुले कुन ठाउँमा के समस्या भएको प्रत्यक्ष रुपमा कार्यालयमा आएर भनिदिनु भए आभारी हुने थियौं । यसको लागि के समस्या भएको हो सोको पहिचान गरी समस्या समाधानमा सहयोग पुग्ने थियो ।
– नमोबुद्ध नगरपालिका वडा नं. २ मानन्धर टोलमा विगत २÷३ वर्षदेखि काठको पोल जीर्ण भै अव्यवस्थित रुपमा तारहरु रहेका छन् ? यसलाई समाधान गर्न के गर्नुपर्ला ?
तपाई ग्राहकहरुले केहि यस्तो समस्या भएमा हाम्रा नोलाईटहरुमार्फत जानकारी गराइदिनु भएमा हामीलाई समस्या समाधान गर्न सहज हुनेथियो । तपाईहरुले भकुण्डेमा रहेको नोलाईटमा गएर समस्या भनिदिनु भएभने तपाईहरुको समस्या समाधान हुन्छ ।
– विद्युत चोरी नियन्त्रणमा यहाहरुको पहल कस्तो रहेको छ ?
पहिला प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई भत्ताको सुविधा थिएन । तर यो आ.व.मा प्राधिकरणको नियमानुसार कर्मचारीहरुको लागि बजेटको व्यवस्था पनि गरिएको छ । केहि ठाउँहरुमा हुकिङ नियन्त्रणका लागि पठाएका थियौं । तर यो कोभिडका कारण मिटर बाईपास र हुकिङ नियन्त्रण गर्न सकेनौं । आजभोलिको सन्दर्भमा भने अत्याधिक पानी परेको कारण हाम्रा कर्मचारीहरु लाईन मर्मतमा नै खटिनु भयो । अब चाहिँ सुरक्षा निकायसँग समन्वय गरेर हुकिङ नियन्त्रणमा लागि पर्ने छौं । यसमा हामीलाई सुचनाको लागि सञ्चारकर्मीहरुसँग पनि सहकार्य गर्ने छौं ।
– चोरी गरेकालाई जरिवानाको प्रावधान के रहेको छ ?
यसमा ग्राहकलाई उसको घरको कनेन्टेड लोडको आधारमा जरिवानाको गर्ने गरिएको छ । सुरुमा हामीले मिटर जडान गर्दा खेरी नै यस्ता कार्य नगरिदिनुहुन अनुरोध गर्दछौं । हुकिङ नियन्त्रण भनेको विद्युत प्राधिकरण एक्लै लागेर सम्भव पनि छैन । यसमा स्थानीय तहको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । हामी स्थानीय निकायसँग सहकार्य गरी हुकिङ नियन्त्रण र चुहावट नियन्त्रणमा लागिपरेका छौं । यसको लागि केहि ठाउँमा हुकिङ गरिएको भन्ने सूचना समेत हामीकहाँ आइसकेको छ । यसको लागि हामी निकट भविष्यमा नै प्राधिकरणका कर्मचारीहरु त्यसतर्फ जाने योजनामा छौं ।
– मिटरको सहजता कत्तिको छ अहिले ? मिटरमा सहुलियत छ कि छैन ?
अहिले मिटरको समस्या छैन । हरेक ग्राहकले एक हप्ताभित्र मिटर लैजान सक्नुहुन्छ । भर्खरै पनि महाभारतको साल्मेमा ३४ घरमा लाईन सुचारु भएको छ भने रोशीको वाल्टिङमा ६ सय मिटर जाने प्रक्रियामा छ । हामीले त्यहाँको वडा अध्यक्षसँग समन्वय गरिराखेका छौं । निकट भविष्यमै त्यो काम पनि सम्पन्न हुने प्रक्रियामा छ । सहुलियतको कुरा गर्नु पर्दा निम्न वर्गको लागि विगतका वर्षमा नेपाल सरकारबाट बजेटको व्यवस्था भएको थियो । जसले गर्दा मिटरको पैसा लाग्दैनथ्यो । यसवर्ष पनि त्यो सहुलियतका लागि बजेट हुन्छ भनेर सुनेका छौं । यदि त्यो बजेट आएको खण्डमा वडाको सिफारिसको आधारमा निःशुल्क रुपमा मिटर वितरण गर्नेछौं ।
– स्विकृत भएका र कार्यालयमा निवेदन दिएका कामहरु समयमा भएका छैनन् भन्ने जनगुनासो छ नि ?
तपाईहरुको जति पनि गुनासोहरु आउँछन् त्यति नै राम्रो कामहरु गर्न हामीलाई प्रेरित गर्छ । गुनासो आएन भने हामीले के काम गर्ने ? तर कुन काम स्वीकृत भएर पनि अगाडि नबढेको हो सो कुरा हाम्रो कार्यालयमा नै आएर भनिदिनु भए समस्या हल गर्न सहज हुने थियो । हामी तपाईहरुको समस्या समाधान गर्न हरदम तयार छौं ।
– अघिल्लो आर्थिक वर्षमा सन्तोषजनक काम हुन सक्यो कि सकेन ?
लकडाउनको अवधिभर सन्तोषजनक कामहरु हुन सकेन । जस्तै गत वर्षमै कन्डक्टर अपग्रेड गर्ने योजना बनाएका थियौं त्यो गर्न सकेनौं । ८ वटा टेण्डरको कामहरु अड्िकरहेको छ । जसले गर्दा जीर्ण अवस्थाको पोलहरु विस्थापित गर्न सकिरहेका छैनौं । ६ सय जति पोलहरु फेर्न सकेनौ यो अवधिमा । लकडाउनले हामीलाई पनि प्रभाव पारेकै हो । अनलाईन कक्षाको कारण पनि हामीले सटडाउन लिन सकेका थिएनौं । हाल आएर सटडाउन पनि निकै कम भएको छ । ठेक्काको काम सम्पन्न भएको भए अघि भनेको ६ सय पोलको कामहरु पनि सम्पन्न हुने थियो ।
लाईन हाफ आउनुको कारण के हो ?
लाईन हाफ आउनुको कारण कहिँ न कहिँ फेज जानाले हुन्छ । ट्रान्सफर्मरमा एउटा कुनै फेज नआएको अवस्थामा लाईन हाफ आउँछ । हामीले ब्रान्चहरु हालेका हुन्छौं त्यो अवस्थामा पनि एउटा फ्युज गयो भने पनि हाफ लाईन आउँछ । त्यो अवस्थामा ग्राहकबाट गुनासो आएन भने हामीलाई पनि थाहा नहुन सक्छ । तर ग्राहकबाट जानकारी आएमा हाम्रा कर्मचारीहरु गएर मर्मत गरिदिने गरेका छौं । यस्तो अवस्थामा नजिकैको नोलाईट केन्द्र अथवा मलाई प्रत्यक्ष सम्पर्क गरी समस्याको जानकारी गराईदिनु हुन म अनुरोध गर्दछु ।
अन्त्यमा......
तपाई ग्राहकहरु जति पनि हुनुहुन्छ कृपया आफ्नो समस्या भएमा नजिकैको नोलाइट केन्द्र अथवा हाम्रो कार्यालयमा आई गुनासो अथवा समस्या बताइदिनुहुन अनुरोध गर्दछु । कार्यालयको नियमानुसार समस्या समाधानमा प्राथमिकता दिने छौं । कतिपय ठाउँहरुमा लाईनहरु मर्मत सम्भार गर्नुपर्ने देखिएको छ । त्यो हामी निकट भविष्यमा गर्ने नै छौं । लोडसेडिङ छैन अहिले । सटडाउन गर्नु परेको खण्डमा हामीले अगावै सर्वधारणहरुलाई सूचना दिएर सटडाउन गर्छौं ।









