मुक्तिनाथ रिजाल
प्रिन्सिपल
माउन्ट भ्यु अंग्रजी मावि
धुलिखेल काभ्रे
तथा अध्यक्ष, धुलिखेल नगर प्याब्सन
- जिल्लाकै पुरानो माउन्ट भ्यु विद्यालयको शैक्षिक अबस्था कस्तो रहेको छ ?
प्रश्नको लागि धेरै धन्यवाद छ । यो विद्यालय २०३७÷०३८ साल देखि धुलिखेलमा संचालन हुँदै आएको र पछि २०४१ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयमा विधिवत रुपमा दर्ता भई हाल सम्म अविछिन्न रुपमा संचालन हुँदै आएको जिल्लाको पूरानो संस्थागत विद्यालय हो । शैक्षिक गुणस्तर मापन गर्न प्रयोग गरीने सबै सुचाङ्कहरु विद्यालयको हकमा सकारात्मक छन । विद्यालयले शैक्षिक गुणस्तरमा ठूलै फड्को मारीसकेको छ ।
- विद्यालयमा शैक्षिक तथा अतिरक्ति क्रियाकलापहरु कसरी सञ्चालन भैईरहेका छन् ?
विद्यालयको पूर्व निर्धारित योजना, वार्षिक कार्यपात्रो तथा पाठ योजनालाई मध्यनजर राखी तहगत, शिक्षकहरुको कार्य विभाजन अनुसार नै कक्षा संचालन तथा अतिरिक्त कृयाकलापहरुको समायोजन गरिन्छ जसमा प्रत्येक हप्ता कुनै न कुनै कृयाकलाप समावेश भई संचालन भइरहेको छ ।
- विद्यालयलाई भर्खरै आएको शिक्षा ऐनले कस्तो प्रभाव परेको छ ?
भर्खरै आएको शिक्षा ऐनले संस्थागत विद्यालयहरुलाई त्यस्तो कुनै गम्भिर असर गर्ला भन्ने मैले किन पनि सोचेको छैन भने प्राय छात्रवृत्ति पाउने कुरा मन्त्री, सचिव, नेता वा उनिहरुका आफन्त तथा अन्य पहुँचवाला निकायहरुको छोरा छोरीको पोल्टोमा पर्ने गरी हरेक वर्ष दह्रो कसरत हुने गर्दछ । तर सर्वसाधारणका लागि यो आकाशको फल आँखा तरी मर भन्ने जस्तै हो ।
- धुलिखेल नगर प्याब्सनको अध्यक्ष समेत रहनु भएको छ, संस्थागत विद्यालयहरुका समस्याहरु के के रहेका छन् ?
प्राप्त उपलब्धिलाई यथावत राखी, समय सापेक्ष अगाडी वढ्न हामीलाई धेरै चुनौतीहरु छन् । जस्तै आफ्नै जग्गा जमिन नहुनेहरुलाई स्थायीत्वको समस्या, हुनेहरुलाई लगानीको समस्या, बच्चा ओसार पसारमा यातायातको समस्या, बालबच्चाको सुरक्षाको समस्या, नयाँ नयाँ प्रविधि भित्र्याउने समस्या, प्रशासनिक ज्ञान नभएका तर अर्काको लैह लैहमा लागेर विद्यालय संचालन गर्नेहरुकोलागि लगानी डुब्ने समस्या, भर्खर बामे सर्दै गरेका विद्यालयहरुमा विश्वासको संकट, ज्ञान तथा अनुभवको समस्या, शिक्षक व्यवस्थापन तथा तलबमा समस्या, कति कति समस्याहरु त ! काँडा विच फूल्नु पर्ने फूल रैछ जिवन भन्ने गीत सँग मेल खान्छ ।
- विद्यालयमा कस्ता र कति विद्यार्थिहरुले छात्राबृत्ति प्रदान गरिरहेका छन् ?
हुने खानेहरुले त जसरी नि शिक्षा आर्जन गर्न सक्छन् । छात्रवृत्ति भनेको गरीब, दलित पिछडिएका वर्ग, सिमान्तकृत, मेहनती र इमान्दार छात्र छात्राका लागि हो । सरकारको छात्रवृत्ति मापदण्ड भन्दा धेरै नै वढि त्यस्ता बालबालिकाहरुले छात्रवृत्ति पाइरहेका छन् । कहिल काँही सम्पन्न र संभ्रान्त परिवारका बालबच्चालाई वाध्यतामा छात्रवृत्ति दिनु पर्दा भने मुटु नै चसक्क दुखेर आउछ । किनकी उसले कुनै एउटा गरीब वा दलितको शैक्षिक अधिकार खोसेको हुन्छ । - अहिलेको प्रविधिले विद्यार्थीहरुमा पढ्ने बानी हराउँदै गएको हो, प्रविधि सदुपयोग गर्न विद्यार्थीहरुलाई कसरी सिकाउनु भएको छ ?
एकदम सत्य हो तथापी विद्यार्थीहरुको पढ्ने वानी हराउँदै जानुमा प्रविधि मात्र दोषी छैन जसरी नी छोराछोरीलाई खुशी राख्ने बाबु आमाको चाहना, सरकारको परीक्षा प्रणाली, शैक्षिक नीति यि सबै उत्तिकै जिम्मेवार छन् । हामी शिक्षकहरुले प्राविधिक विषयमा दुई वटा (२) कुरा मात्र सिकाउँदा हन्छ जस्तो लाग्छ मलाई ।
पहिलो – प्रविधिको दुरुपयोगले निम्तिने खतरा र यसको असर सहि ।
दोस्रो – यसको सहि सदुपयोगले हुने फाइदा र त्यसका सकारात्मक प्रभावहरु बस यति कुरा । ज्यध तय गकभ ष्त भनेर सिकाइरहनै पर्दैन किनकी प्रविधिमा उनीहरु हामी भन्दा अगाडी छन् ।
- अध्यक्षको नाताले निजी विद्यालयहरुको भर्नाको समयमा अश्वस्थ प्रतिस्पर्धा लाई रोक्न कस्तो पहल गर्नु भईरहेको छ ?
साझा समझदारी सहि सूचनाको प्रवाह, विद्यालय आचार संहिताको पालना, संयुक्त विज्ञापन निति आएका समस्याहरु माथि संयूक्त छलफल, अनावश्यक तड्क भड्कमा रोक आदिको माध्यमबाट अस्वास्थ्य प्रतिस्पर्धालाई कम गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।
- स्थानिय सरकारबाट संस्थागत विद्यालयहरुले कस्तो सहयोगको अपेक्षा गरिरहेका छन् ?
स्थानिय सरकारबाट धेरैकुरामा हामीहरुलाई सहयोग मिलेको छ यसका लागि धुलिखेल नगर प्याब्सनको अध्यक्षको नाताले म उहाँहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यद्यपी सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरुले स्थानिय सरकारलाई बुझाउनु पर्ने शुल्क बराबर भए र स–साना बैठक, मिटिङ्ग, गोष्ठीहरु र छोटाछोटा तालिमहरुका लागि पनि सामुदायिक विद्यालयलाई सुटुक्क दिइने भत्ता हटाइए, हामीलाई पनि समानताको महशुस हुने थियो कि ?
- माउन्ट भ्यु विद्यालयले अन्तर विद्यालय अन्र्तगत कस्ता कार्यक्रमहरु गर्दे आईरहेको छ ?
अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता तेक्वान्दो प्रर्दशनी, फुटवल प्रतियोगिता आदि प्रतियोगिताहरु प्रत्येक वर्ष माउण्ट भ्युले संचालन गर्दै आइरहेको छ ।
- अन्त्यमा पत्रिका मार्फत सम्पूर्णलाई के सन्देश दिन चाहनुहुन्छ ?
हेपिदै र लोप हुँदै गइरहेको हाम्रो धर्म, संस्कृति, परम्परा, रितिरिवाज र सभ्यतालाई जगेर्ना गर्न आफ्ना बालबालिकाहरुलाई अभिप्रेरित गरौ । आफ्नो भनेको आफ्नै हो भन्ने भावना जागृत गरौ भनि सम्पूर्ण अभिभावकहरु, शिक्षक, शिक्षिकाहरु तथा जनमानसमा विनम्र अनुरोध गर्दछु । अन्त्यमा यहाँको लोकप्रिय पत्रिका मार्फत माउण्ट भ्यु मा.वि. धुलिखेल लगायत अन्य संस्थागत विद्यालयहरुको भावना व्यक्त गर्ने अवसर प्रदान गर्नु भएकोमा म मेरो व्यक्तिगत तर्फबाट विद्यालयको प्र.अ.को तर्फबाट एवं धुलिखेल नगर प्याब्सनको अध्यक्षको नाताले चेष्टा साप्ताहिक परिवार प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
प्रस्तुति ः लक्ष्मण तिमल्सिना









