2026 June 06/ 06:01: 00am

        हरेक आमा बाबुले सन्तानहरु खुशी भएको हेर्न चाहन्छन् । सन्तानको खुशीका लागि हरेक अभिभावकले जस्तोसुकै त्याग र दुःख गर्न पछि परेका हुँदैनन् । एउटा यस्तो परिवार थियो । जसले सन्तानका लागि कुनै कसुर बाँकी राखेका थिएनन् । प्रविधि, समय, परिवर्तन, सोच तथा सुविधाका हिसाबले पनि उनिहरुले हरेक आवश्यकता पूरा गरिदिएका थिए । गाउँमा शान शौकात र इज्जतको बास बसेको त्यो ऐश्वर्य घरमा एक दिन एउटा काल पस्छ र एक जनालाई चुँडाएर लैजान्छ । सह र ममताकी खानी सकुन्तलाको महाप्रस्थानपछि जीवनका सरल मोडहरुले नागबेली मार्गमा बिचरण गर्न थाल्छन् ।
    ‘मर्ने बेलामा हरियो काँक्रो’ भने झैं नाति नातिना खेलाउने उमेरका शरण नेपालले छोरी उमेरकी उरन्ठ्यौली केटीसँग लगनगाँठो कस्छन् । हक्की बुढाले छोराछोरीको विरोधका बाबजुत श्रीमती बितेको वर्ष दिन नबित्दै कान्छी भित्र्याउँछन् । फलस्वरूप छोराछोरी उनीप्रति रुष्ट हुन्छन् । सौतेनी आमाले घरमा पाइलो हालेको दिनदेखि नै परिवारमा कलह सुरू हुन्छ । एकातिर छोराबुहारीको सौतेनी आमासँग ठ्याकै नमिल्ने र अर्कातिर बुढाले पनि स्वास्नीको बाहेक अरुको कुरै नसुन्ने भएकाले त्यो शान्त घरमा अशान्तिले गुँड लगाउन थाल्छ । सधैंको घरायसी कचिंगल र पारिवारिक बेवास्ताले दिग्दार भएर सुन्तली एउटा अज्ञात केटासँग पोइल जान्छे । उनको परिवारका कसैद्वारा पनि उसको खोजिनीति गरिंदैन ।
    बाबुको मनमानीले दिक्क भएर छोराबुहारी पनि छुटिएर बस्छौं भन्न थाल्छन् । धेरै सम्पत्ति देखेर बुढासँग लेपासिएकी श्रीमतीसँग अलिक बढी लहसिएका उनीसँग छोराबुहारीलाई थोरै तिनो अंश दिएर छुट्याई दिन्छन् । केही जग्गा जमिन कान्छीको नाममा पास गरिदिन्छन् । छुटिएर बसेका छोराबुहारीको मुलघरमा आवत जावत हुनु त परै जाओस् बाबुआमासँग तिनीहरुको सम्बन्ध पानी बाराबारसम्मको हुन्छ । बैतर्नी तर्ने बेलामा पात्तिएका बुढा स्वास्नीको मोहजालमा जकडिएर छर–छिमेकी र आफन्तबाट विमुख हुन पुग्छन् । एकातिर असन्तुस्ट भएर लाखापाखा लागेका छोराछोरीको चिन्ताले भित्रभित्रै गलेका बुढालाई बुढेसकालमा आफू एक्लै परिएला कि भन्ने चिन्ताले भित्रभित्रै कुटुकुटु खान थाल्छ । अर्कातिर बैँशालु स्वास्नीले भए जति सम्पत्ति गुर्मुक्याएर आफूलाई घर न घाटको बनाउँला कि भन्ने त्रासले बुढा बेचैन हुन पुग्छन् । यस्तैखाले पिरोलोको जाँतोमा पिसिएका बुढाले कान्छी खुशी होस् र आफूलाई मरणोपरान्त नछोडोस् भनेर बैँशालु पत्नीलाई हरदम खुशी राख्ने प्रयास गर्छन् । कहिले बुढाले जग्गा बेच्दै कान्छीलाई गरगहना बनाइदिन्छन् त कहिले शहरतिर घुमाएर महंगा कपडा किनिदिन्छन् । पुल्पुल्याइएकी कान्छी र सन्तानप्रति बेपर्वाह बाजेको दिनचर्या एनकेन प्रकरेण मोजमस्तीमै बित्दै जान्छ ।
    बाबुसँग छुटिएको अकडो स्वभावको ठुले अंशमा पाइएको सानो टुक्रो खेतको बीचमा एउटा झुप्रो हालेर बसेको हुन्छ । छुटिनु अघि गरीबीको अनुभव नगरेको ठुलेलाई आफ्नी फरासिली र बाठी पत्नीले धेरै माया गर्दछे । आफ्नो जमिनको उब्जनीले ती जोइपोईलाई वर्षको छ महिना पनि भरपेट खान पुग्दैन । अभावग्रस्त जीवन जिइरहेका संघर्षरत ठुलेठुली बाँच्नको लागि कहिले बनिबुतो गर्छन् त कहिले मजदुरी गर्न बाध्य हुन्छन् । विवाहपश्चात लामो समयसम्म सन्तान नभएर दुःखी भएका ती जोडीको झुप्रोमा छोरी जन्मेसँगै खुशीका लहरहरू प्रवेश गर्दछन् । सधैं छायाँसरी सँगसँगै काम गर्ने स्वास्नी सुत्केरी भए देखी एक्लो परेको ठुलेलाई बस्तुभाउ र घरखेतको कामधन्दाले भ्याइ नभ्याई हुन्छ । सुत्केरी भएको महिना दिनपछि ठुली पनि शिशुलाई स्याहार्दै बस्तुभाउ र घरको कामधन्दामा हात बढाउन थाल्छे । ठुले दिनभरी खेतमा काम गरेर बेलुका घर फिर्ने गर्छ । साँझपख भात तिहुन पकाइ सकेर छोरी पुतलीलाई पिठ्युँमा च्यापेर लोग्नेलाई कुरिरहेकी ठुली टुकीको घुर्मैलो प्रकाशमा घाँसको भारी बिसाइरहेको ठुलेलाई आँगनमा देखेर मुस्काउन थाल्छे । आमाबाबुको मुस्कानजन्य मुखाकृति देखेर पुतली पनि सुँडो पसारेर मुस्काइदिन्छे । लोभलाग्दो बाल मुकानले लठ्ठिएर ठुलेठुली आफ्ना व्यथाहरू एकछिनको लागि बिर्सदै पुलकित हुन पुग्छन् । समयको बहावसँगै अँध्यारो झुपडीकी चिराग पुतली पनि टुकुटुकु हिंड्न थाल्छे । दिन बित्दै जान्छ, ठुलेलाई परिवारको जिम्मेवारी पनि थपिदै जान्छ । थोरै तिनो जमीन खनिखोस्री गरेर परिवारको गुजारा नचल्ने देखेर ठुले मजदुरी गर्न मुग्लान तिर जान कसिन्छ । एकदिन बिहान ठुले झोली–तुम्बा बोकेर रोजगारीको लागि बाहिर निस्कन्छ । ठुलीले गहभरी आसुँ पार्दै मुग्लान जान लागेको आफ्नो खसमलाई बिदाइ गर्छे । सुँक्सुकाइरहेकी पुतलीले हिडिरहेको बाबुलाई ओझेल नहुञ्जेलसम्म हेरिरहन्छे । ठुले गएको दुई वर्ष बितिसक्दा पनि ऊ घर फर्कदैन । हरदम खसमको बाटो हेरेरहेकी ठुलीको नाममा एकदिन एउटा कम्पनीको चिठी आउँछ जसमा खानीमा काम गर्दागर्दै दुर्घटनामा परेर ठुलेको मरण भएकाले क्षतिपूर्ती लिन निजकी श्रीमतीले कार्यालयमा तुरुन्तै सम्पर्क राख्नुहोला भनी लेखिएको हुन्छ । चिठी पढिसकेपछि ठुलीलाई चक्कर लाग्छ र ऊ चिच्याउँदै आँगनमा ढलेर बेहोस हुन्छे । आमा ढलेको देखेर पुतली कहालिएर रुन थाल्छे । आकाशमा कालो बादल मडारिन थाल्छ अनि झुपडीको भुइँतलामा बाँधेका गाईबस्तुहरू ड्वाँ गर्न थाल्छन् । झुपडीमा भएको खलबल सुनेर वरिपरीका छिमेकीहरू त्यहाँ भेला भई आमाछोरीलाई सम्हाल्छन् ।
    जवानीमा पारिवारिक उपेक्षा र बेवास्ताले बिक्षिप्त बनेकी ब्राह्मणपुत्री सुन्तली जीवनका घुमाउरा मोडहरू छिचोल्दै एउटा आरन चलाएर जीविको पार्जन गर्ने विश्वकर्मा परिवारकी बुहारी बन्न पुग्छे । जातभेदी समाजले अछुत मानेको त्यो परिवारले सुन्तलीको पोल्टामा माया ममताको दरिलो पुन्तुरो थमाइदिएको हुन्छ । आफ्ना रहर र भावनाहरू बुझ्ने जन्मदात्री गुमेपछि भित्र भित्रै टुटेकी सुन्तलीले सासु ससुराबाट छोरीकोझैं माया पाएकी हुन्छे । माया गर्ने श्रीमान् र सुमधुर पारिवारिक माहोल पाएकी सुन्तलीले आफ्नो तीतो अतित बिस्तारै भुल्दै जान्छे । जीवनका मोडहरू बोक्ने समयका पैयाँहरू घुम्दै जान्छन् र परिवेशहरू ऋतु झैं बदलिरहन्छन् । यही क्रममा सुन्तलीको कोखबाट छोरीको जन्म हुन्छ । छोरीचेली नभएको घरमा लक्ष्मी स्वरूपी पुत्रीरत्न प्राप्तिले गर्दा उक्त परिवारमा खुशीयाली छाउँछ । गौथली नामाङ्कित नवजात शिशुको न्वारनको दिन विश्वकर्मा परिवारले आफन्तहरुलाई भोजभतेर खुवाएर हर्ष बढाईं गर्छन् । सबैजना नाचगानमा झुमिरहेको बेला रोइरहेकी मैलीधैली बच्ची सहितकी एउटी महिला आईमाई त्यहाँ आएर खानेकुरा माग्न थाल्छे ।
    हुलियाले अर्धपागल वा मगन्ते देखिने ती स्त्रीलाई देखेर उपस्थित सबैले छिःछिः दूरदूर गर्दै त्यहाँबाट धपाउन खोज्छन् । मान्छेको उल्लासमय जमघट भित्र अटाउन नसकेकी एउटी त्रसित र निरीह नारी भोकले छट्पटाइरहेकी आफ्नी सन्तानलाई सुमर्दै सुक्सुकाउन थाल्छे । ती नारीको क्रन्दनयुक्त भक्कानो देखेर सुन्तली आफ्नो अतित सम्झदै विव्हल बन्छे । टपरीभरी खानेकुरा बोकेर छचल्किएका आँखाहरू लिएर सुन्तलीका पाइलाहरू ती धसिंगरे आमाछोरीतिर बढ्छन् । लट्टे कपालभित्र कटकटिएका अनुहार भित्रका ती आशामुखी विवश आँखाहरुले सुन्तलीलाई नियालिरहन्छन् । खानेकुराको टपरी मगन्तीको थर्थराइरहेको हातमा राखिदिए पछि दुवैका आँखाहरू चार हुन पुग्छन् । हन्तकाली झैं खाना खाइरहेकी ती नारीको अनुहार नियालिरहेकी सुन्तली अचानक रुन थाल्छे । भाउजू भन्दै उसलाई अंकमाल गर्न पुग्छे । यस्तो अकल्पनीय नजाराले ट्वाँ परेका निम्तालुहरू बीच सुन्तलीका पति र सासूससुरा किंकर्तव्यमुढ बन्न पुग्छन् । यथार्थमा ती पतिवियोगले अर्धपागल बनेकी महिला अरु कोही नभएर अलपत्र परी यत्रतत्र भौतारिरहने सुन्तलीकी साख्खे भाउजू ठुली हुन्छिन् । ठुलीको हालत देखेर सुन्तलीका सासूससुरा र पतिका आँखा रसाउँछन् । कथित सानो जात मानिएको तर ठुलो दिल भएको महान विश्वकर्मा परिवारले ती बेसहाराहरुलाई आफ्नो घरमा सदाको लागि आश्रय दिन्छन् ।
    जीन्दगीहरूका आ–आफ्नै डम्फू बजिरहन्छन् । जीवनका पलहरू सुखदुःखका आरोह–अवरोह छिचोल्दै गुज्रिरहन्छन् । धर्तीमा कर्मको फल दिने समय ऋणीका हुरीहरू अन्धाधुन्द मडारिरहन्छन् । बुढाको इतिश्री आफ्नो नाममा पारि सकेपछि एक साँझ पक्षघात भएर महिनौदेखि ओच्छ्यान परेका श्रीहीन बाजेलाई वेस्याहार पारेर पहिल्यैदेखि चोचोमोचो जोडिएको एउटा जवान लाहुरेसँग कान्छी पोइला जान्छे । दिन ढल्दै जान्छ, साँझ छिप्पिदै जान्छ । जूनका किरणहरू झ्यालबाट घरभित्र छिरेर एक्ला बाजेलाई नियालिरहन्छन् । बुढेसकालमा रोगी र असक्त भै गुहुमुतमा डुबिरहेका नेपाल बाजे कलेटी परेका ओठहरू कमाउँदै भक्कानिन थाल्छन् । उनका लोलाएका आँखाहरुमा त्यो सुखद् अतितको चित्र घुम्न थाल्छ । उनका रसिला आँखाहरुमा आफ्नी माया गर्ने दिवंगत जीवनसंगिनी, प्यारी छोरी र छोराबुहारीसँग रजगज गर्दै बिताएका सुखद् पलका छायाँहरू नाच्न थाल्छन् । उनी आफ्नो बिगतका इज्जतिलो शान शौकतमा रमेका स्वर्णिम पलहरुसँग वर्तमानको दयनीय अवस्था दाँज्दै रुन थाल्छन् । पुनःउनको दृष्टिपटमा धोकेबाज कान्छीको कुरूप अनुहार मडारिन थाल्छ । कृतघ्न कान्छीलाई सम्झेर क्रोधित बन्दै उठ्न खोज्दा बुढाको रुग्ण शरीर बिस्तराबाट भुइँमा बजारिन्छ । उनी उठ्न खोज्छन् तर सक्दैनन् । मुखबाट रगत छाद्दैै उनी गुहार माग्छन् तर उनको पुकार कसैले सुन्दैन । उनी अचेत हुन्छन् अनि सदाको लागि आँखा चिम्लन्छन् । पुगिसरी हुँदा आफ्नालाई बेवास्ता गर्दै पराई पोस्ने स्वार्थी मानवचोलाको मृतदेहलाई अन्धमुस्टी चिसो रातमा झ्यालबाट छिरेका सिरेटा र मानवरहित मौनताहरुले अन्तिम श्रद्धाञ्जली दिन्छन् । विधिको विधान भनौं या दैवको खेल, बिखण्डित परिवारका बेखबर जिन्दगीहरू जीवनका आ–आफ्नै मोडहरुमा दुगुरिरहन्छन् । सायद अहिले सन्तान विदेश पठाएका अनेक अभिभावकका पनि यस्तै समस्या हुन थालेको हो कि ? समाज कता जाँदै छ ? 

श्रीनाथ अधिकारी
काठमाडौ