2026 June 13/ 04:46: 04pm

सामाजिक सञ्जाल । प्रविधिको सहि प्रयोग र दुरुपयोग । नजिकका टाढा । टाढाका नजिक । एकले अर्काेलाई सिध्याउन प्रयोग हुने संजालको दुरुपयोग । बालबालिकाहरु मात्रै होईन अभिभावकहरु पनि त्यहि कुलतमा फस्न थालेका छन् । आत्महत्या बढेको छ । जर्बजस्ती करणीका घटनाहरु बढेका छन् । लागु औषध प्रयोगकर्ताहरु पनि बढेका छन् । अराजकता बढेको छ । असुरक्षा बढेको छ । ६ महिनाका अवधीमा श्रीमान् श्रीमती दुबै जनाको वीभत्स तरिकाले भएको आत्महत्याले त्यहि देखाउँछ । जीवन त्याग्न कति सहज हुन थालेको छ । बच्चाहरु पनि अभिभावकहरुकै सिको गर्न थालेका छन् । अभाव, असन्तुष्टी र तनाव झेल्नै नसक्ने गरी हुन थालेको के हो ? 
    प्रहरीको रेकर्डमा माघ मसान्तसम्म यो वर्षको ७ महिनामा करिब ५० जना भन्दा धेरैले अनाहकमा ज्यान गुमाएका छन् । दुर्घटनामा हुने मृत्युको संख्या छैन । दीर्घरोगबाट निधन हुनेहरुको पनि संख्या कयन छन् । विभिन्न कारणबाट मर्नेहरुको संख्या पनि धेरै छ । तर आफ्नै कारण असन्तोष र अविश्वास देखाएर मर्नेहरुले समाजलाई के सन्देश दिदै गएका होलान् ? उनिहरुले ज्यान फाले पनि आत्माले शान्ति पायो होला र ? करिब २ वर्ष अघि पनौतीबाट दुईजना ब्यक्ति बेपत्ता भए । धेरै दिनपछि एकजनाको शव सुनकोशी नदिमा फेला प¥यो । अर्काे एक जना अझै वेपत्ता छन् । उनका सबै कपडाहरु खोलाको छेउमा फेला परे पनि मान्छे फेला परेका छैनन् । उनिहरु दुबै जना फरक–फरक सम्बन्धमा रहेका थिए । पुरुषको घरमा श्रीमती र सन्तान छन् । महिलाका पनि त्यस्तै । दुबै जनालाई घर परिवारले शंका गर्न थाले पछि बेपत्ता भए । बेपत्ताको केहि दिनमा एक जनाको शव फेला प¥यो । उनिहरुको सम्बन्ध, उनिहरुका ब्यवहार र उनिहरुले तिर्नुपर्ने रकम तथा अन्य विषयमा अहिले पनि छलफल भईरहेको छ । तर पनि गर्न केहि सम्भव छैन । मरेका मान्छेहरुका बारेमा कति चर्चा गर्नु ? तर उनिहरुले समाज र समुदायलाई सहजता भन्दा मरे पछि झन असहजता दर्शाए । आफन्तहरुका बीचमा बोल्नै नसक्ने बनाए । के भयो यो समाज ? 
    अब म बनेपामा भएको केहि दिन अघिको घटनामा केन्द्रित हुन जान्छु । अहिले मुलुककै समस्या बन्यो आर्थिक संकट । भुकम्पका बेला क्षति धेरै भयो । कोरोना भाईरसका कारण लामो समय काम गर्न नपाए पनि बजारमा संकट थिएन । त्यतिबेला धेरै नागरिकहरुले ज्यान गुमाए । ब्यवसाय गुमाए । परिवार गुमाए । आफन्त गुमाए । तर बजारमा यति धेरै आर्थिक संकट थिएन । ब्यवसाय थियो । ब्यापार थियो । उद्योगधन्दा चलिरहेको थियो । ब्यापार ब्यवसाय हुँदा नागरिकहरु संकटमा परेको भए पनि सहयोग गर्न सहज थियो । तर अहिले सम्भव छैन । ब्यवसायीहरु बैंक र सहकारीको ऋण तिर्न नसकेर आत्महत्या गर्नु पर्ने परिस्थितिमा पुग्नु पर्ने अवस्थामा पुगेका छन् । बैंकले दिएको ऋणको ब्याज दोब्बर भएको छ । सहकारीमा बचत गरेको रकम फिर्ता हुँदैन । सहकारीमा ऋण तिर्नेहरु भाग्न थालेका छन् । ऋणीसँगै सहकारीहरु पनि भागेकाले बचतकर्ताहरुको बिचल्ली भएको छ । राज्य भए नभएको अनुभुत छैन । मन्त्री र नियुक्तिका लागि दलहरु बीच गठबन्धन बन्दै भत्कँदै बन्दै हुन थालेको छ । नागरिकहरु खुशी भन्दा दुःखी छन् । युवाहरु त्रासमा छन् । विद्यार्थीहरु दैनिक लाखौ रुपैयाँ खर्च गरेर विदेशिने क्रममा छन् । अहिले भन्दा भविष्यको सुरक्षित जीवनका लागि विद्यार्थीहरु जति दुःख पाए पनि जति रकम लागे पनि विदेशिनु पर्ने अवस्थामा छन् । 
    देशभर संकट छ । आर्थिक अवस्था मजबुत नभएका कारण नागरिकहरु दिक्क छन् । यतिबेला ब्यक्तिहरु विहान देखि बेलुकासम्म मोबाईलमा ब्यस्त हुन थालेका छन् । अहिले मोबाईल ब्यक्तिहरुको आवश्यकता त बन्यो नै त्यो जीवनको लिला समाप्त पार्ने साधन पनि बन्न थाल्यो । एकछिन मोवाईल नहुँदा ब्यक्ति सबै सकिएकोमा महसुस गर्न थाल्यो । हिजो मोबाईल नहुँदा पनि समाज चलेको थियो । देश चलेको थियो । प्रविधिमा विकास हुनु राम्रो हो । तर प्रविधिले दिएको हैरानी र दुःखका बारेमा सचेत हुनु जरुरी छ । विस्तारै नागरिकहरुलाई अल्छी मात्रै बनाएको छैन सिर्जना मरेको छ । उत्साह कमी छ । ब्यक्तिहरुले झुट बोल्न बाध्य भएका छन् । यस्ता प्रविधीहरु आवश्यक छन् । तर सहि सदुपयोग झनै महत्वपूर्ण छ । प्रविधिका कारण भएका घटनाहरुका बयान गरी साध्य छैन । सहकारीहरु भाग्नुमा प्रविधीको पनि साथ छ । प्रविधिको अनिवार्यता र प्रविधिका कारण भएका संकटका बारेमा प्रहरीले पटक–पटक निकालेका प्रतिवेदनहरु काफी छन् । बनेपामा दुई दशक भन्दा लामो समय देखि ब्यवसाय गरेका एक दम्पतीले अनाहकमा देह त्याग गरे । त्यसकै एउटै कारण हो मोबाईल र मोबाईलमा आउने अविश्वासपूर्ण सन्देश । करिब ६ महिना अघि पसलमा बसिरहेका बेला श्रीमान्को मोबाईलमा कोहि अपरिचित महिलाको सन्देश प्राप्त भयो । सन्देश पठाउने ब्यक्ति श्रीमान्ले चिनेको तर श्रीमतीले चिनेकी थिईनन् । उनले सोधिन् । श्रीमानले ढाँटे । जस्ताको तस्तै बताएको भए सायद त्यो समस्या तुरुन्तै समाधान हुने थियो होला । त्यस दिनको झगडा परालको आगो हुन सकेन । आगो बल्दै गयो । बल्दै गएको आगोले ब्यक्तिको घर डढायो । परिवार सखाप बनायो । बालबच्चा टुहुरा बनायो । सम्पत्ति नोक्सान भयो । टुहुरा बालबालिकाहरु को भनेर बाँच्ने ? कसरी मन बुझाउने ? 
    मोबाईलमा आउने सन्देशलाई उनले पहाड सम्झिन पुगिछन् । पसलमा आउजाउ गर्ने महिला ग्राहकसँग उनको सम्बन्ध राम्रो रहेछ । गलत मनसाय नभए पनि उनिहरुको कुराकानी सधै भईरहने रहेछ । खाना, खाजा खाएको सोध्ने, शुभरात्री र शुभ विहानी भन्ने बाहेक अरु कुनै खालका सम्वन्ध नभएको श्रीमतीलाई बताएको भए पनि उनले शंका गर्न छाडिनन् । शंकाले लंका जलायो । एकदिन श्रीमान श्रीमतीले पसलमा झगडा गरे । कुटाकुट पनि गरे । बच्चाहरु स्कुल गएका थिए । पसलमा काम गर्ने मान्छेहरु थिए । अरु ग्राहकहरु पनि थिए । कुटाकुट पछि उनिहरु अलग हुने निर्णय गरे । श्रीमान्ले पनि विना कारण शंका गरेकाले जे सक्छौ त्यहि गर भनेका रहेछन् । श्रीमतीले पनि त्यसै बाँच्न नदिने बताउँदै घर छाड्ने धम्की दिईछन् । दुबै जनाले विद्यालय गएका कलिला तामाका मुना जस्ता छोराछोरी बिर्सिए । नचाँहिदो शंका, नचाँहिदो सम्बन्ध र विवाहोत्तर सम्बन्ध भएको आशंकाले श्रीमतीले घर छाड्ने निर्णय गरिन् । उनि पसलबाट घर नगई काठमाडौ पुगिन् । काठमाडौबाट बस चढेर पोखरा पुगिन् । पोखरा पुगेर उनले विष सेवन गरेर आत्महत्या गरिन् । पसलबाट झगडा गरेर हिडेको केहि बेरमा नै श्रीमानले उनलाई सम्पर्क गर्न खोजे । घर गएर हेरे । कतै देखेनन् । प्रहरीकोमा निवेदन दिए । आफन्तलाई भने । सामाजिक सञ्जालमा समेत श्रीमती हराएको सूचना राखे । तीनदिन पछि प्रहरीले उनलाई भन्यो विष सेवन गरेर मरेको ब्यक्ति तपाईको श्रीमती हुन सक्छ तत्काल कास्की आउनु । 
    त्यो पीडा भुलेका थिएनन् उनले । बच्चाहरु सानै थिए । पसल खासै चलेन । बच्चाहरु सानै भएकाले उनले बच्चाहरुको रेखदेखका लागि एकजना चिनेको महिलालाई पैसा दिएर हेरिदिने गरी राखेका थिए । पसल विक्री गरिदिए । कुनै पेशा गर्नु पर्छ भन्ने सोचले उनी आफ्नै गाडी चलाउन लागे । बच्चाहरु विद्यालय पठाउने, पकाउने, खुवाउने र रेखदेख गरिदिएर ति महिला आफ्नै घर जान्थिन । दैवले के देख्यो । ति महिला अविवाहित जस्तो देखिन्थिन् । उनका आफन्तले नै त्यहाँ काम गर्न राखिदिएको थियो । करिब तीन महिना पछि एक दिन दिउँसै उनलाई गम्भिर आरोप लगाईएछ । बच्चाहरु विद्यालय गएका थिए । चामल केलाउने क्रममा ति महिला माथी जर्बजस्ति करणी गर्न खोजेको भन्दै उनका केहि आफन्तहरुले पैसा बार्गेनिङ्ग गरेछन् । उनले आफुले पवित्र उद्देश्य राखेर बच्चाहरुको रेखदेखलाई राखेको ब्यक्ति माथी कहिल्यै गिद्दे दृष्टि नबनाएको बताएछन् । एक कान दुई कान घटना टोलभरी फैलियो । प्रहरीलाई खबर भयो । प्रहरी आयो । उनलाई समाएर लैजानु अघि उनले पानी खान समय दिनु भनेछन् । कतै भाग्दिन भनेका रहेछन् । खै कसरी त्यो बस्तु घरमा भेट्टाए । भित्र गएर बाहिर आउँदा उनको मुखबाट फिँज निस्कियो । घर भित्र पसेर उनले विष सेवन गरिदिए छन् । त्यहि बेला बच्चाहरु विद्यालयबाट घर आएका, घर वरपर मान्छेहरु घेरिएका, प्रहरी समेत आएका । बालबालिकाहरु बाबा बाबा भन्दै चिच्याउन थाले । त्यो कारुणिक दृश्य साँच्चै कथा जस्तै थियो । नाटक जस्तै लाग्थ्यो । तर वास्तविकता थियो । उनले त्यहि प्राण छाडे । आरोप लगाउनेहरु आफै लाखापाखा लागे । प्रहरीले न त उनिहरुलाई पक्राउ गरेर कारवाही गर्ने तदारुकता देखायो । न त उनिहरु माथी केहि अनुसन्धान ? उनि बिते । बच्चाहरु टुहुरा भए । ६ महिनाको अवधीमा बुबा आमाको सामान्य झगडाबाट शुरु भएको कथा दुबैको जीवन समाप्त भएर छाड्यो । प्रविधिको गलत प्रयोग र बुझाईले समुदायमा हुन थालेका यस्ता घटनाहरुबाट कसरी सचेत बन्ने ? 
    केहिदिन अघि मात्रै समाचारमा सुनेको थिएँ । जिल्लामा ९ बर्ष देखि ८४ बर्षका नागरिकहरुले समेत जीवनबाट हार खान थालेका छन् । यसमा सरकार वा राजनीतिक दलहरुको भूमिका कति होला ? हामी आफै कति जिम्मेवार छौ होला ? यस्ता कयन प्रश्नहरुले नागरिकहरुलाई कहाँ पु¥याउँछ होला ? समयमै यस्ता प्रश्नहरुको समाधानका लागि समुदायलाई सचेत गराउन ढिलाई नगर्ने कि ? 

उत्सव कटुवाल
बनेपा, काभ्रे