2026 June 13/ 04:45: 50pm

वडा अध्यक्षको त्यो गल्तिका कारण म र मेरो परिवार सुकुम्बासी भएका छौं । सरोकारवाला विना वडाले ब्यक्तिको घरबाटो सिफारिस दिएका कारण हामी सडकमा पुग्यौं । तत्कालिन वडा अध्यक्ष निराजन जंगम यसका मुख्य कारक हुन् । उनले जग्गाधनी नआउँदै सरकारी कर्मचारीको परिचयपत्र देखाएका भरमा हाम्रो जग्गाको सिफारिस दिए । जग्गाधनी प्यारालाईसिस भएको छ भनेर बाहना बनाए । उनले स्थानीय भएकै कारण एक पटक बुझ्ने प्रयत्न पनि गरेनन् । जसका कारण हामी सडकमा पुग्यौं र सुकुम्बासी बन्यौं । स्थानीय, एउटै पार्टी कमिटीमा रहेर काम गरेको ब्यक्तिलाई त उनले त्यसो गरे भने अरुलाई के गरिरहेका थिए होलान् ? 
    उनि कसरी फसे वा अन्जानमा कसरी सिफारिस दिए ? त्यो त मलाई जानकारी छैन । पछि मैले गल्ति गरें सहयोग गर्छु त भने तर केहि गरेनन् । उनको त्यो गल्तिका कारण आज म दुई वर्ष देखि अड्डा अदालत धाउन बाध्य भएको छु । अड्डा अदालतबाट पनि न्याय पाउने आस मरिसकेको छ । आँखामा पट्टि लगाएर गरिएका फैसलाहरुले हामी घरबार विहिन भएका छौं । यो संसार सत्यको पक्षमा भन्दा पनि शक्तिको पक्षमा रहेछ । साना केटाकेटी छन् । ऋण छ । त्यसको ब्याज तिर्न पनि कठिन भएको छ । साँवा त परै जाओस ब्याज कसरी तिर्नु ? साथीहरुको फोन आउँदा पनि पैसा माग्नलाई गरेको हो कि ? भने जस्तो लाग्छ । वडा कार्याालयको गलत सिफारिसका कारण ठगहरुले मेरो सम्पत्ति आफ्नो बनाए । जब थाहा भयो हामी कानूनी प्रकृयामा जाँदै थियौं । उसले जग्गा फिर्ता गरिदियो । यता जग्गा फिर्ता गरिदियो । उता हामी विरुद्ध फेरी मुद्दा दर्ता ग¥यो । कसैको त मनमा हरि समेत नहुने रहेछ । गरिव त्यस माथी पनि दलित समुदायका ब्यक्तिहरुलाई गरेको अन्याय र अत्याचारबाट कसैको भलो हुँदैन । तिनीहरुले सधै मेरो र परिवारको आँशुबाट दुःख पाउने छन् । 
    न्यायका लागि वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन, जिल्ला अदालत, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय र दलका नेताहरुको घर घर पुगें । मैले कतैबाट न्याय पाउन सकिनँ । वडा अध्यक्ष उपप्रमुख भएका छन् । तर पनि मेरो न्यायका लागि चासो दिएका छैनन् । उनकै गल्तिबाट भएको यति ठुलो घातलाई उनले सामान्य सम्झेका छन् । राष्ट्रिय अनुसन्धानको कर्मचारी प्रविन लामाबाट थप ठगियौं । मेरा ससुराबाको नाम देवबहादुर मिजार हो । श्रीमान् झम्कबहादुर मिजार हुन् । काभ्रे गाविस ७ हाल धुलिखेल ८ मा स्थायी बसोबास छ । सानुबाबु लामाको छोरा काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका ९ बस्ने वर्ष ३३ का प्रविन लामाले धुलिखेल ८ का वडा अध्यक्ष निराजन जंगम, भुम्लु ९ का वडा अध्यक्ष दलबहादुर तामाङ, जिल्ला न्यायाधीश मोहनराज भट्टराई लगायतलाई प्रभावमा पारेर हाम्रो नाममा भएको जमिनलाई आफ्नो बनाए । २०७१ साल चैत्र २ गते ससुरा देवबहादुर मिजारले र.न.२९१४ (क) को राजिनामाबाट ललितपुर जिल्ला टिकाथली घर भएका जितगोविन्द महर्जनलाई साविक काभ्रे गाविस ७ मा रहेका कित्ता नम्वर १७७२ को क्षेत्रफल १ रोपनी र कित्ता नम्वर १२९३ को क्षेत्रफल १ रोपनी गरी दुई कित्ता जग्गा घर ब्यवहार चलाउनका लागि १ लाख रुपैयाँमा लिएर २ लाख रुपैयाँको कागज समेत गरी जग्गा फिर्ता गर्न शर्तमा आफ्नो नामको जग्गा पारित गरिदिएका रहेछन् । छोरा बुहारी ब्यापार ब्यवसाय गर्ने सिलसिलामा घर बाहिर भएकाले उक्त विषयमा जानकारी पनि थिएन ।  
    दुई रोपनी जमिन आफ्नो बनाउन प्रविन लामाले हाम्रो घरमा पुगेर ससुरा देवबहादुर मिजारलाई ५ हजार रुपैयाँको रक्सि खान दिएर ६० लाखमा जग्गा खरिद गर्ने योजना बनाएछन् । छोरा बुहारी कसैलाई पनि जानकारी नदिनु र जग्गा पास गरेको ३५ दिन कटेपछि तपाईको खातामा रकम जम्मा गरिदिन्छु भनि ससुराका देवबहादुर मिजारको नामको सक्कलै नागरिकता, बंैकको खातानम्वर लगेका रहेछन् । त्यसपछि प्रविन लामाले जितगोविन्दलाई तिर्नुपर्ने रकम समेत तिरेर प्रविनले आफ्फ्नो श्रीमती मुना बोम्जन लामाका नाममा पास गराएछन् । त्यो कुरा देवबहादुर मिजारलाई थाहा रहेनछ । जब प्रविन लामा २०७८ भदौ २ गते धुलिखेल नगरपालिका वडा नम्वर ८ मा घरबाटो सिफारिस लिन पुगे । वडा अध्यक्ष जंगमले शुरुमा असम्बन्धित ब्यक्तिलाई सिफारिस दिन मानेका थिएनन् । पछि जंगमलाई प्रविन लामाले के भनेर प्रभावित बनाए वा ? उसले झुटा विवरण बुझाउँदा वडा अध्यक्ष जंगम सिफारिस दिन तयार भए उनिहरु नै जानुन् । त्यहि सिफारिस लिएर गए पछि प्रविन लामाले जित गोविन्दका नाममा राजिनामा गरेको जग्गा प्रविनले आफ्नो श्रीमती मुनाका नाममा पास गराए । साक्षीका रुपमा ससुरा देवबहादुर मिजारलाई राखे । देवबहादुर मिजारका अंशियारहरु झम्कबहादुर मिजार, कविता मिजार, अमिता मिजार समेतलाई जानकारी नै दिएन । जग्गा खरिद गरेर पनि प्रविनले रकम दिएनन् । उल्टो म्याद भित्र मुद्दा पर्छ भन्ने डरले सक्कल कागजात सबै नियन्त्रणमा लिएर राखे । 
    जग्गा पनि लिए । पैसा पनि दिएनन् । हामीले शुरुमा जितगोविन्दसँग कुरा गरेका थियौं । उनले ससुरा देवबहादुर मिजारले विक्री गर्ने भनेकाले मात्रै आफुले आफ्नो प्राप्त हुनुपर्ने रकम लिएर फिर्ता गरिदिएको बताए । देबहादुर मिजारले प्रविनले रक्सी खुवाएर कागजात सबै नियन्त्रणमा लिएर खाता नम्वर समेत लिएर गएर रकम नदिएको तर जग्गा पास गरेको बताए । कानुनी उपचार शुरु गरे पछि प्रविनले श्रीमतीका नाममा भएको जग्गा फिर्ता गर्न राजि भए । हामीले उनको लागेको भन्दा पनि थप रकम दिएर जग्गा फिर्ता गरायौं । श्रीमती मुना बोम्जन लामाले केहि जग्गा हाम्रो नाममा र केहि जग्गा हामीलाई ऋण सापटी दिने रविन्द्र जंगमका नाममा पास गर्ने सहमति भयो । त्यहि अनुसार मालपोत कार्यालयमा गएर जग्गा फिर्ता भयो । केहिदिन पछि तिनै प्रविण लामाले भुम्लु गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष दलबहादुर लामालाई समेत प्रभावमा पारेर गलत सिफारिस लिए । श्रीमतीसँग राम्रो सम्बन्ध नभएको, बच्चाहरु आफुले हेरेको र आफुले कमाएको रकमबाट किनेको जग्गा श्रीमतीले अंश समेत नरहने गरी विक्री गरेकाले चार भागको तीन भाग फिर्ता पाउन भन्दै लिखत बदरको मुद्दा दर्ता गरे । जिल्ला अदालतले उनको हकभोग कायम गर्दै मुना बोम्जन लामाको नाममा शुरुमा पास गरी फिर्ता गरिएको जग्गाबाट तीन भाग अंश र ऋण समेत तिर्नुपर्ने गरी फैसला सुनाईयो । धुलिखेलमा रहेको सारथी सहकारीबाट ४० लाख ऋण लिएको कागज बनाएका प्रविन लामाले अर्काे जग्गा रोक्का देखाएर सारथीबाट ऋण लिएको कागज बनाएका थिए । अदालतले सोहि ऋण समेत तिर्नु भन्दै बिक्री गरेको जग्गाबाट अंश पुग्ने ठहर गरिदिएको छ । 
    वडा अध्यक्ष निराजन जंगमले २०७८ भदौ २ गते घरबाटो सिफारिस गरेका थिए । कविता मिजारको ससुरा देवबहादुर मिजारका नाममा रहेको जग्गा धितो स्वरुप ललितपुर जिल्ला टिकाथली गाविस वडा नम्वर ६ बस्ने जितगोविन्द महर्जनले राखेका थिए । वडा अध्यक्ष जंगमले जित गोविन्द महर्जन विना नै राष्ट्रिय अनुसन्धानमा कार्यरत कर्मचारी काभ्रे भुम्लु घर भएका प्रविन लामालाई घरबाटो सिफारिस दिए । साविक काभ्रे गाविस ७ हालको धुलिखेल ८ को कित्ता नम्वर १२७२ र १२९३ को दुई रोपनी जमिनमा कच्ची मोटरबाटो छ भन्ने ब्यहोराको सिफारिस गरेका थिए । जबकी सम्बन्धित जग्गाधनी विना अन्य ब्यक्तिलाई घरबाटो सिफारिस दिने कानूनी ब्यवस्था नै छैन । अर्काेतर्फ सिफारिस दिएको अवस्थामा उक्त जमिनमा कच्ची मोटरबाटो पनि थिएन । वडा अध्यक्ष जंगमले प्रभावका आधारमा प्रविन लामालाई सिफारिस दिए । जितगोविन्द महर्जन प्यारालाईसिस भएर बसेको भन्दै दिएको सिफारिस गलत थियो । एक त उनी प्यारालाईसिस भएर बसेका पनि थिएनन् । अर्काेतर्फ बाटो नै नभएको जग्गामा बाटो छ भनेर सिफारिस गरे । उनको त्यो सिफारिस पहिलो र नयाँ भने थिएन । त्यसअघि पनि वडा अध्यक्ष जंगम बाटो भएकालाई नभएको र नभएकोलाई भएको भन्दै सिफारिस गरिरहन्थे । उजुरी परेकाहरुको हकमा पछि सच्याउँदै चन्दा उठाएर अख्तियारको कारवाहीबाट जोगिन राजश्व लगेर बुझाउने गरेका थिए । उक्त घटनामा पनि वडा अध्यक्ष जंगमले सम्बन्धित जग्गा धनी विना दिएको सिफारिस त्यहि थियो । महर्जनले त्यहि कुरा प्रहरीकोमा बताएका छन् । उक्त कित्ता जग्गामा एक वर्ष अघि मात्रै सडक पुगेको छ । 
    घरबाटो सिफारिसका लागि प्रविन लामाले वडा कार्यालयमा निवेदन दिएका थिए । उनले झुटो विवरण पेश गरे कारवाहीको भागिदार हुन्छु भनेर सहिछाप समेत गरेका थिए । प्यारालाईसिस नै नभएको ब्यक्तिलाई प्यारालाईसिस भयो भन्दै वडा कार्यालयमा पुगेर फोटो समेत टाँस गरी सिफारिस लिने लामा र दिने अध्यक्षलाई कानून अनुसार कारवाही हुनु पर्छ । तर यहाँ न्याय नै खरिद हुने देशमा गरिव, सुकुम्बासी र दलितहरुको पक्षमा कसले आवाज उठाई दिन्छ र ? निराजन जंगमले सिफारिस गरेको घर जग्गा बाटोको छायाँ कपि वडा कार्यालयमा देखिदैन । हुँदा हुँदा भुम्लु गाउँपालिका वडा नम्वर ९ अध्यक्ष दलबहादुर तामाङले समेत जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई गलत विवरणको सिफारिस पठाएका थिए । २०७९ साउन १५ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई सिफारिस गरेका वडा अध्यक्ष दलबहादुर तामाङले प्रविन लामा र उनको श्रीमती मुना बोम्जन लामा तथा दुई नाबालक छोरा छोरी वर्ष ४ को विधान लामा र वर्ष ७ की लोनिया लामालाई एक वर्ष देखि मुना बोम्जन लामाले स्याहार सुसार नगरी माईतमा बसेकोले निज विधान लामा र लोनिया लामालाई निजका बाबु प्रविन लामाले साथमा राखी स्याहार सुसार शिक्षा दिक्षा गरी आएको ब्यहोरा उल्लेख गरेका थिए । 
    स्वयं प्रविन लामा कहिल्यै श्रीमतीसँग अलग भएर बसेका थिएनन् र छैनन् पनि । उनका सन्तान सहितको परिवार एकै स्थानमा तत्कालीन समयमा धुलिखेलमा र हाल भक्तपुरमा बसोबास गरिरहेका छन् । राष्ट्रिय अनुसन्धानको कर्मचारी र राजनीतिक दलको कार्यकर्ताको आडमा प्रविनले दलित परिवारलाई दिएको दुःख र झुट विवरण उल्लेख गरी तयार गरेका कागजातका आधारमा जिल्ला अदालतले समेत आँखा चिम्लिएर प्रविन कै पक्षमा फैसला सुनाएको थियो । जिल्ला अदालतले न्याय दिएन । प्रहरी कार्यालयमा भएको सहमति सहितको कागजातका बारेमा पनि अदालतले बुझ्न र सुन्न चाहेन । जिल्ला न्यायाधीश मोहनराज भट्टराई अहिल उच्च अदालतकै न्यायाधीश भएका छन् । उनले जिल्लामा गरेको फैसला एकतर्फी, एकांकी र न्याय खरिद विक्री भएको देखिन्छ । पटक–पटक इजलासमै उभिएर वास्तविकता बताएको थिएँ । कागजात पनि थिए । तर फैसला प्रविनकै पक्षमा आयो । प्रहरी भएकै कारण, शक्तिकै आडमा उनको पक्षमा आएको फैसलाको विरुद्ध म उच्च पुगेको हुँ । आशा छ उच्चले हाम्रा सबै विषयको सत्य तथ्य अध्ययन गर्छ । न्याय पाईन्छ कि ? कानुनमा कागज बोल्छ भन्नु हुन्थ्यो न्यायाधीशले । प्रविन लामाको कागज नबोल्दा पनि न्याय चाँहि मलाई हुन सकेन । 
    काभ्रेपलाञ्चोक जिल्लामा दैनिक आत्महत्याका खबर सुनिएको छ । कतै जाँदा पनि न्याय पाउन सकिएन भने मर्नुको विकल्प छैन । ऋणको ब्याज तिर्न सकिएको छैन । प्रविन लामाले उल्टै मलाई चेक बाउन्सको मुद्दा दर्ता गरेको रहेछ । मैले उसँग लिएको ऋण सापटी गरेर फिर्ता गरेको देख्नेहरु धेरै छन् । पैसा पनि लिने चेक पनि बाउन्सको मुद्दा गर्ने ? अझ जग्गा पनि खाने ? यस्ता अन्यायी सरकारी कर्मचारीबाट आम नागरिकहरुले कसरी न्याय पाउन सक्लान् ? 

कविता मिजार
धुलिखेल–८ काभ्रे

मैले सहयोग गरेको हुँ
    जितगोबिन्दको नाममा रहेको जग्गाको कागज लिएर प्रबिन लामा ९राष्ट्रिय अनुसन्धानमा कार्यरत० आउनु भयो । मैले सम्बन्धित चाहिन्छ भने बिरामी हुनुहुन्छ डोर पास गर्ने भन्नुभयो । जितगोबिन्दलाई फोन गरे । दिँदा हुन्छ भन्नु भयो । अनुमति पाए पछि मैले तपाई राष्ट्रिय अनुसन्धानको मान्छे आफ्नो आइडी राखेर लानु भने । लालपुर्जामा जितगोबिन्द महर्जन भए पछि कविता जिको ससुरालाई सोध्ने कुरा हुदैन र कविता जिको ससुराको धितो हो वा बेच्नु भएको मलाई जानकारी थिएन । पूर्व जानकारी गराउनु भएको भए म रोकि दिन्थे र दुबै पक्ष राखी छलफल गराउँथे तर जितगोबिन्दको नामको थियो फोनमा जित गोबिन्दलाई सोधे र सिफारिस भएको हो । धेरै पछि कविता आउनु भयो यसो भएछ भन्दै अनि मात्र थाहा भयो उहाँहरुको जग्गा धितोको लागी राजिनामा पास गरेर दिनु भएको रहेछ । त्यतिबेला मात्र मैले कविता जि र उहाँको परिवारलाई चिनेको हो । सबै जानकारी पाए पछि मैले तुरुन्त प्रविनजीलाई बोलाए र छलफल गराए त्यो छलफलमा कविताको जेठाजु उद्धव मिजारसँगको लेनदेनको कुराले यो भएको भन्नि कुरा भयो । हिसाब मिले पछि फिर्ता गर्छु भन्नु भयो । हिसाब मिलाउन तत्काल पैसा नभएकोले रबिन्द्र जङ्गमसँग ऋण लिएर आफ्नो नाममा ल्याउनु भयो । प्रविनले श्रीमतीको नामबाट फिर्ता गराए । कविताले एक लाखको चेक दिनुभयो । कविताजीले नै जग्गा आफ्नै नाममा आयो भन्नुभयो म पनि ढुक्क भएँ । पछाडिको कुरा मलाई जानकारी भएन पछि चेकमा पैसा थिएन भनि चेक बाउन्सको मुद्दा लगाएछ । त्यो समय पनि जिल्ला प्रहरी कार्यालय पुगि इन्सपेक्टर रजोस घिमिरेसँग सहजीकरणको लागि अनुरोध गरेको छु । अनि पास गराउँदा श्रीमतीको नामबाट फिर्ता गराउँदा प्रविनलाई साक्षी बसाउनु पर्ने तर बसेन छ र पछि आफैले श्रीमतीले जग्गा बेच्दा नसोधेको भन्दै मुद्दा राखेर उसैले जितेको छ । कविता जी, उहाँको जेठाजु वाईसिएल अध्यक्ष उद्धव मिजार, साधुराम बडाल र प्रविनजीहरुसँग जग्गा फिर्ता गराउन गरिएको छलफलको सबै अडियो रेकर्ड म सँग अहिले पनि छ । यसमा मैले धेरै सहयोग गरेको हो कविता जी । उहाँको परिवार सँग म पनि धेरै चोटी अनुसन्धानको अफिस र जिल्ला प्रहरी कार्यालय गएर सहजीकरण गरेको छु । साथै उहाँको परिवारले मुद्दा हार्नु भएकोमा दुःख लागेको छ । 

निराजन जङ्गम
तत्कालीन वडा अध्यक्ष, धुलिखेल ८, काभ्रे