सिन्धुली जिल्ला । काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्छ । काभ्रेपलाञ्चोक जिल्लाको भिमखोरी हुँदै जाने सहज बाटोबाट घर पुगिन्छ । सुविधाको भोग गर्ने नाममा बाटो विराउन पुगेको थिएँ म । नेपालको कानून एकातिर छ । ब्यवहार अर्काे तिर । विगतका थुप्रै कथाहरु होलान् । अहिले फरक परिवेश छ । जे भए पनि महिलाहरुले भोग्नु पर्ने अनेक कथा ब्यथा छन् । छोरी भएर जन्मनु नै समाजका लागि अभिशाप बन्न पुगिँदो रहेछ । बाबु आमालाई पनि छोरी जन्मँदा मन खिस्रिक्क हुने । छिमेकी र आफन्तको त कुरा गरि साध्य छैन । छोरा नहुँदा पृथ्वी भासिए झै गर्ने अभिभावक पनि दोषि हुन् । कानूनले समानताको कुरा गर्छ । समावेशीताको कुरा गर्छ । तर ब्यवहार छैन । अनिवार्य भनिएका स्थानमा बाहेक अन्यत्र कानून कार्यान्वयनमा जटिलता छ ।
गरिब परिवारमा जन्म भएछ । सायद गरिबकै मात्रै कथा हुन्छन् । ठुलाहरुको त घटना हुन्छ होला । त्यस्ता समस्या पनि हुँदैनन् होला । तीन सन्तान । बुबा आमाले खाई नखाई गरेर सन्तान हुर्काउँदा भोगेका अतितहरु धेरै छन् । अर्काको बारी कमाएर एक समयमा मात्रै आम्दानी हुने अन्न खुवाएर तीन सन्तान र आफु कसरी बाँचे होलान् ? पहिलो सन्तान छोरी नै थिईन् । दोश्रो सन्तान म आफै छोरी भएँ । छोराको आसमा तेश्रो सन्तान जन्मेको थियो । जन्मेको केहि दिनमा नै उसको निधन भएछ । चौथो सन्तान बल्ल बल्ल छोरा जन्मेको रहेछ । भाई अहिले सानै छ । हामीले उसको स्याहार सुसारमा केहि समय खर्चिनु परे पनि बुबा आमाले उसलाई सहज ब्यवस्थापन गरिरहनु भएको छ । दिदी १३ वर्षमा घर छाडेर हिडिन् । उनले बनेपामा एक जनाको घरमा केहि समय काम गरिन् । थोरै अध्ययन गरेकाले उनले अध्ययनको चाहना ब्यक्त गरिन् । सम्भव पनि भयो । कोहि त भगवान नै हुन्छन् । ७ वर्षको बीचमा उनले एसईई दिईन् ।
केहि वर्ष पछि उनले मलाई पनि बनेपा बोलाईन् । बनेपा भन्दा अलिक पर देविटारमा बारी रहेछ । म पनि बनेपामा नै बस्न थालें । बनेपाबाट कामका लागि हामी त्यता पुग्ने गरेका थियौं । हामीले एक्लै काम गर्ने अवस्था थिएन । त्यहाँ वरपर भएका ब्यक्तिहरुलाई काममा लगाउँदा देविटारकै एकजना ब्यक्तिसँग मेरो चिनजान भयो । उनले कामका लागि सहयोग गर्ने, मान्छेहरु खोजी गरिदिने गरेका थिए । उनको उमेर पनि त्यतिखेर १७ वर्ष जति थियो होला । मेरो १६ वर्षको मात्रै थियो । हामी काम गरेर सक्ने बेला भविश्यको सपना देखिरहेका हुन्थ्यो । उनले पनि मलाई सहयोग गरिरहेका थिए । उनलाई पनि मैले भनेको भन्दा धेरै सहयोग गरेको थिएँ । उनको परिवार पनि गरिब नै रहेछ । दुबै गरिब गरिब भए पछि मन पनि मिल्ने रहेछ । विस्तारै हामी प्रेममा पर्न थाल्यौं । उनले विवाह गरेर राख्ने कुरा गरे । विवाह गरे पछि मैले काम गरेको स्थानबाट छाड्नु पर्दथ्यो । दिदीको विवाह गर्न बाँकी थियो । हामीलाई भने हतार भयो । केहि महिना पछि दिदीलाई जानकारी गराएर हामीले सामान्य रुपले चण्डेश्वरीमा विवाह ग¥यौं ।
विवाहका लागि उनले सिक्री बनाएका रहेछन् । मैले त केहि गरेको थिईनँ । दिदीलाई भनेको थिएँ । उनले एक जोर नयाँ कपडा किनिदिएकी थिईन् । त्यहि लगाएर बेहुली बनें । उनले बनेपाकै चण्डेश्वरीमा डेरा लिए । हामी त्यहि बस्न थाल्यौं । बच्चा नै थियौं । १८ वर्ष लाग्दै थियो । हामी त्यहि मजदुरी गर्न थाल्यौं । विवाह ब्रतवन्धमा क्याटरिङ्गमा सहयोग गर्न थाल्यौं । अरु समयमा हामीले जे पाईन्छ त्यो काम गरेर दिनहरु विताउन थाल्यौं । केहि वर्षसम्म हामी सँगै बस्यौं । दुई वर्ष पनि भएको थिएन । उनको र मेरो सम्वन्धमा खटपट आउन थाल्यो । उनले मलाई शंकाको दृष्टिकोणमा हेर्न थाले । केटाहरु भनेको शंका गर्ने, श्रीमतीलाई अविश्वास गर्ने भित्र पर्दा रहेछन् । उनिहरुले जे गरे पनि हामीले प्रश्न उठाउन नपाउने तर हामी कोहि केटा मान्छेसँग काम विशेषले बोल्यो भने पनि शंका गरिहाल्ने । त्यस्तै भयो । मेरो मोवाईलमा काम गर्न जाँदा चिनेका एक जना साथीले फोन गरेका रहेछन् । एकदिन म्यासेज पनि गरेका रहेछन् । मेरो नियत गलत थिएन । मोवाईल श्रीमान्लाई दिने गरेको थिएँ । त्यहि विषयबाट उनले मलाई यातना दिन थाले । बच्चा भएको थिएन । अझै केहि वर्ष नपाउने मेरो चाहना थियो । विवाह दर्ता गरिसकेका थियौं । उमेर बढाएर गरिएको विवाह दर्ताले मान्यता पनि पायो । पछि सिन्धुली जिल्लाको मेरो गाउँपालिकाले उमेर कम भएको प्रमाणपत्र पठायो । बास्तविक जन्मदर्ता फरक पारेर किन कागज दियो मलाई थाहा छैन । बस्नै नसक्ने भए पछि हामीले नयाँ बाटो रोज्ने प्रयत्न ग¥यौं । म जस्ता थुप्रै साथीहरु मेरो जस्तै संकटमा थिए । अहिले पनि छन् । चेतना नहुँदा भोली पनि हुनेछन् ।
किशोरावस्थामै विवाह गरेका कारण विवाह गर्ने उमेर पुग्दा बेघर भएका थुप्रै उदाहरण छन । बालविवाह पछिको बहुविवाह अनि हिंसामा परेर घरवार विहीन भएपछि जीवन निर्वाहको विकल्प खोज्दै न्यायका लागि सदरमुकाम, प्रहरी कार्यालय र आफन्त खोज्ने क्रम तिब्र भएको छ । जिल्लामा हिंसा प्रभावित महिलाको हकहितमा काम गर्दै आएको संस्थाहरुले पनि जनचेतना मुलक कार्यक्रम गर्न सकेका छैनन । बालविवाह गरेका महिलाहरू अधिकांश पहिले निरक्षर थिए । अहिले केहि अर्धसाक्षर छन् तर अधिकांश साक्षर छन् । विहेपछि महिलाहरूले पढ्न पाउने सम्भावना अत्यन्तै कम छ । सानैमा विवाह गरे पछि घरमा श्रीमती छोडेर पुरुषहरू शहरतिर पढ्न जान्छन् । अनि पढेलेखेकी केटी विहे गरेर ल्याउँछन् । घरकी श्रीमती माथि हिंसा हुन्छ । बालविवाह बढि हुने जिल्लाका रुपमा बझाङ्गलाई चिनिएको छ । युएनएफपीएले २०७२ सालमा गरेको अध्ययन अनुसार बझाङ नेपालमा बालबिबाह बढी हुने जिल्लाहरू मध्य बझाङ पहिलो थियो । बझाङसँगै बैतडी, दैलेख, कपिलवस्तु, रौतहट र सप्तरी पनि बढी बालविवाह हुने जिल्लाहरू भएको युएनएफपीएको अध्ययनले देखाएको छ । २०७८ सालको जनगणनाले पनि त्यस्तै तथ्यांक देखाएको छ । अध्ययनका अनुसार किशोरावस्थाको गर्भवती दर उच्च छ । महिलाहरूको विवाह गर्ने औषत उमेर १६.५ वर्ष रहेको छ । बालबिबाहले गर्दा घरेलु हिंसा र बहुविवाह धेरै हुने गरेको छ । बाल विवाह भएकाहरू मध्यमा ६१ प्रतिशतको मागी विवाह, ३३ प्रतिशतको भागी विवाह र ६ प्रतिशतको जबरजस्ती विवाह हुने गरेको देखाएको छ । किशोरीहरूको माथिल्लो कक्षाहरूमा विद्यालय छोडने दर उच्च रहेको छ । किशोरावस्थाको गर्भवती हुने र कुपोषित र कम तौलको बच्चा जन्मने गरेको छ । किशोरकिशोरीहरूमा यौन तथा प्रजनन् स्वास्थ्यबारे न्यून जानकारी छ । बाल विवाह भएकाहरू मध्यमा ६१ प्रतिशतको मागी विवाह, ३३ प्रतिशतको भागी विवाह र ६ प्रतिशतको जबरजस्ती विवाह हुने गरेको देखाएको छ ।
अध्ययन अनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका महिलाहरूको सामान्यतया कम उमेरमा विवाह हुने गरेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्नेमध्य ४३ प्रतिशत र शहरमा बस्ने मध्य २७ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै बिहे गर्छन् । प्रवेशिका वा सो भन्दा धेरै पढेका महिलाहरूको विवाह गर्ने उमेर २२ वर्ष रहेको देखिन्छ भने विद्यालय नगएका महिलाहरूको विवाह गर्ने उमेर १७ बर्ष भएको देखिन्छ । अध्ययनमा केही समय यता उमेर नपुग्दै किशोर किशोरी भागेर विवाह गर्ने र विभिन्न हिंसामा पर्ने क्रम पनि बढेको छ । नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाईने गरी बालवालिकाको हकको रुपमा स्थापित गरेको छ । संघीय कानुन बमोजिम दण्डनीय हुने गरी प्रतिबन्ध लगाएको छ । त्यस्तो कार्यवाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरिएको छ । पछिल्लो पटक केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७२ ले मुलुकी ऐन, २०२० मा भएको संशोधन गरी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ ।
मुलुकी ऐन, २०२० जारी हुदाँका बखत १४ वर्ष नपुगेकी स्वास्नी मानिस र १८ वर्ष नपुगेको लोग्ने मानिसले विवाह गर्न नपाउने व्यवस्था गरिएकोमा पछि स्वास्नी मानिसको उमेर १६ वर्ष कायम गरिएको थियो । मुलुकी ऐनको एघारौं संशोधनबाट महिला र पुरुष दुवैको उमेर संरक्षकको मञ्जुरीले १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष तोकिएको थियो । पछिल्लो पटक केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७२ ले मुलुकी ऐन, २०२० मा भएको संशोधन गरी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको हो । कानुनी व्यवस्थाको उल्लंघन गरेमा बालवालिकाको उमेर अनुसार बढीमा तीन वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरीवाना गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।
अन्ततः हामी जिल्ला अदालत काभ्रेपलाञ्चोकटबाट अलग भयौं । त्यहाँ पनि झुटा कागज पेश गरिएको छ । अलग भएको केहि महिना पछि उनले मलाई भेट्न बोलाए । मेरो साथमा उनले दिएको सिक्री थियो । सम्पतिका नाममा त्यति मात्रै हो । उनले अरु केहि दिएका थिएनन् । चण्डेश्वरीको एकान्त जंगलमा सामान दिनु छ भनेर बोलाए । उल्टै मेरो गलामा भएको सिक्री लुटेर लगे । मैले प्रहरीलाई भनें । त्यति धेरै चासो दिएनन् । उनलाई त्यहि सिक्रीको माया रहेछ । लैजाउन मेरो गुनासो छैन । तर गुनासो यसमा छ कि उमेरले सहि र गलत छुट्याउन नसक्दासम्म विवाह गर्नु हुँदैन । अझ केटाहरुले हेप्ने गरी आफ्नो कमाई नहुँदासम्म विवाह गर्नु हुँदैन । बालविवाह रोक्ने अभियानलाई प्रभावकारी बनाईनु पर्छ । त्यसो भनेको के हो भने अभिभावकलाई रोजगार र सिपसँग जोडेर सन्तानलाई अध्ययनमा केन्द्रित गर्नु पर्छ । अनि मात्रै बालविवाह रोकिन्छ । हामी जस्ता बालबालिकाहरु उमेरमा अरुको घरमा शरण लिन जानु पर्दैन ।
श्रृजना तुम्सिङ्ग
सिन्धुली, हालः बनेपा









