2026 June 13/ 04:31: 00pm

    काभ्रेपलाञ्चोक जिल्लाबाट आर्थिक वर्षको चार महिनामा ३ हजार १ सय ५३ जनाले बैदेशिक रोजगारमा जाने प्रयोजनका लागि श्रम स्विकृति लिएको खबर सुनियो । वैदेशिक रोजगारमा जाने ब्यक्तिहरुले सिक्नुपर्ने भाषा, सिप तथा अन्य कानूनी विषयका बारेमा सचेतना गराउँदै आएको सामी कार्यक्रम प्रभावकारी छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा विदेश जानेहरुले ब्यक्त गरेका पीडा पनि उस्तै छन् । नेपालमा बसौ बेरोजगार । जाउँ घर परिवार र आफन्तसँग बस्न पाईदैन । एक्लै परदेशमा गरेको दुःख र पसिनाको कसरी बयान गरौं ? अझ त्यसरी कमाएर पठाएको पैसा नेपालमा गरिएको दुरुपयोग ? जसका लागि विदेशमा दुःख गरिन्छ उनै नेपालमा अनेकथरी गरेर पैसा उडाउँछन । पैसा मात्रै उडाए पनि हुने विश्वासघात गर्छन् । घर परिवार र सम्बन्ध नै उडाएर विदेशिनेहरुलाई झनै कमजोर र दयनीय बनाउँदाको पीडा कसरी सुनाउँ म ? 
    काभ्रेपलाञ्चोक जिल्लामा मात्रै चार महिनामा बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि ५ हजार ३ सय ३३ जनाले परामर्श लिएका रहेछन् । त्यसमध्ये ३ हजार १ सय ५३ जनाले श्रम स्विकृती लिएका रहेछन् । उक्त अवधीमा ६ हजार ६ सय ६४ जनाले राहदानी बनाएको तथ्यांक देखियो । आप्रवासी श्रोत केन्द्र मार्फत विभिन्न मुलुकमा जाने चाहने ब्यक्तिहरुले अपनाउनु पर्ने कानूनी विषय, भाषा तथा सिपका बारेमा सचेत गराउँदै आएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा बैदेशिक रोजगारमा गएर फर्किएकाहरुले पुनः विदेश जान बाध्य भएको कथा सुनाए । म त्यस्तै पीडित मध्येको एक हुँ । समाचार माध्यमबाट धेरै कुराको जानकारी भयो । नेपालमा कुल जनसंख्याको १० प्रतिशत नागरिकहरु बैदेशिक रोजगारमा छन् । विश्वमा २८ करोड ५९ लाख ९८ हजार १ सय ५ जना नागरिकहरु आप्रवासी श्रमिकका रुपमा कार्यरत छन् । नेपाल सरकार, सरकारका जिम्मेवार ब्यक्तिहरुका दिनदिनका भाषण सुन्छु । विदेशमा भएका पीडा सम्झन्छु । लाग्छ आफै मरौं कि गरौं ? खै अवसर ? खै वातावरण ? नेपालबाट दैनिक २ हजार २ सय ब्यक्तिहरु वैदेशिक रोजगारमा गईरहेका छन् । विश्वका १० देश नेपालीहरुका लागि वैदेशिक रोजगारका लागि मुख्य गन्तब्य बनेकाले वैदेशिक रोजगारमा जानेहरुका लागि सूचनामा र न्यायमा पहुँच, सिप विकास तालिम, मनोसामाजिक परामर्श लगायतका समस्या छन् । आर्थिक वर्ष २०७९÷०८० को अन्त्यसम्ममा नेपालबाट वैदेशिक रोजगारका लागि ७ लाख ७१ हजार नागरिक गएकोमा १ हजार ३ सय १० जना मात्रै सिपमा आधारित भएर गएका थिए । काभ्रेपलाञ्चोक जिल्लाबाट अघिल्लो आर्थिक वर्षमा ११ हजार ९ सय ४८ जना वैदेशिक रोजगारमा गएकाहरु मध्ये महिला २ हजार ९ सय ५७ जना र पुरुष ८ हजार ९ सय ९१ जना छन् । वैदेशिक रोजगारमा गएकाहरु मध्ये नेपालमा एक वर्षमा १ हजार ६२ जनाको शव फर्किएको छ । बागमती प्रदेशमा १ सय २५ जना र काभ्रेपलाञ्चोक जिल्लामा २३ जनाले ज्यान गुमाएर शव फर्किएको छ । त्यसमध्ये काभ्रे जिल्लाका १० जना अङ्गभङ्ग भएर फर्किका छन् । 
    नेपालमा सबैभन्दा धेरै वैदेशिक रोजगारमा जाने नागरिकहरु मधेस प्रदेशबाट छन् भने जिल्लागत रुपमा चितवनबाट धेरै छन् । बागमती प्रदेशका १ लाख १६ हजार ९ सय ६२ जना वैदेशिक रोजगारमा गएका थिए । नेपाल सरकारको तथ्याङ्कमा वैदेशिक रोजगारमा जानेहरुबाट एक वर्षको अवधिमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ विप्रेषण प्राप्त भएको उल्लेख छ । अघिल्लो वर्षको तुलनामा यो रकम २१.२ प्रतिशतले वृद्धि भएको हो । कुल जिडिपीमा २२.६८ प्रतिशत हिस्सा यसले मात्रै ओगटेको छ । सरकारका यस्तै तथ्यांकले हामीलाई शान्त होईन अशान्त बनाउँछ । कपाल ठाडो ठाडो हुन्छ । यस्तै हिसाब गरेर सरकारले मानवहरुलाई दिनदिनै विक्री गरिरहेको छ । हाम्रो श्रमको मुल्य हिसाब गरेर घर परिवार, समाज, आफन्त, संस्कार, संस्कृति सबै ध्वस्त बनाएको कहिले देख्छ ? बैदेशिक रोजगारमा पुगेर जसका लागि मैले दुःख गरें । त्यहि ब्यक्ति आज म सँग छैन । जसका लागि सबैथोक त्याग गरें र मुग्लान भासिँए त्यहि आज आफ्नो हुन सकेन । अचम्म छ मान्छेको सोच, चाहना, सुख, खुशी र ब्यथा । नगरौ नभई नुहने ? गरौ त्यसमा सन्तुष्ट नहुने । के भयो भने मान्छेले सन्तुष्टि जीवन जिउँछ होला ? तपाई कल्पना गर्नाेस् त ? तपाईसँग हिजो एक रुपैया पैसा पनि आफ्नो थिएन । आज केहि रुपैया भए, अझै पुगेन । हिजो तपाईसँग एक टुक्रा जमिन थिएन । आज जमिन छ । घर छ । बंगाला छ । सवारी साधन आफ्नै छ । अभाव भन्ने नै केहि छैन तर पनि मान्छे सन्तुष्ट छैन । मान्छेको चितामा जल्ने समय हुँदा समेत उसलाई लोभले छाड्दो रहेनछ । अभावले जेलिरहेको हुने रहेछ । दाहसंस्कार गर्ने बेला पनि दाउरा, कात्रो रुपी कपडा त चाहिन्छ नि ? बुढापाखाले भन्थे केहि जोड्न सकेनौ भने पनि तिमी जहाँ पुग, जहाँ पुग्दा पनि तिम्रो प्राण जान सक्छ तर तिम्रो लम्पसार पर्ने छ हाते शवका लागि जमिन खरिद गर । त्यसले तिमीलाई खान त पुग्दैन । त्यहिबाट तिम्रो जिविका त चल्न सक्दैन । तर पनि तिम्रो आत्माले सधै सन्तुष्टी प्राप्ति गर्दछ । सन्तुष्टिका लागि गरिने कामले मान्छेको चेत शरीर खरानी भए पनी आत्माले शान्ति पाउने कामना गरिँदो रहेछ । 
    उमेर बढ्दै गयो । काठमाडांैमा बस्ने सिन्धुपाल्चोक घर भएकी एक युवतीसँग प्रेम बस्यो । उनी कक्षा ११ मा अध्ययन गर्दै रहिछन् । सामान लैजाने क्रममा उनिसँग चिनजान भएको थियो । उनको बुबाको सानो होटल रहेछ । उनकै होटलमा खाना खान जाने क्रममा उनलाई थप चिन्ने र सम्बन्ध अगाडी बढाउने अवसर मिल्यो । मेरो डेरा पनि त्यहि नजिकै थियो । हुँदा हुँदा विहान बेलुका खाना पनि उनकै होटलमा खान लागें । कक्षा १२ मा पुग्दा उनी मसँग बाहेक अरुसँग विवाह गर्नै नसक्ने अवस्थामा पुगिन् । मैले त्यो परिवारलाई आफ्नै परिवार ठानें । सहयोग पनि गरें । कमाएको केहि पैसा त्यता पनि दिएँ । भएको होेटललाई ठुलो बनाउन सहयोग गरें । अन्ततः २०७५ सालमा उनको र मेरो विवाह भयो । सहमतिमै हामीले विवाह ग¥यौं । विवाहको एक वर्ष हाम्रो काम राम्रै चल्यो । म भरियाबाट सामान्य खालको ब्यापारी भैसकेको थिएँ । उनका हरेक आवश्यकता मैले पुरा गरेको थिएँ । आमा बुबाप्रतिको मेरो दायित्व पनि निभाएको थिएँ । दाई भाउजुहरु पनि आ–आफ्नै गरेर खाएकाले हाम्रो परिवारले हिजोको दुःख बिर्सिएको थियो । विर्सन आवश्यक पनि थियो । भगवानले त्यो समयसम्म राम्रो गरेकै हुन् । तातोपानीको ब्यापारमा मन्दी आयो । श्रीमतीलाई पहिलाकै अवस्थामा सुख सुविधा दिन पैसा कमाई हुन छाड्यो । विवाह पछि उनले थप अध्ययन गरिनन् । कुनै जागिर पनि खाने चाहना राखिनन् । उनकै सल्लाहमा मलाई केहि वर्ष विदेश पठाउने कुरा भयो । मैले भनें हामी दुबै मिलेर यहिँ केहि गरौ न त ? उनले मान्दै मानिनन् । नमानेपछि अन्ततः गाडी समेत चलाउन जान्ने भएकाले म कतार गएँ । उनि बुबाआमाको साथमा रहिन् । सासु र ससुराले छोरीको चिन्ता लिनु पर्दैन हामी छौ भन्नु भएको थियो । यता गाउँमा बुबा आमाले बुहारीलाई हामीसँग राखिदिए हाम्रो पनि साहारा हुन्छ भन्नु भएको थियो । मैले दुबै तर्फ समय मिलाएर बस्नु भन्दै कतार गएको थिएँ । कतारमा शुरुका दिन असाध्यै असहज भए । नयाँ ठाउँ, परिवेश, भाषा देखि सबै कुराको समस्या भयो । भने जस्तो काम पनि भएन । कमाई त बाँच्नै गाह्रो भयो । त्यो सबै कुरा घरमा भनौ उनिहरु झनै तनावमा हुने भए । मैले राम्रै छ मात्रै भनें । ६ महिना त मागेर पनि खान प¥यो । फर्कियौं त्यत्रो रकम खर्चेर गएको छु । केहि समय दुःख गर्न सके राम्रै होला भन्ने भयो । नभन्दै ६ महिना पछि मेरो कमाई मासिक ६० हजार हुन थाल्यो । कमाई भएको पैसा उनलाई पठाउन थालें । मैले बुबा आमा र दाजुहरुलाई कहिल्यै रकम पठाईनँ । उनिहरुले पठाउ भन्दा पनि वास्ता गरिनँ । फोनमा उनिहरुसँग राम्रोसँग कुरा पनि गरिनँ । मैले मात्रै उनको विश्वास गरिरहें । 
    उनी कहिले घरमा छु भन्थिन् कहिले काठमाडौमा । त्यस्तैमा उनी त अर्कैसँग माया प्रेममा परिसकिछन् । नेपाल फर्किन मेरो विदा मिल्दै थियो । त्यतिबेलासम्म मैले उनलाई १० लाख रुपैया भन्दा धेरै रकम पठाएको थिएँ । उनले मलाई कुनै दिन नराम्रो कुरा गरिनन् । जब मैले नेपाल आउने कुरा गरें उनले अझै किन आउनु पछि आउनु भन्दै पन्छाउन खोजिन् । घर आउने कुराले झनै तनाव बनाएछ । के भयो भन्दा पनि भन्दिनन् । मैले त्यत्रो पैसाको सदुपयोगका बारेमा पटक पटक सोधें तर पनि भनिन् । बंैकमा छ । केहि रकम बुबा आमालाई दिएको छु भन्दै ढाँटिन् । जब नेपाल आएँ तर उनी मलाई लिन एयरपोर्ट आईनन् । उनी त पोखरामा हनिमुन मनाउन ब्यस्त रहिछन् । एयरपोर्टबाट सिधै ससुराली गएँ । तर उनी थिईनन् । सोधें उनले त धेरै पहिला देखिकै केटा साथीसँग विवाह गरेको कुरा थाहा पाएँ । पसलको सिसा फुटाईदिएँ । उनिहरुले प्रहरी बोलाए । प्रहरीले मलाई एकरात गौशालामा थुन्यो पनि । तर मेरो पीडा देखेर उनलाई खोज्ने कुरामा सहमति भयो र मलाई छाडियो । गाडी भाडा समेत नभएको म सडक छाप भएँ र घर आएँ । कोठाका सबै सामान आफ्नो बनाईछन् । विदेश बस्दा कहिल्यै बुबा आमा, दाजु भाईलाई वास्ता नगरेको प्रतिफल त्यहि थियो । त्यहि अनुहार लिएर घर जाँदा पनि म प्रतिको माया र विश्वास परिवारमा घटेको थिएन । तर पनि लज्जित भएँ । आफुले आफैलाई धिक्कारें । पुनः सोचें पैसो । पैसो पैसो । बैदेशिक रोजगार, त्यसले निम्त्याएको पारिवारीक समस्या, विचलन, मानसिक समस्या, आत्महत्या र अनैतिक सम्बन्ध पैसा भए पछि सबै विर्सनु पर्ने हो ? सरकार नेपालमै रोजगार देउ । कम्तिमा आफ्नै परिवारसँग बसेर श्रम गर्ने वातावरण भयो भने यस्ता समस्याबाट मुक्त भईन्थ्यो कि ? मरे पनि स्वदेशमा र मरे पनि स्वदेशमा नै भईन्छ कि ? 

शिवम खड्गी
काभ्रेपलाञ्चोक