2026 June 13/ 04:29: 37pm

देशभर महिला हिंसा विरुद्ध अभियान संचालन भएको सुनें । कहिले टेलिभिजन, कहिले रेडियोबाट बजेका त्यस्ता सन्देशहरुले हाम्रो झुपडीमा केहि प्रभाव परेन । गाउँमा, टोलमा, जिल्लामा हिंसा रोक्न भएका अभियानहरुको पनि केहि चलेन । एक दिन गोष्ठी गर्दैमा, दुई साता अभियानका रुपमा पर्व मनाए पनि हिंसा रोकिनेवाला छैन । हिंसा रोकिन महिलाहरुको चेतना स्तरलाई उकास्न मात्रै होईन, आत्मबल बढाउन, आत्मनिर्भर बनाउन र हिंसा विरुद्ध जुध्न सक्ने बनाउनु पर्छ । महिलाहरु आफ्नो खुट्टामा उभिन नसक्दासम्म यस्ता खोक्रा आश्वासन, नारा, भेला, गोष्ठी केहि पनि प्रभावकारी हुन सक्दैन । बरु वर्षको यति महिलाहरुलाई आत्मनिर्भर बनाउने भनेर योजना बनाएर अगाडि बढे घर घरबाट हिंसा रोकिन सक्छ । टोलटोलबाट रोकिन सक्छ । समाजबाट हिंसा हट्न सक्छ । सम्बृद्ध राष्ट्र बन्न सक्छ । बुझ्नेले कुरा नबुझेका हुन् कि बुझेर पनि पचाएका हुन् ? बिरालो बाँधेर श्राद्ध गर्ने परम्परा नहट्दासम्म मेरो घर भित्र भएको हिंसा हटाउँछु भनेर पनि सकिदैन । क्षमता अनुसारको रोजगार, अनिवार्य सीप, अनिवार्य विद्यालय जाने वातावरण बनाउन सरकार र सरोकारवालाहरुलाई के ले रोकेको छ ?
    जिल्लाको कोशिपारीको एक गाविसमा मेरो जन्म भयो । परिवारको पहिलो सन्तान थिएँ म । २०११ सालमा जन्मिएकी मेरी आमाको उमेर १७ वर्षको रहेछ । विवाह गरेको ७ वर्षपछि मात्रै उहाँ घरमा आउनु भएको थियो । १० वर्षको उमेरमा उहाँको विवाह भैसकेको रहेछ । बुबा त्यतिबेला १४ वर्षको हुनुहुन्थ्यो रे । बुबाले ममीको भन्दा केहि धेरै समाजका बारेमा बुझ्नु भएको थियो । उतिबेला सानैमा विवाह गर्ने चलन रहेछ । विवाह गर्ने तर सानो भएकाले माईतीमै छाडिदिने अनि अलि बुझ्ने भएपछि घर पठाउने । अहिले जस्तो कहाँ थियो । सासु ससुरा देवर जेठाजुको कडा ब्यवहार । घर धान्नै मुस्किल । त्यस्तो अवस्थामा घर गरेर खान साह्रै गाह्रो थियो । धेरै लामो समय माईती बसे अर्काे विवाह गरिहाल्ने । केहि वर्ष सन्तान नजन्मिए अर्काे विवाह गरिहाल्ने । एकपछि अर्काे गर्दै थपिएका सौताहरु बीचको सम्बन्ध अहिलेको जस्तो नहुने रहेछ । मिलेरै बस्नुपर्ने बाध्यता, अनि लोग्ने मान्छेहरुले जे–जे ग¥यो चुपचाप सहनु पर्ने नारीहरुको अर्काे समस्या । त्यस्तो समाजमा मेरो आमाले नाई भन्दा भन्दै १० वर्षकै उमेरमा विवाह गरिदिएको रहेछ । केहि वर्ष माईती बसेपछि घर गरी खान समस्या भएकाले उहाँ माईती बस्न थाल्नु भएछ । मेरो जन्म भए लगत्तै आमा माईतीमा बस्न थाल्नु भयो । बुबा सामान्य खेति किसानी नै हुनुहुन्थ्यो । घरमा आमालाई गरिएको सम्मान छिमेकमा, टोलमा, समाजमा समेत गर्न सक्यो भने मात्रै राष्ट्र सम्बृद्ध बन्न सक्छ । घरमा भएका बृद्ध बाबु आमालाई बृद्धाश्रम पु¥याउने, छोराछोरीलाई छात्राबास पु¥याउने अनि आफु चैनको श्वास फेरेर बस्ने नेपाली संस्कृति पनि भित्र्याउन खोजेका छौं हामीले । परनिर्भर बनेको समाजलाई आत्मनिर्भर बनाउने प्रयास समेत हुँदैन । तरकारीको विउ दिने तर सधै अरुको मुख ताक्ने बनाउने अवस्थाबाट गुज्रिएका हामी तरकारीको विउ नै बेच्न सक्ने बनाउने अभियानमा किन देशभरी परिचालन हुन सक्दैनौं । जताजतै खराबै खराबको संंगत छ । संगतले मान्छेलाई कतै राम्रो, धेरै नराम्रो बनाएका उदाहरण छन् । घर फर्कदाँ म १० वर्षको भैसकेको थिएँ । आमालाई अनुनय विनय गरेपछि उहाँ मलाई लिएर घर फर्कनु भएको थियो । उहाँलाई सौता राखिएको भन्दै आपत्ति जनाएको त्यति धेरै वर्षपछि बुबाले सौताको मतलब छैन तिमी मेरी श्रीमती हौ भनेपछि मात्रै आमा चित्त बुझाएर जानु भएको थियो । उहाँबाट कुनै सन्तान जन्मिएको थिएन । उहाँलाई पनि अर्काे विवाह गरेको छ भनिएको रहेनछ । महिलाहरुको बाध्यता नै त्यहि थियो जसले जे भन्यो त्यसमै विश्वास गर्नुपर्ने । बुबा र दुई आमाको सम्बन्ध राम्रो हुँदै गयो । भैंसी थिए तीनवटा । घर नजिकै विद्यालय थियो तर मैले पढिनँ । शुरुमा मलाई मामाघरमै मामाहरुले क ख सिकाउनु भएको थियो । मामाघरमा आमा एक्लो छोरी भएकाले उहाँलाई सबैले माया गर्दथे । फेरी घर विग्रन लाग्यो भन्ने चिन्ता धेरै थियो । बुबाले पनि कहिल्यै उहाँलाई गाली गर्नु भएन । मामाहरुले सिकाएका आधारमा मैले मेरो नाम समेत लेख्न सक्ने भएको थिएँ । भाई बहिनी जन्मिएका सबैलाई विद्यालय पठाएँ तर आफु जान सकिनँ । बुबा आमाले पनि चिन्ता नगर्नु भन्दै सम्झाउनु भयो । दुई आमाहरुले उत्तिनै माया गर्नुहुन्थ्यो । बुबाले त झनै माया नगर्ने कुरै भएन । 
    २० वर्षको भैसकेको थिएँ । त्यो भन्दा अगाडी देखि नै विवाहको कुरा चलिरहेको थियो मैले मानिरहेको थिईनँ । विवाह गर्ने हो भने घरमै बस्दिनँ भनेर धम्क्याउँथें । घुक्र्याउँथे । बुबा आमा साँच्चै यसले भनेको काम पूरा गर्छे भन्दै डराउनु हुन्थ्यो र सम्झाउनु हुन्थ्यो । धेरैले मेरो अनुहार हेरेर अड्कल काटिरहेका हुन्थे । यसलाई सौता ल्याउने लोग्ने मान्छेलाई दिनु हुँदैन । के हो के हो ? म अक्क न बक्क हुन्थें । विवाह नै नभएको छोरी माथी सौताको कुरा उठिरहेको हुन्थ्यो । पहिले त मैले आमा जस्तै सौता माथी दिन लागेकी भन्ने सोचेको थिएँ पछि त्यस्तो होईन रहेछ । उहाँ २२ वर्षको हुनुहुन्थ्यो । गाउँमै बस्ने सामान्य जीवनयापन गर्ने । बुबा आमाको प्यारो छोरा । भाई बहिनीको अभिभावक । सबैले उहाँ माथी भरोसा गरेका थिए । उहाँसँग विवाहको कुरा टुङ्गो लाग्यो । २३ वर्षको थिएँ आमा भएँ । पहिलो सन्तान छोरी जन्मिई । छोरीको पनि भर्खरै विवाह गरिदिएँ । त्यसको दुई वर्षमै अर्काे सन्तान छोरा जन्मियो । गाउँको जीवन सामान्य थियो । श्रीमान्ले सानैमा काठमाडौमा गएर दुनोट बनाउने उद्योगमा काम गर्नु भएको रहेछ । छोरा छोरी हुर्कन थालेपछि उहाँले सबैजना काठमाडौ गएर काम गरौं भन्न थाल्नु भयो । मैले भनें बच्चाहरु सानै छन् तपाई जानुस् हामी केहि वर्ष पछि जाउँला । उहाँले त्यसमै सहमति जनाउनु भयो र काठमाडौ प्रवेश गर्नुभयो । काठमाडौको स्वयम्भु क्षेत्रमा उहाँले दुनोट पसल शुरु गर्नुभयो । त्यहि पसलबाट घर ब्यवहार चलाउँछु भन्ने अठोट पनि गर्नु भयो । शुरुमा एक्लै हुनुहुन्थ्यो । पछि काम गर्न समेत असहज भयो भन्ने सोचेर गाउँकै चिनेको ब्यक्तिसँग साझेदार गर्नु भएछ । राम्रो आम्दानी हुँदै गयो । पसल बढ्दै गयो । घरमा पनि आवश्यकताका सामानहरु पूरा हुँदै गए । छोराछोरीहरु ठुला हुँदै गएपछि राजधानीमै अध्ययन गर्ने भन्ने सोच आयो र उतै लगियो । काठमाडौमा लगेर हामीले केटाकेटीहरुलाई निजी विद्यालयमा भर्ना ग¥यौं । आफुले साँवा अक्षर चिन्न नसके पनि केटाकेटीहरुको उज्ज्वल भविष्यका लागि हाम्रो मेहनत थियो । चाहना थियो । सपना थियो । घरमा अलग्गै राख्ने निर्णय भयो । बच्चा र श्रीमान् काठमाडांैमा छाडेर म गाउँमै बसें ।
    मुलुक विभिन्न शक्तिहरुको आन्दोलनमा थियो । भर्खर आन्दोलन सकेर शान्तिको बाटोमा प्रवेश गरेको थियो । मुलुकमा शान्ति शुरु हुँदा मेरो घरमा अशान्ति शुरु भयो । आन्दोलनका क्रममा गाउँबाट शहर पसेकाहरुले पसल चोरी गरेछन् । सबैजना गाउँमा थियौं । काठमाडौ पुग्दा पसलमा चोरी भएको थाहा भयो । भगवान् त सबैका हुन्छन् । कमाएर खाईरहेको बस्तु माथी कसैले गिद्धे दृष्टि लगाएर भएको सम्बन्ध विगार्न चाहन्छ ? मान्छेको मन भित्र कोहि प्रवेश गर्न सक्दैन । कसैले त्यस्तो आँट पनि गर्न सक्दैन । साझेदार गरिएका ब्यक्तिले मेरो श्रीमान्ले नै सामान चोरेको भन्दै प्रहरीमा उजुरी दिएछन् । त्यति मात्रै होईन उसको श्रीमतीले मलाई जर्बजस्ति गर्न खोज्यो भन्दै गलत सूचना दिएर प्रहरीलाई पक्राउ गर्न लगाएछन् । जबकी उसको श्रीमती त्यहि दिन मात्रै काठमाडौ गएको रहेछ । काठमाडौ गएकै दिन मेरो श्रीमान्ले घटनाका बारेमा जानकारी दिनु भएको रहेछ । हुँदै नभएको आरोपले उहाँलाई खपिनसक्नु भएछ । नगद, सुन चोरेर आफुलाई जोगी बनाउन लागेको, आफै हरायो भनेर नाटक गरेको, महिला माथी गिद्दे दृष्टी लगाएको झुटा योजना बनाएर दिएको उजुरी र बयानबाट उहाँलाई झनै तनाव भएछ । प्रहरीको हिरासत भित्र आत्महत्याको प्रयास गर्नु भएछ । खाएको विष पो लाग्छ, नखाएको विष लाग्छ ? छोरा छोरीहरु धेरै रोए । उहाँ जेल परेको कुरा मलाई फोन मार्फत सुनाए । म पनि चिच्याउँदै गएँ । गाउँका चिनेका मान्छेहरुलाई भनें । तर केहि सिप लागेन । उहाँलाई प्रहरीले २४ दिन त थुन्यो थुन्यो त्यसपछि अदालतले पुर्पक्षका लागि जेलमा राख्यो । 
    परिवार बेहाल बन्यो । काठमाडौ बसेका छोराछोरीहरु गाउँ जानुपर्ने भयो । डेराभाडा तिर्न नसकेर घरबेटीले ताला लगाईदिए । एकपछि अर्काे गर्दै भएको घटनाले हामीलाई झनै तनाव उत्पन्न गरायो । अदालतले चोरीको पुष्टि नभई ३ लाख रुपैया क्षतिपूर्ति दिन आदेश दियो । गाउँको जग्गा विक्री गरेर पैसा बुझायौं । उहाँ केहि समय पछि जेल मुक्त हुनुभयो । तर कहिल्यै उहाँको आत्माले नसोचेको पीडा भोगेको भन्दै हामीसँग संसार छाड्ने कुरा गर्नुभयो । हामीले सम्झायौं । छोराछोरीहरुले समेत सम्झाए । खाँदै नखाएको विषले जिउँदै मारेको कुरा गर्नुभयो । अन्ततः केहि दिनमै उहाँले आत्महत्या गर्नुभयो । हामी छाँगाबाट खसे झै भयौं । बेकारमा लगाएको आरोपले उहाँको ज्यान लियो । पाप त धुरीबाट कराउँछ भन्थे हामीलाई जसले त्यो अवस्थामा पु¥यायो उसको पनि भलो चाँहि भएन । सवारी दुर्घटनामा परी जीवनभर अपाङ्ग भएर बाँच्नु प¥यो । हामी बेसाहारा भयौं । संसारमा जो भनेर दुःख ग¥यौं उसैले प्राण छाड्यो । छोराछोरीको भविष्य मेरो काँधमा आयो । आरोपको बदला मैले लिनु परेन भगवानले लिई दिनुभयो । तर हामी एक्लै भयौं । विहान बेलुका घरको काम गरेर दिउँसो ज्याला पानी गर्न थालें । छोरा छोरीको शिक्षा दिक्षाका लागि मेहनत गर्नै थियो । हातमा सिप थिएन । अन्य आम्दानीको बाटो थिएन । समाजमा पोई टोकुवा भनेर आरोप लगाउन थाले । अलछिना महिला भन्न थाले । बाटोमा कसैले भेट्यो भने साईत बिग्रियो भन्न थाले । कसलाई आक्रमण गर्न जाऔ ? दुई रुपैयाँ सापट माग्न गयो केहि न केहि स्वार्थ राख्दा रहेछन् । शुरु शुरुमा चिप्लो घस्नेहरुको मन भित्र कालो हुँदो रहेछ । नमान्दा उसै आरोप लाग्ने, मान्यो समाजबाट बहिस्कृत हुने ? हाम्रो जीवन ? कस्तो जीवन ? परिवारकै सदस्यहरुसँग काममा हिड्दा समेत अनेक आरोप भोग्नु पर्ने ? पुरुषहरुले जे गरेपनि मतलब नहुने ? हामीले केहि नगर्दा समेत आरोप झेल्नुपर्ने ? यस्ता आरोपहरुबाट मुक्त हुन जबसम्म हामीजस्ता महिलाहरुका लागि सिप दिईदैन तबसम्म सम्भव छैन । पाईलै पिच्छे लाग्ने आरोपबाट बच्न, स्वाभिमान जीवन जीउन हामीलाई सबल र सक्षम कसले बनाउने ? 
    हिंसा रोकौं भनेर कुर्लदैमा महिलाहरु माथी हुने हिंसा रोकिन सक्छ र ? सक्षम बनाउने, सिप सिकाउने, आयआर्जन गर्ने र आत्मनिर्भर बनाउन सक्दा मात्रै रोकिन्छ भन्ने हो । रोजगार छैन । सिप छैन । सधै अरुको भरमा बाँच्नु परे पछि त्यहि हो हिंसा । नारामा होईन ब्यवहारमा गरौ । 

मसली खत्री
धुलिखेल, काभ्रे