2026 June 06/ 04:07: 42pm

    बाल्यकालका थुप्रै भोगाई र अनुभुति छन् । सबैका हुन्छन । सबैले भोगेका पनि हुन्छन् । भोगाईका अनुभव मात्रै फरक फरक हुन्छन् । परिवारका समस्या धेरै छन् । त्यहि समस्याका बाबजुत मलाई काठमाडौमा लगियो । परिवारका सदस्यहरुका आफ्नै समस्या छन् । बुबा आमाका लागि अरु थुप्रै पारिवारीक समस्या थिए । ति समस्यासँग जुध्न मलाई काठमाडौ लगिएको थियो । केहि समय मलाई फुपुको घरमा राखियो । त्यहाँ बस्दा म सहयोगी भन्दा बोझ भएँ । आफन्तको घरमा बस्दा नराम्रो बनिने रहेछ । डेराको बसाई त्यसमा पनि आफन्त । थुप्रैका होलान समस्या । 
    फूपूको घरबाट एक्लै बस्ने योजनामा निस्किएँ । बालाजुका डेरा थियो । डेरासँगै टाँसिएको घरमा एकजना मेरै उमेरका केटासँग नजर जुध्यो । उनी पनि भर्खरै भारतमा नोकरी गरेर फर्किएका रहेछन् । ९ कक्षा पढ्दा पढ्दै घरमा ठाकठुक परेर साथीहरुको लहैलहैमा भारत पसेछन् । १४ वर्षे केटो भारत गएर १० वर्ष नोकरी गरे पछि आफन्त सम्झेर घर फर्किएका रहेछन् । नेपाल फर्किए लगत्तै उनी सामाजिक संस्थामा स्वयंसेवक भएर काम गरिरहेका थिए । त्यहि घरको आँगनबाट एउटी भरभराउँदी युवती लसक लसक लस्किएको देख्दा मन थाम्न सकेनछन् । अझ उनकै घरमा जोडिएको कोठामा रात विताइरहँदा उनको मन थामिनै सकेन । विहान उठ्ने वितिक्कै म उठेको छ कि छैन ? कतिबेला बाहिर निस्कन्छे र बेलुका कतिबेला भित्र पस्छे भनेर चियाउन समेत थालिसकेछन् । मेरो मनमा त्यस्तो केहि थिएन । विहान जुरुक्क उठेर होटलमा काम गर्न जान्थे । बेलुका आएर आफ्नै कोठामा एक्लै सुत्थे । नपढेकाले होटलमा सरसफाईको काम थियो । विदेशीहरु मात्रै बस्ने काठमाडौको तीन तारे होटलमा कोठा सफा गर्ने काममा लागेको थिएँ । लामो समय त्यहि होटलमा काम गरें । त्यो होटलमा काम गर्नु अघि गाउँकै दाजु पर्नेले पनि त्यस्तै गेष्ट हाउस खोलेका रहेछन् काठमाडौमा । त्यहाँ काम गरेर धेरै कुरा सिकेको थिएँ । होटलको काम कति गर्नु भन्दै धेरै समय गरेर छाडेको थिएँ । उनै फुपुको पसलमा कपडा बेचेर बसें । फुपुको पसलमा काम मात्रै गरेर भविष्य के गर्ने ? मनमनै कुरा खेल्न थाल्यो अनि छाडेर पुनः होटलमा काम गर्न थालेको थिएँ । कोठामा बसेको केहि महिनामा उसले बाटो छेकेरै बोलायो । डेरा नजिकै भएको मान्छेले बोलाउँदा किन नबोल्नु ? विस्तारै उसले मेरो रेखदेखमा ध्यान दिन थाल्यो । विहान होटलसम्म पु¥याइदिने र बेलुका लिन जाने ग¥यो । त्यसको त्यो कृयाकलाप उसकै दाजु भाउजुले नियालिरहेका रहेछन् । मलाई गरिबको छोरी भन्थे । मेरो बुबा ममि कहिल्यै मेरो लागि भनेर काठमाडौ जानु भएको थिएन । एक्लै डेरामा बस्ने, अझ होटलमा काम गर्न जाने भएपछि उनिहरुले सोच्ने कुरा पनि फरक खालको रहेछ । उ पनि दिउँसभर काममा जान्थ्यो । दुवै काममा जाने भएपछि उसले मसँग प्रेम गरेर विवाह नै गर्ने मनभरीको सपना देखेको रहेछ । एक दिन घर फर्कदै गरेको अवस्थामा बाटोमा भेटेर मनको सबै कुरा भन्यो । मैले उसको कुरा काट्न सकिनँ । हुन्छ र हुँदैनको जवाफ दिन नसकेपछि उ घर गयो म डेरामा । रातभर मनमा कुरा खेल्यो, काठमाडौमै घर छ, फेरी दुवै जना आफ्नै खुट्टामा उभिन सकिन्छ भने प्रेम गरेरै विवाह गर्दा के फरक प¥यो त ? रातभर सोचें भोलिपल्टै उसको कुरा स्विकार गरिदिएँ । उ खुशीले मात्तियो । केहिबेर नाच्यो पनि । गल्र्याम्म बाटोमै अंगालो हाल्यो । म लाजले भुतुक्कै भएँ । तर उसलाई कसिलो गरि समाएँ र जीवनसाथी भएको महसुस पनि गरें । 
    केहि महिना प्रेममा पागल जस्तै भयौं । ५÷६ महिनामा उ र म एउटै शरीर भएका थियौं । घण्टौ मेरो कोठामा आएर फर्कने गरेको थियो उ तर रात हामीले कहिल्यै विताएनौ विवाह अगाडी । प्रेमको त्यो रोमान्सलाई हामीले विवाहमा परिणत गर्ने निर्णय ग¥यौं तर बाधक बने उनकै दाजु भाउजु र परिवारका अन्य सदस्यहरु । मैले मेरो परिवारलाई भन्ने जरुरी ठानिनँ । विवाहको तयारी भयो जाने कहाँ ? हामी दुवैले घर बाहिर डेरा लिएर बस्ने निर्णय ग¥यौं । घर नजिकै डेरा लिएर शुरु ग¥यौ नयाँ जीवन । विवाहको तीन महिनामै म विरामी परें । उँधो उँभो दुवै भयो । केहि औषधी गर्दा पनि निको हुन सकेन । पछि मलाई क्षयरोगको उपचार गराईयो । जन्मेको केहि वर्षमै मलाई क्षयरोग भएको रहेछ । सानोमा गाउँमै मिल्ने एकजना साथीसँग बस्ने खाने र सुत्ने गरेको थिएँ । त्यो साथीलाई क्षयरोग भएको रहेछ । उसकै जुठो खाएका कारण मलाई क्षयरोग भएको रहेछ । उपचार पछि निको भएको धेरै लामो समय पछि थाहा भयो । ६ महिनासम्म मैले होटलमै काम गरें । उनी पनि त्यहि काममा थिए ।     क्षयरोगको उपचार लगत्तै म फेरी विरामी परें । रिङ्गटा चल्ने, वान्ता हुने जस्ता लक्षणहरु सहित पखाला चल्यो । पुनः टेकु लगियो । रगत जाँच गरियो । एचआइभि पोजेटिभ देखा प¥यो । शुरुमा त मलाई कसैले केहि भनेन । तर विस्तारै म एचआईभी संक्रमित भएकाले त्यहि रोगका कारण विरामी परेको रहेछु । केहि बेर सोच्नै सकिनँ । पृथ्वी भासिएको अनुभुति भयो । सायदै जन्म लिएकै यस्तैका लागि रहेछ भन्ने सोचें । पसिनाले भिजिसकेछु । विरामी भएर कमजोर भएको मेरो शरीर थप केहि दिन चिन्ताले थला प¥यो । श्रीमानलाई पनि परीक्षण गरिएको रहेछ । दुवै जना पोजेटिभ भएको रिपोर्ट प्राप्त भएपछि दुवैले आत्महत्या गर्ने योजना बनायौं । श्वास छउञ्जेल आस भने जस्तै डाक्टरहरुको सल्लाह अनुसार हामी बाबु आमा बन्न नसक्ने भयौं तर संघर्ष गरेरै सुखी जीवन विताउने निश्कर्षमा पुग्यौं । होटलको काम छाडेर केहि महिना तरकारी ब्यापार गरें । घर परिवारको टोकसो डेरामा बस्दा पनि भयो । त्यहि समाजमा संघर्ष गर्नु भन्दा शहरै परिवर्तन गर्ने योजनाका साथ हामी भक्तपुरमा आयौं । 
    पछि हामी एचआईभीका क्षेत्रमा काम गर्ने संस्थासँग जोडिन पुग्यौं । त्यहि संस्था मार्फत काम गरेर जीविका टार्न थालियो । निरन्तर उहाँ विभिन्न संघ सस्थामा आवद्ध भएर एचआईभी संक्रमितका खतराहरु, त्यसको कारण र बच्ने उपायका बारेमा जनचेतना फैलाउन थाल्नु भयो । उहाँको काममा मैले जानेको सहयोग गरिरहेको थिएँ । म आमा बन्न नपाएकोमा खिन्न त छँदै थिएँ । जीवन देखि वाक्क दिक्क पनि थिएँ । सधै उहाँ मर्निङ्गवाक जानु हुन्थ्यो । विहानको समयमा मर्निङ्गवाक गरेर फर्कने क्रममा मानसिक सन्तुलन ठिक नभएको महिलाले बच्चा जन्माएर छाडिछन् । उक्त बच्चा सालनाल सहित त्यहिका बाबाले खेलाएको उनले देखेछन् । मन्दिरमा दर्शन गरेर निस्कदाँ त्यो बच्चा उनको काखमा राखि दिएछन् । केहि महिलाहरु मेरो कोठामा आएर आमा बन्नु प¥यो भने । मैले सहजै स्विकारे । १२ दिन सुत्केरो बारें । सालनाल सफा गरेर कष्टका साथ बच्चा हुर्काएँ । अहिले १८ वर्षकी छोरी भक्तपुर होस्टलमा पढिरेहकी छिन् । उनलाई मैले मेरो दुध चुसाउन त सकिनँ तर त्यो भन्दा कम गरिनँ । म चर्चमा जान थालेको भएर चर्चका पाष्टरले त्यो बच्चीलाई होस्टलमा राखिदिएर निःशुल्क पढाइ दिइरहेका छन् । मैले छोरीलाई बाबु आमाको कमि हुन दिएको छैन । धेरैले एचआईभी संक्रमितले पनि बच्चा जन्माउने ? प्रश्न गरेका थिए । केहिले अवैद्य गर्भबाट फालिएको शिशु पालेकोमा धन्यबाद दिएका थिए भने केहिले छिःछिः र दुरदुर गरेका थिए । 
    समाज न हो मैले जे गरे पनि सकारात्मक सोचाई कहिल्यै थिएन । उहाँ बम्बईमा काम गरेर फर्किएपछि नेपालमा असुरक्षित यौन सम्पर्क राखेका रहेछन् । आफै पनि बम्वईमा त्यस्तो काममा सहभागी भएर संक्रमित भएछन् । नेपालमा सम्पर्क गरिएकी ति युवती पनि बम्बईमा लामो समय यौन ब्यवसाय संचालनमा सक्रिय भएको पछि थाहा भयो । त्यहिबाट उनी पोजेटिभ भएको विवाह पछि मात्रै थाहा भयो । उनलाई भन्दा पहिला मलाई पोजेटिभ देखिएकाले मात्रै दुवैजना त्यसबाट प्रभावित भएको पुष्टि भयो । छोरी हुर्कदै गई । जिम्मेवारी थपिदै गयो । श्रीमान् आफै सक्रिय भएर एचआईभी संक्रमित भएकाहरुलाई सेवा पु¥याउन र अन्यलाई संक्रमित हुन नदिन संस्था खोल्ने सल्लाह भयो । त्यहि संस्था मार्फत हामी दुवै जना काम गरिरहेका थियौं । संक्रमित भएकाहरुले त्यति धेरै रक्सी सेवन गर्नु हुँदेन थियो । तर उनले पछिल्लो समय रक्सी धेरै खान थाले । धेरै सम्झाएँ तर उनले मान्दै मानेनन् । पटक पटक उपचार गरियो । कहिले शीर मेमोरियल अस्पताल त कहिले भक्तपुर लगेर उपचार गराएँ । उनलाई निको हुने छाँट भएन । एक रात उनी सिकिस्तै भए । २ हजार पैसा थियो । एम्बुलेन्स बोलाएर अस्पताल पु¥याएँ । एक्सरे गराएँ । पैसा सकियो । कलेजोमा पानी जमेको रहेछ । उपचार गर्न पैसा भएन । जाँदा एम्बुलेन्समा लगेको विरामी उपचारै नगरी फर्काउँदा हिडाएरै ल्याएँ । उनको साथी एकजनाले टेकुमा लगेर उपचार गराए । केहि दिन त उनलाई निको भयो । जब घर फर्काउने कुरो भयो तब उनको निधन भयो । 
    उनको निधन पछि मैले एक्लो भएको महसुस गरें । माइतीमा कहिलेकाँहि जाने गरेको थिएँ । चैत्र महिनामा मात्रै भएको उनको निधनले मलाई झनै कमजोर बनायो । कहिलेकाँही छोरी भेट्न जाने गरेको छु । त्यहि छोरीको अनुहार हेरेर मन बुझाउने गरेको छु । छोरीलाई पनि विना बाबु जन्मिएँ र जन्माउने आमा पनि नभएको सन्देश कानमा पर्न दिएको छैन । एउटा सामाजिक संस्थामा काम गरेको रकमले जीवन धानिरहेको छु । म संक्रमित हुनुमा मेरो कुनै दोष छैन । विवाह गर्नु नै गलत हो भने यो संसारमा धेरैले विवाह गरेरै सृष्टि चलाएका छन् । तर मेरो जीवन ? दिक्क लागेको छ । सोच्छु कुन जुनीको पाप भोगिरहेको छु । गाउँमा त माहारोग लागेको भन्छन् । यस्तै रहेछ जीवन जस्तो भयो त्यस्तै भोग्यो । सकेसम्म एचआइभी संक्रमितहरुको पक्षमा वकालत गरिरहेको छु । अहिले औषधी उपचारको सहजता छ । समाजले हेर्ने दृष्टिकोण पनि बदलिएको छ । सचेत रहौ । सजग बनौं । स्वस्थ रहौं । 

उषा खड्गी
भक्तपुर