2026 June 06/ 04:07: 48pm

जीन्दगी निरन्तर बगेको खोलाजस्तै भन्ने सोचेको हैन रहेछ । यो त साउनको झरीसँगै ठुलो हुनुपर्ने र हिउँदको सुनसान अवस्थामा पनि बग्न सक्नु पर्ने रहेछ । न खहरेको भेलले जीवनलाई जोड्न सक्यो न निरन्तरको झरीले । राणा शासन, पञ्चायत, प्रजातन्त्र, सशस्त्र युद्ध, गणतन्त्र त्यसपछि प्राकृतिक प्रकोप भुकम्प, भारतिय  नाकाबन्दी, कोभिड तथा अहिलेको आर्थिक मन्दीले समेत मानव जीवनमा नयाँ परिवर्तनको स्वरुप दिन सकेन । जीन्दगी जिउने क्रममा धेरै धोका पाइयो । कति प्रिय अनि कति अप्रिय पलहरु भोगियो । कति पलहरु स्मृतिका पानामा बिलाएर गए अनि कति पल मुटुको कुनामा बसि पीडा दिइरहेका छन् । तर पीडा पीडा नै रहेछ । पीडाको जीन्दगी बिताउन धेरै कठिन रहेछ । वैंशको बेला भित्रभित्रै छट्पटाएर प्रेम गरें । भित्री हृदयदेखि भित्री आत्मादेखि तर प्रेम पानीको फोका रहेछ । क्षणभरमा नै बिलाएर गयो । बर्षाैको सम्बन्ध विग्रन केहि सेकेण्ड नै काफी रहेछ । स्विकार्नुको अर्काे विकल्प भएन । 
    म कक्षा १० मा पढ्थें । गाउँकै स्कुल थियो । स्कूले जीवन साह्रै रमाइलो हुने रहेछ । प्राय सबैले त्यहि अनुभव गर्नुहुन्छ । साथसाथै अनुशासन र नियमको हत्कडी पनि । त्यही स्कूले जीवनको अनुशासन र नियमको हत्कडी फुत्काएर पवित्र प्रेम मौलाएको थियो । प्रेम आफैं हुन्छ या गरिन्छ अनविज्ञ नै थिए । हामी एक अर्काेमा साथी थियौं । साथीको साथीत्व कसरी प्रेममा परिणत भयो । थाहा छैन । उनी आकर्षित भएकी थिइन् । तर ममा त्यस्तो आकर्षण नै के थियो र ? मेरो कुन पक्षले आकर्षित बनाएको थियो थाहा छैन । विस्तारै म पनि उनी प्रति आकर्षित हुन थालें । एक–अर्का बीचको प्रस्ताव दुबैले सहजै स्विकार्ने अवस्था बन्यो । मेरो पहिलो प्रेम थियो । त्यसपछिका दिनहरु मेरा लागि नौला र अनौठा हुन थाले । रित्तिसकेको मुटु प्रेमका सन्देशहरुले भरिन थाले । मोबाइलमा फोनहरु बढ्दै गए । खाली इनबक्स पनि प्रेमका सन्देशहरुले भरिन थाले । अनि मैले अनुभव गरें प्रेम गर्दाको क्षण । त्यति मात्र होइन यसो उसो गर्दागर्दै भावनाका डुङ्गाहरु बग्न थाले मन भित्र । म पनि प्रेम गर्थे उनलाई तर मेरो भन्दा दोब्बर प्रेम उनले गर्थिन् । भेटघाट चल्न थाल्यो । भेटघाट हुँदा उनी भन्दथिन् म सदाको लागि तिम्रो भइसकें । तिमी बिना म एकपल पनि बाँच्न सक्दिनँ । उनले भनेका यस्ता भनाई आज अतीत बनि मुटुलाई पीडा दिइरहन्छन । त्यो क्रम केहि समय चल्यो । कक्षामा हाम्रो प्रेम जोडीले राम्रै स्थान पायो । हाम्रो सम्बन्ध साँच्चै उत्कृष्ट र सम्झन योग्य थियो । एक अर्कालाई गर्ने सम्मान, सहयोगी भावना परेवाको जोडी भन्दा कम थिएन । त्यसमै धेरै साथीहरुको नजर गाडिएको थियो । साथीहरु भन्थे प्रेम हुनु त यस्तो पो ? तर धेरैले लख काटिसकेका थिए यो बालप्रेम हो । युवाअवस्थाको प्रेमले कि तिमीहरु बहुलाउँछौ कि विवाह गर्छाै । प्रेम दिगो र स्थायी हुन अहिलेको बालप्र्रेमको भूमिका नहुन पनि सक्छ । केहिले भनेका पनि थिए तिमीहरुको यो प्रेम अमर बनाउन धेरै बलिदानी दिनुपर्छ । दिन सक्ने अवस्था सधैं नहुन पनि सक्छ । नआउन पनि सक्छ । जतिबेलासम्म प्रेममा रहन्छौं त्यसलाई उत्कृष्ट बनाउनु शुभकामना छ । एक शिक्षकले भनेका यी संवादले मलाई सधै घोचिरहन्थ्यो । उनिहरुलाई देखाउन पनि हाम्रो प्रेम अजम्बरी बनाउनु आवश्यक थियो । 
    यो क्रम चलि नै रह्यो ।  मैले एसईई दिएँ । गाउँमा बसेर खासै काम पनि थिएन । के गर्ने के नगर्ने ? कमसेकम शहर जाने योजना भयो भने वा शहरमा बसियो भने केहि न केहि नयाँ त सिक्ने अवसर मिल्न सक्छ ? काठमाडौं जाने योजना बनाएँ । त्यसबेला पनि उनले भनेकी थिइन् म तिमीबिना बाँच्न सक्दिनँ । यो मेरो सिउँदो तिम्रा लागि हो । मैले पनि यसो भनेको थिएँ मेरो मुटुमा तिमी छौ, तिमी मेरो जीन्दगी अनि मलाई प्रगतिको चुलीमा पु¥याउने साथ पनि तिमी नै हौ । त्यसैले यो १६–१७ वर्षे तन सम्हालेर बस । मेरो योजनामा परिवारले साथ दियो । म बनेपा जाने निधो गरें । उनले मान्दै मानेकी थिईनन् । दुबैको हितका लागि भएकाले उनले मलिनो अनुहार लगाएर विदा गरिन् । म बनेपा पुगेपछि उनको धेरै फोन अनि म्यासेज आयो । मायाले भरिएको । मैले पनि छुट्टिएर बस्दा गहिरो प्रेम आभास गरेको थिएँ । जति टाढा भएपनि माया भने गाढा नै भइरह्यो । म पनि त्यतिबेला प्रेमको सागरमा चुर्लुम्मै डुब्न पुगें । घरबाट बनेपा आएको ब्यक्ति म । परिस्थितिले मलाई फेरी राजधानी काठमाडौ पु¥यायो । केहि दिन बनेपा बसेर म तत्कालै काठमाडौ गएको थिएँ । घरबाट काठमाडौं आएको लामो समय भईसकेको थियो । असारको महिना । मुटुभरी उनकै प्रेम बोकी मनका बह पोख्ने आशा बोकेर घर फर्किएँ । बसन्तको बेला जताततै हरियाली छाएको थियो । हरिया रुखमा कोइलीहरुको स्वरले आनन्द दिईरहेको थियो । प्रकृतिको अनुपम सुन्दर आकर्षणले मलाई स्वागत गरिरहेको थियो । म छट्पटिँदै उनीसँग भेट गर्ने आशमा दर्गुन थालें । मोबाइलबाट फोन डायल गरें । उनीसँग सम्पर्क भएन । त्यसपछि उनका साथीहरुलाई सोधें । उनीहरुले बताउँनै चाहेनन् । ढिला भईसकेको थियो । हिउँदको चर्काे घाममा शितलता दिन उनले अरु कसैको छहारी रोजिसकेकी रहिछन् । मैले थाहा पाएँ । आँखाबाट आँशु चुहियो रोक्न खोजें सकिनँ । झल्झली ६ महिना अघिको उनको चन्द्ररुपी मुहार सम्झँदै पागल झै टोलाई रहें । भित्रभित्रै सोच्न पुगे । केहि महिना बाहिर रहँदा उनले गरेको त्यो ब्यवहारबाट चकित भएँ । उनी बाध्यतामा परिन् वा त्यो निर्णय आफै रोज्न पुगिन् ? 
    धिक्कारे उनीलाई । अनि भित्रभित्रै सराप्न थालें । आफैंलाई आत्मग्लानी भयो । प्रेममा धोका पाउने ब्यक्तिहरु यसरी नै पीडामा छट्पटाउँछन् । उनीसँगको प्रेमलाई मैले कसरी सम्झने ? आखिर के चाहन्छन् उनिहरु ? उनिसँग जीवन बिताउने सपना बोकेको थिएँ । उनले दिएको धोकाले जीवनभर प्रेम शब्दप्रति नै घृणा जाग्यो । आफैंमा बगाईरहेको अश्रुधाराको अर्थ खोजें । सायद जीवनमा कहिल्यै यसरी आँखाबाट अश्रुधारा बगेका थिएनन् । कहिल्यै प्रेममा नफसेको, मुटुमा सानो चोटसम्म नपरेको मेरो जीवनमा अकस्मात धोकाको बज्रपात परेको थियो । लाग्थ्यो मलाई उस्लेजति प्रेम मेरा बाबुआमाले पनि गरेका छैनन् । तर यो सब झुट रहेछ । जानी नजानी उनको जालमा फस्नु साँच्चै मेरो महाभूल रहेछ । दुईचार शब्द मिठो बोल्दैमा आफ्नो प्रेमजालमा फसाउन जान्ने केटीहरुका बारेमा कसरी बयान गरौं ? प्रेमलाई धनको तराजुमा तौलिंदा रहेछन् । उनिहरुको मात्र सपना हुन्छ ? हामी केटाहरुको सपना हुँदैन ? पवित्र प्रेमको आँशु अनि श्राप लाग्नेछ । तिमीले भनेथ्यौ म तिमी विना मर्छु । मलाई जिउँदो लास बनाएकी छौ । तिमीलाई चोखो माया गरेको थिइनँ र पराईसँग हिँड्यौ । यो संसारमा तिमीले मैले जति माया गर्ने मान्छे कहिं पाउन सक्दिनौं । तिमी उच्च कुलघरानमा खानदानकी मान्छे सौखिन अनि खर्चालु मान्छे तिम्रा लागि प्रशस्त मात्रामा पैसा नभएर हो या तिम्रा लागि म सानो भएर हो । मलाई धोका दिएर किन पराईको साथ रोज्यौ ? तिमीले भनेको होइन–पैसाले चोखो प्रेम किन्न पाइन्न ? तिमी पैसाको प्रलोभनमा फसेर पराईको प्रेमजालमा प¥यौं ? प्रिय, यतिबेला तिमी यो स्तम्भ पढ्दैछौ र सुन्दैछौ भने प्लिज मेरो माया र मसँग ब्यक्त गरेका तिम्रा बाचा सम्झिए त ? म तिम्रो श्रीमान् त हुन सकिनँ तर असल प्रेमी त हो नि ? तिमीले अरुसँग विवाह गरेपनि तिम्रा लागि अलिकति माया साँचेको छु । त्यही माया नै यो जुनी बिताउन काफी छ । तिमी यतिबेला कसैको अँगालोमा बाँधिएकी छौ होला तर म बगरको माछा जस्तै भएको छु । तिम्रा लागि मेरा धेरै गुनासाहरु छन् । ति सबै गुनासाहरु पोख्न त नसकुँला तर प्रयास गर्नेछु । सम्झ त हामी एकैसाथ गाउँमा रात रात लाग्ने धार्मिक जात्राहरुमा विताएका क्षणहरु । विद्यालयमा अध्ययन गर्दा बिताएका दिनहरु । खाएका कसमहरु, अनि लाएका चोखा पीरतीहरु । तिमीले त यी सबै कुरा पराईको अँगालोमा बेरिंदा बिर्सिसक्यौ होला तर म भने तिनै याद अनि अतितलाई सम्झी पलपल आँशु पिई बाँचिरहेछु । जुन दिन म मर्नेछु तब मात्र तिमी प्रतिको माया र प्रेम मर्नेछ । 
    मेरो जीवनले नयाँ मोड लियो । उनका अगाडी उभिएर प्रश्न गर्न सक्ने अवस्थामा पुगेको छु । काम गर्ने हैसियत बनाएको छु । बनेपाको एक सहकारीमा एसईई सके लगत्तै काम पाएँ । ब्याचरल सक्ने अवस्थामा छु । अहिले सहकारीको राम्रो तहको जिम्मेवारी पाएको छु । विवाह गर्ने मन छैन । उनको धोकाले महिलाप्रति हेर्ने दृष्टिकोणमा बदलाव आउन सकेको छैन । जीवनमा केहि नयाँ योजना बनेका छन् । परिवारप्रतिको दायित्व छ । इख छ । उनको राम्रो बाहेक नराम्रो केहि सोचेको छैन । भविश्यमा असल नागरिक बन्ने सोच छ । अध्ययन र अनुभवले समाजमा नमुना कार्य गर्ने योजना बनाएको छु । प्रेम आफैंमा खराब होईन । थिएन र हैन पनि । साँच्चै बालप्रेमले मलाई शक्तिशाली पनि बनायो । त्यो बेलाको माया र प्रेमका कारण अहिले मेहनत गर्ने भएको छु । तर पनि केटी मान्छेहरुले किन केटाहरु फेरी फेरी प्रेम गर्छन् ? पैसाका लागि मात्रै गर्छन् कि अरु कुनै ? सायद बुझ्दै गईएला । पहिलो प्रेममा पाएको धोकाले जीवनका हरेक क्षणमा घोचिरहन्छ । पोलिरहन्छ । मन शान्त हुनै सक्दैन । उनलाई देखें । भेटें । तर बोल्न सक्दिनन् । भन्न केहि सक्दिनन् । जे भए पनि तिमी खुशी हुनु । सुखी हुनु । सन्तुष्टी हुनु । सदा मेरो शुभकामना छ । 

तिम्रो असल प्रेमी
राजु