2026 June 06/ 04:07: 41pm

लेखान्त यस्तै रहेछ । छंैटीको दिन भाग्य लेखिएको कस्तो थियो त्यस्तै हुने हो । त्यहि सम्झेर चित्त बुझाउनुको विकल्प पनि छैन । हुन त मान्छेहरु भाग्यमा भन्दा कर्ममा विश्वास गर्छन् । अझै धर्ममा विश्वास गर्छन् । यो सबै ब्यक्तिका आ–आफ्ना सोच र विश्वास हुन् । बाल्यकाल राजधानीमा बित्यो । बाल्यकालका अनगिन्ती भोगाई छन् । सबैका भोगाई भन्दा केहि फरक हुन सक्ला त्यति मात्रै हो । त्यो स्मरण वा त्यो बालापन न कहिल्यै फर्कन्छ । न कहिल्यै बिर्सन सकिन्छ । 
    खेल्दै, हुँर्कदै गए पछि बसाई सराई हुन थाल्यो । कहिले कुन जिल्ला कहिले कुन जिल्ला । धेरै जिल्ला र जिल्लाबासीहरुसँगको सम्बन्ध रह्यो । अभिभावकहरु बसाई सरे पनि हामीले सन्तानलाई एकै स्थानमा राखिदिने वातावरण बनाउन अनुरोध ग¥यौं । उहाँहरुलाई पनि त्यो कुराले छोयो होला सायद । सन्तानहरुको भविष्यका लागि अभिभावकहरु चिन्तित छन् । राजधानीको एउटै विद्यालयमा कक्षा १० सम्म अध्ययन गरे पछि मेरो मन र मस्तिष्कमा धेरै कुरा भरियो । एसएलसी उत्तीर्ण गरेँ । कलेज जान थालें । सायद मान्छे सधै त्यहि अवस्थामा रहिरहने भए वा फेरी बालक हुने भए ? कसले छाड्थ्यो होला त्यो अवसर ? अझ मान्छेले जवानी सम्झ्यो भने ? जवानीको भोगाईलाई कसैले पनि बिर्सन सक्दैन । विद्यालय जीवनका धेरै कुराहरुले त मलाई तड्पाएन । सोहि ठाउँमा बसेर कक्षा १२ को परीक्षा पनि पास गरें । मलाई केटाकेटी सबै बराबर लाग्दथ्यो । सबैसँग बोल्ने, खेल्ने, खाजा खाने मेरो बानी थियो । त्यसैले कसैले मलाई यस्तो उस्तो भन्ने आँट गर्न सक्दैन थियो । कक्षा १२ पढ्दाका केहि कुराहरु स्मरणयोग्य छन् । उमेरको कारण नै होला । फरक लिङ्गप्रतिको आकर्षण स्वभाविक थियो । त्यसलाई कसैले अस्वभाविक रुपमा लिने गर्दा रहेछन् । अस्वभाविक निर्णयलाई स्वभाविक बनाउने मेरो प्रयास हुन्थ्यो । 
    त्यो उमेरमा मलाई एकजना केटा साथी मन प¥यो । कलेजमा उत्कृष्ट केटा सबैको नजरमा पर्ने स्वभाविक थियो । मेरो नजरमा पर्ने पनि उहि थियो सागर । भित्रभित्रै भईरहेको प्रेमलाई हामीले कक्षा १२ को अन्तिम अन्तिम समयमा पूर्ण बनाएका थियौं । एकएक गर्दै साथीहरु बीच हल्ला भईरहेको थियो । अहिलेको प्रेम पहिलाको जस्तो होईन । एसएमएस मार्फत तुरुन्तै, भिडियो कलबाट लाईभ । यस्तै यस्तै थियो । कक्षा १२ को परीक्षा सकिए पछि घुम्न जाने योजना बनाएका थियौं । मैले नै उसलाई प्रस्ताव गरेको थिएँ । सागर तिमी घुम्न जाने हो ? विद्यालयको अध्ययन सकेर छुट्टिदा मैले भनेको त्यति मात्रै थिएँ । बेलुकाको समय थियो सागरले मेरो घरमा फोन ग¥यो । फोन आमाले उठाउनु भयो । उसले सिधैं भन्यो सबुलाई दिनु । उसले धेरै कुराहरु भन्यो । सबु म बाहिर जान लागेको । मैले एउटा साथीको नाताले सोधें किन जान लागेको बाहिर ? पढ्ने समयमा सम्झाएँ । अहिले होइन अब एक वर्षपछि जान्छु उसको उत्तर थियो । त्यहि सँगै उसले मलाई भन्यो तिमीलाई एकदमै माया गर्छु । एकछिन म अचम्ममा परें । मैले फोन राखिदिएँ । उसलाई एउटा साथी मात्र ठानेको थिएँ । धेरै फोन ग¥यो । मैले उठाइनँ । 
    केहिदिन पछि म बाहिर गएँ । मेरो दिदी बुबा सानीमाहरु सबै बाहिर हुनुहुन्थ्यो । उहाँहरु काठमाडौमा पनि बस्न थाल्नु भएको थियो । काठमाडौमा सानो होटल छ । म काठमाडौ गएको दुई महिनापछि सागरको फोन आयो । दिदी म एकै ठाउँमा बसिरहेको बेलामा सागरको फोन दिदीको मोबाईलमा आयो । कसको फोन हो नयाँ नम्बर छ । मैले दिदीलाई भनें खै म उठाउँछु । उसले सबु तिमी कहिले आउने ? म झसङ्ग भएँ । उसलाई फोनमै गाली गरें । मलाई धेरै रिस उठ्यो । मैले धेरै नै कराएर उसलाई फोन राखिदिन भने । तर पनि उसले फोन गर्न छाडेन । यतिसम्मकी उ केही दिनमा म बसिरहकै होटलमा आयो । किन यो मान्छे मेरो पछि लागिरहेको छ ? सागरलाई भेटेर राम्रोसँग सम्झाएँ । हाम्रो अहिले पढ्ने बेला हो । यो माया भन्ने कुरा त धेरै टाढा छ । त्यसैले म यो मायामा पर्दिनँ । मैले सबै कुराहरु उसलार्ई भनें । उ पनि मान्छे हो । सबै कुरा बुझिहाल्छ नि त । ऊ एकोहोरो मलाई माया गर्छाैं कि गर्दैनौं भनेर सोधि नै रह्यो । मैले गर्दिनँ भने । सायद माया गर्ने मान्छेलाई माया दिन नसकेर होला आज म एक्लै छु, एक्लै बस्छु, एक्लै हाँस्छु सागरले मलाई माया गरे पनि मैले अरु कसैलाई माया गरेको थिएँ । त्यो कुरा म उसलाई भन्न सक्दिनथें । गल्ती मेरो थियो ।  
    म पोखराबाट फर्किएँ । +२ को रिजल्ट पनि आयो पास भएँ । मलाई यहाँ पढ्न मन लागेको थिएन त्यसैले मैले काठमाडौं बाहिर गएर पढ्ने विचार गरें । म बनेपाको काभ्रे बहुमुखी क्याम्पसमा भर्ना भएँ । ब्याचलर त्यहीबाट सकियो । साथीहरु बीच कहिलेकाँहि भेट हुँदा हामी साह्रै खुशी हुन्छौं । मान्छेहरुले प्राप्त गर्ने अनेक खुशीहरु मध्ये साथीहरुसँगको भेटघाट पनि महत्वपूर्ण हो । मैले सागरलाई माया दिन सकिनँ । मेरो आफ्नै मान्छे थियो । उ मेरा लागि संसार नै त्याग्न पनि पछि पर्दैन थियो । हरेक पल, हरेक सेकेण्ड उसको सामिप्यता मेरा लागि आवश्यक थियो जुन उसले पुरा गरिरहेको थियो । त्यसकै खुशीमा म कहिले कता, कहिले कता गए पनि उ मेरै आत्मामा रमाइरहेको हुन्थ्यो । उ पनि सँगै पढ्थ्यो । विस्तारै उसले एउटा अफिसमा काम गर्न शुरु गरेको थियो । एक दिन उसको अफिसमा जाँदा अर्काे मान्छेसँग मेरो भेट भयो । सायद मेरो असफलता वा जीवनको धोका त्यहि थियो । मेरो प्रेमी केहि समयका लागि बाहिर गयो । उता सागरलाई पनि मैले छाडिसकेको थिएँ । मेरै प्रेमीको साथीसँग मेरो हिमचिम हुन थाल्यो । काम नभए पनि पनि म उसको अफिसमा गएर उसको साथीलाई भेट्न थालेँ । उसको अफिस बनेपामा थियो । मलाई ऊ एकै नजरमा मन परेको थियो । एकचोटी देखेको मान्छे आँखाभरी आउन थाल्यो । मनमा धेरै कुराहरु खेल्थ्यो म उसको अफिसमा गई नै रहन्थे । मैले उसको नम्बर पाएँ पनि । उसले पनि मेरो नम्बर लिएको थियो तर मलाई उसको अफिसको नम्बर थाहा थियो र म उसलाई दिन दिनै फोन गर्थें । फोनमा हाम्रा धेरै कुराहरु हुन्थे । म उसँग कुरा गर्दा धेरै खुशी हुन थालें । मेरो प्रेमीसँग नभएको खुशी उसले दिन थाल्यो । मैले एकदिन भेट्ने कुरा गरें । उसले पनि हुन्छ भन्यो । हामी बनेपा नजिकैको डाँडामा गयौं । हामीबीच धेरै कुराहरु भयो । मैले सबै कुरा खुलेर भनेको थिएँ र उसले पनि मलाई उसको बारेमा र उसको परिवारको बारेमा भनेको थियो । तर मलाई थाहा थिएन उसले भनेका कुराहरु सहि थियो या गलत । तर म उसको कुरामा सहमत थिएँ । हुन त मैले नै उसलाई पहिले मायाको प्रस्ताव राखेकी थिएँ । तर पनि उसको सहमत थियो । उसले पनि मेरो मायालाई सहर्ष स्वीकार ग¥यो र म धेरै खुशी भएँ । हामी त्यहाँबाट फर्कियौं । मलाई लाग्थ्यो कि उसले मलाई धेरै नै माया गर्छ तर त्यही मेरो भुल रहेछ । कसैलाई यति धेरै विश्वास गर्नु नै मेरो भुल थियो । 
    फोनमा कुरा भई नै रहन्थ्यो । म उसको मायामा यति डुबेछु कि मायाको त्यो गहिराईबाट आउनै नसक्ने गरी अन्धो भएछु । भेट भई नै रहन्थ्यो । धेरै जसो शनिबार भेट्थ्यौं । त्यो समयसम्म मैले मेरो प्रेमीलाई छाडेको थिईनँ । बिस्तारै छाड्ने योजनामा थिएँ । उसँग त्यस्तै खालको ब्यवहार देखाउँदै गएको थिएँ । मेरै कारण भन्दा पनि उसको कारण मैले छाड्यो भन्ने देखाउन चाहन्थें । मेरो विश्वासमा उसले विश्वासघात गरिरहेको थियो । जसले मलाई मन पराउँथ्यो उसलाई मैले मनपराउन सकिनँ । जो मलाई मन पराउँदैन थियो उसलाई मैले मनपराउन थालेको रहेछु । आखिर प्रेम भनेकै पो यो हो कि ? केटी मान्छेहरु केटाहरुको मायाजालमा फस्छन् भन्ने त थाहा थियो तर मैले उसलाई मेरो माया जालमा पारेँजस्तो लागेको थियो । कुरा गलत रहेछ । केटाहरुलाई केटीहरुले नै प्रेम प्रस्ताव राखेपछि के चाहियो र ? आफुले मनपराएको ब्यक्तिले मायाको कुरा गर्दा कसले विश्वास गर्दैन र ? विश्वासमै म उसँग धेरै नजिकिन पुगें । कक्षा १२ पढ्दा शुरु भएको हाम्रो प्रेम धेरै समय अंकुराउन पाएन । परिवारको आँखा छलेर म धेरै समय उसँगै विताउन थाँले । कतिसम्म कि कहिलेकाँही उसँग बसेर घरमा अर्कै केटी साथीकोमा बसेको छु भनेर खबर पठाउने गरेको थिएँ । जीवन र प्रेम राम्रो हुन्छ भने मैले किन र कसका लागि जवानीको चोखो माया साँचेर राख्नु प¥यो ? त्यति धेरै विश्वास र प्रेमलाई उसले डुबायो । उसले मलाई होइन मेरो शरीरसँग माया गरेको रहेछ । बल्ल मेरो आँखा खुल्यो ।
    सायद सागरको मायालाई मैले बुझेको भए यस्तो हुने थिएन होला । आज पनि मलाई सागरले फोन गर्छ तर म उसँग बोल्न सक्दिनँ । भन्न सक्दिनँ । म कसैको मायामा रमाउन नसक्ने भएको छु । आजभोलि हाँस्न विर्सिसकेको छु । आँशु नै साथी भएको छ मेरो । जीवनमा माया लगाउँदा यस्तो हुन्छ भन्ने थाहा पाएको भए सायद मायाबाट धेरै नै टाढा हुन्थे म । कसैलाई साँचो माया गरेको थिएँ मैले यही साँचो मायाको बदला आज आँशु पाएको छु । मैले जसलाई विश्वास गरे त्यही माया विश्वासघात भएर निस्कियो । सारा जीवन उही भन्थे तर आज टाढा भएको छ । सायद मायामा यस्तै हुन्छ कि या मैले कसलाई माया गर्न जानिन भनेर आफूलाई सोध्न मन लागिरहेछ । आत्महत्याका पटकौ प्रयास भए । तर पनि बाँचिरहिकी छु । हारबाट विस्तारै माथि जाने प्रयास गरेको छु । युवायुवतीहरुको आवेगको प्रेमले ज्यानै जान सक्छ ।  तपाईहरु पनि आफ्फ्ना सन्तानको ध्यान पु¥याउनुस् है । 

सविता प्रजापति
बनेपा, काभ्रे